काठमाडौं । राष्ट्रिय सहकारी महासंघ नेपालका नवनियुक्त कामु महाप्रबन्धक गोपीकृष्ण भण्डारीले चुनौतीको बिचमा प्राप्त अवसरको पूर्ण सदुपयोग गर्दै अभियानको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पछिल्लो समय मुलुकको सहकारी अभियानसँगै त्यसको मियो महासंघको आन्तरिक व्यवस्थापनमा केही चुनौती जस्तो देखिए पनि यी सबैमा व्यवस्थापकीय नेतृत्वको हिसाबले आफू खरो उत्रने दाबी भण्डारीले गर्नुभएको छ ।
कामु महाप्रबन्धकको रुपमा आज पदभार ग्रहण गर्नु भएका भण्डारीले धिप्री डटकमसँग कुरा गर्दै भन्नुभयो, 'जुनै पनि पदसँग चुनौतीहरु स्वाभाविक रुपमा आउँछन्, त्यसमाथि महासंघ जस्तो अभियानको मियोको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दा नआउने कुरै छैन, तर मेरो अनुभव, सिकाइ र दक्षताले सम्भावित चुनौतीहरु सामना गर्ने सामर्थ्य राख्दछ ।'
उहाँले महासंघ सञ्चालक समितिसँगै सिङ्गो अभियान अनि सरकारसँग 'कोअर्डिनेशन' गर्ने कामलाई आफूलाई प्राथमिकतामा राख्ने प्रारम्भिक प्रतिक्रिया व्यक्त गर्नुभयो । र अर्को महत्वपूर्ण विषय भनेको सहकारी व्यवस्थापनलाई बलियो बनाउने सोच रहेको उहाँले उल्लेख गर्नुभयो । भण्डारीले भन्नुभयो, 'म आफू सहकारी प्रशिक्षणमा लामो समय काम गर्दै आएकोले पनि के लाग्छ भने सहकारी शिक्षा, तालिमलाई जति प्रभावकारी रुपमा अघि बढाइयो, त्यतिनै सहकारी व्यवस्थापन बलियो बन्छ र त्यो भनेको अन्ततः अभियान बलियो बन्नु हो ।' तामिल र शिक्षालाई नवीन स्वरुपले अघि बढाउने सोच भण्डारीको रहेको छ ।
२०५८ सालमा अधिकृत तृतीय (सहकारी प्रशिक्षक) को रुपमा महासंघ प्रवेश गर्नुभएका भण्डारीले त्यसयता तालिम र प्रशिक्षण कार्यक्रमलाई अघि बढाउने जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । सोही सिलसिलामा आफूसँग ७५ जिल्लामा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गरेको अनुभव रहेको उहाँले बताउनुभयो ।
अनुभव र सेवा प्रवेशका हिसाबले बरिष्ठ कर्मचारी भण्डारीले यो नियुक्तिले आफूप्रति न्याय गरेको बताउनुभयो । उहाँ भारतबाट डिल्पोमा इन कोअपरेटिभ म्यानेजमेन्ट गर्ने पहिलो ब्याचका ५ नेपाली सहकारीकर्मीहरुमध्ये एक हुनुहुन्छ । उहाँसँगै हाल महासंघकी अध्यक्ष ओमदेवी मल्ल, अशोक शिवाकोटी, लता दाहाल र मिमु रघुवंशीले भारतको एनसीयूआईले सञ्चालन गरेको ३ महिने सहकारी डिप्लोमा कोर्ष २०६१ सालतिर पूरा गर्नुभएको थियो । यसैगरी, भण्डारीले जाइकाको कोटामा जापानमा एक महिने सहकारी कोर्ष पनि पूरा गर्नुभएको छ ।
महासंघको व्यवस्थापनलाई थप बलियो बनाउन आफूले भूमिका खेल्ने उहाँले बताउनुभयो । मेरो प्राथमिकता महासंघको व्यवस्थापनलाई मिलाएर लाने पनि हो । उहाँले भन्नुभयो, 'म टीम वर्कमा विश्वास गर्छु । र, हामी बीचमा कुनै विमति छैन । मैले यो जिम्मेवारी पाएकोमा सबै साथीहरु खुसी नै हुनुहुन्छ । यो न्यायसंगत निर्णय पनि भएको छ ।'
महासंघको असार २२ गते बसेको सञ्चालक समितिको बैठकले पूर्व महाप्रबन्धक सुरेश थापाले दिएको राजीनामा हिजो साउन १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको थियो । अध्यक्ष ओमदेवी मल्लले महासंघ कर्मचारी प्रशासन कार्यविधि, २०७५ को दफा १९(१) बमोजिम २०८२ साउन १ गते (हिजैदेखि) देखि लागू हुने गरी भण्डारीलाई अधिकतम ६ महिनाका लागि कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी प्रदान गर्नुभएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com