असारको एउटा आइतबार । अपरान्ह करिब ४ बजे, पशुपतिनाथ मन्दिर परिसर । पशुपतिनाथलाई अग्रभागमा राखी अग्लो स्थानबाट भगवान शिवजीलाई केन्द्रमा राखेर एक टिनएजर माला र मन्त्र जप्दै हुनुहुन्थ्यो । त्यो उमेरमा माला, मन्त्र र भगवानप्रति त्यस किसिमको भक्ति हिजोआज कम नै देखिन्छ । अनुहारमा अचम्मको आभा थियो । त्यसैले पनि उहाँको त्यो क्रियाकलापलाई क्यामेरामा कैद नगरिरहन सकिएन । केही समयपछि उहाँको आँखा खुल्यो । केही सोधपुछपछि उहाँको बारे बुझ्दै जाँदा रोचकता थपियो । अध्यात्म, ध्यान र साधनाले उहाँको जीवनमा ठूलो प्रभाव पारेको रहेछ । साँच्चै भन्ने हो भने दिव्य चमत्कार नै । आउनुहोस् उहाँको भक्ति, भोगाइ र भावनाहरुको जानकारी उहाँबाटै लिऔं:
म अनुरोध कोइराला । बुधबारे झापा स्थायी घर हो । अहिले कोटेश्वर, काठमाडौंमा बाबा मम्मीसँग बस्दै आएको छु । १४ वर्षको भएँ । हाल म गम्भीर समुद्र सेतु विद्यालय इमाडोलमा कक्षा ९ मा अध्ययनरत छु ।
समस्या नपरी मानिस भगवान वा गुरुको शरणमा पुग्दैन भन्छन् । समस्या नपर्ने धेरै जना यस्ता कुरामा विश्वास पनि गर्दैनन् । तर जो समस्यै नपरी गुरु भक्ति मार्गमा विश्वास गर्छन् तिनको जीवननै बदलिन्छ । जेहोस् मैले पनि समस्या परेपछि नै समाधानको विकल्पको रुपमा गुरुभक्ति मार्ग भेट्टाएँ । यसले मेरो मात्र होइन बाबा मम्मीको नै जीवन दृष्टि परिवर्तन गरेको छ ।
हुनत बाबा छविरमण कोइराला यस्तोमा त्यति विश्वास गर्नुहुँदैनथ्यो । मम्मीलाई भने विश्वास थियो । गुरुको बारेमा पहिला त्यति नबुझेपनि भगवानप्रति भने मलाई पनि अन्जानमै विश्वास बसेको थियो । धर्म र भगवानबारे बुझ्दै नबुझेपनि सानैदेखि मलाई यी चिजप्रति विश्वास थियो । बाटोमा कहीकतै ढुङ्गामा अविर र फुल देख्ने बित्तिकै गएर ढोगी हाल्थेँ । भगवान हुनुहुन्छ भन्ने सधैं लाग्थ्यो । मनमा केही जिज्ञासाहरु पनि थिए ।
कोभिडसँगै शुरु भएको कथा
कोभिड १९ भित्रिएसँगै लकडाउन भयो । कोठासँगै हाम्रो किराना पसल पनि थियो । लकडाउनका कारण खेल्न बाहिर जान पाइएन । घरमा बस्ने अरु केही गतिविधि नगर्ने र केवल पसलको जङ्क फुड धेरै खान थालेँ । पसलको सामान पनि त्यति धेरै बिक्री नभएपछि त्यहीका सामानहरुमा अत्यधिक भर परियो । तिनै चीजबीज बढी खाएँ । त्यसले शरिरमा रोग निम्त्यायो । त्यतिखेर त्यति थाहा पनि भएन त्यस्ता पाकेटका खानेकुराले शरिरलाई हानी गर्छ भनेर । बाबामम्मीले भनेपनि सुनिएन् ।
मलाई मधुमेह (Type 1 Diabetese) भयो । त्यसबेला म ९ वर्षको थिएँ । धेरै प्रयास प्रयत्न गर्दा रोग निको भएन । एलोपेथिदेखि प्राकृतिक चिकित्सा अनि धामी झाक्री सबैकोमा गएपनि अपेक्षाकृत सुधार भएन । रोगले बिरामको बाटो समातेन । सँगै अर्को संगीन समस्या भनेको राती सधै ओछ्यानमा पिसाब फेर्ने । टीनएजमा बताउन असहज हुने समस्या देखा परे ।
डाक्टरको सुझाव अनुरुप बुबाले मलाई राती पिसाब फेर्न उठाउनुहुन्थ्यो । तर, १२ बजे मध्यरातमा उठेर पिसाब फेरेर सुते भने पुनः २ बजे ओछ्यानमा पिसाब फेर्थे । रोकथामको लागि पानी नपिई सुत्दा पनि राती आउने हुन्थ्यो । पिसाब चुहिने समस्या नियन्त्रण बाहिर भयो ।
यसैबीच, बाबा छट्पटिनुभयो । नछट्पटिनुहोस् पनि कसरी । एउटा छोरो छ, उ पनि रोगी बनेको छ, आफन्तहरुको दरिलो साथ छैन, परिस्थितिहरु प्रतिकूल बन्दै छन् । आर्थिक अवस्था दयनीय छ । लामो समयदेखि लागेको रोगमा सुधार नहुँदा आफन्तहरुमा पनि यस्तै हो अब भन्ने जस्तो भैसकेको थियो । सन्तानको माया आमाबाबुको लागि कति हुन्छ भन्ने वर्णन गरेर सकिदैन । मेरो बाबालाई पनि त्यस्तै भयो । सोही कारण उहाँ उपायको व्यग्र खोजीमा हुनुहुन्थ्यो । त्यसैबखत भौतिकबाट उहाँको खोजी अभौतिकमाध्यमतर्फ मोडियो । आजको जमानामा प्रविधि उपाय हुन्छ भन्ने विषयहरु आइरहँदा उहाँलाई पनि मनको अन्तरकुन्तरमा कतै प्रविधि पो सहयोगी बन्छ भन्ने लाग्यो र युट्युबमा यस्तै रोगसम्बन्धी भिडियोहरु खोजी गर्न थाल्नुभयो । थुप्रै भिडियोहरु हेर्दै जाँदा उहाँका आँखा करौली शंकर महादेवको भिडियोमा अडियो ।
भारतको उत्तरप्रदेश राज्यको कानपुर शहरस्थित श्री करौली शंकर महादेव पूर्वज मुक्ति धामको भिडियोहरु थियो । पुनः हेर्नुभयो । आँखा झन् ठूला भए, मन हर्षित हुँदै आयो अनि ओठमा मुस्कान पनि छायो । उहाँलाई लाग्यो, उपाय छ । छोराको रोगमात्र होइन छोराको जीवन रुपान्तरण गर्ने उपाय भेटियो । छोरालाई सुझाउनुभयो ।
फ्ल्यास फरवार्ड । करिब १ महिना भयो हामीत तीनै जना ध्यान साधनामा समर्पित भएको । अर्थात् कानपुर दरबारस्थित गुरुबाट हामी तीनै जनाले दीक्षा लिएको । दिक्षा दिदां मन्त्र प्राप्त हुन्छ । असल चित्त, एकाग्रता र पूर्ण विश्वासका साथ तिनको जाप गर्नाले समस्याहरु समाधान हुन्छन् ।
दरबारसँगको सामीप्यता, मन्त्र संकल्प र जापले हामीलाई राम्रो हुँदै गयो । बाबाले काशीदेखि कानपुरसम्म पैदल यात्रा पनि गर्नुभयो । पैदल यात्राको पुण्य बढी मिल्छ भन्ने विश्वासका साथ । बाबा मम्मीको सुझावमा मैले संकल्प गर्न थालेँ । एक सातामा एकपटक संकल्प गर्न मिल्छ । त्यसको लागि उर्जा चाहिन्छ । संकल्प पुरा हुन उर्जा आवश्यक पर्छ । म त्यहाँ जोडिएपछि संकल्प गर्न थालेँ । २ महिनामा आठ पटक संकल्प गरिसक्दा सकारात्मक परिवर्तन महसूस भयो । ‘वेड वेटिङ’ (ओछ्यानमा पिसाब फेर्ने) को समस्या समाधान भयो भने मधुमेह (Type 1 Diabetese) को समस्या पनि सुधारोन्मुख छ । अर्को भनेको आत्मिक शान्ति मिलेको छ । परिवारमा स्नेह र माया बढेको छ । जीवप्रतिको दृष्टिकोण बद्लिएको छ । परिवारमा सकारात्मक उर्जा सञ्चार भएको छ ।
जे अपेक्षा र विश्वास थियो त्यो पूरा भयो । बाबाले युट्युबमा हेरको उक्त भिडियोबाट शुरु भएको करौली बाबासँगको साथ र सान्निध्यले जीवनमा नसोचेको परिवर्तन भयो । रोग भाग्यो, जीवनको अर्थ भेटियो । भिडियो हेर्न थालेपछि मेरा जिज्ञासाहरु पनि शान्त हुँदै गए । हरेक भिडियोहरु एक अर्कासँग अन्तरसम्बन्धित छन् । सबै विषयहरु बिस्तारै थाहा पाउदै गएपछि एउटा व्यवस्थाको झल्को मिल्छ । त्यो व्यवस्था देखेपछि तपाईलाई सही लाग्छ । यो त हो नि भन्ने लाग्छ किनकि त्यो तपाईको जीवनमा व्यावहारिक रुपमा भैरहेको हुन्छ वा तपाईले कहीनकही भोग्नुभएको हुन्छ । कानपुरको कहानीले गुरु खोजी पूर्ण भएसँगै हामी तीनै जना अहिले गुरुभक्तिमा लीन हुँदै गएका छौं ।

कानपुर दरबारमा के हुन्छ ?
उत्तरप्रदेशस्थित दरबारका मुख्य गुरु श्री राधारमण मिश्रजीले समाधि लिइसक्नुभयो । उहाँको प्रिय चेला अहिले पूर्ण गुरु श्री करौली शंकर महादेव हुनुहुन्छ । आफूले समाधि लिएपछि गुरुले चेलालाई सुक्ष्म जगतसम्म साथ दिनुभयो । जीवित हुँदै गुरुले चेलालाई उर्जा प्रदान गरिसक्नुभएको थियो । सोही उर्जाका कारण हालको गुरुको सुक्ष्म जगत दृष्टिगोचर सम्भव भएको थियो । उहाँले गुरुलाई देख्नुभयो । त्यसपछि कानपुरमा दरवार निर्माण गर्नुभयो । जुन दरबारमा हिजोआज देश विदेशबाट दैनिक हजारौं मानिसको भीड लाग्छ । आस्था र विश्वास बढ्दै गएको छ । मानिसका विभिन्न समस्याहरु समाधान भएका छन् र गुरुभक्तिमा मन प्रगाढ रुपमा बसेको छ । बाबा त ३/४ पटक दरबार पुग्नुभइसक्यो । मम्मी र म २ पटक पुग्यौं । अब दशैमा पुनः जाने हाम्रो योजना छ । त्यो बेला अलि लामै समय दरबारमा बस्न पनि समय मिल्छ ।
कानपुर दरबारमा नित्य वैदिक प्रक्रिया हुन्छन् । हवन गरिन्छ । विष्णुसहस्त्रनाम पाठ गरिन्छ । दशमहाविद्या हवन गरिन्छ । महामृत्युञ्ज हवन, सिद्ध हवन आदि पनि गरिन्छ । यी सबै पछि अमावश्य हवन गरिन्छ जसबाट पितृ मुक्ति हुन्छ । एक दिने हवन प्रक्रिया (वन डे हवन प्रक्रिया) हुन्छ । नमन प्रक्रिया छ, संकल्प प्रक्रिया छ । यी कर्मले उर्जा बढाउँदछन् । यिनले संकल्प प्राथर्नालाई मजबूत पार्दछ । बिहान युट्युबमा लाइभ भिडियो पनि प्रसारण हुन्छ । दैनिक प्रार्थना संकल्पको प्रत्यक्ष प्रसारण हुन्छ । त्यसमा प्राप्त निर्देशानुसार प्रार्थना संकल्प गरिन्छ । ब्रम्हमुहुर्तमा रुद्राभिषेक हुन्छ । सबैभन्दा बढी उर्जा पनि यसैमा मिल्छ । रुद्राभिषेकमा बसेर माला जप गर्दा अरुबेलाको भन्दा उर्जा दोब्बर मिल्छ ।
सकारात्मक उर्जाका लागि संकल्प
हिजोआज मानिसहरु भ्रमित छन् । दिमागमा नकारात्मक उर्जाहरु बढिरहेको हुन्छ । नराम्रा कुराहरु सुन्दा, नराम्रा व्यक्तिहरु भेट्दा पनि नकारात्मक उर्जा बढ्छ त्यसैले नराम्रो नबोल्नु, नराम्रो नसुन्नु, नराम्रो नहेर्नु भनेको । हाम्रो शरिर नेगेटिभिटीले भरिएको छ, त्यसैले पोजेटिभिटी प्रवेश गराउन नेगेटिभिटी निकाल्नुपर्छ । पसिना आउँदा, सिंगान झर्दा, पिसाब फेर्दा, मल निस्कदा, आँसु झार्दा, खोकी लाग्दा, वान्ता आउँदा आदि नेगेटिभिटी निस्कन्छ । त्यही भएर नित्य यी काम भैरहेका हुन्छन् । शरिरमा अधिक नकारात्मकता भएपछि आफैले निकाल्ने प्रबन्ध गर्छ विभिन्न माध्यम र क्रियाकलापबाट ।
वैदिक एवम् शास्त्रिय प्रक्रियाबाट हवनहरु गर्दा सही मानिसद्वारा सही विधिले सही पाठ गरियो भने सकारात्मक उर्जा प्राप्त हुन्छ । उर्जा बढेपछि गन्धकीहरु निस्कन्छ । पोजेटिभिटी प्रवेश भएपछि नेगेटिभिटी बाहिर निस्कन्छ ।
अर्को भनेको विचारको शक्ति । सोचाइमा अथाह शक्ति छ । तपाईको सोचाइमा यति धैरै ताकत छ कि, तपाईले सच्चा मनले सोचेको कुरा पुरा हुन्छ । तपाईको मुख्य औजार भनेको सोचाइ हो । त्यसैले सधै सकारात्मक सोच्नुपर्छ । नेगेटिभिटीले भरिएको दिमागमा सहजै सकारात्मक सोचाइ विकास गर्न कठिन छ, त्यसको लागि उर्जा चाहिन्छ, सकारात्मक उर्जा जुन संकल्पमार्फत मिल्दछ । अहिले मैले गर्ने संकल्पले शरिरमा सकारात्मक उर्जा सञ्चार हुन्छ ।
पितृ ताकत
पितृसँगको बलियो तागत हुन्छ । पितृ मुक्ति भएपछि मात्रै जीवन सरल, सहज र शान्त हुन्छ । पितृ बिग्रिएपछि रोग व्याधि र अशान्ति, दुरावस्थाले घर जमाउँछ । स्मृति सञ्चार जुठोबाट सबैभन्दा बढी हुन्छ । स्मृति काट्न गुरु आवश्यक पर्छ वा भगवान । रोग लाग्यो भने रोगको लागि प्रार्थना गर्ने होइन, स्मृतिका कारणले रोग लाग्छ । स्मृति जरा हो भने रोग, कष्टहरु फुल पातहरु हुन् । मुख्य भनेको स्मृति हो । त्यसैले रोग होइन मेरो रोगको स्मृति काटिदिनुहोस् भन्नुपर्छ सधैं भगवानलाई वा गुरुलाई । सोही काम कानपुर दरबारमा गरिन्छ । यसलाई स्मृति चिकित्सा भनिन्छ । अर्को भनेको इश्वरीय चिकित्सा पद्धति पनि हो जसको अभ्यास कानपुर दरबारमा गराइन्छ ।
गुरु वाणी
गुरु भन्नुहुन्छ हामी केवल भौतिक जगत देख्न सक्छौं । अर्को हुन्छ सुक्ष्म जगत जसलाई देख्न हामीलाई उर्जा आवश्यक पर्छ । त्यो उर्जा प्राप्त गर्न र वृद्धि गर्न ध्यान, पुण्य, सेवा आदि गर्न सकिन्छ । तर, सबै काम विधिसम्मत हिसाबाले गर्नुपर्छ । नियम विपरितको सेवाले नकारात्मक उर्जा मात्र बढ्छ । सकारात्मक उर्जाहरु बढ्दा रोग, दुःख कष्ट हट्दै जान्छ ।
एउटा सोचनीय विषय के छ भने, हिजोआज जताजतै मन्दिर र मुर्ति बनाइएका छन् तर तिनको प्राणप्रतिष्ठा गरिएको छैन । प्राणप्रतिष्ठा नगरी मन्दिर र मूर्तिहरु राख्नु र पुजा गर्नुको अर्थ रहँदैन । त्यस्तै, हिजोआज केही पण्डित वा ब्राम्हणहरु मांशहारी छन् । पण्डित वा ब्राम्हण जो पनि हुनसक्छ । योसँग जात प्रथा जोड्नु गलत हो ।
गुरु महिमा
मानिसलाई जीवनमा एक न एक गुरु आवश्यक हुन्छ । गुरु छान्दा पुर्ण गुरु छान्नुपर्छ । हिजोआज जो पनि गुरु बनेका छन् । त्यसो होइन । त्यसको लागि गुरु गीतानै अध्ययन गर्नुपर्छ । गुरु गीता पढ्दा गुरुको आवश्यकता र महिमा प्रष्ट हुन्छ । पूर्ण गुरु कसरी भेट्ने, पूर्ण गुरु भनेको के हो ? आदि सबै कुरा उल्लेख छ । 'कम्प्लिट' गुरु वा 'रियल' गुरु कसरी पहिचान गर्ने भन्ने विषय बताइएको छ । रोग निको भएपछि मलाई पनि गुरुभक्तिप्रति आस्था बढ्यो । प्रकृतिको नियम के हुँदोरहेछ भन्ने बुझ्न थालेँ । दरबार पुगेपछि हामी तीनै जनालाई पूर्ण गुरुको आवश्यकता र खोजी दुबै साँच्चिकै पूर्ण भएको अनुभूति भयो । पूर्ण गुरु पाएपछि जीवन सहज हुँदोरहेछ । जो गुरुले आफ्नो शिष्यको दुःख कष्ट रोगहरु काट्न सक्दैन, त्यो गुरु पुर्ण होइन वा छैन । गुरु मात्र भएर हुँदैन पूर्ण गुरु हुनुपर्छ । अपूर्ण गुरु केवल सुचनाकार हुन् । विद्यालय कलेजमा पठाउनेहरु सुचनाकार हुन् ।
अर्को भनेको हामी धामीझाक्रीहरु भन्छौं । त्यहाँबाट नकारात्मक उर्जा मिल्छ । सही अभ्यास नभएका कारण तन्त्रविद्या बिगारिएको छ हिजोआज । तर, खासमा तन्त्र भनेको व्यवस्था हो । यो ब्रम्हाण्ड नै सफ्टवेयर जस्तो छ, अटोमेशनमा चल्छ । सुर्य, पृथ्वी, आकाश आफ्नै विधि परम्परामा चल्छन् ।
जीवनको लक्ष्य
गुरु भन्नुहुन्छ संस्कारसँगै सांसारिक शिक्षा लिनुपर्छ । आफ्नो व्यवहार परिवार सम्हाल्नुपर्छ । गृहस्थ जीवनलाई महत्व दिनुपर्छ । मरो सोचाइ पनि त्यही हो गुरुले भने अनुसार अहिले उमेरमा पढ्ने र जानकारी राख्ने हो । जीवनलाई सम्हाल्ने हो । सँगै साइडमा अध्यात्म साधानलाई अघि बढाउने हो । मलाई मन्त्रहरु पढ्न इच्छा लाग्छ ।
भविष्यमा यही नै बन्छु भन्ने लक्ष्य निर्धारण भने गरिसकेको छैन । यद्यपि, जे गर्छु राम्रो गर्छु भन्ने पूर्ण आत्मविश्वास छ । यसको कारण के हो भने मेरो पढाइ एकदम राम्रो छ । नहुने पनि कुरै भएन । गुरुको आशिर्वाद जो छ । पहिला बोर्डिङ स्कुलमा पढ्थेँ । त्यसबेला पनि पढाइमा पहिलो नै हुन्थेँ । कक्षा ८ मा पुगेपछि सरकारीमा पढ्न थालेँ । अहिले त सकारात्मक उर्जाले गर्दा स्मरणशक्ति पनि झनै तेज भएको छ । पढाएको कुराहरु स्मृतिमा रहिरहन्छन् र बुझाइमा पनि फरक किसिमको बिराटता पाउँदछु । जीवनलाई गुरुभक्तिमा लागी अर्थपूर्ण बनाउछु भन्ने छ ।
मेरो जीवनमा देखापरेका ती समस्या र तिनको समाधान कसरी सम्भव भयो भन्ने बारे स्कूलमा एक दुई जना साथी र अंग्रेजी शिक्षिकालाई मात्र थाहा छ । अरुलाई त्यति वास्ता पनि हुँदैन त्यसैले मैले बताएको पनि थिइनँ । अब धिप्री डटकममा यो सामाग्री प्रकाशन भएपछि भने सबैलाई थाहा हुने भयो । ठीक छ, राम्रो कुराको प्रचारप्रसार हुँदा सबैलाई राम्रै हुन्छ भन्ने विश्वास छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com