काठमाडौं । उसै त शनिबार, त्यसमाथि साउन महिना । पशुपतिनाथ मन्दिरमा बिहान अन्य समय भन्दा स्वाभाविक रुपमा बढी नै भिड र चहलपहल थियो । त्यसमाथि आधा दर्जन बढी महायज्ञ, यज्ञ लगायतका धार्मिक अनुष्ठानहरु सञ्चालन भइरहेका छन् । त्यही भएर भक्तालुहरुको भिड थियो ।
साउन महिनामा शिवजीको दर्शन गर्न र पुण्य कमाउन पशुपति जाने भक्तालुहरुलाई सुमार्गी भवन नजिकै हिमवत् खण्ड महायज्ञको अनुष्ठान भैरहेको एक छेउमा करिब आधा दर्जन व्यक्तिहरु हातमा केही थान पोष्टर बोकेर भक्तजनहरुको ध्यानाकृष्ट गराउँदै हुनुहुन्थ्यो । नजिक पुगेर बुझ्दा थाहा भयो उहाँहरुको त एउटा लामो समयदेखि चल्दै आएको अभियानमा संलग्न व्यक्तिहरु हुनुहुँदोरहेछ ।
अनि त्यही अभियानको आशय, उद्देश्य र लक्ष्यअनुरुप उहाँहरु शाकाहारी जीवनयापनका लागि मानिसहरुलाई याचना गर्दै हुनुहुन्थ्यो । भिडमा बढी भन्दा बढीको ध्यान खिच्न सकिन्छ भनेर उहाँहरुको त्यो प्रेरणादायी प्रयत्नले धिप्री डटकमको पनि ध्यान खिच्यो ।
प्रत्येक शनिबार बिहान साढे ७ बजेदेखि साढे ९ बजेसम्म पशुपतिनाथ मन्दिर परिसरभित्र उहाँहरुले यसैगरी लामो समयदेखि धेरै भक्तजनहरुलाई बोलाई बोलाई शाकाहारी जीवनको महत्व बोध गराउँदै आउनुभएको छ ।
नेपालमा शाकाहारीको जनसंख्या बढ्दो रहेपनि सन्तोषजनक भने नरहेको शाकाहारी अभियन्ता मातृका प्याकुरेलले बताउनुभयो । काठमाडौं गोठाटारस्थित श्रीकृष्ण प्रमाणी मन्दिर व्यवस्थापन समितिमा समेत रहनुभएका प्याकुरेलले वार्षिक कार्यक्रमको रुपमा २०५३ सालबाट शाकाहारी अभियान चलाएको स्मरण गर्नुभयो ।
व्यक्ति वा सानो समूहले स्वतःस्फूर्त रुपमा सुरु गरेको यो प्रयासमा पछि अन्य समूहहरु पनि जोडिएको दुई महिलाले बताउनुभयो । हाल जैन, कविर, ओसो लगायत अन्य थुप्रै समूह तथा संघ संस्थाहरुबाट पनि यो अभियानमा साथ सहयोग मिलेको पशुपतिमा भेटिनुभएका शाकाहारी अभियन्ताहरुले बताउनुभयो ।
शुरुमा कृष्ण प्रमाणीहरुले शुरु गरेपनि पछि अरुहरु जोडिदै आएको प्याकुरेलले बताउनुभयो । पछि २०७२ साल जेठ १६ गतेदेखि अहिंसाप्रेमी शाकाहारी समाज गठन गरी सञ्चालन गरिदैं आएकोमा त्यसलाई अझ शसक्त ढंगले अघि बढाउन शाकाहारी संघसँग एक भई अघि बढेको प्याकुरेलले जानकारी गराउनुभयो । एक्ला एक्लै गरेर मात्र सम्भव नहुने र शक्ति पनि नपुग्ने भएकाले एकीकृत अभियान चलाउने गरी शक्ति संगठित गरेको प्याकुरेलले बताउनुभयो । २०६४ सालमा गठन भएको उक्त संघको हाल २५ जिल्लामा संगठन बिस्तार भैसकेको छ ।
संघको योजना विशेषतः भविष्यका कर्णधारहरुलाई अहिंसाप्रेमी बनाउने हो । त्यसैले स्कुल, कलेजहरुमा बढी ध्यान केन्द्रित गरिएको उहाँले बताउनुभयो । ‘हामी जहाँ जहाँ यो अभियान लिएर पुग्छौं ति शिक्षालयहरुबाट राम्रो रेस्पोन्स पाएका छौं, ’ प्याकुरेलले भन्नुभयो, ‘यो त विद्यार्थीले भन्दा पनि हामीले सुन्नु जान्नुपर्ने कुरा रहेछ भनेर शिक्षकहरुबाट समेत राम्रो प्रतिक्रियाहरु प्राप्त भएका छन् ।’
गढीमाई मेलाको बखत समूह बनाई इलामदेखि मकवानपुरसम्म २५ जिल्लामा स्कुल कलेजमा अभियान सञ्चालन गरेको उहाँले सुनाउनुभयो । मठ मन्दिरहरुमा धर्मको नाममा पशुवली गरिने दुःखद विषयप्रति सचेतना जगाउने अभियान पनि थियो त्यो ।
दक्षिण एशियामा नेपाल
दक्षिण एशियामा पाकिस्तानपछि औसतमा दोस्रो बढी मासु खपत हुने मुलकमा पर्छ नेपाल, ’पोष्टर बोक्नुभएकी एक अभियन्ताले हामीलाई सुनाउनुभयो, ‘पाकिस्तानमा प्रत्येक व्यक्तिले वर्षमा औसत १२ केजी मासु उपभोग गर्छ भने नेपालमा त्यो १० केजी छ । यसले गर्दा पनि हामीले स्वास्थ्य शरिरको लागि स्वस्थ्य आहारमा जोड दिदै आएका छौं, अभियन्ताहरुले भन्नुभयो, ‘र, स्वस्थ्य आहार भनेको शाकाहारी आहार हो । वातावरणका लागि पनि यो अत्यावश्यक छ ।’
एक शाकाहारी अभियन्ताले भन्नुभयो, ‘फेरि, पछिल्लो समय दिगो विकास तथा को कुरा उठिरहँदा त झन् शाकाहारी जीवनको महत्व दिनानुदिन बढ्दै गएको छ । यो कुरा मानिसहरुलाई बुझाउन पनि हामीले शनिबारको दिन बिहानको केही घन्टा अभियानलाई दिएका हौं । यसले हामीलाई आत्मिक शान्ति र सुख मिल्दछ । त्यसमाथि म त झन् भेगन परेँ ।’ आज भेटिनुभएका मध्ये २ जना भेगत हुनुहुँदोरहेछ । छिमेकी मुलुक भारतमा कुल जनसंख्याको ३५ प्रतिशत शाकाहारी छ । तर, हाम्रो मुलुकमा करिब १४ प्रतिशतको हाराहारीमा मात्र रहेको उहाँहरुले उल्लेख गर्नुभयो ।
सुखद पक्ष अनि सम्भावना
‘सकारात्मक पाटोले हेर्ने हो भने, अहिले थुप्रै गाउँहरुमा पनि शाकाहारी बन्नेहरुको संख्या बढेको पाएका छौं, प्याकुरेलले सुनाउनुभयो, ‘इलामको मानसेबुङस्थित ९ सय घरपरिवार लिम्बु रहेको एउटा सिङ्गै वडा शाकाहारी छ । त्यस्तै रौतहटको करिब ५ सय घर परिवार रहेको एउटा कृष्ण प्रणामीहरुको टोल नै शाकाहारी छन् । यस्ता धेरै छन् ।’ कोरोना महामारी पछि भने मानिसहरुमा शाकाहारी बन्ने प्रवृत्ति बढेको उहाँहरुले बताउनुभयो ।
अभियन्ताहरुले भन्नुभयो, ‘यदि स्वास्थ्य सबैभन्दा ठूलो धन हो हामी भन्छौं भने पनि स्वास्थ्य जीवनको लागि शाकाहारी बन्नैपर्छ । निरोगीताको लागि शाकाहारी बन्नुपर्छ । अनि, अहिंसा परमो धर्म हो भने पनि प्राणी हिंसाको ख्याल राख्नुपर्छ । प्राणी अधिकार पनि ख्याल गर्नुपर्छ ।’
उहाँहरुले आफुहरुको अभियान अहिंसावादी अभियान भएको बताउनुभयो । ‘आहार पनि अहिंसासँग जोडियो, ’उहाँहरुले प्रष्ट पार्नुभयो, ‘अहिले समाजमा जति पनि हिसां चोरी बलात्कार, डकैती वा अनैतिक तथा अवैधानिक क्रियाकलाप भएका छन् ती सबै आहारका कारण हुन् । मासंहारीले मदिरापान गर्ने र माद आएपछि असामाजिक क्रियाकलापहरुमा संलग्न हुने गरेका छन् । खानेकुराले जसरी शरिरमा असर गर्छ, त्यसरी नै दिमागमा पनि असर गर्छ । मानिसको प्राकृतिक आहार त फलाहार नै हो ।’ अभियन्ताहरुको अभियन्ताहरुको सन्देश छ , 'साउनमा मात्र होइन सधै शाकाहारी बनौं ।'
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com