१. तिजगीतः बिन्ति
केटीः
आयो आयो लौ तिज आयो
मनमा आहा उमङ्ग छायो
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
के गरी खै धानौँला घर
महिनौँ केले खाने हो दर
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
केटीः
सबका परे भनेको मान्ने
मेरै रैछन् न मान्ने न जान्ने
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
तिज उल्कै महङ्गो भो अहिले
माग कति सम्झ त पहिले
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
केटीः
दुनियाँले रमाउन हुनी
मैले कस्तो पाएछु जुनी
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
बुझिसक्नु छैन चाल यो
चाड मान्ने के हो ताल यो
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
केटीः
तिम्रै लागि मान्या हो हेर न
धन्य भनी मायाले बेर न
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
बिर्सियौ कि सङ्गतले भुइँ
घर रित्त्याइ बाहिर के फुइँ
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
केटीः
मेरो कमाइ कम भनी हेपेको
धेरै भयो किचकिच खेपेको
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
कमाइभन्दा रमाइको चाङले
दिउँसै लठ्ठ पर्यौ कि भाङले
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
केटीः
आफ्ना कुरा अरूका माकुरा
नचलाऊ भो आरोपका छुरा
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
दुःख बुझ्ने तिमी नै ठान्थेँ
मनमन्दिरकी देवी नै मान्थेँ
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
केटीः
मुखले ठिक्क दिक्क मनले
फुटाउँछ कि निष्ठुरी धनले
बरु गर सकेको प्यार
मेरा बुढा हुप्प नपर
केटाः
यति बुझ्ने छौ प्रिया मेरी
विकृतिमा नडुब्नू नहेरी
प्यार गर नगर प्यारप्यार
मेरी बुढी वाक्क नपार
दुवैः
घाँटी हेरी हाँड निल्न सिकौँ
देखासिकी फुइँमा नबिकौँ
प्यार गरौँ नगरौँ प्यारप्यार
तिज मानौँ लौ सँगै रमार ।
२. तिजगीतः तिज मनाऔँ
हे ! नखानू दर नपच्ने गरेर
धर्म मिल्ला व्रत के बसे ?
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ
के पाइन्छ महङ्गा लाएर
नहुनेका मन दुखाएर
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ
नाचौँ हामी तिजमा रमाई
होडबाजीले बढ्ला के कमाइ
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ
लोक जाँच्छ कर्मलाई सुझेर
माग गरौँ मर्मलाई बुझेर
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ
लुकाएर पिर के लुक्छ र
धाकले के सन्तोष मिल्छ र
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ !!!
साटौँ बरु मनका उही चोट
अरूलाई लगाउनु के खोट
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ !!!
नसोचौँ भो कुभलो मनले
मनाउनुछ मौलिक पनले
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ !!!
तिज मनाऔँ
संस्कृति बचाइ सबै रमाऔँ
३. तिजगीतः ''सतायो''
सँगैको साथीको घुर्ने बानीले सतायो
पढ्नलाई परीक्षा कुर्ने बानीले सतायो
नआओस् केही चाड कोरोना कहर छ
बिर्सेर सन्त्रास फेसन् छाँट्नेको लहर छ
सँगैको साथीको....
नबोलाउँ रिसाउलान् चेलीको आश होला
जमघटमा भाइरसको फुर्तीले माथ छोला
सँगैको साथीको......
चित्त नदुखाऊ चेली हो भुले कि भनेर
बस्दैछन् दाजुभाइ कहरजाने दिन गनेर
सँगैको साथीको.....
हेर चाडबाडको रमझम बढेर उल्का छ
देश सक्यो नि कीराले नेता लडेर उल्का छ
सँगैको साथीको.....
गुमे कतिका भरोसा चैन छैन नाचेर
सुख साँटौँला पहिले अरू बचाइ बाँचेर
सँगैको साथीको.....
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com