Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

तोडफोड र आगजनीपछि उठ्न खोज्दै नामी कलेज (भिडियोसहित)

तोडफोड र आगजनीपछि उठ्न खोज्दै नामी कलेज (भिडियोसहित)

काठमाडौं । भदौ २४ गते करिब साढे ११ बजेतिर ३ सय बढीको संख्यामा आएका प्रदर्शनकारीहरुले काठमाडौंको जोरपाटीस्थित नामी कलेजमा आगजनी र तोडफोड गरी क्षति पुर्याएका छन् । जेनजीको आन्दोलनका नाममा केही अराजक समूहहरुले उक्त दिन बिहानबाटै घुसपैठ गरी देशैभर योजनाबद्ध किसिमले विध्वंस मच्चाइरहेका थिए । सोही क्रममा नामी कलेजमा पनि झण्डै ४ सयको समूह प्रवेश गरी आक्रमण गरेको कलेज प्रशासनले जानकारी गराएको छ । त्यसक्रममा सुरक्षाकर्मीलाई हतियारको बलमा डरधम्की देखाई उनीहरुले कलेजमा भौतिक आक्रमण गरेका थिए ।

'यो समयमा अब सुरक्षाकर्मी तथा स्थानीयहरुले पनि केही गर्न सक्दैनन् हामीले जे गरेपनि हुन्छ भन्ने निर्क्यौल गरेर उनीहरु कलेज छिरेका थिए,' प्रशासनले भन्यो । केही अन्य शिक्षण संस्थासँगै नामी कलेज पनि उक्त दिन विध्वंसात्मक आक्रमणको निशानामा पर्यो । 

उक्त घटनामा कलेजका 'ए', 'बी' र 'सी' ब्लकमा आगजनी गरिएको छ । सामानहरु तोडफोड गरिएका छन् । कलेजका अधिकांश भागमा क्षति पुगेको छ । केही भागमा बढी नै क्षति पुगेको छ । कलेजका ९ वटा माइक्रो भ्यान सबै जलेर काम नलाग्ने भएका छन् । डढेलोका कारण भवनको आन्तरिक भागहरु तातेको छ, सिलिङहरु पनि तातेका छन् ।

DSC06536_11zon.jpg
आगजनीले क्षतिग्रस्त भवन

कलेजको सीसीटीभी फुटेज उपलब्ध हुने अवस्था नरहेपनि ठाउँ ठाउँमा भएका फुटेजहरु र स्थानीयबासीहरुले बताएको हुल्याहाका आधारमा आक्रमणकारीहरु चाँडै पक्राउ पर्ने विश्वास कलेजले लिएको छ ।

'कलेजमा आक्रमण गर्नेहरु ध्वंसात्मक प्रवृत्तिका व्यक्तिहरु हुन् । उनीहरुको पहिचान चाँडै खुल्ने र कारवाहीको दायरामा पनि ल्याइने गरी प्रहरी प्रशासनसँग समन्वय भएको छ । खास कारणसहित सुशासन र परिवर्तनको पक्षमा प्रदर्शन गर्ने जेनजीहरुले शैक्षिक संस्थाहरुमा आगजनी र तोडफोड गर्नै सक्दैनन यो अरुकै काम हो,'  कलेज प्रशासनले जनाएको छ ।

DSC06541_11zon.jpg
माइक्रो भ्यान

करिब २९ रोपनी क्षेत्रफलमा फैलिएको कलेजमा भएको क्षतिको आंकलन गर्न केही समय लाग्ने कलेज प्रसाशनले जानकारी गराएको छ । आज गोकर्णेश्वर नगरपालिकाकातर्फबाट पनि कर्मचारीहरुले कलेजको अवस्थाबारे जानकारी लिएका छन् । यस्तै, प्याब्सनका प्रतिनिधिहरुले पनि कलेजको निरीक्षण गरी क्षति, पछिल्लो अवस्था र भावी योजनाबारे जानकारी लिएको प्रशासनले धिप्री डटकमलाई जानकारी गरायो । 

'हामी अल्टरनेटिभ लोकेशनमा विद्यार्थीहरुको जाँच गराउँछौं, अभौतिक कक्षाहरु चाँडै सञ्चालन गर्ने र भौतिक भने दशैतिहार अनि छठको लामो छुट्टीपछि गर्ने योजना कलेजको छ । लामो बिदामा मर्मतसम्भारको काम हामी सक्छौं' कलेजले भन्यो । 

DSC06529_11zon.jpg
भौतिक क्षति

अहिले कलेजमा शिक्षक कर्मचारी, विद्यार्थी लगायतको सहभागितामा सरसफाई गरी अस्थायी कक्षा सञ्चालनको तयारी भैरहेको देख्न सकिन्थ्यो । ए लेबलको भने परीक्षा र कक्षाहरु भौतिक रुपमै केही दिनमै सञ्चालन गर्ने जनाइएको छ । प्लस टु र माथिका कक्षाहरुका हकमा भने वैकल्पिक व्यवस्था गरिने कलेजले जनाएको छ ।

यो घटना विभिन्न संकाय र तहमा गरी हाल अध्ययनरत करिब १४ सय विद्यार्थीको भविष्यमाथि खेलवाड भएको समेत कलेजले जनाएको छ । सन् २०१३ मा स्थापना भएको कलेजमा हाल शिक्षक कर्मचारी (आशिंक र पूर्णसमेत) गरी करिब २ सय कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार