Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
समाचार समीक्षा

‘लाटो बोर्ड’ को महेन्द्रीय ‘मेटाफर’

‘लाटो बोर्ड’ को महेन्द्रीय ‘मेटाफर’

हिजो मङ्सिर १३ गते शनिबार राष्ट्रिय सहकारी बैंकको २२औं वार्षिक साधारणसभाको निर्णय प्रमाणीकरण गर्न आयोजित केन्द्रीय सभामा अध्यक्ष महेन्द्र कुमार गिरीले ‘लाटो बोर्ड’ भनेर वर्तमान सञ्चालक समितिलाई लगाइएको ‘आरोप’ बारे खुलेर बोले । उनले एक पटकमात्र होइन, दोहोर्याई तेहेर्याई ‘लाटो बोर्ड’ को प्रसङ्ग उठाए । पत्रकारिताको कोणबाट ‘लाटो बोर्ड’ को महेन्द्रीय बिम्व ‘वर्थ राइटिङ इस्यू’ नबिनरहन सकेन । र, त्यो पनि पत्रकारिताको आचारसंहिताको अधिनस्थ शीर्षकमा प्रयुक्त शब्दप्रति कुनै पनि प्रकारको अवहेलना भाव नराखी ।

सहकारी बैंकका अध्यक्ष महेन्द्रको अभिव्यक्ति शैलीको फेरो समात्दा ‘लाटो बोर्ड’ को केन्द्रीय पात्रताको पुष्टि गर्न खोजे जस्तो स्पष्ट सुनिन्थ्यो । देखिन्थ्यो । किनभने बोलीमा उग्रता थिएन । स्वरको पीचको तह ‘सेम’ थियो, ‘इन्टोनेसन’ मा ठहराव थियो । स्वभावजन्य शैली मुखरित थियो । महेन्द्र ‘हाइसाउन्डिङ’ र ‘पम्पस’ सुनिएनन् ।

उनले केही ‘लाटो’ स्वीकारोक्तिहरु गरे । अभिधा अर्थमा । हिजो उनले भने, ‘हामी आइसकेपछि सञ्चालक समितिका सबैले व्यवस्थापनले तयार गरेका प्रस्ताव र प्रतिवेदन पूर्णतः पढ्नुपर्यो, वित्तीय साक्षरता पढ्नुपर्यो भनेर सिकायौं । बैंकका पूर्व अध्यक्ष रमेश पोखरेल समेतलाई पढाउने काम गर्यौं । पुँजी पर्याप्तता अनुपात (क्यापिटल एडिक्वेसी रेसियो) लगायतका विषयमा समेत हामीले पनि पढ्यौं र रमेश पोखरेल सरलाई समेत पढायौं । त्यसपछि हामीले पोखरेल सरलाई ऋण उठाउन लुम्बिनी सम्म पुर्यायौं । करिब ८ वर्ष अध्यक्ष भएका पोखरेलले आफूलाई त यस्तो प्राविधिक विषयहरु थाहै थिएन समेत भन्नुभयो । यद्यपि, भाषण गर्ने सबै सरहरुले दामी डिभिडेन्ड बाढ्छौं भन्ने मात्र गर्नुहुन्थ्यो ।’

त्यस्तै निवर्तमान अध्यक्ष केबी उप्रेतीको कार्यकालमा आफू र अहिलेको आफ्नो टिमकाहरु समेत सञ्चालक हुँदा ‘लाटो’ काम गरेको उनले खुलाए । उनले भने, ‘विगतमा एउटै संस्थालाई ४० करोड रुपैयाँसम्म लगानी गरिएको रहेछ । २५ वटा सम्म यसरी लगानी गरिएको रहेछ । कोशीप्रदेश देखि पश्चिमसम्म ठीक छ तर बागमतीका केही ठाउँमा यस्तो ठूलो लगानी गरेर ५ अर्ब रुपैयाँ जोखिममा पारिएको रहेछ । हामी त के सञ्चालक नै भएपनि जयजयकार मात्र गर्यौं त्यतिखेर । हेर्दै हेरिएन ।’ 

अर्को एक 'लाटो' प्रसङ्ग महेन्द्रले सुनाए, ‘सञ्चालकका संस्थाहरुले धितो सुरक्षणका रुपैयाँ राखेको जग्गा हेर्न जाँदा डाँडाकाँडा मात्र देखियो, बाँदर लड्ने भीरपाखा मात्र भेटियो । यस्तो पाराले हुन्छ ? कि सञ्चालकमा बस्नै हुँदैन ।’

अनि व्यवस्थापनले आफूहरुलाई ‘लाटो’ बनाएको पनि बताए । ‘व्यवस्थापनले सिफारिश नै नगरेको पाँच छ वटा धितोमा हामी सञ्चालकले भटाभट सही गरेछौ।’ उनले हसाएँ पनि, ‘व्यवस्थापनका बाठा मानिसहरुले सिफारिशनै गर्नु भएनछ । हामीले भटाभट सही गरेछौं । नेहेरी नपढीकन । केबी सर भनियो, सही गरियो । त्यो हिसाबले गर्दा हामीलाई पनि कारबाही हुने अवस्था छ यदि त्यो पैसा उठेन भने । सञ्चालक भैसकेपछि सचेत चाहिं हुनुपर्ने रहेछ भन्ने सिकाइ अब भएको छ । आउने साथीहरुलाई यो विषय मैले जानकारी गराएँ ।’ 

उनले अर्को ‘लाटो’ काम गरे । बैंकका निवर्तमान अध्यक्ष केबी उप्रेतीलाई ‘सर’ नै भनेर सम्झिए । सम्बोधन गरे । उप्रेतीको बचाउ गर्दै ‘केबी सरलाई अफ्ठेरो परेपछि मलाई बोर्डले सर्वसम्मत अध्यक्ष चयन गर्यो’ भने । हुनत उनै महेन्द्रले अरुले आँट नगरेपनि उप्रेतीको जन्मदिनमा सामाजिक सञ्जालमा फोटो राखेर ‘शुभकामना सर’ बाढेका थिएँ ।

तर, तिनै केबी सरको प्रसङ्ग उठाएर उनले सहकारी सञ्चालकहरुको अवस्थाबारे ‘लाटो’को ‘मेटाफर’ पनि बाढे । उनले भने, ‘धेरै साथीहरु जेलमा छन् । अस्ति यसो केबी सरलाई भेट्न जेल गएको, १ सय जना भन्दा बढी सहकारीका सञ्चालक साथीहरु त्यहाँ रहेछन् । उहाँ फलानोको अध्यक्ष, उहाँ ढिस्कानोको अध्यक्ष कुन्नि के के भन्दै केबी सरले मलाई चिनाउनुभयो ।’

केवी सरलाई सम्झदै कारबाहीमा परेका बैंकका केही सञ्चालकहरुप्रति ‘लाटो’ प्रहार गरे, ‘सञ्चालक भैसकेपछि ऋण लिन पाइँदैन तर बैंक सञ्चालकहरुकै संस्थाले ऋणको भाखा नघाएका कारण राष्ट्र बैंकले हट भन्यो, तर पछि गाली खाने हामी भयौं । उहाँहरुलाई हामीले हटायौं भन्ने लाग्यो । हामीसँग रिसाउनुभयो । तर अहिले त खुसी भैसक्नुभएको छ किनकि निर्वाचन आउँदैछ नि । हामीले पनि फकाइसक्यौं उहाँहरुलाई । माफी मागेर पनि फकाएको अवस्था छ ।'

‘अन द ब्रिङ्क अफ.....’ को अवस्थामा रहेको बैंकका हटाइएका सञ्चालकहरुबारे अध्यक्ष महेन्द्रले ‘लाटै’ चरित्र चित्रण गरिदिए । अन्तिममा बोल्ने पालो आएपछि उनले शुरुकै केही वाक्यपछि नै भने, ‘बैंकको पछिल्लो बोर्डप्रति साह्रै लाटो टिम आयो भनेर खिसिट्युरी गर्नेहरुको पनि कमी थिएन । केन्द्रीय नेतृत्वमा अरु धेरै साथीहरु बसिरहेको र आकांक्षी रहेको अवस्थामा हामी आउँदा कतिपयले असहयोग पनि गरेको अवस्था हो ।’

तर, आफू नेतृत्वमा आउँदा भएको असहयोगको कुरा गरेर उनले लक्षणा कसे। सहकारी संघ महासंघभित्रको सरुवा रोगको कुरा गिरीले सुनाए । संकटको अवस्थामा त्राणका लागि सर्वसम्मत नेतृत्व सम्हालेका महेन्द्रले प्रयोग गरेको ‘लाटो बोर्ड’  मेटाफर (लक्षणा) पनि थियो है भनेर क्रेडिट लिए । उनले भने, ’यद्यपि, वर्तमान सञ्चालक समिति सकारात्मक सोच्ने समूह भएकाले त्यस्ता नकारात्मक कुराहरुलाई हामीले ध्यान नदिई काम गर्यौं । नेपाल राष्ट्र बैक गएर हुन्छ कि पत्रपत्रिकामा लेखाएर हुन्छ कि, हामीलाई असहयोग भएकै हो । तर, हामीले उहाँहरुको बारेमा केही पनि भनेनौं । एउटा टिम हामी विरुद्ध लागि नै रह्यो ।’

उनले 'लाटो बोर्ड' होइन है भनेर राम्रैसित भने । उनले मुख खोले, ‘साँच्चै भन्ने हो भने बैंकको पछिल्लो समिति लाटो चाहिं थिएन है । लाटो भनेर हामीलाई खिसिट्युरी गरेको अवस्था मात्र थियो ।’ उनले टिम वर्कमा जोड दिए । नकारात्मकता भन्दा सकारात्मकतामा विश्वास गरेर कर्ममा जुटेको अभिव्यक्ति गरे । हुनत यो एक वर्ष अरु संघ महासंघका अध्यक्षहरु जस्तो आर्टिकल, अन्तवार्ता वा भाषणमा धेरै सुनिएनन् । ‘पब्लिसीटी’ भन्दा ‘रेस्पन्सिबीलीटी’मा लागेको सार्वजनिक छवि निर्माण गरे । त्यसो त दोहोरो सम्वादमा सञ्चारमाध्यममा आउन कमै चाहने गिरीले फेसबुक पोष्टहरुमार्फत सकारात्मक उर्जा सञ्चारको एकांकी अभियान भने चलाइनैरहे ।

‘लाटो बोर्ड’ को लिडरले दिएको पछिल्लो अन्तर्वार्ता पनि विजयकुमार पाण्डेले लिएको केपी शर्मा ओलीको पछिल्लो अन्तर्वार्ता जस्तो नसुनिएको होइन । प्रश्नहरु पेचिला नुहँदा अन्तर्वार्ताले विज्ञापन सामाग्रीको रुपमा स्वाभाविक ‘लिङ्ग परिवर्तन’ गर्छ नै । अनि त्यस्तो अन्तर्वार्ता कहाँ, कसलाई र कसरी दिइयो भन्ने कुराको अन्तर्यले पनि अर्थ बोक्दछ । यद्यपि, उनै महेन्द्रले हिजो नै अनौपचारिक भेटमा सञ्चारकर्मीहरुसँग भने, ‘तपाईंहरुले पनि भाषण गर्नेहरुको मात्रै समाचार र अन्तर्वार्ता लिनुभएन । काम नगर्ने तर बोलेर मात्र हिड्नेहरुलाई स्पेस नदिनुहोस् । बरु हाम्रो पनि अन्तर्वार्ता नराख्नुहोस् । ग्रासरुटमा बसेर काम गर्नेहरु कति ओझेलमा छन्, साँच्चिकै काम गर्नेहरु छायाँमा छन् । उनीहरुको कामको यथोचित सम्मान भएको छैन । गाउँगाउँमा सहकारीमार्फत समाज रुपान्तरण गर्नेहरुको स्टोरी बनाउनुहोस् हामी देखाइन्दिछौं त्यस्तो व्यक्तिहरु र हामीनै तपाईंहरुलाई लान्छौं पनि । बैंक लिड गर्ने प्रोफेशनल मान्छेहरु आउनुपर्यो । राम्रो मान्छे ल्याउन सञ्चारमाध्यमको पनि सहयोग चाहियो ।’ यसै प्रसङ्गमा उनले भने, ‘कतिपय साथीहरुलाई के लाग्थ्यो भने प्रारम्भिक संस्थाको साधारणसभामा भाषण गर्दा बैंक बन्छ भन्ने थियो । त्यो कल्चरलाई हामीले तोडेका छौं ।’ 

अनि, उनै महेन्द्रले सहकारी बैंकलाई अत्यन्त बिझेको अनलाइन खबरको प्रसङ्ग पनि ‘लाटै’ रुपमा उप्काए । समाचारको शक्तिको पनि कुरा गरे । र, एउटा कुरा खुलाए पनि । अनि, उनले ‘लाटै’ रुपमा अरुलाई क्रेडिट दिए र पुनः आफैं लिए, ‘हामीले दुःख गर्यौ अब आउनेहरुले क्रेडिट पाउँछन् । एक अर्बदेखि २ अर्ब नाफा हुँदैछ । यद्यपि, सञ्चित नोक्सानी ३ अर्ब बढी भएकाले नाफा बाँड्न भने सकिएन । अब आउने समितिले अलिकति बल गर्ने र खट्ने हो भने अवस्था निक्कै राम्रो हुन्छ ।’

अनि, केही समयअघि व्यवस्थापनको बठ्याइँको कुरा गरेका महेन्द्रले त्यही व्यवस्थापनको पनि साथ लिन खोजेको देखियो । ‘भरत सर’ भनेर कर्जा असूली विभाग प्रमुखको दुई पटक नामनै मञ्चबाट उच्चारण गरेर स्वीकारोक्ति लिए पनि । उनले भने, ‘धेरै कुरा हामीहरुले व्यवस्थित गरिसकेका छौं । व्यवस्थापन टिमले पनि धेरै राम्रो काम गरेको छ पछिल्लो पटक । अर्को साल २ अर्ब नाफा हुन्छ, होइन त भरत सर । ३ अर्ब नै पुग्यो भने त लाभांश बाँड्न पनि पुग्ला ।’

क्रेडिटकै कुरामा उनले भने, ‘म म अध्यक्ष भएर नयाँ समिति आउँदा बैंकका कर्मचारी र सदस्य संघ संस्थाहरुको आशा भरोसा बढेकै हो । केही हुन्छ कि भन्ने हिसाबले ।’

बैंकको विगत र वर्तमानबारे धेरै बोलेपछि महेन्द्रले आगामी पुस १२ गते निर्वाचन र भावी नेतृत्वबारे पनि धारणा राखे । सहकारी बैंकलाई ‘लाटो’ कि ‘बाठो’ बनाउने भन्ने ‘ड्राइभिङ सिट’मा राजनीतिक दलहहरु रहेको उनले 'लाटै' स्वीकारोक्ति गरे । र, तिनै राजनीतिक दलका प्रतिनिधिहरु रहेको बोर्डको सल्लाहकारहरुसँग आग्रह गरे, ‘सल्लाहकारहरुलाई पनि म त्यही आग्रह गर्छु । किनकि यहाँ अलि त्यस्तैत्यस्तै नै हुन्छ । त्यसलाई चाहिं अलि मिलाएर राम्रो टिम बनाउन यहाँहरुले भूमिका खेल्नुपर्छ ।’

उनले अभिधा शैलीमै ‘लाटो लक्षणा’ व्यक्त गरे, ‘बैंक मात्र  होइन, नेफ्स्कून महासंघ आदि जहाँ जहाँ हुन्छ काम गर्ने प्रोफेशनल सबै क्षेत्रको साथीहरु आउँदा बेटर हुन्छ । यसका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्ने आशा गर्दछु ।’

बैंकको ‘हटसिट’ छोड्दै गर्दा उनले सौम्य भावभङ्गीमा बिम्वहरुको बाँण लगाए । नरम शैलीमा कडा बोले । कतिपयले बोल्न नमिल्ने र नहुने कुरा बोले भन्ने पनि तात्तातो प्रतिक्रिया थिए । तर, उनले सञ्चारमाध्यमले यस्ता कुराहरु लेखे पनि त्यसले अन्ततः बैंकलाई सच्चिन मद्दत नै गर्ने पनि मञ्चबाटै बोले । अनि, अब बैंकको नेतृत्वमा आउन कम्मर कसेकाहरुलाई पनि खबरदारी गरे, सचेत तुल्याए र पाठ पनि पढाए ।

हो, उनै महेन्द्रले 'लाटो बोर्ड' भनेर अरुले लगाएको आरोप ओकलिदिए पनि र ‘देख्यौ त लाटो बोर्डको बाठो चाल’ भनेर उपलब्धिहरु स्पष्टसँग राखिदिए । महेन्द्रले बोल्नु अघि नै बैंकका व्यवस्थापन प्रमुख बद्रीकुमार गुरागाईंले सुधारोन्मुख वित्तीय अवस्था र सूचकहरुबारे लामै जानकारी गराए ।

नेपालको सहकारी इतिहासमा नै ‘कोअपरेटिभ मेटाफर’ बनेर रहनेछ ‘लाटो बोर्ड’ । र यस्तो ‘लाटो बोर्ड’को ‘महेन्द्रीय शासनकाल’ को समीक्षा इतिहासले सही रुप, सार र सयममा पक्कै गर्ने विश्वाससहित आजलाई अस्तु । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार