काठमाडौं । २०८० पुस २७ र २८ गते ललितपुरमा सम्पन्न राष्ट्रिय सहकारी महासंघको ३१ औं बार्षिक साधारणसभाले ओमदेवी मल्ललाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरी एकसाथ दुई इतिहास रचेको थियो । नेपालको सहकारी अभियानको शीर्ष नेतृत्वमा, त्यो पनि सर्वसम्मत रुपमा, एउटी महिला चुनिएकी थिइन् भने त्यही महासंघको व्यवस्थापकीय नेतृत्व पनि महिलाकै थियो । यी दुई केवल सुखद संयोगमात्र नभइ ऐतिहासिक घटनाक्रम थिए । त्यही रुपमा सञ्चारमाध्यमहरुले यो समाचारलाई ‘स्पेस’ दिए ।
तर, दुई वर्ष नबित्दै उक्त अवस्था ३६० डिग्रीले परिवर्तन भएको छ । महासंघमा व्यवस्थापकीय अस्थिरता प्रवेश गरेको छ । एक वर्ष लगत्तै महाप्रबन्धकबाट चित्रा कुमारी थामसुहाङ सुब्बा हटिन् । नायब महाप्रबन्धक (डिजिएम) बाबुल खनाल पनि बाहिरिए । त्यसपछिका महाप्रबन्धक सुरेश थापाको पनि अल्पायुमै बहिर्गमन पछि अहिले गोपीकृष्ण भण्डारी कार्यवाहकको काम गर्दैछन् ।
र, सर्वसम्मत निर्वाचित भएको दुई वर्ष नबित्दै स्वयं अध्यक्ष नै अमेरिका लागिन् । जुन साधारणसभाले मल्ललाई अध्यक्ष सर्वसम्मत गर्यो, दुई वर्ष पनि नपुग्दै त्यही साधारणसभाले उनै अध्यक्ष खोज्ने बेला आएको छ । जेनजी आन्दोलनको दिन महासंघ पुगेकी मल्ल त्यसको भदौं ३० गते (सेप्टेम्बर १५) अमेरिका उडिन् । र, उनी अझैं उतै छिन् ।
सहकारीको शीर्ष महासंघ अहिले ‘कामचलाउ’ अवस्थामा छ । अध्यक्ष र महाप्रबन्धक दुबै ‘भाइटल पोष्ट’ कार्यवाहक छन् । दुई डिजिएम पद रिक्त छन् । खासगरी जेनजी आन्दोलनपश्चात विकसित तरल राजनीतिक र आर्थिक अवस्थाकाबीच सहकारी अभियानलाई सशक्त शीर्षस्थ नेतृत्वको अनुपस्थिति खट्किएको छ । बलियो व्यवस्थापकीय बागडोरको आवश्यकता बिझेको छ ।
मल्ल अमेरिका उडेको साढे दुई महिना बढी समय बितिसकेको छ । बरिष्ठ उपाध्यक्ष रमेश पोखरेललाई ‘सम्पूर्ण कार्य गर्ने’ अख्तियारीसहित कार्यवाहक दिएर गएकी उनी कहिले नेपाल फर्किन्छिन् टुङ्गो छैन ।
ठूलो रस्साकस्सी पश्चात अध्यक्ष सर्वसम्मत भएकी मल्लको महासंघको सत्ता आखिर किन दुई वर्ष पनि नपुग्दै डगमगायो ? सर्वसम्मत अध्यक्ष निर्वाचित व्यक्तिले उनकै भनाइमा 'काम गर्न नसक्ने वातावरण' कसरी सिर्जना भयो ? सोचनीय छ । एउटै राजनीतिक दलको ‘क्लब’ बन्यो भनेको महासंघमा समेत किन यस्तो भैरहेको छ ? प्रश्न सान्दर्भिक र सोचनीय छ ।
तर, राष्ट्रिय सहकारी बैंकको चुनावी चहलपहल चुलिएको वर्तमान अवस्थामा मैलिदै गएको ‘महासंघको जिन्दगी’ को सोधखोजको स्टोरी छायाँमा परेको छ । यसै परिप्रेक्ष्यमा धिप्री डटकमले उक्त संगीन विषयमा आलोक छर्ने प्रयास गरेको छ ।
अमेरिकाबाट अध्यक्ष
प्रतिकूल कार्यवातावरण र राजनीतिक हस्तक्षेपका कारण आफू महासंघ अध्यक्षको जिम्मेवारी बहन गर्न नसक्ने निर्णयमा पुगेको मल्लले प्रतिक्रिया जनाइन् । ‘मैले काम गर्न नसकेको वा नगरेको होइन, ’उनले अमेरिकाबाट धिप्री डटकमसँग कुरा गर्दै भनिन्, ‘जीवननै सहकारी अभियानमा सुम्पेको व्यक्ति र केही गरौं, मुलुकको सहकारी अभियानको छवि उचो बनाउ भन्ने सकारात्मक सोच भएको व्यक्ति विना कारण यो निर्णयमा पुगेको होइन भन्ने सबैले बुझ्छन् भन्ने मलाई विश्वास छ ।’
काम गर्न खोज्दा भाँजो हाल्ने, अनावश्यक राजनीतिक हस्तक्षेप गर्ने, सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरितका विषयहरुमा अडान लिने र वातावरण धूमिल बनाउने सुनियोजित प्रयासहरुले गर्दा आफू अब मार्ग प्रशस्त गर्ने निश्चयमा पुगेको उनले जनाइन् । व्यवस्थापकीय अस्थिरताको बीउ छर्ने काम केवल सञ्चालक समितिले मात्र नगरी त्यो भन्दा परकाहरुको प्रत्यक्ष हस्तक्षेपकारी हात रहेको स्पष्ट हुन्छ ।
महासंघभित्रको व्यवस्थापकीय अस्थिरताको कारक राजनीतिक हस्तक्षेप भएको स्वयं अध्यक्ष मल्लले स्वीकारिन् । आफू ‘बिचरा अध्यक्ष’ बन्न नचाहेको भन्दै उनले भनिन्, ‘अध्यक्ष बिचरा भएर बस्नुपर्यो । मलाई राम्रो जीएम ल्याउन समेत दिइएन ।’ उनले सुब्बाको राजीनामा मात्र नभई त्यसयताका उच्च व्यवस्थापनको आगमन र बहिर्गमन दुबैमा राजनीतिक हस्तक्षेप भएको दाबा गरिन् । ‘एउटा जीएम ल्याउन नदिने ओमदेबी बिचरा हो । एउटा थोत्रो गाडी बेच्ने अधिकार समेत अध्यक्षलाई नभएको जिकिर गर्दै जिएम हटाउन राख्न सक्ने अधिकार त निकै परको कुरा भएको उनले बताइन् ।
आफूले कुनै गल्ती नगर्दा पनि असहयोग भएको मल्लले बताइन् । ‘अध्यक्ष भनेको अर्गनाईजेशन हो, मैले यतिञ्जेल अध्यक्ष बस्दा धर्म निर्वाह गरेकी छु । तर, अब बस्न सक्ने स्थिति भएन ।’
तुलनात्मक रुपमा सहीलाई सही र गलतलाई गलत भन्न रुचाउने अभियन्ताको छवि बनाएकी मकवानपुर बचत संघकी अध्यक्ष कल्पना श्रेष्ठले पनि महासंघमा काम गर्ने वातावरण नभएको भन्ने आशय अध्यक्ष मल्लले आफूसँग अमेरिका जानु केही समयअघि व्यक्त गरेको सुनाइन् । उनले भनिन्, ‘दिदीले मलाई पछिल्लो पटक भेट्दा बहिनी खोई मलाई तपाईले सहयोग गर्नुभएन ? महासंघमा सबैतिरबाट काम गर्न अफ्ठेरो भयो भन्दै हुनुहुन्थ्यो तर मैले त हामीले गर्ने सहयोग गरेकै छौं । कार्यक्रमहरुमा भाग लिएकै छौं । शुल्क तिरेकै छौं भनेर भनेकी थिएँ ।’
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकाल महासंघ मैलिदै गएकोतर्फ चिन्ता व्यक्त गर्छन् । महासंघ अभियानको धरोहर बन्नुपर्नेमा आन्तरिक अस्वस्थ्य प्रतिस्पर्धा र खिचातानीमा रुमल्लिनु दुःखद भएको उनले टिप्पणी गरे ।
'त्यस्तो हुँदै होइन'
वातावरण अहसज हुँदा पदीय दायित्व निर्वाहमा समस्या भएको मल्लको भनाइसँग महासंघ सञ्चालकहरु सहमत देखिदैनन् । बोर्डबाट असहयोग र राजनीतिक हस्तक्षेपको आरोप उनीहरु पूर्णतः अस्विकार गर्छन् । कार्यवाहक अध्यक्ष पोखरेल, पूर्व अध्यक्ष मिनराज कडेल, उपाध्यक्षद्वय खेमबहादुर पाठक र डिबी बस्नेत, सञ्चालक माधवप्रसाद जोशी लगायत कोही पनि बोर्डभित्रबाट असहयोग भयो भन्ने विषय स्वीकार्दैनन् । उनीहरु सबैको लाइन स्पष्ट देखिन्छ । यो पार्टी ‘स्कूलिङ’ हो वा सुस्पष्ट सल्लाह ।
कार्यवाहक अध्यक्ष पोखरेल भन्छन्, ‘असहयोगको कारण अध्यक्ष अमेरिका जानुभएको पक्कै होइन । कुनै पनि कुरामा महासंघ बोर्डले उहाँलाई असहयोग गरेको थिएन । उहाँ आफ्नै कारणले अमेरिका जानुभएको हो ।’
उनले तर्क छ, ‘सहकारी अभियानको सर्वोच्च निकायका दुबै महत्वपूर्ण पद अध्यक्ष र महाप्रबन्धक कार्यवाहकको भरमा लामो समय चल्नु हुँदैन भन्ने हाम्रो ठम्याइ हो । यो सुहाउँदो विषय पनि होइन । अरुले हेर्दा पनि अस्वाभाविक देखिन्छ ।’
पोखरेलको जस्तै धारणा निवर्तमान अध्यक्ष एवम् सञ्चालक मिनराज कडेल, उपाध्यक्ष डिबी बस्नेत र सञ्चालक माधव जोशीको छ । आगामी साधारणसभा अघि अध्यक्षले मार्ग प्रशस्त गर्ने उनीहरुको विश्वास छ ।
मल्लसँग सम्पर्कमै रहेका उपाध्यक्ष खेम पाठकले भने, ‘मैले त अध्यक्षज्यूलाई आउनुहोस् । बाँकी समय राम्रोसँग मिलेर काम गरौं । र त्यसपछि छोडौला समेत भनेर आउन प्रेरित गरिएको थिए । तर, पछि उहाँले पारिवारिक कारणले आउन नसक्ने अवस्था भयो भन्नुभयो ।’
त्यस्तै, सञ्चालक माधव जोशी भन्छन्, ‘हाम्रो भनाइ हो, अध्यक्षज्यू आएर काम गर्नुभयो भने पनि हाम्रो अहसयोग हुँदैन । उहाँलाई हिजो पनि असहयोग थिएन र भोलि पनि हुनेछैन । तर, लामो समय अल्झाउन हुँदैन ।’
महासंघको पछिल्लो परिस्थितिको सन्देश पक्कै पनि सकारात्मक नगएको धारणा हक्की स्वभावकी मकवानपुर बचत संघकी अध्यक्ष श्रेष्ठले स्वीकारिन् । ‘सन्देश त धेरै नै खराब नै छ, ’ उनले भनिन्, ‘यो अवस्था अब धेरै लामो जानुहुँदैन । मैले बोर्डका केही व्यक्तिहरुसँग कुरा गर्दा अध्यक्षको राजीनामा आएको छैन, नआइकन अरु केही प्रक्रिया नै अघि बढ्दैन भनेको मात्रै पाए । धेरैले व्यक्तिगत कारण हो भनेपनि के हो त्यो व्यक्तिगत कारण जसले गर्दा यति लामो समय बाहिर रहनुपर्ने भयो त्यो भने बुझिएन ।’
मल्लविरुद्ध ‘मल्लयुद्ध’
अध्यक्ष मल्लको कामकारवाहीप्रति असन्तुष्ट महासंघ सञ्चालकहरु एमाले महासचिव शंकर पोखरेल र अध्यक्ष केपी ओलीसम्मै पुगेर कुरा लगाएको बुझिएको छ । उनीसँग काम गर्न नसकिने गुनासो नेताहरु समक्ष गरिएको थियो भन्ने जानकार स्रोतहरु बताउँछन् । अध्यक्षविरुद्ध अविश्वासको प्रस्तावको तयारी समेत भएको बुझिएको छ । संयुक्त राजीनामा गरेर अध्यक्षलाई छिड्के हान्ने परिस्थिति सम्मुख महासंघ पुगेको थियो । यही बुझेर पनि मल्ल जनेजी आन्दोलनको आडमा अमेरिका पुगिन् ।
आफूविरुद्ध सबैले खेल खेलेको आरोप लगाउँदै उनले भनिन्, ‘पाप धुरीबाट कराउँछ ।’ उनले प्रश्न गरिन् ‘भैरहेको अध्यक्ष पद् कसलाई छोड्न मन लाग्छ ? म विरुद्ध अविश्वासको प्रस्ताव लानेदेखि अध्यक्ष केपी ओलीसम्म कान फुके । ओमदेवीले अध्यक्ष चलाउन सक्तिन, हामी संयुक्त राजीनामा दिन्छौं’ समेत भने ।’ रणनीतिक हिसाबले नै आफू विरुद्ध सञ्चालकहरु लागेको संगीन आरोप उनले लगाइन् ।
उनले महासंघमा हेर्दा मसिना लाग्ने विषयहरुलाई समेत प्राथमिकता दिएर आफूले काम गरेको दाबी गरिन् । उनले भनिन्, ‘बर्षौदेखि बिग्रेर बसेको लिफ्ट बनाउनेदेखि महासंघको फुलबारीलाई राम्रो बनाउने र अध्यक्षको कोठा बस्न लायक बनाउने काम मैले गरे । ठूला ठूला होटलमा कार्यक्रम गर्न खोज्ने महासंघको लिफ्टले बर्षौ काम गरेको थिएन । महासंघको मुहारको रुपमा रहेको फूलबारी बनाउनेदेखि अध्यक्षको कोठा बस्नलायक बनाउने काम मैले गरेँ । मैले अग्रसरता लिएर थुप्रै काम गरेको छु ।’
मल्लले भनेझैं ठाडो राजनीतिक हस्तक्षेपको विषयमा बारम्बार प्रश्न गर्दा पनि महासंघ सञ्चालकहरु यो कुरा स्वीकार्न तयार छैनन । उनीहरु ठाडै अस्किार गर्छन् । उनीहरु एक स्वरले भन्छन्, ‘सहकारी अभियानको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै आगामी कार्यदिशाबारे छलफल भएको हो । हामीले कसैका विरुद्धमा प्रश्न उठाएका छैनौं । इस्यू बेस्ड छलफल त भैहाल्छ ।’ सहकारीभित्र सुशासनका सबालमा नियामक र सरकारका सबै निकायहरु कठोर बन्दै गरेका कारण पनि कमजोर धरातलमा उभिएका महासंघका अधिकांश सञ्चालकहरुको मुटुमा ढ्याङग्रो ठोकेको अनुभूति अभियानले गरेको छ ।
महासंघको मलिन अवस्था अघिल्लो चुनावको पृष्ठभूमिबाटै विकसित भएको थियो । यदि यस्तै अवस्थाले निरन्तरता पाउने र नेतृत्वका लागि खिचातानी हुने हो भने विगतमा गरेको योगदान र सबै हिसाबले उपयुक्तताको अवस्थामा नेतृत्वमा आफ्नो समूहको तर्फबाट दाबी रहने समेत नेफ्स्कून अध्यक्ष ढकालले बताए ।
अवस्थाप्रति चिन्ता
महासंघका पूर्व सञ्चालकहरु, वर्तमान सञ्चालकहरु तथा व्यवस्थापनमा लामो समय काम गरेका पूर्व उच्च अधिकारीहरु पनि फेडेरेशनको पछिल्लो घरझगडाप्रति चिन्तित छन् । महासंघले अपेक्षाकृत गति लिन नसकेको स्वीकार्छन् । गम्भीर चासो व्यक्त गर्छन् । महासंघ ‘महासंघ’ जस्तो नदेखिएको प्रतिक्रिया जनाउँछन् ।
पूव कर्मचारीहरु सँगै वर्तमान व्यवस्थापन टीमका कतिपयको भनाइ छ, ‘म्यानेजमेन्ट र लिडरशीपबीच सीमारेखाहरु नकोरिएकै कारण जन्मिएका असरहरु हुन् । बोर्ड र व्यवस्थापनबीचको विग्रहको असर राजनीतिक दाउपेचसम्म पुगेको हो जसले यो परिस्थिति सिर्जना गर्यो ।’
सहकारीवेत्ताहरु (बोर्ड र व्यवस्थापनकाहरु) लीडरशीप अपरिपक्वताको कुरा उठाउँछन् । सहनशीलता र धीरता अभाव, माइक्रोम्यानेजमेन्ट, आदि कारण मल्ल एक्लिएको धेरै सञ्चालकहरुले अनौपचारिक कुराकानीमा बताए । लीडरशीपमा समन्यवकारी भूमिका सहकारी क्षेत्रमा मात्र होइन सर्वत्र आवश्यक हुन्छ । एकहदसम्म सबैलाइ मिलाएर लान सक्नुपर्छ । नेतृत्वले चुनौतीहरुको चाँजोपाँजो कसरी गर्छ त्यही कसीमा उसको परीक्षण हुन्छ ।
उपाध्यक्ष डीबी बस्नेत भन्छन्, ‘चुनौतीहरु हुँदै नभएका होइनन् । मुलुककै अभियानको राष्ट्रिय अन्तर्राष्ट्रिय नेतृत्व लिनुपर्ने महासंघ चुनौतीरहित सहज अवस्थामा थियो भन्न त सकिदैन तर असली नेतृत्वको परीक्षा यस्तै समयमा हुने हो ।’ यद्यपि, बस्नेत अध्यक्षलाई बोर्डबाट असहयोग भयो भन्ने विषय अस्विकार गर्छन् ।
उनले अध्यक्षको अनुपस्थितिमा महासंघको अवस्था अहिले पनि राम्रो रहेको भन्दै बहसपैरवीदेखि आवश्यक समन्वयका कामहरु भैरहेको उनले उल्लेख गरे । अन्तर्राष्ट्रिय निकायहरुसँग साझेदारीका विषयहरु धेरै अघि बढेको भन्दै बिस्तारै नतिजा देखिने बताए ।
तर, आफूले नियमित मात्र नभई ‘सम्पूर्ण कार्य’ गर्ने गरी बरिष्ठ उपाध्यक्षलाई जिम्मेवारी सुम्पेर जाँदा समेत केही काम नभएको भन्दै अध्यक्ष मल्लले पोखरेललाई प्रतिप्रश्न गरेको बताइन् ।
कारणहरुको खोजी
अध्यक्ष मल्ल केही समयदेखि एक्लिएकी थिइन् । बोर्ड र व्यवस्थापन दुबैबाट उनलाई दरिलो साथ रहेन । प्रायः सञ्चालकहरु राजनीतिक हस्तक्षेप र असहयोगको विषयमा एक ढिक्का भएर पूर्ण प्रतिवादमा उत्रेपनि महासंघ एकल पार्टी हाबीको प्रतिच्छायाको शिकार बनेको स्पष्ट हुन्छ । महासंघका अनुभवी पूर्व सिनियर कर्मचारीहरु सुनाउँछन्, ‘राजनीतिक हस्तक्षेपको विषयमा तपाईको जिज्ञासा ९९ प्रतिशत सही छ । तर, सँगै नेृतत्वकौशल र स्वाभवजन्य प्रवृत्तिहरु पनि जोडिन्छन् । ’
यद्यपि, महासंघको कारणले अध्यक्ष मल्ल अमेरिका नगएको बारम्बार दाबी गर्दै निवर्तमान अध्यक्ष समेत रहेका कडेलले भने, ‘हामी विश्वस्त छौं । उहाँ अमेरिका जानुको कारण महासंघ वा राजनीतिक हस्तक्षेप होइन । काम गर्न नदिएका कारण होइन भन्ने लाग्छ । उहाँको आफ्नै पारिवारिक कारण हुनसक्छ । मैले त उहाँ अमेरिका उडिसकेपछि मात्र थाहा पाएको थिएँ ।’
आफूविरुद्धका विरोध र असहमतिहरुप्रति प्रतिरोधात्मक क्षमताको कमी मल्लका लागि अर्को कारण हुनसक्छ । व्यवस्थापनमा अनावश्यक हस्तक्षेपको गन्ध पनि धेरैले महसूश गरेको सुनाउँछन् । सँगै पूर्व अध्यक्ष केशव बडालसँगको उनको सम्बन्ध चिसिएको जानकारहरु बताउँछन् । बडालसँग बिग्रिएको सम्बन्ध मल्लका लागि सहकारी अभियान र पार्टी दुबै दृष्टिले प्रत्युत्पादक भएको ठहर सूचनाप्रवाहकहरुको छ ।
त्यस्तै, सहकारीको छुट्टै कर्जा सूचना केन्द्र नबन्नु, प्रवर्धन कोषको रकम ल्याउन नसक्नु, करको कसिलो प्रावधान हटाउन नसक्नुसँगै सुशासनका विषयमा सहकारी विभागबाट तारम्तार गरिएका पत्राचारहरु आदिसँग जोडिएर ओमेदेवी मल्ललाई दोष दिने प्रयास पनि भएको देखिन्छ । पार्टीको हितानुसार काम नगरेको ब्लेम गेमको उनी शिकार बन्दैछिन् ।
यस्तै, संघहरु धेरै भए भन्ने विषयमा ओमदेवी मल्लले ठाउँ ठाउँमा दिएका अभिव्यक्तिहरु, सहकारीको तहगत संरचना अब स्पष्ट पारेर जानुपर्छ भन्ने विषयदेखि जिल्ला संघको औचित्य र आवश्यकता, संघहरुको बचतलाई तरलतामा गणनादेखि दोहोरो सञ्चालकको विषयमा महासंघका आम सञ्चालक र पार्टीको लाइन विपरित अडान लिएका कारण पनि मल्लप्रति असन्तुष्टि बढेको जानकारहरु बताउँदछन् ।
तर अध्यक्ष मल्ल आफू निर्वाचित भएपछि नै कर्जा असूली न्यायाधिकरण गठन, कर्जा सूचना केन्द्रमा आवद्धतासँगै महासंघको अगुवाईमा सभा गृहमा अन्तर्राष्ट्रिय सहकारी वर्षको उपलक्ष्यमा भव्य कार्यक्रम भएको भन्दै कोअपरेटिभ डिजिटल कन्क्लेभ, पोलिसी डाइलग, कोअप जब फेयर लगायतका कार्यक्रमहरु पहिलोपटक सफलतापूर्वक सम्पन्न गरिएको र केही वर्षदेखि रोकिएको प्रादेशिक गोष्ठीहरु गर्नुलाई सफलताका मापक मान्छिन् । यति गर्दा गर्दै पनि अहसयोग भएको उनले जिकिर गरिन् । केही कमी कमजोरी भएपनि गल्ती नै नगरेको र काम गर्न नसकेपनि प्रयास जारी रहेको अवस्थामा असहयोग भएको उनले बताइन् ।
यद्यपि, सहकारी अभियानको शीर्ष नेतृत्वमा एउटा महिलाको उपस्थितिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा स्वाभाविक चर्चा पाएको नर्कान उनीहरु सक्तैनन् । र, बोर्ड र व्यवस्थापन दुबैमा महिला भएका कारण नेपालको सहकारी अभियानले रचेको इतिहास यति अल्पायुको हुन्छ भन्ने उनीहरुले पनि सोचेका थिएनन् ।
विकल्पहरुमा बहस
पछिल्लो तरल अवस्थाको विकल्पका बारेमा कार्यवाहक अध्यक्ष पोखरेल भन्छन्, ‘अध्यक्षले आगामी साधारणसभा पूर्व नै मार्ग प्रशस्त गर्नुहुन्छ । र, गर्नुपर्छ पनि ।’ मर्यादाक्रममा अध्यक्ष पछि रहेका मिनराज कडेल भन्छन्, ‘अध्यक्षको राजीनामा आएपछि साधारणसभाले निकास खोज्छ । त्यसपछि विकल्पका बाटाहरु खुल्छन् ।’
उपाध्यक्ष डिबी बस्नेत भन्छन्, ‘कि अध्यक्ष आएर चलाउनुपर्यो कि छोड्नुपर्यो । लामो समयसम्म कार्यवाहकहरुले बोर्ड र व्यवस्थापन चलाउनु राम्रो होइन । व्यवस्थापनको हकमा हामी प्रक्रियामा अघि बढेका छौं, बोर्डको हकमा अध्यक्षले बाटो खोल्नुपर्यो । अन्तिम निर्णयाधिकार साधारणसभामा निहित रहनेछ ।’
मार्गप्रशस्त गर्न आफूलाई तारन्तार दबाव दिइएको भएपनि कसैले हात उठएको भरमा अध्यक्ष बन्ने र बरिष्ठ उपाध्यक्ष खाली राखेर यो कार्यकाल सक्ने विषयमा आफ्नो सहमति नरहेको अध्यक्ष मल्लले बताइन् । र, उनले आफूले साधारणसभाको दिननै राजीनामा बुझाउने धिप्रीडटकमलाई बताइन् । उनले भनिन्, ‘अध्यक्ष सञ्चालक समितिप्रति नभई साधारणसभाप्रति उत्तरदायी बन्ने भएकाले मैले राजीनामा बोर्डलाई होइन साधारणसभालाई बुझाउँछु । त्यो पनि पुस २६ गतेका लागि राखिएको बोर्ड बैठकलाई होइन, २७ गतेको साधारणसभामै ।’
उनले बोझिलो महासंघ बोर्डलाई नियामकीय निर्देशनका आधारमा छरितो बनाउने गरी विनियम संशोधन गर्ने र स्वीकृत विनियमको आधारमा फ्रेस म्यान्डेट लिने गरी नयाँ सञ्चालक समितिको निर्वाचनको मिति साधारणसभामार्फत तोकिनुपर्ने आशय स्पष्ट पारिन् ।
महासंघका अन्य केही सञ्चालकको इच्छा पनि नयाँ सञ्चालक समिकिो निर्वाचनको छ । यद्यपि, महासंघको वर्तमान समस्याको निकास के हो ? अब के गर्ने नगर्ने भन्ने निर्णय अरु कसैले नभइ साधारणसभाले नै गर्ने सञ्चालकहरुको भनाइ छ ।
बोर्ड बन्नुहुँदैन बोझ
महासंघ सञ्चालक समिति हाल २५ सदस्यीय छ । बजेटका लागि सरकारलाई बारम्बार घच्घच्याइरहनुपर्ने र अन्तर्राष्ट्रिय निकायसँगको सहयोगको याचना गर्नुपर्ने अवस्थाको ‘बिजनेशविहिन’ महासंघका लागि यो संख्याले लामो समयदेखि गिज्याइरहेको छ । भागबण्डा र राजनीतिले थलिएको मुलुकको सहकारी अभियानको लागि महासंघको बोर्ड बोझ बनेको छ ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धमा २०८२ जेठ ९ गते शुक्रबार मापदण्ड जारी गरेपछि संघ महासंघदेखि सबैको चेत खुलेको हो । महासंघ अध्यक्ष मल्ल भन्छिन्, ‘विभिन्न मुलुकका सहकारी फेडेरेशनहरुको संख्या चुस्त र छरितो छ । हाम्रोमा भने.......।’
उक्त विषयमा सहमति जनाउँदै महासंघ उपाध्यक्ष खेम पाठक भन्छन्, ‘सानो र कामकाजी समिति बनाउने विषय एकदमै जरुरी छ । त्यसका लागि मैले त साथीहरुलाई भनेको छु आवश्यक पर्छ भने म हट्न तयार छु । मलाई पहिलो नम्बरमा राख्दा हुन्छ । घाटामा रहेको महासंघलाई खर्चको बोझ कम गर्न र औचित्य पुष्टि गर्न पनि सानो साइजको बनाउनुपर्ने देखिन्छ । यो आजको आवश्यकता पनि हो ।
यस सम्बन्धमा मकवानपुर बचत संघकी अध्यक्ष श्रेष्ठको राय छ, ‘संरचना सानो र हलुका गराउँदा नियमित र मासिक बैठक गर्न सहज हुने, समय व्यवस्थापन, कोरम गणना र खर्चका हिसाबले मितव्ययी हुने भएपनि सहकारीको भावना, सिद्धान्त र मर्म अनुसार हामी र हाम्रा आवाजको बोर्डमा प्रतिनिधित्वको विषय ओझेलमा पर्छ कि भन्ने हेक्का राख्नुपर्छ । त्यसैले सानो वा ठूला नभनी सन्तुलित र सहज बनाउनुपर्छ ।’
यीनै विषयहरुलाई दृष्टिगत गरी मंसिर १५ गतेको महासंघको सञ्चालक समितिको बैठकले परिवर्तित नियामकीय निर्देशन तथा प्रबन्धहरु अनुरुप सानो र छरितो सञ्चालक समितिको व्यवस्था गर्न बोर्डको संरचना परिवर्तन आवश्यक भएको भन्दै त्यसमा आवश्यक गृहकार्य गरी सुझाव पेश गर्न उपाध्यक्ष डिबी बस्नेतको संयोजकत्वमा विनियम संशोधन उपसमिति गठन गरेको छ ।
सोही विनियम संशोधनमार्फत एकमात्र उपाध्यक्ष राख्ने, बरिष्ठ उपाध्यक्ष हटाउने, निवर्तमान अध्यक्ष सञ्चालक बन्ने व्यवस्था नराख्ने तरखरमा महासंघ रहेको बुझिएको छ । विनियम संशोधन उपसमिति संयोजक उपाध्यक्ष बस्नेतले महासंघले वित्तीय कारोबार नगर्ने भएकाले नियामकीय निर्देशन लागू नहुने भन्दै छरितो र प्रोफेशनल समिति बनाउनुपर्छ भन्नेमा असहमति नरहेको बताए । उनले आवश्यक सबैसँग छलफल र कानूनी तथा नीतिगत व्यवस्थाहरुको मिहिन अध्ययन पश्चात समितिमा सिफारिश गर्ने बताए । अर्का उपाध्यक्ष पाठक भने १५ सम्मको बनाउने विषयमा बहस अघि बढ्ने संकेत गरे ।
व्यवस्थापकीय सुधार
अहिले महासंघलाई सक्षम महाप्रबन्धक आवश्यक भएको पूर्व महाप्रबन्धक सुब्बा बताउँछिन् । मन्त्रालयदेखि अभियन र अन्तर्राष्ट्रिय समुदायसँग पनि डिल गर्न सक्ने सक्षम महाप्रबन्धक नियुक्त गर्नुपर्ने इमर्जेन्सी अवस्था महासंघमा रहेको उनले बताइन् । अर्का पूर्व महाप्रबन्धक सुरेश थापा भन्छन्, ‘महासंघलाई एसम्यान होइन, व्यवस्थापन बुझेको सक्षम व्यक्ति जसले लीडरशीपलाई पनि आफ्नो सीमारेखाभित्र अहस्तक्षेपकारी बनेर बस्नुपर्छ भनेर सिकाउन सकोस् । त्यो ल्याकत राख्ने व्यवस्थापन प्रमुख महासंघलाई चाहिन्छ । एसम्यान बन्न नसक्नु महासंघका हकमा अयोग्य र असक्षम व्यवस्थापक कहलिनु हो ।’
स्वयं अहिलेका कर्मचारीहरुको पनि भनाइ त्यही छ । महासंघ लामो समय कार्यवाहक जीएमले चल्न नहुने धारणा उनीहरु राख्छन् । महासंघलाई अहिले कुर्सी कुर्ने महाप्रबन्धक होइन, बिजनेश ल्याउने बोस चाहिएको छ । यो कुरा स्वयं कामचलाउ महाप्रबन्धक गोपीकृष्ण भण्डारी पनि स्वीकार्छन् । त्यही भएर पछिल्लो बैठकले उपाध्यक्ष पाठकको संयोजकत्वमा पदपूर्ति उपसमिति समेत गठन गरेको छ ।
अध्यक्ष कार्यवाहक, जीएम कार्यवाहक, दुई डिजिएमको पदपुर्ति नहुनु जस्ता विषय निश्चय पनि सर्वत्र चासाको विषय भएको उपाध्यक्ष बस्नेतले स्वीकारे । यस्तै, कर्मचारीको वृत्ति विकाससँग जोडिएको विषयहरु पनि छन् । यी सबै विषयहरु बिस्तारै मिल्दै जाने विश्वास बस्नेतले व्यक्त गरे ।
महासंघले अपेक्षाअनुसार गर्न नसकेको पक्कै हो तर केही नभएको होइन र सम्भावना नभएको पनि होइन । स्रोत खोज्न सकस परेपनि कुराहरु भैरहेको भन्दै त्यसको पनि जोहो गर्न कठिन नहुने उनी बताउँछन् । लामो समय काम गरेका र ठूलो दायित्व भएका ४ जना कर्मचारीले छोटो अन्तरालमा छोडेर जाँदा उनीहरुले ठूलो रकम लगेको र त्यसका लागि कोषमा रकम नछुट्याउँदा तत्काललाई समस्या भएको उनले स्वीकारे । नेफ्स्कून अध्यक्ष ढकालले विभिन्न प्रकोपजन्य विषयमा प्राप्त वैदेशिक सहयोग कोष बनाएर राख्नुपर्नेमा उक्त रकम अरुनै प्रयोजनका निम्ति खर्च भएको सुन्दा दुःख लागेको टिप्पणी गरे ।
महासंघको व्यावसायिकता र दिगोपनाको विषयहरु गम्भीर बहसमा छन् । स्रोत सुकेको अवस्था छ भने बोर्ड तथा व्यवस्थापकीय सुशासनमा प्रश्न चिन्हहरु थपिदै गएका छन् । कतिपयले यस्तो अवस्थामा दुईवटा डिजीएम किन आवश्यक पर्यो ? भन्ने प्रश्न गरेका छन् भने कतिले महिनौदेखि संघ संस्थाहरुको अनुगमन नभएको विषयमा पनि प्रश्न उठाएका छन् । काम धेरै नभएको महासंघमा धेरै अधिृकतहरु हुनु ‘धेरै ढाडे बिरालाहरु भए भने मुसा मार्न सक्तैनन्’ भनेझैं हुनु हो भन्ने पनि छन् ।
जहाँसम्म श्रोतको कुरा छ, सरकारले नपत्याउँदा पनि समस्या आएको छ । हिजो ‘राजनीतिक दादागिरी’का आधारमा बजेट पार्न सफल भएको थियो महासंघ । त्यसमाथि केही कामहरु पनि भएका थिए र सहकारीका समस्या यति छरपष्ट थिएनन् तर परिस्थिति सधै एकै रहँदैन । अहिले सरकारले पत्याउन छोडेको महासंघको बजेटले बोल्छ ।
तर, उपाध्यक्ष बस्नेत भन्छन्, ‘उपसमितिहरुको बैठक भत्ता कटौतीदेखि अन्य खर्चहरु कम गरिएको र सुशासनका विषयमा नियामकहरुको केही बुझाइ प्रष्ट पार्न नसकिएको भन्दै अरु विषयहरु सुधारै गर्न नसिकने अवस्था नरहेको बताए । ‘तुलनात्मक रुपमा महासंघको अवस्था राम्रो छ र सम्भावना अत्यधिक छ । बलियो नेतृत्वले यसलाई हाँक्न सक्छ ।,’ उनले भने ।
अन्तर्राष्ट्रिय अभियानबाट एक्लिदै
सन् २०१७ को नोभेम्बरमा आईसीए सञ्चालक समिति सदस्य निर्वाचित भएको दिनलाई अझै पनि महासंघ अध्यक्ष मल्लमात्र होइन नेपालको समस्य अभियानले नै गर्व गर्दै आएको छ । मल्लको परिचयसँग गम टाँसिएझै टाँसिने पद पनि आईसीए ग्लोबल बोर्ड मेम्बर रहदै आएको छ ।
अहिले हामी दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्ष (आईवाईसी–२०२५) को बिदाइको अन्तिम महिनामा छौं । यही डिसेम्बरबाट आईवाईसी २०२५ विधिवत समापन हुँदैछ । विश्व सहकारी अभियानको एतिहासिक महत्वको यो वर्ष नेपाली सहकारी अभियानको शीर्ष संघको हविगत भने सोचनीय छ ।
आईसीए ग्लोबल बोर्ड मेम्बर रहेको नेपाल ‘हाम्रा बाजेबराजुले घिउ खाएका थिए हात सुँघ सुँघ’ भन्ने अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय छवि पनि धुमिल नहोला भन्न सकिन्न । औपचारिक भन्दा पनि विभिन्न अनौपचारिक माध्यमबाट उनीहरु नेपालको सहकारी अभियानलाई नजिकबाट नियाली रहेका छन् ।
आईसीए एपीमा केशब प्रसाद बडाल रहे भने त्यसपछि मिनराज कडेल । यो वर्ष कडेलको पनि कार्यकाल सकिएपछि नेपालले सञ्चालक सदस्य प्राप्त गर्ने प्रबल सम्भावना रहेको एउटा सीट पनि महासंघको आन्तरिक मतान्तरले गुमेको छ । अब अन्तर्राष्ट्रिय सहकारी अभियानको निर्णायक तहमा नेपालको उपस्थिति शून्य रहेको छ । यसमा महासंघका सञ्चालकहरु अध्यक्ष मल्ललाई दोषारोपण गर्छन् ।
तर, आफू आईसीए एपीमा जाने निर्णय बोर्डबाट भए पनि उम्मेदवारी फिर्ता गर्ने विषयमा कार्यवाहक अध्यक्ष पोखरेल र उपाध्यक्ष खेम पाठकसँग सल्लाह गरेर निर्णय लिएको अध्यक्ष मल्ल बताउँछिन् । आफू अध्यक्ष छोड्ने मनस्थितिमा पुगेका कारण उनले आईसीए एपीको बैठकमा जाँदाको आर्थिक भार महासंघले बेहोर्नुपर्ने कुरा राख्दा कार्यबाहक अध्यक्षले त्यो त नसकिने भनेपछि मौका गुमेको बताउँछिन् । दुबै जनाको सल्लाहमा उम्मेदवारी फिर्ता लिएको समेत अध्यक्ष मल्ले दाबी गरिन् । नेपालले पाएको त्यो अवसर गुमेको विषय महासंघको मङ्सिर १५ को सञ्चालक समितिको बैठकमा समेत उठ्दा अध्यक्षमाथि दोष लगाइएको बुझिएको छ ।
व्यवस्थापनको विमति
महासंघमा कर्मचारीहरु भित्र पनि असन्तुष्टिका आवाजहरु मुखरित भएका छन् । वैदेशिक भ्रमणको अवसरदेखि वृत्ति विकासका अवसरहरुको नीतिगत स्पष्टताका सम्बन्धमा उनीहरुको गुनासो रहँदै आएको छ ।
जब एउटा संगठनभित्र राजनीतिक र कुटनीतिक विषयहरु प्राविधिक, विधिसम्मत र वैज्ञानिक आधारहरुभन्दा भारी हुन्छन् तब विचलनहरुले बाटो समात्दछन् । अझ स्पष्ट भाषामा भन्दा ‘कृपावाद’ले काम गर्न थाल्छ । सञ्चालकहरुले कर्मचारीहरु चलाउने रोग नेफ्स्कूनमा पनि छ र महासंघमा पनि छ अनि अरु केन्द्रीय संघदेखि प्रदेश र जिल्ला संघहरुमा पनि यो ‘महामारी’ देखिन्छ ।
असल प्रणाली बसाउने कामको अगुवाई महासंघले गर्नुपर्ने पूर्व कर्मचारीहरु बताउँछन् । जहाँसम्म सुशासनको विषय छ, महासंघको सेवा निवृत्त अर्का एक अनुभवी भन्छन्, ‘महासंघबाटै अरुले व्यवस्थापकीय सुशासन समेत सिक्नुपर्ने भएपनि त्यो देखिएन । त्यसदिशातर्फ काम हुनुपर्छ र व्यवहारले त्यो प्रतिविम्बत हुनुपर्छ ।’
सुशासन र सुधारः यथेष्ट सम्भावना, धुमिल संकेत
‘पीरै पीर’ को बीचबाट सहजता खोज्ने हो । समस्याहरुबीचबाटै सम्भावनाहरु पहिल्याउने हो । चुनौतीहरुबीचबाटै चिनारी स्थापित गर्ने हो । महासंघको हकमा पनि त्यही हो । एउटा जीवन्त अर्गनाईजेशनमा समस्याका गहिरा खाडलहरु बन्छन् । तर, सँगै सम्भावनाका पक्की पुलहरु पनि निर्माण गरिन्छन् ।
विगतमा सरकारको सहयोग अभियानलाई नभएको उपाध्यक्ष बस्नेतको स्वीकारोक्ति छ । महासंघले आफ्नो तर्फबाट करको विषय, प्रवर्धन कोषदेखि यावत विषय बुझाए पनि विगतको सरकारले काम नगरेको उनले बताए । विगतको सरकारले धोका दिएको उनको सोझो प्रतिक्रिया थियो । ‘गर्छु भनेर सरकारले सहकारीका लागि नगरेको पक्कै हो । हामीलाई झुक्क्यायो ।,’ बस्नेतले बोले ।
तर, वर्तमान अर्थमन्त्री रामेश्वर खनाल महासंघको पछिल्लो १० वर्षे रणनीतिक व्यावसायिक योजनाका सहजकर्ता हुन् । उनैले महासंघको रणनीतिक मार्गचित्र कोर्न सहजीकरण गरेका हुन् । सहकारी बुझेका र महासंघ चिनेका उनीमार्फत काम गराउन सक्ने वातावरण महासंघ नेतृत्वले गर्नुपर्ने आवश्यकता छ । भलै उनको काउन्टडाउन अब शुरु हुन धेरै समय बाँकी छैन ।
यस्तै, सुशासन र पारदर्शिताको ‘जेनजी स्पिरिट’ मा कामहरु गर्नसक्ने गरी परिवर्तनको माहोल बनेको छ । २०५० सालमा स्थापित मुलुकको सहकारी अभियानको शीर्षस्थ निकायमा आमूल परिवर्तनको अवस्था यो संकटले पैदा गरेको छ । निर्मम नीतिगत सुधारहरु गर्न सकिने अवस्था पनि आएको छ ।
अर्को फरक परिदृश्यको सम्भावना पनि केही सहकारी अभियन्ताहरु औल्याउँदछन्– निर्वाचनै भएपनि महासंघमा खासै नयाँ अनुहार आउने सम्भावना कम छ । पूराना राजनीतिक दलमा आस्थावानहरु नै बोर्डमा आउने सम्भावनाले सुधारको अपेक्षा विश्वासमा परिणत नहोला कि भन्ने आशंका उनीहरुको छ । उनीहरु प्रश्न गर्छन्, ‘परिवर्तित परिस्थितिमा समेत पुराना राजनीतिक दलमा चेत नआइ अहंकार झनै बढेको अवस्थामा तिनकै पिछलग्गूहरुको दबदबा पुनः महासंघमा नहोला भन्न कहाँ सकिन्छ र ?’
महासंघका पूर्व डिजिएम बाबुल खनाल भन्छन्, ‘रियलाइजेशनसहित अब महासंघ रिफर्मको बाटोमा जान्छ भन्ने त्यो स्वागयोग्य कदम हुन्छ ।’ खनालले सुशासन, पारदर्शिता, जेनजी आन्दोलनको मूलभूत भावनालाई प्रतिविम्बित हुने गरी महासंघ सुधारको मार्गचित्र कोर्नु आवश्यक भएको सुझाए । व्यवस्थापकीय कोणबाट विश्लेषण गर्दा महासंघमा रणनीतिक तथा नीतिगत सुधार एकदमै आवश्यक भएको खनालको भनाइसँग पूर्व महाप्रबन्धकहरु सुब्बा र थापा पूर्ण सहमति राख्छन् । व्यवस्थापनमाथिको स्वेच्छाचारी प्रहार अनि रिटेन्सनको विषयलाई नेतृत्वले नबुझ्ने हो र यसैगरी बलीको बोको बनाइने हो भने यो रोग प्रारम्भिक संस्थाहरुमा पनि महामारी बन्नेतर्फ उनीहरु सचेत गराउँछन् ।
अभियानबाट अलग्गिन्नँ
अन्त्यमा, तपाईं अब कहिले नेपाल आउने त भन्ने प्रश्नमा मल्लले भनिन्, ‘मलाई त महासंघको साधारणसभामै उपस्थित भएर धारणा राख्ने मन थियो, तर यहाँ पारिवारिक कारणले गर्दा मिल्ने अवस्था छैन । मैले भिडियो सन्देशमार्फत आफ्ना कुरा राख्न कार्यबाहक अध्यक्षसँग आग्रह गरेको छु । र, भौतिक रुपमा भने पारिवारिक परिस्थिति अनुकूल बन्दा फागुनमा नेपाल आउन सक्छु केही समयका लागि । अन्यथा केही समयपछि मात्रै आउनेछु । तर, म जहाँ रहेपनि अभियानबाट टाढा रहन सक्तिनँ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com