काठमाडौं । सहकारी विभागले नेफ्स्कूनले सञ्चालन गरेको बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी ब्राण्डिङ कार्यक्रम प्रोवेसनको प्रमाणपत्रमा नेपाल सरकारको लोगो प्रयोग गर्ने र रजिष्ट्रारले सही गरी प्रमाणित गर्ने प्रचलन गलत भएको स्पष्ट पारेको छ ।
सैद्धान्तिक र व्यावहारिक रुपमै यो गलत अभ्यास बसेको भन्दै त्यसलाई अब भने सच्चाएको दाबी विभागले गरेको छ । नेफ्स्कूनले पुस ४ गते आयोजित ३४औं वार्षिक साधारणसभाका अवसरमा आर्थिक वर्ष २०८१/८२ का लागि प्रदान गरेको सात साकोसहरुको प्रमाणपत्र (प्ल्याक) मा नियामक सहकारी विभागका रजिष्ट्रारको सही छैन र नेपाल सरकारको लोगो पनि प्रयोग गरिएको छैन ।
‘विगतमा त्यो अभ्यास नमिलेको हो, ’ सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाले धिप्री डटकमसँग भने, ‘जसले जसरी गरेपनि । नियामकलाई पनि राखेपछि राम्रो हुन्छ भन्ने नेफ्स्कूनको विचार होला तर सही कुरा के भने हामी नियामकले यस्तोमा साक्षी बस्न हुँदैन । प्रोवेसन प्रमाणीकरणमा नियामक साक्षी बस्ने गलत प्रचलन अब सच्चियो ।’
उनले भने, ‘प्रोवेसनको टेक्निकल कमिटिमा सहकारी विभागबाट पनि बस्ने चलन पहिला रहेछ । तर, मैले यो पटक पठाइनँ अनि प्रोवेशन प्रमाणपत्र (प्ल्याग) मा सही गर्दिनँ भनेकै हो । मैले प्रमाणपत्रमा सही नगर्ने भनेपछि पुरानो कागजात खोजी भयो । त्यो खोज्दा थाहा भयो यससम्बन्धमा एउटा समझदारी पत्र (एमओयू) भएको रहेछ विभाग र नेफ्स्कूनबीच ।’
रजिष्ट्रार ढुंगानाले भने, ‘जब मेरो जानकारीमा एमओयू छ भन्ने आयो, तब तत्कालै मैले फाइल खोज्न लाएँ र पहिलो काम नै टिप्पणी उठाएर त्यसलाई खारेज गरिदिएँ ।’
विगतमा प्रोवेसनलाई नेपाल सरकार सहकारी विभागको मान्यताप्राप्त ब्राण्डिङ कार्यक्रम भन्ने गरिन्थ्यो । यस्तै, प्रोवेशनलाई साकोसहरुको गुणस्तर प्रमाणीकरणसम्बन्धी राष्ट्रिय स्तरको कार्यक्रम भन्ने गरिन्थ्यो । विभागले हात झिकेसँगै प्रोवेशन कार्यक्रम अब नेफ्स्कून आफैले विकास गर्ने, आफैले अनुगमन तथा सुपरिवेक्षण गर्ने, स्वतन्त्र लेखापरीक्षकहरु सहभागितामा अडिट गराउने र आफै प्रमाणीत गर्ने कार्यक्रम बनेको छ ।
‘मैले टिप्पणी उठाएर एमओयू खारेज गरिदिएँ, ’रजिष्ट्रार ढुंगानाले धिप्री डटकमसँग भने, ‘म मात्र होइन पछिल्ला रजिष्ट्रारहरुलाई पनि अफ्ठेरो बनाउनुभएन भनेर । अनि खारेजीको जानकारी नेफ्स्कूनलाई पठाइदिएँ ।’
उनले भने, ‘मैले त्यो निर्णय लिएपछि नेफ्स्कूनको टोली आएको थियो । तर मैले उहाँहरुलाई बुझाएरै पठाएँ । खारेजीको पत्रसँगै अर्को थप पत्र पनि दिएको छु जसमा यस प्रकारका प्रमाणीकरण कार्यक्रमहरु नेफ्स्कून वा जोसुकै संघ महासंघहरुले सञ्चालन गर्नु उपयुक्त भएपनि तिनको सहजीकरण र प्रमाणीकरण तत्तत् निकायबाट गर्नु राम्रो हुने भनेर । उहाँहरु खुसी नै भएर जानुभयो ।’
उनले आफ्नो कामले अब आउने रजिष्ट्रारहरुलाई पनि सहज भएको बताए । ‘विगतका गल्तीले अहिले र पछिकाले दुःख पाउनु हुँदैन । काम राम्रो होला तर सैद्धान्तिक र व्यावहारिक दुबै हिसाबले रेगुलेटरले कुनै पनि संघ महासंघ वा कसैले पनि गरेको यस प्रकारको कार्यक्रमको साक्षी बस्न हुँदैन ।’
उनले थप स्पष्ट पारे, ‘तर, प्रोवेसन वा अन्य कुनै यस प्रकारका टुल्स विभागसँगको प्रत्यक्ष र प्रारम्भिक अवस्थामा नै सहकार्य गरेर अझ सबै प्रकारका सहकारीहरुका लागि हुने गरी विकास गर्ने र त्यो विभागले जारी गर्ने भए गज्जब हुन्थ्यो । अनि त्यस्तोमा भने विभागले प्रमाणीकृत गर्न मिल्थ्यो ।’
नेफ्स्कूनले २०६९ सालबाट शुरु गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी घरेलु कार्यक्रम प्रोवेशनको ब्राण्डिङ भने आर्थिक वर्ष २०७१/७२ बाट शुरु गरेको नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले धिप्री डटकमलाई जानकारी गराए । विषयगत केन्द्रीय संघले आफ्नो २५औं स्थापना दिवस एवम् २१औं वार्षिक साधारणसभाबाट आफ्ना सदस्य साकोसहरु लक्षित नेपालस्तरको गुणस्तर प्रमाणीकरण कार्यक्रम पारित गरी लागू गरेको हो ।
ढकालले भने, ‘विभागले हामीलाई यो संघकै कार्यक्रम भएकाले संघले नै ब्राण्डिङ गर्ने र हामीलाई रिपोर्टिङ गर्ने भनेर लेखेर दिएको छ । यसलाई हामीले सकारात्मक रुपमै लिएका छौं ।’ नेफ्स्कूनले उद्योग विभागबाट समेत प्रोवेशन ट्रेडमार्कको दर्ता प्रमाणपत्र लिएको छ । सहकारीहरुको दिगो विकास, व्यावसायीकरण र गुणस्तर सुनिश्चितताका लागि यो कार्यक्रम सञ्चालन हुँदै आएको ढकालले बताए ।
यद्यपि, प्रोवेशनका विषयमा विगतमा विविध खाले प्रश्नहरु उठेपछि नेफ्स्कूनले केही वर्षदेखि स्वतन्त्र लेखापरिक्षकबाट यसको अन्तिम परिक्षण गराउदै आएको छ। सोही कारण यसको विश्वसनीयता बढेको नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत ढकालले बताए । ब्राण्ड पाउन मात्र होइन पाएकै संस्थाहरुको गुणस्तरमा सार्वजनिक वृत्तमा प्रश्नहरु उठेपछि नेफ्स्कूनले कर्मचारीबाट गर्दै आएको परिक्षण स्वतन्त्र लेखापरिक्षकलाई दिने निर्णय गरेको थियो ।
प्रोवेशनको अन्तिम अडिटका लागि आन्तरिक लेखापरिक्षण गर्ने फर्म स्थापना भएको ३ वर्ष पुगेको, कम्तीमा एक जना चार्टर्ड एकाउन्टेन्ट तथा ५ जना परिक्षक भएको, सहकारीको २ वर्षको अनुभव र आइक्यानको प्रमाणपत्र नविकरण भएको स्वतन्त्र लेखापरिक्षण हुनुपर्ने योग्यता नेफ्स्कूनले तोकेको छ ।
अघिल्लो आर्थिक वर्षान्त सम्म प्रोवेशनमा आवद्ध हुने साकोसहरुको संख्या १ सय ७५ रहेकोमा हाल हाल त्यो संख्या ३ सयको हाराहारीमा रहेको ढकालले जानकारी गराए ।
संघीय व्यवस्था अनुसार सहकारीको दर्ता तथा नियमनको अधिकार स्थानीय तहसम्म हस्तान्तरण भएको र ब्राण्ड पाएका संस्थाको गुणस्तरमा पनि प्रश्न उठ्न थालेपछि तत्कालिन रजिष्ट्रार डा. टोकराज पाण्डेले प्रमाणीकरण गर्न अस्विकार गरेका थिए । तर नेफ्स्कूनको दबाबमा पछि उनले हस्ताक्षर गरेका थिए । यसैगरी, तत्कालीन रजिष्टर रुद्रप्रसाद पण्डितले पनि प्रमाणीकरण कार्यविधि मन्त्रालयबाट स्वीकृत हुनुपर्ने, सरकारको भूमिका स्पष्ट हुनुपर्ने लगायतका शर्त राख्दै प्रमाणपत्रमा सही गर्न अस्विकार गरेका थिए ।
अघिल्लो वर्ष ३ साकोसले पाएको प्रोवेशन ब्राण्डको प्ल्याकमा भने नेपाल सरकारको लागो र सहकारी विभागका रजिष्टार पिताम्बर घिमिरेको हस्ताक्षर रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com