Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
हेलो सहकारी !

यदि बुडोल सामुदायिक सहकारी नहुँदो हो त......

यदि बुडोल सामुदायिक सहकारी नहुँदो हो त......

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका बुडोल निवासी सुदीप श्रेष्ठ ३१ वर्षका युवा हुन् । उनी राष्ट्रिय सहकारी महासंघले २०८२ माघ १३ र १४ गते आयोजना गरेको दोस्रो राष्ट्रिय युवा तथा प्रविधि सम्मेलन २०८२ मा सहभागी भएका थिए । उद्यम व्यवसायमा संलग्न उनी काभ्रेको बुडोलस्थित बुडोल सामुदायिक साकोस बचत तथा ऋण सहकारी संस्था लि.को सेयर सदस्यका रुपमा सम्मेलनमा सहभागी भएका थिए । युवा, उद्यमशीलता र प्रविधिसँग जोडिएको सम्मेलनका लागि सुदीप उपयुक्त पात्र भएकोले बुडोल सामुदायिक साकोसले सहभागिताको अवसर उपलब्ध गराएको थियो । 

तस्बिरमा सुदीप ह्वीलचेयर देखिन्छन् । सुगठित शरिरका धनी उनी युवा अवस्थामकै कसरी ह्वीलचेयरमा भन्ने स्वाभाविक प्रश्न हो । र, धिप्री डटकमले उनीसँगको सम्वादको शुरुवात यसैबाट गर्यो, ‘कसरी यस्तो भयो ?’

त्यो कहालीलाग्दो रात
करिब ७ वर्ष अघिको कुरा हो । सुदीप मोटरसाइकल दुर्घटनामा परे । जसका कारण उनी ह्वीलचेयरमा बस्नुपर्ने बाध्यता आइपर्यो । जडिबुटी नजिक उक्त दुर्घटना भएको थियो । रातीको समय थियो, बाटो पनि बिग्रिएको थियो । स–साना खाल्डाखुल्डी थिए, त्यही खाल्डामा बाइक पर्यो र नसोचेको घटना भयो ।

सम्मेलनमा सँगै रहेकी सुदिपकी माइजुले बताइन्, ‘अहिलेसम्म २० लाख रुपैयाँ जति खर्च भैसक्यो उपचारमा ।’ ७ वर्षदेखि ह्रवीलचेयरमा रहेका सुदीप सुनाउँछन्, ‘स्पाइनल इन्जुरी भएको हो । अब सम्भवतः जीवनभर ह्रवीलचेयरमै बस्नुपर्ने हुन्छ । नेपालमा उपचार सम्भव छैन । विदेशमा पनि एकदमै न्यून चान्स छ रे चिकित्सकहरुका अनुसार ।’  सुदीपले भने, ‘चिकित्सकहरुले नेपालको हकमा यही नै हो भन्नुभएको छ, देशबाहिर कतै उन्नत ठाउँमा जानसके न्यून सम्भावना छ रे ।’ 

निराशाबाट उठे सुदीप 
त्यो दुर्घटनाले सुदीपको जीवनको मोड नै परिवर्तन गर्यो । हजार सपनाहरु बोकेको एउटा युवक विक्षिप्त बन्यो । बाटो हिडिरहेको यात्रीलाई माथिबाट एकदमै ठूलो ढुङ्गाले थिचेको जस्तो भयो । सुदिपले भने, ‘त्यो दुर्घटनापछि लामो समय घर बस्दा म निराशाको शिकार भएको थिएँ ।’ डिप्रेशनको बोर्डरलाइनमा रहेको उनले सुनाए ।

व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका सुदीप उक्त कहालीलाग्दो घटना अघिसम्म डान्स टिचर थिए । जसका लागि खुट्टाको आवश्यकता छ, उही व्यक्ति ह्वीलचेयर मा बस्नुपरेपछि कस्तो भयो होला ? हामी सहजै कल्पना गर्न सक्छौं । उनको पहिलो जागिर नै नृत्य प्रशिक्षक थियो । सुदीपले भने, ‘दुर्घटना हुनु अघिसम्म म करिब ८ वटा विद्यालयमा डान्स टिचर थिएँ । सबैमा पार्ट टाइम काम गर्थेँ । तर, दुर्घटनाले त्यो काममा पूर्ण बिराम लगाइदियो ।’

तर, भनिन्छ नि, दुःखको सहारा दैव । हो, त्यो दैव बन्यो बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था जोसँग उनको नाता निक्कै लामो थियो । बुडोल सामुदायिक सहकारी परिवारको हौसला र आफ्न्तजन अनि साथीभाइको प्रेरणाले उनी निराशालाई चिर्दै आशावादी बन्न थाले ।

सदस्यको दुःखमा बुडोल सामुदायिकको साथ
दुर्घटनापछि परिवारबाट पनि अपेक्षाकृत सहयोग नपाएको गुनासो सुदीपले गरे । तर, त्यो अवस्थामा घर बाहिरको परिवार बुडोल सामुदायिक साकोसले उनलाई गुन लगाएको बताउँछन् । उनी भन्छन्, बुडोल सामुदायिक सहकारी नहुँदो हो त....... ।’

सुदीपले फेरि दोहोर्याए, ‘यदि बुडोल सामुदायिक सहकारी नहुँदो हो त जीवनलाई लयमा फर्काउन कठिन हुन्थ्यो । बुडोल सामुदायिक सहकारीले मलाई आड, भरोसा, हौसला र प्रेरणा दियो ।  त्यसमा पनि उक्त सहकारीका सिईओ विवेक सर (विवेकराज ठकुरी) को सहयोग म कहिल्यै भूल्न सक्दिन । निराशाको किनारामा पुगेको व्यक्तिलाई तिमी प्रेरणा बन्न सक्छौं भन्ने विश्वासको बीउ रोपिदिने काम सहकारीले गर्यो ।’

दुर्घटनाको समयमा बुडोल सामुदायिकले राहत सहयोग उपलब्ध गराउनेदेखि सञ्चालक समिति र कर्मचारीहरुले छुट्टै साथ सहयोग, संस्थागत ऋण सुविधा लगायत बेलाबेलामा सोधखोज, व्यवसायबारे जानकारी र सुझाव, व्यक्तिगत सरसल्लाह आदि सबै काममा जोडिएको भन्दै सुदीप सिङ्गो सहकारी परिवारप्रति अभार व्यक्त गर्छन् ।

जीवनलाई अघि बढाउन सहकारी साँच्चिकै सारथी बनेको छ । सुदीपले भने, ‘त्यसमाथि बुडोल सामुदायिकका सिईओ बिवेक सर (विवेकराज ठकुरी) ले बेला बेलामा सम्पर्क गरेर हामीले तपाईंलाई के गर्न सक्छौं ? तपाईंको उद्यम कस्तो छ ? साह्रो अफ्ठेरो के छ ? घर परिवार र आफ्नो स्वास्थ्य के कस्तो छ भनेर सोधखोज गरिरहनुहुन्छ । यसले गर्दा पनि मलाई सहकारी साँच्चिकी आत्मिय लाग्छ । यत्तिको रेखदेख र ख्याल बैंक तथा अन्य वित्तीय संस्थाबाट कहाँ पाइन्छ र ?’

बुडोल सामुदायिकले आयोजना गरेको ‘कोप स्टेज आइकन’ कार्यक्रम व्यवस्थापन आफूले गरेको स्मरण गर्दै सुदीप भन्छन्, ‘उक्त कार्यक्रमबाट प्राप्त आम्दानीबाट पनि म लाभान्वित भएँ । दुर्घटनाअघि पनि हरतरहले मलाई सहयोग गर्ने बुडोल सामुदायिक साकोस त्यो घटनापछि त झन् मेरो जीवनसँग असाध्यै निकट भएको छ । मेरो दुःखमा बुडोल सामुदायिक साकोस मेरो सहारा बनेको छ । मेरो रथलाई अघि बढाउन अग्रणी भूमिका खेल्ने सारथी बनेको छ ।’ अहिले जीवन सक्रिय बन्दै लयमा फर्कदै गएपछि भने परिवारको सहयोग पनि फर्कदै गएको सुदीपले बताए ।

DSC06311_11zon.jpg
सुदीप श्रेष्ठ

उद्यमी सुदीप र सहयोगी बुडोल
अहिले सुदीप क्याटरिङ चलाउँछन् । दुई वर्ष अघि शुरु गरेको क्याटरिङमा उनको करिब १० लाख रुपैयाँ लगानी छ । तलबी कर्मचारी करिब ५ जना छन् पार्ट टाइम चाहिं ३० जना । व्यापार बढ्दै गएको सुदिप बताउँछन् । 

विगतमा उनी ड्रेस हायर सेन्टर (सांस्कृतिक पोशाकहरु भाडामा उपलब्ध गराउने पसल) सञ्चालन गर्थे । विस्तारै व्यापार बढाउँदै र विविधिकरण गर्दै लगेका सुदीप भन्छन्, ‘त्यो कपडा पसल अहिले पनि छ । टेन्ट हाउस छ ।’ हाल उनको मुख्य कामहरु भनेको क्याटरिङ, ड्रेस हायर, टेन्ट हाउस र पछिल्लो समयमा फ्लावर डेकोर पनि सञ्चालनमा ल्याएका छन् । र, अर्को एकदमै उत्साहप्रद विषय भनेको सुदीप यी सबैबाट समय मिलाएर मोटिभेसनल डान्स पनि गर्छन् । ह्वीलचेयर डान्स गर्छन् । जीवनमा निराशा छाएर बसेका ह्वीलचेयर प्रयोगकर्ताहरुका लागि । आफूजस्तै अरुहरुलाई उत्प्रेरित गर्ने अभियानमा सुदिप सक्रिय छन् । आफ्नै जीवनलाई उदाहरण दिएर उनी उत्प्रेरक वक्ताको रुपमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुन्छन् र सुनाउँछन्–‘हेर्नुहोस् यो युवा उमेरमै शारिरिक अवस्था यस्तो भएपनि म हारेको छैन । बरु यसलाई माध्यम बनाएर जीवनलाई अझै धेरै सफल बनाउने र आफ्ना हजार सपनाहरु साकार बनाउने अभियानमा सक्रिय छु । तपाईंहरु पनि जीवनलाई सक्रिय र सकारात्मक बनाउने अभियानमा लाग्नुहोस् । सच्चा मनले सही कर्म गर्नुभयो भने तपाईंको होस्टेमा हैंसे गर्न बुडोल सामुदायिक सहकारी जस्ता सहकारी संस्थाहरु सधैं तत्पर हुने्छन् ।’ 

सुदीपलाई माइजूको पनि बलियो साथ छ । अनि, गाह्रोसाँघुरो पर्दा बुडोल सामुदायिक छदैछ । संस्थाबाट ऋण सेवा लिन्छन् र समयमै तिर्छन पनि किनकि उनको ‘क्यापासिटी टु पे’ राम्रो छ । सुदीप भन्छन्, ‘संस्थाले मलाई विश्वास गर्छ, म संस्थालाई विश्वास गर्छु । थुप्रै पटक ऋण लिदै तिर्दै गरेको छु । यसले पनि मलाई व्यवसायमा अघि बढ्न मद्दत गरेको छ ।’
अनिवार्य बचत गर्छन् मासिक ५ सय रुपैयाँ । सेयर रकम पनि राम्रै छ । बचत तथा ऋणसँग पनि बारम्बार जोडिएका छन् । यसले गर्दा अफ्ठेरोमा उनलाई धेरै सहयोग भएको अनुभूत भएको छ ।

खासगरी आफू निराशाको किनारमा पुगेको बेला बिवेक सरको सहयोग सुदीप बारम्बार धिप्री डटकमलाई सुनाउँछन् । मोरल र मनि दुबै किसिमको सपोर्ट संस्थाबाट उनले बताए । ‘अहिले पनि विवेक सरले नियमित सोधखोज गर्नुहुन्छ, ’सुदीप सुनाउँछन् । र, महासंघले आयोजना गरेको सम्मेलनको सिकाइले आफूलाई उद्यम व्यवसायमा सहयोग पुग्ने भन्दै बुडोल सामुदायिकले उपलब्ध गराउने यस्ता अवसरहरुको भरपूर उपयोग गर्ने सोचाइमा उनी छन् । 

बच्चैदेखि बुडोलमा 
श्रेष्ठ विगतमा बुडोल सामुदायिकको बाल उपसमिति सदस्य भएर पनि जिम्मेवारी निर्वाह गरिसकेका छन् । हो, सही हो । उनी बुडोलका हाम्रो बोलचालको भाषामा भन्दा ‘बच्चैदेखिको सदस्य’ हुन् । माता पिता सदस्य भएका कारण उनी पनि बाल बचतकर्ताको रुपमा बुडोल सामुदायिक सहकारी भनेको के हो भन्ने नबुझ्ने अवस्थामै जोडिए । र, पछि जान्ने बुझ्ने भएदेखि नै भन्न थालेका छन्, ‘साँच्चिकै सहकारी भनेको त दुःखसुखको अपरिहार्य साथी पो रहेछ । त्यसमाथि घर नजिकको बुडोल सामुदायिक सहकारीको त म पनि मालिक पो हो त । म बुडोल सामुदायिक परिवारकै एक अभिन्न अंग ।’

प्रायः मानिसहरुको जीवन बक्र रेखामा अघि बढ्छ । सपाट जीवन पाउने निक्कै कम हुन्छन् । अविवाहित श्रेष्ठका पनि हजार सपना छन् । हो, उनलाई हजार सपनाहरुको माया लागेर आउँछ । उनी ती सपनाहरु ज्यून चाहन्छन् । उनमा अहिले कुनै निराशा छैन । सम्भावनाको समुन्द्रमा डुबुल्की मार्दै जीवनलाई सकारात्मक हिसाबले अघि बढाएर सफल प्रमाणित गर्न चाहन्छन् । त्यस दिशामा केही हदसम्म अघि बढेपनि अझैं थुप्रै चुनौतीहरु सामना गर्दै उचाइ हासिल गर्नुछ सुदीपलाई । र, यसमा बुडोल सामुदायिक साकोसको सहयोग आजीवन रहने विश्वास गर्छन् र आफू मालिक भएको संस्थाप्रति कृतज्ञता समेत व्यक्त गर्दछन् । 

एउटा सहकारी संस्था सदस्यको जीवनमा कस्तो अन्योन्याश्रित हिसाबले गाँसिएको हुन्छ भन्ने हजारौं उदाहरणमध्येका एक हो बुडोल सामुदायिक र सुदीप श्रेष्ठबीचको सम्बन्ध । आशा गरौ यस्ता हजारौं उदाहरणहरु केश स्टडीको रुपमा हजारौं सहकारीहरुले गर्वका साथ विश्व सामू प्रस्तुत गर्न सकून । सहकारी अभियानप्रतिको विश्वास जगाउने र छवि सुधार गर्ने भनेको आखिर सदस्यको जीवन समृद्धिसँग जोडिएर त हो नि ! होइन र ? हेलो सहकारी !

DSC06319_11zon.jpg
सुदीप श्रेष्ठ

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार