करिब डेढ वर्ष अघिको कुरा हो । एक दशकदेखि सहकारीहरुलाई समेत मोबाइल बैंकिङ सर्भिस उपलब्ध गराउँदै आएको एमबैंक टेक्नोलोजीका संस्थापक एवम् प्रबन्ध निर्देशक सञ्जय महासेठलाई केही सहकारीका सिईओहरुले एउटै किसिमको अनुरोध गर्नुभयो । त्यसबेला आधा दर्जन जति सहकारीहरुका सिईओहरुले सञ्जयलाई डिजिटल वा भौतिक भेट हुँदै पिच्छे भन्नुभयो, ‘ल न सञ्जय सर, एम बैंक टेक्नोलोजीले नै मानव संशाधन व्यवस्थापन (एचआर म्यानेजमेन्ट) सम्बन्धी सफ्टवेयर विकास गर्नुपर्यो । त्यो भयो भने हामीलाई मोबाइल बैंकिङसँगै एचआर म्यानेजमेन्ट सेवा पनि एउटै कम्पनीबाट लिन सहज, सुलभ र स्थायी हुन्छ ।’
वास्तवमा त्यही आग्रह नै सञ्जय महासेठ एण्ड द कम्पनी (एम बैंक टेक्नोलोजी) का लागि ‘ट्रिगर पोइन्ट’ भयो । अन्वेषणमार्फत के कस्ता नयाँ सेवा दिन सकिन्छ भनेर घोत्लिरहने एमबैंकलाई सेवाग्राहीले नै तपाईंहरुले यस्तो सेवा हामीलाई उपलब्ध गराउनुपर्यो भनेपछि त के खोज्छस्....आँखा भनेझैं भयो सञ्जयलाई ।
रातोपुल ज्ञानेश्वरस्थित एमबैंक टेक्नोलोजिको सोफिस्टिकेटेड अफिसमा केही दिनअघि धिप्री डटकमसँग कुरा गर्दै संस्थापक एवम् एमडी सञ्जय महासेठले सुनाउनुभयो, ‘हामीलाई सहकारीका सिईओ सरहरुको बारम्बारको अनुरोधले के स्ट्राइक गर्यो भने, आन्तरिक रुपमा हामी आफैले करिब ५५ जना स्टाफहरुमाँझ एचआर सिष्टम चलाइरहेका छौं, किन यसमा अलिक वर्क आउट गरेर सेवा थप अनि बिस्तार नगर्ने । आखिर हामीले आन्तरिक चलाएको एचआर सिष्टम पनि स्मुथली नै चलिरहेको छ । यो त हाम्रा लागि अवसर हो नयाँ भेञ्चरका लागि भनेर हौसियौं अनि कस्सियौं ।’
सञ्जयले सुनाउनुभयो, ‘अरुले पनि भन्नुभयो तर विशेषतः झापा तोपगाछीस्थित पूर्वनेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. का मिलन सरले एचआर त तपाईंहरुले जसरी पनि गर्नैपर्ने भयो, तपाईंहरुले इन्टरनल्ली त प्रयोग गरिरहनुभएको रहेछ, (काठमाडौं आउँदा उहाँले एमबैंक भ्रमण गरी त्यसबारे जानकारी लिनुभएको थियो) अनि हामीलाई चाहिं सेवा नदिने भनेर हाँसो पनि गर्नुभयो ।’ अनि त्यसलाई हार्न नसकि सञ्जयले वचन दिनुभयो, ‘हुन्छ नि सर । तपाईंलाई कति महिनामा तयार गरेर दिउँ ?’ उहाँले एक दुई महिनामा बनाएर दिदाँ हुन्छ भन्नुभयो ।
मिलन सरको आग्रहले प्रविधिका क्षेत्रमा सधैं एक कदम अगाडि रहँदै केही न केही नयाँ दिइरहौं भन्ने एमबैंक टेक्नोलोजीलाई अवसरको ढोका खोलिदियो । ‘ल अब कमर्शियल्ली जाने’ भनेर वर्कआउट गर्न थाल्यो एमबैंक टिमले । अनि आन्तरिक बैठक बसेर प्रोफेसनल्ली सहकारीहरुमा एचआर सिष्टम समेत लिएर जाने निर्णय एमबैंकले गर्यो । एचआर रिलेटेड जुनसुकै विषय पनि सम्बोधन गर्ने गरी (एचआर सम्बन्धी सहकारी पिच्छे फरक खालको आन्तरिक कार्यविधि र जनशक्तिहरु रहनेकारण) सबै फिचरहरु राखेर ससानो सेटिङहरु गरेर जुनसुकै अटेन्डेन्स मेशिन भएपनि काम गर्ने गरी, सहकारीमा हुने विविध किसिमका मानव संशाधन र तिनको हाजिरीदेखि, बिदा, सेवासुविधा, सबै समेटेने गरी काम गरेको उहाँले बताउनुभयो ।
वर्कआउट गर्दाका एकएक डिटेल सञ्जयले हामीलाई सुनाउनुभयो, ‘एचआर सिष्टममा कसैको घन्टाको आधारमा पेमेन्ट होला, कसैको दिन गन्तीमा पेमेन्ट होला, धरैको मासिक हुन्छ यी सबैलाई केटर गर्नुपर्यो । सँगै बिदाहरु क्याल्कुलेट गर्नुपर्यो र यो पनि संस्था र भुगोल अनुसार फरकफरक हुन्छ, लिभ विदआउट पेको कुरा आउँछ, अफिस आउटिङ वा फिल्ड भिजिट हुन्छ, बजार प्रतिनिधिहरुको हाजिरी व्यवस्थापनदेखि, मोबाइल एपमार्फत अटेन्डेन्सको सुविधा, तलब, तबलभित्र पनि कर, एसएसएफ, सिआईटी, पीएफ आदि आदि सबै स–सानो सेटिङमार्फत हिसाब गर्न सक्ने गरी मिलायौं । धेरै मिहेनत मिसायौं । अटेन्डेन्स, लिभ, बिदा र पेरोल आदि व्यवस्थापन गयौं र रेडी गर्यौं ।’ यी सबै काम गरेर तयार भएपछि एमबैंकले मिलन सरलाई भन्यो–‘सर वि आर रेडी ।’
त्यसपछि गत फेब्रुअरीमा औपचारिक सम्झौता भयो र डिजिटल सहकार्यतर्फ एक कदम अगाडि बढ्दै एचआर सेवा प्रवाहको नयाँ अड्भेञ्चरमा एमबैंकमा जोडियो पूर्वनेपाल सहकारी संस्था लिमिटेडमार्फत । एमबैंकले उक्त नयाँ एड्भेञ्चरलाई नाम दिएको छ HR Payroll Management System (Gurkha HR) ‘१३ वटा शाखा र १०० भन्दा बढी कर्मचारीमार्फत सेवा दिँदै आएको पूर्वनेपाल सहकारी संस्थाको कामलाई अझै प्रविधि मार्फत थप सजिलो र प्रभावकारी बनाउने लक्ष्यका साथ हामीले सम्झौता गर्यौं । यसले कर्मचारी व्यवस्थापन, तलब–भत्ता र कार्यालयको कामलाई छरितो बनाउनेछ’ त्यसपछि आफ्नो आधिकारिक सामाजिक सञ्जालमा खुसी साट्दै एमबैंक टेक्नोलोजीले पोष्ट गर्यो । यो एम बैंकको नयाँ सेवाको सुरुवात थियो ।
एमबैंकले यो एचआर सिष्टम सहकारीहरु मात्र नभइ अन्य बैंक तथा वित्तीय संस्थाहरु, लघुवित्त, फाइनान्स कम्पनी, रिटेल सप, रेष्टुरा लगायत अन्य कम्पनीहरुलाई पनि उपलब्ध गराउने गरी तयार गरेको सञ्जयले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘वास्तवमा यो सबैलाई हुने गरी बनाइएको छ । कष्टमाइज गर्न मिल्छ, त्यही भएर यसको प्रयोग ह्वात्तै बढ्ने विश्वास हामीले लिएका छौं ।’
मोबाइल बैंकिङमा ‘निस’ बनाएको एमबैंकले एचआर म्यानेजमेन्ट सिष्टमको सम्भावना देखेर नै हात हालेको बताएको छ । किनभने सबै सहकारीलाई यो आवश्यक छ । ५ जना कर्मचारी भएपनि २ सय जना भएपनि प्रविधिमा आधारित एचआर सिष्टम आवश्यक छ त्यसैले मार्केट र प्रोस्पेक्ट दुबै देख्यो एमबैंकले । ‘सिष्टम हामीले इआरपी लेवलकै बनाएका छौं, ’ सञ्जयले दाबी गर्नुभयो, ‘भोलिका दिनमा यसमा लोन म्यानेजमेन्ट र डकुमेन्ट म्यानेजमेन्टसम्म जोड्ने गरी इन्टायर इकोसिष्टम बनाएका छौं । आइडेन्टिफिकेशन सर्भर भनिन्छ जसअन्तर्गत एउटै लग इनबाट सिबीएस, एचआर, लोन, डकुमेन्ट, मेमो म्यानेजमेन्ट र मोबाइल बैंकिङ सर्भिस लिन सकिन्छ । सेन्ट्रलाइज लग इन सिष्टम छ हामीसँग । त्यसैले, भोलिको सम्भावना झन् फराकिलो छ । मजबुत त छ ।’ आफ्नो सेवाको क्षितिज फराकिलो बनाउँदै लाने योजना सुनाएपनि सिबीएस भने आफ्नो ‘कप अफ केक’ नभएको उहाँले स्पष्ट पार्नुभयो ।
एमबैंकले अहिले करिब ३० प्रतिशत अफर उपलब्ध गराएको छ HR Payroll Management System (Gurkha HR) मा । अनि, यो आर्थिक वर्षभित्र करिब डेढ सय संस्थालाई जोड्ने लक्ष्य लिएको छ । सहकारीलाई मात्रै पनि करिब ४० वटा यसै आवभित्र उपलब्ध गराउने योजनामा छौं, 'प्रबन्ध निर्देशक सञ्जयले विश्वास व्यक्त गर्नुभयो, ‘र अन्य निकायहरु गरेर यो फिस्कल इयरभित्र १ सय ५० जति अर्गनाईजेशनहरु हामीसँग जोडिने विश्वास छ । किनकि धेरैले सोधखोज गरिरहनुभएको छ ।’
दशकीय यात्रा
‘यो एक दशकमा जति पनि सहकारीहरुसँग हामी जोडिएका छौं अनि ठोक्किएका छौं, उहाँहरु सबै भन्नुहुन्छ–प्रविधिको हिसाबले सहकारीको मार्केटमा एमबैंक टेक्नोलोजी साँच्चिकै गेमचेञ्जर हो । यही हो हाम्रो उपलब्धि, ’ सञ्जयभित्रको आत्मविश्वास बोल्यो । एमबैंकको विशेषज्ञता नै मोबाइल बैंकिङ बनेको उहाँले बताउनुभयो । सञ्जयले भन्नुभयो, ‘पहिलो लकडाउनमा हामीले बैंक ट्रान्सफर सेवा शुरु गर्यौं । सहकारीबाट बैंकमा रकम ट्रान्सफर हुँदैनथ्यो । हामीले प्रभुको वालेट (पीएसपी) सँग मिलेर हामीले बैंक ट्रान्सफर सेवा सञ्चालनमा ल्यायौं ।’ अनि, अर्को स्टेपिङ स्टोनबारे सञ्जय, ‘दोस्रो लकडाउनमा सिधैं सहकारीको खातामा रेमिट्यान्स भित्रायौं । सिटी एक्सप्रेससँग मिलेर ।’ नयाँ काममा एमबैंक सधै अगाडि रहेको, चुनौतीहरुलाई अवसरमा बदलेको बताउनुहुन्छ सञ्जय ।
‘इनोभेसनमा सधैं अगाडि छ एमबैंक, ’सञ्जयले दाबी पस्कनुभयो, ‘लकडाउनमा भौतिक गतिविधिहरु ठप्पझैं भएको बेला हामीले प्रविधिको प्रयोगमा सहकारीहरुलाई अभ्यस्त गरायौं । सहकारीहरुपनि प्रविधिमैत्री बन्नुपर्छ र बन्नसक्छन् भनेर आधार दियौं । रिसर्च र इनोभेसनमा हामी सधैं एककदम अगाडि रहँदै आएका छौं । रिसर्च र इनोभेसन एमबैंकको मुख्य अटेन्सन नै हो । यी दुई कुरामा एमबैंक सधैं एक कदम अगाडि छ भन्ने दाबी गर्न सक्छौं । यो हामीले भन्दा पनि हाम्रा सेवाग्राहीहरुको भनाइ हो, विश्वास हो र भरोसा हो । यसलाई हामी अबका दिनमा झनै वृद्धि गर्दै लाने छौं ।’
एमबैंक भन्छ, ‘हामीसँग सहकारीलाई पस्कने सधै नयाँ नयाँ सेवा हुन्छ, त्यही भएर अपेक्षापनि बढी नै हुन्छ सहकारीहरुको ।’ त्यही भएर एमबैंकको पछिल्लो पस्काइ एचआर सिष्टम बनेको छ ।
ठूलो सानो सहकारीमा कुनै भेदभाव नगरी सेवा प्रवाह गरेको एमबैंक बताउँछ । हाम्रो नेपाल कोप कोअपरेटिभको ३० वटा शाखा छन् । सिम्रिक सहकारीको ४३ वटा ब्राञ्च छन् । ठूलादेखि गाउँघरका कुना कन्दराका ब्राञ्चलेस सहकारीहरु सबैलाई एमबैंकले सेवा प्रवाह गरेको छ । भन्छ, ‘सर्भिसमा विभेद छैन । ठूला सानालाई समानस्तरको सर्भिस दिएका छौं ।’
सञ्जयले भन्नुभयो, ‘हामी जुनसुकै सिबीएस होस् त्यससँग लिङ्क गर्छौं र मोबाइल बैंकिङ सेवा दिन्छौं जसका कारण मार्केट नै चेञ्ज गरिदिएका छौं हामीले । आजको मितिमा हामी सिनर्जीसँग पनि काम गरिरहेका छौं । इन्फो डेभलपर्ससँग पनि काम गरिरहेका छौं । हामी स्वतन्त्र भयौं काम गर्न ।’ उहाँले एउटा कुरा स्पष्ट पार्नुभयो, ‘कसैले बैंकमा मोबाइल बैंकिङ गर्नुपर्यो भने टीट्वान्टीफोर अथवा फ्लेक्सक्यूब अथवा फिनसिस जति पनि सीबीएस प्रोभाइडर छन्, उनीहरुको आफ्नै मोबाइल बैंकिङ सेवा भएपनि बैंकहरुले एफवनसफ्ट वा अन्यसँग गर्नुपथ्र्यो त ? हो, त्यही भएर मोबाइल बैंकिङ सेवा भनेको सधैं इन्डिपेन्डेन्ट नै हुन्छ जहिलेपनि । जसको सिबीएस त्यसकै मोबाइल बैंकिङ वा जसको मोबाइल बैंकिङ त्यसकै सिबीएस भन्ने हुँदैन र होइन पनि ।’
हो, यही कुरा सहकारीहरुलाई बुझाउन नसकिएको सञ्जयको भनाइ छ । सबै सहकारीहरुले यो एकदमै महत्वपूर्ण कुरा बुझ्न जरुरी रहेको उहाँ बताउनुहुन्छ । यही प्रयास एमबैंकले निरन्तर गर्दै आएको छ ।
यसबीच, अनगिन्ती अविस्मरणीय घटनाहरु एमबैंकका इतिहास बनेका छन् । केही त्यस्ता घटना सुनाउनुहोस् न भन्ने धिप्री डटकमको आग्रहमा संस्थापक सञ्जय भन्नुहुन्छ, ‘एमबैंक नपुगेको ठाउँमा पहिलो पटक पुग्दा आश्चार्यभाव प्रकट भएका थुप्रै अनुभवको धनी बनेका छांै हामी ।’ उहाँ रोकिनुभएन, ‘ओहो, तपाईंहरुले त यो सम्म पनि गरिसक्नुभएको रहेछ, यस्तो सर्भिस कहिलेदेखि उपलब्ध गराउनुभएको, यस्तो राम्रो काम गरिरहनुभएको रहेछ, खोइ त तपाईंहरु हामीकहाँ अहिलेसम्म आइपुग्नुनै भएको थिएन –भन्ने भनाइहरु धेरै सुन्नुभयो । यस्ता भनाइहरुसुनिसकेपछि सञ्जय एण्ड द एमबैंक टिमलाई लाग्छ–एमबैंक टेक्नोलोजी एउटा अविराम अनि अविच्छिन्न यात्रामा छ ।
दक्ष जनशक्तिः एमबैंकको युएसपी
सञ्जयले भन्नुभयो, ‘हाम्रो युनिक सेलिङ प्रपोजिसन (युएसपी) नै दक्ष प्राविधिक जनशक्ति हो । अहिले हामी बैंक वित्तीय संस्थामा पनि काम गर्न थालेका छौं । बैंक, सहकारी, लघुवित्त, विकास बैंक र फाइनान्स कम्पनी लगयत सबैमा काम गर्ने भएकाले जनशक्ति त उच्चस्तरको चाहियो त्यही हिसाबले टिम बनाएका छौं । ५० माथिको हाम्रो ठूलो र बलियो टिम छ । हामी गुणस्तरीय सेवा प्रवाह गर्न सक्छौं जुन हाम्रो प्लस पोइन्ट हो ।’ शुल्कको कुरा गर्दा पनि एमबैंककै मोबाइल बैंकिङ र एचआर सेवा दुबै प्रयोग गर्दा निःसन्देह कम हुने एमबैंकको भनाइ छ । ‘तपाईंलाई भनौं,’ सञ्जयले सुनाउनुभयो, ‘हामी जाभामा काम गर्छौं जुन विश्वको सबैभन्दा ठूलो इन्टरप्राइज ल्याङ्ग्वेज नै हो । जाभा र एङ्गुलरमा हामी काम गर्छौं जसले गर्दा इन्टरप्राइज लेवलको सलुशन हामी सस्तोमा उपलब्ध गराउन सक्छौं ।’
उहाँले दाबी गर्नुभयो, ‘तपाईंले हाम्रा सेवा प्रयोग गरिरहेका जुनसुकै सहकारी वा बैंक वित्तीय संस्थालाई सोध्नुभयो भने उहाँहरुले एम बैंक टेक्नोलोजीको सर्वोत्तम विशेषता भनेकै नयाँ नयाँ सेवा इन्टिग्रेशन र अर्को भनेको सर्भिस हा भनेर सुनाउनुहुन्छ ।’ एमबैंकसँग अहिले ४ जना सपोर्टमा काम गर्ने जनशक्ति छ । बिहान भाले नबास्दैबाट मध्यरात १२ बजेसम्म मोबाइल बैंकिङ सर्भिस उपलब्ध गराउँदै आएको छ त्यो पनि सातै दिन । ‘शनिबार किन बन्द हुँदैन भने, ’सञ्जयले खुलाउनुभयो, ‘झापा, दमक लगायत विभिन्न शहर र स्थानहरुमा बैंक वित्तीय संस्था छुट्टैछुट्टै दिन बन्द हुन्छन् त्यही भएर हामीले रोटेशनमा काम गराएका छौं स्टाफलाई ताकि सेवामा समस्या नहोस् भनेर ।’
उहाँले भन्नुभयो, ‘के सम्म पनि सजिलो भएको छ भने कुनै पनि सहकारीको सदस्यलाई समेत समस्या पर्यो भने हामीले एपमै हाम्रो सपोर्टको सम्पर्क नम्बर राखेका छौं । उहाँहरुलाई केही समस्या पर्यो भने पहिलो कलनै हामीलाई पनि आउँछ । अर्को भनेको च्याट सिष्टम । हामी आफैंले बनाएको च्याट सिष्टम पनि छ । जसले इन्स्ट्यान्ट रिप्लाई गर्छ । सर्भिसमा हाम्रो त्यो लेवलको डेडिकेशन छ ।’ सेवा प्रदायकहरुको गुणस्तरीयताको मापक आफ्टर सेल्स सर्भिस भएको सञ्जयले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्भिस इन्डस्ट्री भनेकै आफ्टर सेल्समै चल्ने हो । हाम्रो गुणस्तरीयता र प्रभावकारितानै सर्भिसले डिटरमाइन गर्छ । १० वर्षदेखि बजारमा त्यतिकै हामी टिकेका छैनौं । टिकेका मात्र होइन प्रभावी बनेका छौं । त्यसका केही कारणहरुमध्ये प्रमुख भनेकै उच्चस्तरीय सपोर्ट सर्भिस हो ।’
धेरै सहकारीहरुले सञ्जय एण्ड द टिमलाई सुनाउँछन्, ‘एमबैंकको काम मोबाइल सर्भिस दिनेमात्र होइन, हामीलाई शिक्षित र दीक्षित गर्ने काम पनि यसले गर्छ । सर्भिसबारे सम्पूर्ण प्रयोगात्मक ज्ञान उपलब्ध गराउँछ ।’ एमबैंकको मुख्य प्रयत्ननै सर्भिसबारे स्पष्ट बुझाउने काम हो । त्यसो हुँदा सेवा दिगो र व्यावसायिक पनि बन्ने विश्वास उसले लिएको छ ।
‘हामीले एजुकेटेड अनालिसिस गर्छौं, ’सञ्जयले भन्नुभयो, ‘कुन सहकारीलाई कस्तो तहको सिकाइ र सेवा आवश्यक छ त्यही हिसाबले हामी सम्बोधन गर्छौं ।’
सञ्जय गर्व गर्नुहुन्छ, ‘हामी सातै प्रदेशमा पुगेका छौं । गोरखाको माथिल्लो भाग वारपाक र लारपाकदेखि हुँदै दार्चुलासम्म हाम्रा ग्राहक हुनुहुन्छ । पकटे एरियाभनेको चाहिं शहर बजार क्षेत्र नै हो । सातै प्रदेशका मुख्य व्यापारिक शहर र हबहरु नै हाम्रा पकेट क्षेत्र हुन् किनकि त्यहाँ नै बीएफआई, सहकारी र अन्य ठूला संघ संस्था तथा कम्पनीहरु केन्द्रित छन् ।’ यसबीच अर्को सफलता एमबैंकले प्राप्त गरेको सञ्जयले सुनाउनुभयो, ‘करिब दुई वर्ष भयो ग्रामीण क्षेत्रमा केन्द्रीत साना किसान सहकारीहरुले हाम्रो मोबाइल बैंकिङ सर्भिस चलाइरहनुभएको छ । करिब ८० वटा साना किसान सहकारीलाई हामीले समेटेका छौं ।’ यसले एमबैंकको पहुँच र प्रभावलाई ‘रुरल एरिया इन्जेक्ट’ गर्न मद्दत मिलेको सञ्जयको निचोड छ ।
फ्ल्यासब्याक स्टोरीः द सञ्जय स्टोरी
सन् २०१६ बाट शुरु भएको थियो एमबैंकको यात्रा । तर, अर्कै नाममा । पछि मात्र यसले एमबैंक नाम पायो । ‘सहकारीमा मोबाइल बैंकिङ सेवा शुरु गर्नुपर्छ भनेर हामी केही साथी हौसियौं,’ कम्पनीका संस्थापक सञ्जयले भन्नुभयो, ‘म पियोर सफ्टवेयर आर्था मोबाइल बैंकिङमा बिजनेश डिभेलपमेन्ट एक्जिक्यूटिभ हुँदै म्यानेजरसम्म भएर अनुभवी भैसकेको थिएँ, र यहीका सहकारीहरुलाई यहीका प्राफेशनलहरु मिलेर दिगो, प्रतिस्पर्धी र व्यावसायिक सेवा दिनुपर्छ भनेर हामीले आफैं हात हाल्यौं ।’
भारतको नोयडा मुख्य कार्यालय रहेको आर्था (आईटी सेवा प्रदायक भारतीय कम्पनी) अन्तर्गत नेपाल (काठमाडौं) बसेर सञ्जयले सहकारीहरुलाई एसएमएस बैंकिङ सेवामा जोड्ने काम गर्नुभयो । एसएमएसबाट शुरु गर्दै त्यही मोडबाट मोबाइल बैंकिङ सेवा उपलब्ध गराउने काम गर्नुभयो । तर, अहिलेको जस्तो छुट्टा छुट्टै एप नभइ एउटै एपमा सबैले लगइन गरेर चलाउने गरिन्थ्यो । त्यहीबाट ब्यालेन्स चेक गर्ने, रिचार्ज गर्ने आदि सामान्य काम हुन्थ्यो ।’
अवस्था यस्तो थियो–नेपालमा सहकारीहरुले सेवा माग गरिरहेका थिए । तर उता भारतीय कम्पनीमार्फत त्यो सम्भवन भएन किनभने डिभेलमेन्ट टिम सबै उता थिए, उनीहरुको प्राथमिकतामा नेपालमा सेवा प्रवाह पर्दै नपर्ने खाली देखाउनको लागि मात्र अलिअलि काम हुन्थ्यो । गाली खानुपर्ने सञ्जयहरुले हुन्थ्यो । ‘एक किसिमको पञ्चिङ ब्याग हुन्थ्यौं हामी, ’वास्तविकता चित्रण गर्नुभयो सञ्जयले, ‘दुई वर्ष भैसकेको थियो त्यहाँ काम गरेको । धेरै गाली खाइयो नेपालमा सेवा खोज्ने सहकारीहरुबाट । विकल्पहरु खोज्न थालेँ । त्यसबेलासम्म आईटी र सहकारीबारे धेरथोर ज्ञान प्राप्त गरिसकेको अवस्था थियो । भारतीय कम्पनीसँग भर गरेर हुँदैन भनेर २०१६ बाट श्रीगणेश गर्यौं–हाम्रो टेक्नोलोजी नाम गरेर ।’
सञ्जयका अनुसार कम्पनीको नाम हाम्रो टेक्नोलोजी थियो एमबैंक चाहिँ प्रडक्ट । तर, सेवाग्राहीहरुको मुखमा एमबैंक झुण्डियो । सोही कारण पछि कम्पनीको नाम नै एमबैंक टेक्नोलोजी प्रा.लि. भनेर राखेको उहाँले स्पष्ट पार्नुभयो । र, आज कम्पनीले दशकको गर्विलो इतिहास निर्माण गरेकोमा प्रसन्नता व्यक्त गर्नुहुन्छ यसका परिकल्पनाकार सञ्जय ।
खासमा महोत्तरीको बर्दिबासमा जन्मिनुभएका सञ्जय महासेठको प्यासनले आजको एमबैंक बनेको हो । प्यासन प्रोफेशनसँग जोडिएपछि सफलता मिलेको हो । ‘खासमा मैले आइटी अध्ययन गरेको होइन, ’आफ्नो कार्यकक्षमा उहाँले धिप्री डटकमसँग भन्नुभयो, ‘तालिम, शिक्षासँगै सबैभन्दा महत्वपूर्ण कुरा त प्यासन वा रुचि रहेछ । औपचारिक अध्ययन बिजनेश हो तर अनौपचारिक र गहिरो अध्ययन आईटी ।’ त्यही अनौपचारिक आईटी आज औपचारिक आईपी अर्थात् ‘इन्ट्रेस्टिङ प्रोफेशन’ बनेको छ ।
‘मेरो धेरै समय मकवानपुरको हेटौडामा बित्यो, ’ सञ्जयले स्टोरी सुनाउनुभयो, ‘एसएलसीदेखि प्लस टुसम्म हेटौंडामै पूरा गरेँ । स्नातक (बीबीए) मात्रै काठमाडौं आएर पूरा गरेँ । प्लस टु पछि नै कम्प्युटर साइन्स, वेब डिजाइनिङ लगायत सबै सिकिसकेको थिएँ । रुचि मात्र होइन, अधिक रुचि थियो सानैदेखि मेरो सूचनाप्रविधि क्षेत्रमा ।’
उहाँले अगाडि भन्नुभयो, ‘सन् २००९ मा म काठमाडौं छिरेँ । काठमाडौं नआउँदै त्यसबेला गाउँघरमा उपलब्ध कम्प्युटरसम्बन्धी सबै ज्ञान लिइसकेको थिएँ । कम्प्युटरको आधारभूत शिक्षा (वर्ड, एक्सेल, पावरपोइन्ट) देखि ग्राफिक डिजाइनिङ लगायत डिप्लोमा सम्मकको तालिम लिइसकेको थिएँ ।’
तालिमले तिखारियो सीप
पढाइ एउटा तालिम अर्को जस्तो देखिएपनि परिपूरक भएको उहाँले बताउनुभयो । ‘पढाइले मलाई बैंक वित्तीय संस्था र बिमाबारे मिहिन ढंगले बुझ्न मद्दत गर्यो, ’ उहाँले सुनाउनुभयो,‘ अर्कोतर्फ, आईटीसम्बन्धी स्वाध्ययन, तालिम र खोजले भविष्यको रेखा कोर्दै थियो ।’ सञ्जयका अनुसार अध्ययन र अभिरुचिको अन्तर्घुलन हुँदा परिणाम सुखद निस्किएको हो ।
त्यसबेला काठमाडौं आउँदा गाउँघरका अग्रजहरु र चिनेजानेका दाइहरुले सञ्जयलाई सोध्नुहुन्थ्योे, ‘भाइ, कम्प्युटर इन्जिनियरिङ त पढ्छस् त, तर हामीजस्तै साइबर खोलेर बस्ने त होला नि, हैन ?’ त्यो बेला कम्प्युटरको स्कोप नै थिएन ।
अहिले सरकारीदेखि निजी कम्पनी र सहकारीहरुमा आईटी विभाग भनेर अलग्गैछ, धेरै क्षेत्रमा पर्याप्त जनशक्ति छ, नभएकाहरुमा पनि बिस्तारै आईटी क्षेत्रका जनशक्तिले राम्रो स्थान पाउँदैछन् । तर, त्यसबेला त त्यस्तो कल्पना पनि थिएन । त्यही भएर आईटी त पढ्ने तर पढेर के गर्ने ? कि त विदेश भासिनुपर्यो, कि साइबर खोलेर बस्नुपर्यो भन्ने उहाँको प्रारम्भिक धारणा थियो । किनकि, त्यसबेला आईटीको विशाल डाइनामिक्सबारे थाहै थिएन र एक्स्प्लोर पनि भएको थिएन । त्यही भएर अग्रजहरुको सल्लाह उहाँलाई आईटी नपढ्नु भन्ने थियो । आईटीमा भविष्य कसैले देखेकै थिएन । आजको स्तरको आईटीको विकास र आवश्यकता हुन्छ भनेर त्यो बेला अधिकांशको सोच बाहिरको कुरा थियो । त्यही भएर सञ्जयले पोखरा विश्वविद्यालयमा भएको बीबीए बीआई (ब्याचलर इन बिजनेश एड्मिनिश्ट्रिेशन विथ बैंकिङ एण्ड इन्स्यूरेन्स पढ्नुभयो जसको स्कोप एकदमै थियो । त्यहाँ अर्को भनेको बीबीए टीटी अर्थात् ट्राभल एण्ड टुरिजम थियो । उहाँले भने बैंक वित्तीय संस्था र बिमासँग पनि जोडिएकोले बीबीए बीआई रोज्नुभयो ।
पढाइसँगै कम्प्युटरको थप तालिम, अध्ययन र खोजमा लाग्नुभयो । नेटवर्किङसम्बन्धी सीसीएनए र सीसीएनपी गर्नुभयो । त्यसपछि कम्प्युटरको चीप लेवलबारे पनि तालिम लिनुभयो । भन्नुहुन्छ,‘ मैले तालिम अत्यधिक लिएँ तिनै तालिमहरुले म तिखारिएँ ।’ रुचिको क्षेत्रमा तालिमले सञ्जयका अवसरहरुको आयातन फराकिलो बनायो । ‘इन्द्र सर भन्ने हुनुहुन्थ्यो कलंकीमा उहाँसँग तालिम लिएँ, ’ पुराना गुरु सम्झिनुभयो र कृतज्ञ हुँदै भन्नुभयो, ‘कामनै मैले आईटीभन्दा बाहिर गर्दै गरिन । सन् २०१० मा कम्प्युटर पार्टस बेच्ने कामबाट शुरु भएको यात्रा सन् २०११ मा अटेन्डेन्स सिष्टममा प्रवेश गर्यो । त्यही बेला एचआर र लिभ सिष्टमबारे जानकारी प्राप्त गरेँ । त्यसपछि आर्था (आईटी सेवा प्रदायक भारतीय कम्पनी) मा प्रवेश गरेँ ।’
पहिलो सहकारीः नवजीवन सहकारी
‘हाम्रो पहिलो सेवाग्राही सहकारी नवजीवन सहकारी थियो, ’ सञ्जयले इतिहास खोतल्नुभयो, ‘धनगढीको नवजीवन सहकारीका लागि रिक्वायरमेन्ट (आरएफपी) निस्कियो । ठीक त्यही बेला हाम्रो प्रडक्ट करिब ८० प्रतिशत तयार भैसकेको थियो । हामीले अप्रोच गर्यौं फोनमार्फत । उहाँहरुको पुमरी थियो । हामीले मोबाइल बैंकिङ सेवा तयार गरेका छौं । डेमो देखाउन मिल्छ भनेर सोध्यौं । कुनै पूर्वचिनजान होइन डिरेक्ट अप्रोच गरेका थियौं । उताबाट मिल्छ भन्ने जवाफ आएपछि हामी धनगढी गयौं । डेमो देखायौं उहाँहरुलाई मनपर्यो । ल काम गरौं भन्ने द्धिपक्षीय सहमति भयो । २ महिनाभित्र हामीले सर्भिस शुरु गर्नुपर्ने सम्झौता थियो, तोकिएकै अवधिभित्र हामीले लाइभ गर्यौं ।’ नवजीवनले करिब ४ वर्ष सेवा चलायो । जुन सहकारीलाई पहिलो अप्रोच गरियो, त्यही सहकारीसँग डिल डन भयो भन्ने हर्षका धर्सा सञ्जयको मुहारमा देखिन्थ्यो ।
त्यो उहाँहरुका लागि ‘फस्र्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन’ भयो । शुरुवात नै धमाकेदार । नवजीवन सहकारी भनेको समुदायमा आधारित, काठमाडौं बाहिर । सुदुर पश्चिममा । फेरि त्यसबेला नवजीवन सहकारी नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार इजाजत प्राप्त थियो । फेरि नवजीवनलाई स्थानीयहरुले सहकारीभन्दा पनि नवजीवन बैंक भन्थे । बैंक सरह मान्थे । विश्वास गहिरो र फराकिलो थियो सदस्यहरुको नवजीवनप्रति जुन आज झनै बढेको छ ।
त्यसबेला नै पनि सहकारीहरुको कोर बैंकिङ सिष्टम–सीबीएसमा काम गर्ने २ दर्जनबढी भेन्डरहरु (आज ४ दर्जन बढी) भएको सञ्जयले बताउनुभयो ।
चुनौती भर्सेस अवसर
अवसर र चुनौती पर्याय हुन् । जहाँ अवसर त्यहाँ चुनौती र भाइसभर्सा । चुनौतीहरुलाई अवसरमा बदल्न पाएको छैन फेरि नयाँ चुनौतीहरु थपिन्छन् । यसरी नै अघि बढिरहेको छ एमबैंक पनि । सञ्जय भन्नुहुन्छ, ‘चुनौतीरहित काम कुनै पनि हुँदैन । र, त्यस्तो सोच्नु पनि हुँदैन । सूचनाप्रविधिमा र त्यो पनि सहकारी क्षेत्रमा त झन् धेरै चुनौतीहरु छन् । मुख्य कुरा भनेको नीतिगत एवम् कानूनी स्पष्टता (कम्प्ल्यायन्स एण्ड पोलिसी क्ल्यारिटी) छैन । के कस्ता र कति सेवा प्रवाह गर्न सकिने भन्नेमा दुविधा छ । स्वीकृति पूर्वस्वीकृति आदिका विषयहरु पनि छन् ।’
त्यही भएर हामी कि पीएसपी (पेमेन्ट सर्भिस प्रोभाइडर जस्तो खल्ती, इसेवा, आईएमई, मोरु, सिटी पे आदि) कि पीएसओ (पेमेन्ट सर्भिस अपरेटर जस्तै फोन पे, एनसीएचएल, एनपीएस) को अण्डरमा बसेर काम गर्छौं । गर्नुपर्ने बाध्यता छ । हामीले सिधैं काम गर्न सक्दैनौं । सेटेलमेन्ट हामीले गर्ने नै होइन । न सहकारीले गर्न पाउँछ न हामीले । हामीले गर्ने भनेको प्रविधि उपलब्ध गराउने हो । त्यसका लागि कहाँ कुन माध्यमबाट सजिलो, सुरक्षित, छिटोछरितो र प्रभावकारी हुन्छ त्यही रिसर्च गरेर प्रविधि सेवा दिने हो ।’
सीबीएस जसको सुकै भएपनि, मोबाइल बैंकिङ जसको सुकै भएपनि, लोन म्यानेजमेन्ट होस जो सुकैको सर्भिस पनि चलाउन पाउनुपर्छ । परनिर्भरता हुनुहुँदैन कहिलेपनि ।जहाँसम्म इआरपीको विषय छ, यसले सबै सेवा एउटै ठाउँमा दिन्छु भन्छ । तर, त्यो विशेषज्ञता हुन्छ त ? दिनै नसक्ने भन्ने होइत तर त्यही स्तरको लगानी, दक्षता, पूर्वाधार सबै व्यवस्थापन नेपालको अहिलेको सन्दर्भमा ‘अपहिल टास्क’ नै हो भन्दा अत्युक्ति हुँदैन । व्यावसायिक दिगोपनाको कुरा जोडिन्छ । विश्वभर इआरपी एकदमै चलेको वा भव्य हुनुपर्ने हो नि किन छैन ? यो हामीले बुझ्नु जरुरी छ । हामी जस्तो कम्पनीले वर्षको अन्त्यमा हेर्ने भनेकै कुन प्रडक्टले कति सेवा दियो र त्यो आधारमा रिर्टन कति भयो । यो नै ‘क्रक्स अफ द म्याटर’ हो ।
कारण यही हो कि बैंकहरु फरक भेन्डरका फरक सेवाहरु उपभोग गर्छ । एउटै भेन्डरको मल्टिपल सर्भिस कहिल्यै राख्दैन । फेरि धेरै भेन्डरसँग काम गर्दा धेरै कुरा सिक्न पाइन्छ, नवीनता हुन्छ ।
चुनौती नै 'कम्प्ल्यान्स क्ल्यारिटि' भएको सञ्जयको अनुभवले भन्छ । के गर्ने के नगर्ने भन्ने हो । प्रविधिको कुरा गर्ने हो भने बैंक वित्तीय संस्थामा उपलब्ध सबै प्रविधि एमबैंकले सहकारीहरुलाई पनि उपलब्ध गराउन सक्छ तर नीतिगत, कानूनी एवम् कम्प्ल्यान्स क्ल्यारिटि आवश्यक भएको उसको भनाइ छ ।
‘अब राष्ट्रिय सहकारी नियमन प्राधिकरण आएको छ अनि नेपाल राष्ट्र बैंक पनि छदैछ, ’सञ्जयले बुझाउन खोज्नुभयो, ‘अब हामीले खोजेको भनेको प्रिएप्रुभल सिष्टम हो । त्यसो भयो भने हामीलाई सहज हुन्छ । अहिले त प्रविधि सेवा प्रदायकको नाममा जथाभावी काम भैरहेको छ । जसरी बैंकलाई पीएसपी लाइसेन्स दिइन्छ, त्यसैगरी कुनै सहकारीलाई डिजिटल कोप लाइसेन्स भनेर दिदा पनि भयो र हामी जस्ता कम्पनीलाई एग्रिगेटर लाइसेन्स दिदा भयो । जसले गर्दा एमबैंक टेक्नोलोजी सहकारीलाई मोबाइल बैंकिङ लगायत प्रविधिजन्य सेवा दिन सरकारबाट इजाजतप्राप्त छ भन्न पाइयोस् । विश्वसनीयतासँगै सेवा प्रभावकारिता पनि बढ्छ । हाम्रो चाहना त्यही हो त्यसले गर्दा अपरिपक्व र अनप्रोफेशनल प्लेयर्सहरु किनारा लाग्छन् र वास्तविक अनि दक्ष कम्पनीहरु नै बजारमा आउँछन् । यसले राज्य, सहकारी र हामी जस्ता कम्पनीहरु सबैलाई फाइदा पुग्छ ।’
५ सय सहकारी, १ माइक्रो फाइनान्स र १ फाइनान्स कम्पनीलाई मोबाइल बैंकिङ सेवा अनि भर्खरै केही सहकारीलाई एचआर सिष्टम उपलब्ध गराउन सफल एमबैंक भन्छ–सबै कुरा कम्प्ल्यान्स (अनुपालन) मा आएर जोडिन्छ ।
सञ्जयले गुनासो गर्नुभयो, ‘करिब ५ वर्षअघिको कुरा हो । हामीले एनआईसी एशिया बैंकसँग मिलेर सहकारीहरुमा क्यूआर शुरु गर्यौं । अहिले आएर व्यक्तिगत खातामा व्यावसायिक कारोबार गर्न पाइदैन भन्ने निर्देशन जारी हुन्छ । कुरा त त्यो ठीक हो । तर, त्यसको विकल्प के त ? कुनै छैन । अनि, हामीले उपलब्ध गराएको क्यूआर चाहिँं अब गैरकानूनी त ? नेपाल राष्ट्र बैंकमा हामीले कुरा गर्यौ भने त सहकारीले युटिलिटी पेमेन्ट गर्न पाउँछ, गभमेन्ट पेमेन्ट गर्न पाउँछ, क्यूआर गर्न पाउछ भन्छ तर बैंकहरुले गर्नै मिल्दैन भन्छन् ।’
उहाँका जेन्युन जिज्ञासाहरु छन्, ‘अधिकांश सहकारीले बैंक ट्रान्सफर गरिरहेका छन् । यस्ता दुविधाहरु हट्नुपर्छ । यस्तै, नगद कारोबारको सीमा पनि ५ लाखसम्म कायम गरिएको छ त्यो भन्दा माथि सबै विद्युतीय (अनलाइन) माध्यमबाट गर्नुपर्ने निर्देशन जारी भएको छ । यो भनेको सहकारीहरुलाई डिजिटलाइजेशनमा नजा भनेको जस्तो स्थिति भयो । सहकारीहरुमा फन्ड ट्रान्सफरको लिमिटबारे कानूनी स्पष्टता छैन । सहकारीको पैसा चाहिँ पैसै होइन, बैंकको पैसा मात्रै पैसा हो त ?’
प्रविधिका हिसाबले एमबैंकलाई समस्या नै नभएको उहाँ बताउनुहुन्छ किनकि राष्ट्र बैंकले जो जसलाई लाइसेन्स दिएको छ तिनै निकायहरुसँग मात्र उसले काम गरेको छ । व्यक्तिगत रुपमा सहकारीको अकाउन्ट सिधैं सेटलमेन्ट गरेका छैन । एमबैंकले सहकारीलाई बैंकमा खाता खोल्न लगाउँछ वा मर्चेन्ट अकाउन्ट खोल्न लगाउछ र त्यहाँबाट सेटलमेन्ट भैरहेको छ । व्यक्तिगत रुपमा कुनै पनि आईटी कम्पनीले सेटलमेन्ट नगरेको सञ्जयले स्पष्ट पार्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, ‘सहकारीहरुले गर्ने भनेको खुद्रा पैसालाई एक ठाउँमा ल्याएर फेरि बैंकको अकाउन्टमै राख्ने त हो नि । फिजिकल्ली क्यास बैंकमा मुभ भएर तपाईंको खल्तीमा आउँदा समस्या भएन तर प्रविधि प्रयोगमार्फत एउटा सहकारीले मोबाइल बैंकिङद्धारा कसैको अकाउन्टमा जाँदा क्ल्यारिटी भएन । सहकारीले जहिले पनि काम गर्ने भनेकै ग्रासरुट लेवलमै हो । बैंकले त्यो लेवलमा काम गर्नै सक्दैन । कस्ट अफ फन्डले धान्दैन । भनेपछि सहकारीले त त्यही काममा सहजीकरण मात्रै गरेको हो । खुद्रा पैसालाई जम्मा गरेर एकमुष्ठ बैंकमा जम्मा गरेर ग्रासरुट लेवलका सदस्यहरुलाई बैंकिङ सर्भिस दिएको न हो । आर्थिक पहुँच नभएकाहरुलाई सहज र सर्वसुलभ तरिकाले सेवा प्रवाह गरेको न हो सहकारीहरुले । हुनत सबै कुराको राम्रानराम्रा पक्ष हुन्छन् । सहकारीले धेरै पिछडिएका वर्ग र समुदायका सदस्यहरुको जीवनमा सकारात्मक प्रभाव पारेको बिर्सन हुँदैन । कतिपय अवस्थामा बिनाधितो वा साना खुद्रे पसलको भरमा पनि थोरै थोरै ऋण लगानी गरेको छ । त्यो पनि त सेवा हो नि । व्यवसायलाई सपोर्ट गरेको त हो नि ।’
यद्यपि, सहकारीहरुबाट पनि विगतमा गल्ती कमजोरी भएको उहाँले बताउनुभयो । तर, त्यसमा राज्यको पनि रोल मिसिङ भएको सञ्जयको ठम्याइ छ । अनि, सहकारीका तहगत संघहरु पनि छन् । सबैबाट कमजोरी भएका छन् । तर, सहकारी राज्यको आवश्यकता हो । यद्यपि, यसको सञ्चालनका पद्धति, सुशासन, इमानदारी, पारदर्शिता र वित्तीय व्यवस्थापनका विविध आयाममा समयसापेक्ष सुधार आवश्यक भएको उहाँ बताउनुहुन्छ । तर, सहकारीनै बन्द गर वा औचित्य छैन भन्ने आशयका जिम्मेवार अधिकारीहरुका अभिव्यक्तिहरु र नियामकीय निर्देशन आदि भने उदेकलाग्दा भएको सञ्जय बताउनुहुन्छ । हामीलाई लाग्छ, अब राष्ट्रिय सहकारी नियमन प्राधिकरण आएसँगै यी सबै कुराहरुको नियमन हुन्छ जसले गर्दा हामी जस्ता आईटी सेवा प्रदायक कम्पनीहरुलाई पनि एकदमै सहज हुन्छ ।
सङलिन्छ सहकारी
सहकारीको साखमा प्रश्न आउने गरी देखिएका गैरसहकारी क्रियाकलापले एमबैंकलाई पनि असर पारेको छ । सहकारी क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्ष काम गर्ने सबैलाई असर गर्छ नै, त्यसबाट एमबैंक अछुत रहन सकेको छैन । एउटै इकोसिष्टमभित्र रहँदा असर परिहाने सञ्जयले स्वीकार्नुभयो । ‘यो दश वर्षमा हामीले ६ सय सहकारीमा लाइभनै गरिसकेका थियौं, ’ अवस्था चित्रण गर्दै सञ्जयले भन्नुभयो, ‘बीचमा सहकारीमा देखिएका समस्याले हामीलाई पनि असर गर्यो । त्यही भएर केही घटेर अहिले हामी ५ सयको हाराहारीमा जोडिएका छौं ।’
तर, टेक्नोलोजी कम्पनी भएको नाताले एमबैंकको विश्वास छ-सहकारी मुलुकको आवश्यकता हो, सहकारी समाजको समृद्धिको संवाहक हो, यस क्षेत्रमा पनि केही समस्या र अपवाद छन् ती समयक्रममा सुल्झदै जान्छन् र सहकारीको विश्वसनीयता पुनर्जागृत हुन्छ ।
सरकार, सहकारी क्षेत्र, सदस्य लगायत सरोकारावालाहरु आ–आफ्नो भूमिकाप्रति इमानदार भएर लाग्ने हो भने समस्याहरु सङ्लिदैं जानेछन् र सहकारीको समुद्र स्निग्ध र कञ्चन हुनेमा एमबैंक टेक्नोलोजी विश्वस्त छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com