Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ज्योतिष र कर्मकाण्ड पेशालाई परिवेश अनुकूल बनाउनुपर्छ

ज्योतिष र कर्मकाण्ड पेशालाई परिवेश अनुकूल बनाउनुपर्छ

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सञ्चालन गरेको ६ महिने ‘ज्योतिष तथा कर्मकाण्ड प्रशिक्षण’ पूरा गरी ५४ जना आज दीक्षित हुनुभएको छ । ज्योतिषमा ३६ र कर्मकाण्डमा १८ गरी ५४ जना दीक्षित हुनुभएको पञ्चाङ्ग निर्णायक विकास समिति कार्यकारी निर्देशक तथा सदस्य सचिव आचार्य लक्ष्मण पन्थीले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।

पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिष र कर्मकाण्ड दुवै महत्वपूर्ण एवम् अत्यावश्यकीय क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ २०६२ सालदेखि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

आजको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले दीक्षितहरुलाई विधि र शास्त्र सम्मत् हिसाबले काम गर्न सुझाउनुभयो । कतिपय अवस्थामा कर्मकाण्ड र ज्योतिष पेशामा आवद्धहरुमा प्रलोभन बढी हुने गरेको र विधि समेत पूरा गर्ने काम नभएको दृष्टान्त प्रस्तुत गर्दै त्यसो नगर्न सुझाउनुभयो ।

DSC09587_11zon.jpg
undefined

हाम्रो संस्कृति, परम्परा र शास्त्रहरुको महत्व निक्कै धेरै रहेको भन्दै उहाँले तिनलाई समय र परिस्थिति अनुरुप परिमार्जन र परिस्कृत गर्दै परिवेश अनुकूल बनाउनुपर्ने तर लोप हुन दिन नहुने आवश्कयता औंल्याउनुभयो । यिनको संरक्षण र सम्वर्दनमा आज दीक्षित भएको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । विदेशमा बसेका नेपालीहरुलाई पनि कर्मकाण्ड र ज्योतिषको आवश्यकता निक्कै हुने भन्दै नागरिकता त्यागेकाहरुले पनि यी कुरा त्याग्न नसकेको र तिनको अभ्यास गरिरहेको चर्चा उहाँले गर्नुभयो ।

DSC09676_11zon.jpg
undefined

सचिव निरौलाले पञ्चाङ्ग निर्णायक विकास समितिलाई स्रोत साधन सम्पन्न बनाउनेतर्फ मन्त्रालयको सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यस्तै, समितिका अध्यक्ष प्राध्यापक शम्भुप्रसाद ढकालले कर्मकाण्ड र ज्योतिष दुवैमा धेरै कुराहरु संशोधन आवश्यक भएको बताउनुभयो । उहाँले विधिसम्मत् हिसाबले हाम्रा दुवै चीजलाई संशोधन गर्दै लानुपर्ने उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षणमा सिकेका कुराहरु व्यवहारमा उतार्न दीक्षितहरुलाई  आग्रह गर्नुभयो । ज्ञान हस्तान्तरणीय हुनुपर्ने भन्दै त्यसो हुन सकेमात्र दिगो र अमर रहने उहाँले बताउनुभयो । कर्मकाण्ड र ज्योतिषको ज्ञान पनि हस्तान्तरण गरे यी अमर हुने सचिव निरौलाले स्पष्ट पार्नुभयो ।

यस्तै, समितिका सदस्य प्रा.डा.देवमणि भट्टराई, पूर्व अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले आज दीक्षित हुनेहरुलाई बधाई एवम् शुभकामना दिदैं असल अभ्यास गर्न नजानेका कुरा अग्रजहरुबाट सिक्न सुझाउनुभयो ।

DSC09656_11zon.jpg
undefined

यसैगरी, समितिका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थीले कोषको कमजोर भौतिक एवम् नीतिगत पूर्वाधारबारे प्रमुख अतिथि सचिव निरौलाको ध्यानाकर्षण गराउँदै मन्त्रालयको सहयोग, सहजीकरण एवम् समन्वयका लागि आग्रह गर्नुभयो ।

उहाँले समितिको कार्यालय व्यवस्थापन, हल, कोठा र माइक अभावदेखि कर्मचारी (लेखा), आन्तरिक कार्यविधि, तथा नीतिहरु निर्माणमा मन्त्रालयको साथ सहयोगको लागि आग्रह गर्नुभयो ।

DSC09550_11zon.jpg
undefined

कार्यक्रममा समितिका सदस्य रतिदेवी जोशी श्रेष्ठ, समितिका पूर्व सदस्य सचिव ज्योतिष पण्डित सूर्यप्रसाद ढुङ्गेल, तथा अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रमको शुरुवाती अवस्था, पाठ्यक्रम तयारीदेखि नै जोडिदै आउनुभएका प्रशिक्षक एवम् नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सहप्राध्यापक डा.पुरुषोत्तम भट्टराईले स्रोत साधनको सीमितताका बाबजूद निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन हुँदै आएपनि पछिल्लो समय भने अनलाइन कक्षाको माग बढ्दै गएको जानकारी गराउनुभयो ।

DSC09869_11zon.jpg
undefined

उहाँले ज्योतिष र कर्मकाण्ड दुबैप्रति विद्यार्थीहरुको रुचि बढ्दै गएको बताउनुभयो । यद्यपि, स्रोत साधन सीमित भएकाले दुइ सिफ्ट वा प्रत्येकका दुई वटा कक्षा सञ्चालन गर्न कठिनाइ भएको उहाँले उल्लेख गर्नुभयो । 

हरेक वर्ष आवेदन माग गर्दा अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने माग विगतका वर्षहरु देखिनै उठ्दै आएको भन्दै यस विषयमा तालुकदार मन्त्रालयको ध्यानाकर्षण आज कार्यक्रममा गराइएको थियो । आज आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा पनि पृष्ठपोषण प्रदान गर्दै प्रतिनिधि विद्यार्थीहरुले समेत अनलाइन कक्षा सञ्चालन गराउनेतर्फ समितिको पहल आवश्यक भएको बताउनुभएको थियो । त्यसका लागि ठूलो स्रोत साधन आवश्यक नभएपनि कक्षा, प्रशिक्षक, समय र विद्यार्थी लगायत व्यवस्थापन गर्न सके अभौतिक कक्षा सञ्चालन गर्न सकिने समेत उल्लेख गर्नुभएको थियो ।

DSC09986_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार