काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका ५, थलीस्थित मिनिल्याण्ड अंग्रेजी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । उक्त विद्यालयबाट यो पटक एसईईमा ९४ जना सहभागी भएका थिए जसमध्ये २ विद्यार्थीले जीपीए ४ प्राप्त गरेका छन् भने ४३ जनाले जीपीए ३.६ माथि, ४८ जनाले जीपीए ३.२देखि ३.६ जीपीए बीचमा र १ जनाले त्योभन्दा कम सहित सतप्रतिशत उत्तिर्ण नजिता प्राप्त गरेको संस्थापक अध्यक्ष डा. जयराम वाग्लेले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
विगतका उपलब्धिहरुलाई यसले थप संस्थागत गर्न सहयोग पुगेको भन्दै आगामी दिनमा अब्बलताको यात्रा गर्ने अध्यक्ष डा. वाग्लेले बताउनुभयो । यद्यपि, पछिल्लो सन्दर्भमा कक्षा १२ लाई माध्यमिक शिक्षाको अन्तिम परीक्षाका रुपमा लिइएको सन्दर्भमा एसईईलाई ठूलो हाउगुजीको विषय बनाइरहनुनपर्ने उहाँले सुझाउनुभयो । विगतको एसएलसीको महत्ता सामाजिक परिवेशका कारण पनि कमी हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
विद्यालयका परीक्षाहरु सबै महत्वपूर्ण हुन्छन्, छोटो अन्तरालमा परीक्षाहरु भइरहँदा विद्यार्थीहरुमा पढाइप्रति अभिरुचि बढ्ने हुनाले सिकाइ पनि प्रभावकारी हुने दाबी डा. वाग्लेले गर्दै पढाइमा निरन्तरता आवश्यक भएको धारणा राख्नुभयो । तर, एसईईमा सबै विद्यार्थीले सोचे र खोजेजस्तो परिणाम नआउने विषय स्वाभाविक भएको बताउँदै उहाँले असफल हुनेहरु निराश हुन नपर्ने उल्लेख गर्नुभयो ।
‘एसईई नै सबैथोक होइन, ’डा.वाग्लेले भन्नुभयो, ‘जीवनमा अन्य थुप्रै परीक्षाहरुमा व्यक्तिले सामेल हुनुपर्छ र एसईईमा राम्रो गर्नेहरु पछि गएर कमजोर तथा एसईईमा कमजोर विद्यार्थी पछि गएर अब्बल ठहरिएका पनि प्रशस्त उदाहरणहरु छन् ।' यस्तै, धारणा मिनिल्याण्डबाट जीपीए चार हासिल गर्न सफल आरम्भ सापकोटा र प्रतीक्षा खड्काले राख्नुभयो ।
एसईईकै सेरोफेरोमा रहेर समग्र विद्यालय शिक्षाको बारेमा कुरा गर्दै शिक्षासेवी डा. वाग्लेले आजको समयमा विद्यार्थीहरुमा मूल्य, मान्यता र नैतिक शिक्षाको खडेरी रहेको स्वीकार्नुभयो । आफ्नो विगत कोट्याउँदै उहाँले उबेला विद्यार्थीहरुले शिक्षक र अभिभावकप्रति आदरभावसहितको सम्मान राख्ने गरेपनि हिजोआज भने त्यो कमी भएको चर्चा गर्नुभयो । सूचनाप्रविधिको युगमा विद्यार्थीहरु मोबाइल र ग्याजेटहरुका लती बनिरहेको भन्दै त्यसमा अभिभावकहरुको सचेतनापूर्ण निगरानी आवश्यक भएको डा.वाग्लेले बताउनुभयो । ‘यसको मतलब अहिले मोबाइलनै चलाउनुहुँदैन भन्ने होइन्,’ उहाँले भन्नुभयो,‘मोबाइलबाटै धेरै विषयहरु अध्ययन गर्न सकिन्छ, तर नानीबाबुहरुले के कुराहरु हेर्दैछन् र कति समय हेर्छन् भन्ने कुरा चाहिं अभिभावकले ध्यान दिनुपर्छ ।’
एउटा विद्यार्थीलाई पढाउने कसरी, बुझाउने कसरी भन्दा महत्वपूर्ण विषय बनाउने कसरी भन्ने धिप्री डटकमको जिज्ञासामा वाग्लले भन्नुभयो, ‘त्यसका लागि हरेक विद्यार्थीको मनोभावना बुझ्न सक्ने क्षमता शिक्षकमा आवश्यक हुन्छ । अर्को भनेको विद्यार्थीहरुले के कुरा चाहन्छन्, कसरी विषयवस्तुलाई सहजरुपमा बुझ्दछन् भन्ने सुक्ष्म चिन्तनसहित श्रव्यदृश्य, सूचनाप्रविधि, रोलप्ले, अ्याक्ट आदि विभिन्न व्यावहारिक माध्यमबाट पढाउन सकिन्छ ।’ सैद्धान्तिक र वनवे ट्राफिक भन्दा अन्रक्रियात्मक र सहभागितात्मक सिकाइ प्रभावकारी हुने उहाँले बताउनुभयो ।
सन् २०११ देखि मिनिल्याण्ड स्कूलको अध्यक्ष रहनुभएका वाग्लेको दीघ अनुभवले भन्छ, ‘अंक र आचरणबीच तालमेल नमिल्नुमा नैतिक मूल्यहरुको अभाव, प्रविधिको बलियो हस्तक्षेप, समयको असर र सामाजिक र परम्परागत मान्यताहरु विरुद्ध समयको अतिक्रमण र विश्वभूमण्डलीकरण आदि कारण देखिएका छन् ।’ त्यसैभएर मिनिल्याण्डले नैतिक शिक्षामा विशेष जोड दिएको उहाँले बताउनुभयो ।
शिक्षा क्षेत्रमा सिल्बर जुब्ली अनुभवी वाग्ले सोसियल साइन्स अन्तर्गत सार्वजनिक विद्यालयमा विद्यार्थी ड्रपआउटका कारणहरु र आंकाक्षाहरु (एसपिरेसन्स) विषयमा मलेशियाको लिङ्कन युनिभर्सिटीबाट सन् २०२५ मा विद्यावारिधि हासिल गर्नुभएको छ । उहाँसँग गरिएको धिप्री संवादको सम्पादित अंश युट्युबमा हेर्न सकिनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com