Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
समस्याग्रस्त सहकारी

माया मारेको बचत फिर्ता पाएँ, सरकारलाई धन्यवाद: तिर्थमाया राई

माया मारेको बचत फिर्ता पाएँ, सरकारलाई धन्यवाद: तिर्थमाया राई

काठमाडौं । ‘मेरो त थोरै पैसा थियो, तीन चार वर्ष पनि भैसकेको थियो त्यसैले अब त पैसा फिर्ता पाउँदिन होला भनेर माया मारिसकेकी थिएँ । तर, आज फिर्ता पाउँदा खुसी लागेको छ । यसका लागि बागमती प्रदेश सरकारलाई धन्यवाद दिन चाहन्छु  ।’

ललितपुरको धापाखेलकी तिर्थमाया राईले धिप्री डटकमसँग साट्नुभएको खुसीको वाक्य हो यो । उमेरले ७६ वर्ष लाग्नुभएकी उहाँ घर नजिकैको सुमेरु बचत तथा ऋण सहकारी संस्थाकी सदस्य हुनुहुन्थ्यो । नजिककैको सहकारी सबैले राम्रै छ र छिमेकीहरुले मिलेर खोलेको भनेपछि सदस्य बन्नुभयो । सदस्य बनेको केही वर्ष त राम्रै थियो । बचत पनि बढाउँदै लानुभएको थियो । ब्याज पनि आम्दानी भएको थियो । हुँदा राख्ने आवश्यक पर्दा झिक्ने गर्नुहुन्थ्यो । करिब ४ लाख सम्म बचत गरेपनि काम पर्दा झिक्नुभयो र बाँकी ४६ हजार रुपैयाँ थियो । त्यति बचत बाँकी हुँदा संस्था बन्द भयो । उहाँ दुःखी हुनुभयो । 

_DSC7662_11zon.jpg
तिर्थमाया राई

‘काम परेकोले झिकेँ र बाँकी ४६ हजार थियो तर, अहिले ४८ हजार रुपैयाँ पाएँ, ’तीर्थमायाले आज अपरान्ह बचत फिर्ता पाएपछि सुनाउनुभयो, ‘मलाई धेरै खुसी लागेको छ । अरु जसजसको पनि बचत फिर्ता भएको छैन, तपाईंहरुले पनि पाउनुहुन्छ । निराश नहुनु । यही भन्नुभएको छ सरकारले ।’

बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषित पाँच वटा सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता अभियान आजबाट सुरु गरेसँगै तिर्थमायाले पनि आफ्नो बचत रकम फिर्ता पाउनुभएको हो । 

जावलाखेलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ४२ जना बचतकर्तालाई करिब १७ लाख रुपैयाँ वितरण गर्दै रकम फिर्ता अभियानको शुभारम्भ गर्नुभएको हो । उक्त कार्यक्रमको शुरुवात तिर्थमायालाई ४८ हजारको चेक हस्तान्तरण गरेर मुख्य मन्त्री बानियाँले गर्नुभयो । कार्यक्रममा प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी पनि उपस्थित हुनुहुन्थ्यो । 

_DSC7604_11zon.jpg
 बचतफिर्ता अभियान शुभारम्भ कार्यक्रम 

तिर्थमायाले भने विदेशमा रहेका छोरी ज्वाइँहरुले बेलाबेलामा दिएको रकम सुमेरु सहकारीमा बचत गर्नुभएको थियो । घरखर्चका लागि दिएको रकमबाट जोगाएर बढाउनुपर्यो भनेर उहाँले सहकारीमा खाता खोल्नुभयो । ‘ब्याज आउँछ जोडिन्छ भनेर राखेँ, ’उहाँले भन्नुभयो, ‘सुरुमा १० हजार राखेकी थिएँ । त्यसपछि १५ हजार गर्दै बढाउँदै लगेकी थिएँ ।’

बचत फिर्ताका लागि आफूले धेरै दुःख नगरेको सुनाउँदै उहाँले सरकारले समस्याग्रस्त घोषणा गरेपछि पोहोर आग्रह गरेबमोजिम निवदेन दिएको र आज रकम फिर्ता पाएको सुनाउनुभयो । धेरै रकम नभएकाले दिए पनि ठीकै छ नदिए पनि ठीकै भनेर आश मार्नुभएकी तिर्थमाया रकम पाएपछि भने पुलकित देखिनुभयो । ‘सरकारले धेरै पहल गरेर हामीहरुको रकम दिलाइदिनुभयो, धन्यवाद भन्न चाहन्छु, ’ उहाँले भन्नुभयो, ‘अरु धेरै रकम फसेकाहरु सबैले रकम फिर्ता पाइन्छ भनेर आशा गर्नुभएको छ ।’

कार्यक्रममा प्रदेश मुख्यमन्त्री बानियाँले समस्याग्रस्त घोषित पाँच सहकारीमा ५१ हजार १९० सदस्यको करिब ३१ अर्ब ६ करोड रुपैयाँ बचतमध्ये २२ अर्ब ३८ करोड रुपैयाँ बराबरको बचत फिर्ताको माग दाबी परेको जानकारी गराउनुभयो । समितिले पहिलो चरणमा १० हजारदेखि एक लाख रुपैयाँसम्मका बचतकर्तालाई प्राथमिकतामा राखेर फिर्ता गर्न थालेको हो ।

बागमती प्रदेश सरकारको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल बचत तथा ऋण सहकारी, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी र लालीगुराँस बचत तथा ऋण सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ।

_DSC7615_11zon.jpg
 बचतफिर्ता अभियान शुभारम्भ कार्यक्रम 

कार्यक्रममा प्रदेश सहकारी मन्त्री रायमाझीले सबै सहकारी खराब हुन् भन्ने गलत भाष्य सिर्जना गरिएको भन्दै आफूले कस्तो सहकारीमा कारोबार गरिरहेको छु भन्ने बुझेर मात्र अघि बढ्नुपर्ने बताउनुभयो । केही सहकारीको बदमासीले सबै खराब हुन भन्ने प्रचारबाजी भएको भन्दै सही गर्ने थुप्रै सहकारीहरु भएको चर्चा गर्नुभयो । साथै उहाँले सरकारले अभिभावकत्व लिएर बचतफिर्ताको तदारुकता देखाएको भन्दै यसले सहकारीप्रतिको विश्वास पुनस्थापित गर्न पनि सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार