Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

के छ जनैपूर्णिमाको धार्मिक एवम् सांस्कृतिक महत्व ? : प्रा.डा.माधवप्रसाद भट्टराई (भिडियो)

के छ जनैपूर्णिमाको धार्मिक एवम् सांस्कृतिक महत्व ? : प्रा.डा.माधवप्रसाद भट्टराई (भिडियो)

काठमाडौं । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ ।

के छ जनैपूर्णिमाको धार्मिक एवम् सांस्कृतिक महत्व ?

यस विषयमा जानौं, प्रा.डा.माधवप्रसाद भट्टराईबाट । उहाँ संस्कृतिविद्, धर्मशास्त्री तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष हुनुहुन्छ ।  सनातन वैदिक धर्म, संस्कृति, ज्योतिष्शास्त्र र नेपाली चाडपर्वका विज्ञ उहाँ राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष हुनुहुन्छ । उहाँले चाडपर्व, तिथिमिथी, दसैं, तिहार, तीज र विभिन्न सांस्कृतिक परम्पराका बारेमा प्राज्ञिक तथा धार्मिक स्पष्टता प्रदान गर्दै आउनुभएको छ ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

विभिन्न थरि गेडागुडीको मिसाएर बनाइएको क्वाँटीको रस खाएमा शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकहरूको भनाइ छ । यसबाट चिसो गाडिएर लाग्ने रुघाखोकीजस्ता रोग निको हुने विश्वास छ ।

नेपालको तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । अहिले यो परम्परा पहाडी क्षेत्रमा पनि बढ्न थालेको छ ।

काठमाडौँको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमा दिन आज  बिहानैदेखि मेला लाग्ने गर्छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार