काठमाडौं । विगत केही वर्ष यताका घटनाक्रमले नेपाल जलवायु संकटको सन्निकट रहेको पुष्टि भएको बताउँदै सरोकारवालाहरुले प्रकृतिमैत्री जीवनपद्धति अगाल्नुपर्ने सुझाव दिएका छन् । वातावरण संरक्षण दिगो विकास, जलवायु संकट, फोहोरमैला व्यवस्थापन आदि क्षेत्रमा कार्यरत अभियन्ताहरुले रसुवा घटना नेपालको लागि खतराको घन्टी भएको बताउँदै अब पनि जीवनशैली र पद्धतिलाई प्रकृतिमैत्री नबनाउने हो भने भविष्यमा झनै ठूलो क्षति बेहोनुपर्नेमा सचेत तुल्याएका छन् । साथै उनीहरुले जीवनशैलीसँगै व्यापार, व्यवसाय उद्यमशीलता आदि हाम्रा सबै यत्नमा प्रकृति र वातावरण संरक्षणको विषय केन्द्रविन्दुमा रहनुपर्ने सुझाएका छन् । त्यसका लागि सम्भावनाका क्षेत्र पहिचानमा पनि उनीहरुले सहजीकरण गरेका छन् ।
ललितपुरको बखुण्डोल हाइट मार्गमा अवस्थित क्याफे जिरोमा आज आयोजित ‘हरित व्यवसाय, जलवायु कार्य तथा पञ्चप्रणाली’ विषयक अन्तरक्रियात्मक प्यानल छलफल कार्यक्रममा जलवायु विज्ञ कुशल गुरुङले भन्नुभयो, हामी अहिले जलवायुजन्य जोखिम (क्लाइमेट ह्याजार्ड) भन्दा पनि जलवायु संकटको एकदमै नजिक छौं । यो केवल जलवायु परिवर्तनको अवस्था होइन बरु जलवायु संकटको निकटको अवस्था हो ।’
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको अकल्पनीय मानवीय एवम् भौतिक क्षतिप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘नेपाललाई नखाएको विष लाग्यो । विगतका केही घटनाक्रमले पनि हामी खतराको अवस्थातर्फ लागेको संकेत गरेको थियो तर यो तहको प्रलय भने अकल्पनीय हो । हामी अब जलवायु संकटको साँधमा छौं ।
विन्डपावर नेपालका संस्थापक एवम् सिईओ समेत रहनुभएका गुरुङले रसुवा बाढीलाई विपद् वा सामान्य वातावरणीय परिवर्तन नभई ‘जलवायु संकट’ को एकदमै निकटको अवस्था बताउँदै नेपालले क्षतिको विवरण बुझाएर विश्वसामु जलवायु न्यायको दाबी गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले तत्काल क्षतिपूर्ति उपलब्ध गराउन अन्तर्राष्ट्रिय जलवायु कोषहरूलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो । जलवायु संकटका कारण नेपालले वर्षे ठूलो क्षति व्यहोर्दै आएको र त्यसको गति बढ्दो रहेको उल्लेख गर्दै उहाँले जलवायु संकटको मुद्दालाई संयुक्त राष्ट्रसंघको साधारण सभा, विश्व जलवायु सम्मेलन लगायत अन्तर्राष्ट्रिय सभा सम्मेलनमा सशक्त रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो । नेपालले जलवायु न्यायको मागसहित अन्तर्राष्ट्रिय समुदायबाट क्षतिपूर्ति दाबी गर्न सक्ने भएपनि त्यसबापत प्राप्त हुने रकमले पुनर्निमाण र बस्ती विकासमा धेरै खर्च लाग्ने उहाँले बताउनुभयो ।
यसैगरी, अर्थतन्त्र र लगानीको विषय पनि जोड्दै उहाँले रसुवा जलप्रलयले जलविद्युतका क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो । ‘नेपालको अहिलेको राम्रो लगानीको क्षेत्र भनेको जलवायु हो, गुरुङले भन्नुभयो, ‘हाम्रो देशको अर्थतन्त्रको मेरुदण्ड भनेकै अहिले हाइड्रोपावर हो, त्यत्रो लगानी जलविद्युतको क्षेत्रमा छ तर अहिले सबैभन्दा ठूलो क्षति नै हाइड्रोपावरमा छ । यो हिमाली सुनामी हो । यो हाम्रो लागि ठूलो खतराको घन्टी हो ।’
समान प्रकृतिका विगतका घटनाहरुको प्रसंङ्ग उप्काउँदै उहाँले भन्नुभयो, ‘कागबेनी, मेलम्ची र हुम्लामा भएका घटनाले पनि हिमनदीहरु छिटो पग्लदै जाने, ढिस्को खस्ने जस्ता हुँदै गएको देखाएको छ । जसका कारण हिउँ पग्लेर बग्ने नदीहरुमा त्यसको ठूलो असर परिरहेको छ ।’
जलवायु संकटको थप प्रमाणहरु प्रस्तुत गर्दै उहाँले भन्नुभयो, ‘काठमाडौंमै पनि हामीले केही समयअघि आरीघोप्टे वर्षा बेहोर्यौ जसले गर्दा एक सय वर्षमा नआएको बढी यहीँ आयो ।’
कार्यक्रममा अष्ट्रेलियाको कम्बरल्याण्ड काउन्सिलकी सिनियर रिसोर्स रिकभरी अफिसर एलिना ताम्राकारले वातावरण संरक्षण र हरित अर्थतन्त्र विकासका लागि जनचेतना सबैभन्दा महत्वपूर्ण हुने भन्दै अष्ट्रेलियामा फोहोरहरुको वर्गीकरणको काइदा, नगरपालिकामार्फत विद्यालय तथा समुदायस्तरमा सञ्चालन हुने जनसचेतनाका कार्यक्रम तथा दिवसकै रुपमा पनि आयोजना गरिने कार्यक्रमहरुबारे जानकारी गराउनुभएको थियो । उहाँले पर्थमा भर्खरैबाट प्लाष्टिकमुक्त जुलाई सञ्चालन गरिएको उदाहरण दिदैं वातावरणमैत्री शिक्षा अभियान सञ्चालनमा नगरपालिकाका अलावा विषयविज्ञहरुको पनि सहयोग लिने गरिएको जानकारी गराउनुभयो । १३ वर्षदेखि कम्बरल्याण्ड काउन्सिलमा आवद्ध ताम्राकारले बाढीपहिरो तथा डढेलो आदि प्राकृतिक विपद्का सन्दर्भमा अष्ट्रेलियामा पूर्व सूचना प्रणाली विकास गरिएको बताउँदै नेपालमा पनि त्यसतर्फ ठोस पहल आवश्यक भएको बताउनुभयो ।
अष्ट्रेलियामा आर्ट अफ ग्रिन लिभिङकी संस्थापक समेत रहनुभएकी उहाँले जागिरभन्दा उद्यमशीलतामा अहिलेको युवाहरु आकर्षित भएको भन्दै वातावरणमैत्री उद्यमशीलतामा विशेष जोड दिन आग्रह समेत गर्नुभयो ।
यस्तै, पूर्व मिस नेपाल समेत रहुनभएकी पञ्च प्रणालीकी संस्थापक एवम् जलवायु अभियन्ता सृच्छा प्रधानले रैथाने ज्ञान र अनुभवसँगको तादात्म्यमा जोड दिदैं माटो र प्रकृतिको निकट रहने काममा प्रशस्त सम्भावना रहेकोमा जोड दिनुभयो । सभ्यताको उत्पतिसँग जोडिएको वातावरणीय र आध्यात्मिक अवधारणा नै ‘पञ्च प्रणाली’ भएको बताउँदै उहाँले पारम्परिक सभ्यताको उत्पत्तिसँग जोडिएका प्राकृतिक तत्व र करुणाजस्ता भावनात्मक मूल्यहरूको सन्तुलनमा आधारित पञ्चप्रणाली अन्तर्गत सनातन दर्शन र आयुर्वेदले स्वीकारेझैं पृथ्वी, जल, अग्नि, वायु र आकाश समावेश भएको जानकारी गराउनुभयो । ‘वातावरण एवम् प्रकृति संरक्षणका क्षेत्रमा हाम्रा बुबाहजुरबुबाहरुमा रहेको रैथाने ज्ञान पनि निक्कै प्रभावकारी पाएको छु, ’उहाँले भन्नुभयो, ‘विज्ञान र रैथाने ज्ञानको सन्तुलित र उचित सम्मिश्रणले व्यावसायिक जीवनमा पनि सफलता मिल्छ । तर, त्यसका लागि मिहेनत र समय बढी लाग्छ । प्रतिफल प्राप्त गर्न समय लागेपनि माटोसँग जोडिनुपर्छ । जलवायु संकट न्यूनीकरणसँगै दिगो विकासमा पनि पञ्चप्रणाली सहयोगीसिद्ध हुन्छ ।’
फोहोरमैला व्यवस्थापको क्षेत्रका दीघ अनुभवी एवम् अभियन्ता नवीन विकास महर्जनले अभियानलाई जीवन दिन खोलेको पूर्ण वातावरणमैत्री क्याफे जिरोमा राखिएको कार्यक्रममा यस क्षेत्रमा कार्यरत एवम् अनुभवी मस्तिष्कहरुको जमघट रहेको थियो । उहाँले फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, हरित अर्थतन्त्र आदि सामयिक विषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी धिप्री डटकमलाई गराउनुभयो । महर्जनले आफूले सञ्चालन गरेको क्याफे जिरो शून्य फोहोर उत्सर्जन गर्ने प्रणालीमा सञ्चालित नेपालको पहिलो क्याफे भएको दाबी समेत गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com