उहाँ हुनुहुन्छ ७७ बर्षीय 'आलुबाबा' । २३ वर्ष भयो उहाँको मुखमा अन्न नपरेको ।भोजनको नाममा आलु बाहेक केही परेको छैन । त्यो पनि नुन बिनाको आलु । अनि, त्यो पनि दिनको केवल एक पटक । बस् यतिका भरमा मनमा शान्ति पनि छ र शरिरमा कान्ति पनि । शरिर हट्टाकट्टा छ, निरोगी हुनुहुन्छ । साधुको सादगी शरिरमा एकसरो वस्त्र हुन्छ । एउटा झोला । खाली खुट्टा । बस् यतिका भरमा उहाँ भारतदेखि नेपालसम्म वर्षैपिच्छे घुमिरहनुहुन्छ । यो वर्ष मुक्तिनाथ जान काठमाडौं आइपुगेको मौका पारेर यो पंक्तिकारले आलुबाबालाई थलीस्थित आफ्नै घरमा दर्शनभेट गरी कुराकानी गर्ने अवसर प्राप्त गर्यो ।
अनि बन्नुभयो ‘आलुबाबा’
करिब ५० वर्षको हुनुहुन्थ्यो राजनारायण दास । त्यही कुनै समय एक दिन घुम्दै उहाँ चित्रकुट पुग्नुभयो । राम जन्मभूमि अयोध्याबाट करिब १२ घन्टाको (करिब ६ सय किलोमिटरको रेल यात्रा) मा पुगिन्छ चित्रकुट । भगवान रामले १४ वर्षमध्ये १२ वर्ष बिताएको पहाडी घना जंगल । भगवान राम गुफामा बस्नुभएको थियो । मन्दाकिनी नदीको किनारमा पर्ने पवित्र स्थान ।
त्यहाँ पुगेपछि त्यो स्थानले मोहनी लायो उहाँलाई । घना जंगल भित्र भएपनि एक दुई जना भन्दा बढी बस्दैनथे । तर पनि उहाँलाई त्यो पवित्र स्थानले लोभ्यायो । त्यसबेला जंगलमा खानेकुरा केही उपलब्ध हुँदैनथ्यो । कालो चिया पिउनुहुन्थ्यो । ४ महिना केवल कालो चियामा बिताउनुभयो । अन्न मुखमा परेन ।
चित्रकुटबाट अयोध्यया फर्केपछि निधो गर्नुभयो, ‘अब म आलुबाहेक केही पनि अन्न खान्नँ ।’ अन्तरआत्ममाले बाबालाई आदेश दियो, ‘अब जीवनमा आलुबाहेक केही नखानु ।’ बाबाले सुनाउनुभयो, ‘चित्रकुटमा बस्दा भगवान रामजीसँग केही बात भयो । जसले मलाई खानको लागि अब केवल आलुको मात्रै सहारा लिन्छु भन्ने निश्चय मनमा जागृत गरायो ।’ साधुसन्तको रुपमा जहाँ पुग्नुहुन्थ्यो केवल आलुमात्र खान थालेपछि सबैले आलुबाबाको उपनाम दिए । त्यो उपनाम नै उहाँको लागि वरदान बनेको छ । आलुबाबा भनेर बोलाउँदा मन हर्षित हुन्छ ।
‘तपाई जहाँ जानुस् आलु अनिवार्य मिल्छ,’ बाबाले आलुको महिमा सुनाउँदै आलुनै रोज्नुको कारण खुलाउनुभयोे, ‘जस्तो सुकै आर्थिक अवस्था भएको घरमा पनि अरु चिज नहोला, तर आलु अवश्य हुन्छ । घरमा आलु नपाउनु असम्भव छ । धनीभन्दा धनीदेखि गरिब भन्दा गरिबको घरमा पनि आलु भने अवश्य पाइन्छ । घरमा आलु छैन त सम्झिनुहोस् केही पनि छैन ।’
बाबा भन्नुहुन्छ, ‘आलु कलियुगको राष्ट्रपति हो ।’ राष्ट्रपति पनि कुनै एक राजनीतिक दलसँग आवद्ध व्यक्ति बन्ने हो । तर राष्ट्रपति नियुक्त भएपछि भने उ सबैको साझा हुन्छ । पक्ष विपक्ष सबैको राय सल्लाह सुझाव लिन्छ । सबैसँग मिल्ने, सबैको कुरा सुन्ने व्यक्ति राष्ट्रपति बन्छ भनेझै आलु पनि सबै तरकारीमात्र होइन चामल, रोटी वा अन्य जेसुकै खाद्यवस्तुसँग पनि मिल्छ ।’
बाबाको कथन छ, ‘४ जना व्यक्तिलाई एक किलो अरु तरकारी बनाउँदा कम हुनसक्छ तर आधा किलोको आलुमा नुन मसला पानी हालेर झोल बनाउने हो भने काफी हुन्छ । त्यसैले भन्नुहुन्छ,'आलु बढी दयालु ।’ घरमा अरु सबै कुरा छ तर आलु छैन भने केही नपुगेको जस्तो हुने उहाँ बताउनुहुन्छ, ‘श्रीमती पनि श्रीमान्लाई आलु लिएर आउनुस् है भन्छिन् नि ।’
आलु सबैसँग मिलेपनि र धेरैलाई प्यारो लागेपनि अचले विभिन्न रोगका कारण आलु खाने जमात कम भैरहको भन्ने प्रश्नमा बाबा तर्क गर्नुहुन्छ, ‘अन्य कारणले सुगर बा अन्य रोग लाग्छ आलुका कारणले होइन ।’ आलुलाई बदनामी गरिएको भन्दै बाबा भन्नुहुन्छ, ‘बिमार दुसरो कारणसे होता हे आलुको बदनामी मत् करो । त्यसमा पनि नेपालमा पाइने पहाडी आलु बिछट्टै स्वादिलो हुने बाबा बताउनुहुन्छ । भारतमा पाइने आलु नेपालको पहाडी आलुको तुलनामा स्वादिष्ट नहुने उहाँ बताउनुहुन्छ ।
नेपाल प्राकृतिक रुपले वैभवशाली र नेपालीहरु धार्मिक भएको बाबाको बुझाइ छ । त्यसैले त उहाँ, सालमा एक पटक नेपाल आइरहनुहुन्छ । फागुन महिनामा बाबा जनकपुरको परिक्रमा गर्नुहुन्छ । त्यसबेला करिब डेढ लाख भक्तजनहरुले जनकपुरका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थानहरु पैदल परिक्रमा गर्छन् । जसरी अयोध्यामा ८४ किलोमिटर परिक्रमा हुन्छ त्यसैगरी जनकपुर पनि पुरै परिक्रमा गर्ने गरिन्छ ।
वैराग्य पछि शान्ति
अयोध्या उहाँको घर । पाँच सन्तानमध्येको जेठो छोरा । २५ वर्षमा वैराग्य आएपछि शान्तिको खोजीमा र गुरुको रोजीमा उहाँ निस्कनुभयो । पत्नीले साथ छोडेपछि बढेको वैराग्य चित्रकुट पुगेपछि मत्थर भयो । रामको चरणमा पुगेपछि शान्ति मिलेको बताउनुहुन्छ । अयोध्या फर्केर नृत्य गोपालदासजी महाराजसँग दिक्षा लिनुभयो । रामानन्दीय बैष्णव सम्प्रदायका अनुयायी बाबा गुरु भेटेपछि जीवनको मोड नै सही दिशातर्फ बदलिएकोमा गर्व गर्नुहुन्छ ।
अहिले मुस्ताङ जिल्लामा रहेको पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्तिनाथ दर्शनका लागि नेपाल आउनुभएको बखत यो पंक्तिकारले थलीस्थित निवासमा बाबासँग भेटको सुअवसर प्राप्त गर्यो । मुक्तिनाथमा केही समय बसी असारमा गुरु पूर्णिमामा गुरु कृपाका लागि अयोध्या फर्कने बाबाको आइटीनरी छ ।
प्रत्येक वर्ष नेपाल आएपनि बाबा मुक्तिनाथ नगएको भने दश वर्ष भएछ । त्यही भएर उक्त पवित्र धार्मिक तिर्थस्थल पुनः जाने इच्छाले यो पटक नेपाल ल्यायो । साधुहरुको साथ लागेर सन् २००४ तिर पहिलो पटक नेपाल आउनुभएका आलुबाबालाई नेपालले पनि मोहनी नै लगाएको छ । भन्नुहुन्छ, ‘नेपालको आलु त विशेष छँदैछ, यहाँको प्राकृतिक वैभव, धार्मिक,पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक महत्व पनि विशेष छ जसले हामी जस्ता साधुहरुलाई यो देवभूमिप्रति आकर्षित गरिरहन्छ ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com