Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सिकाइ अनि साधना

जीवन सार्थक बनाउन 'रोडम्याप' चाहिन्छ: साधिका नन्दना रञ्जित

जीवन सार्थक बनाउन 'रोडम्याप' चाहिन्छ: साधिका नन्दना रञ्जित

एक बिहान, नन्दना रञ्जितसँग भेट भयो । ५७ वर्षीया अविवाहित साधिकासँगको त्यो संक्षिप्त बसाइ सिकाइमा परिणत भयो । पाटन कृष्णमन्दिरकी नन्दनासँग काठमाडौंको थलीमा भएको त्यो भेट–सार्थक जीवन, गुरुको आवश्यकता, प्रकृति र विज्ञान, ब्रम्हज्ञान, आदि विषयको बहसमा बेरियो । त्यसले व्यक्तिगत रुपमा सुखानुभूति मिल्यो र पाठकहरुलाई पनि मिल्ने विश्वास लिएको छु । 

‘पढेको ज्ञान सबैसँग छ । सुनेको ज्ञान सबैसँग छ । बुझेको ज्ञान सबैसँग छ । ती सबै ज्ञानले हामी आनन्दमा रहन सकेका छौं त ? मनको मस्तीमा रहन सकेका छौं त ?’ नन्दनाले सुरुमै सोध्नुभयो । अनि उत्तर आफैले दिनुभयो, ‘हामीले प्रश्न प्रतिप्रश्न गर्न सक्नुपर्छ ।’

आफूले आफूलाई हेर्न सक्यो भने अन्त जानु नपर्ने उहाँले बताउनुभयो । ‘होइन भने जसले जानेको छ, वा जानेको जस्तो लागेको छ, उसँग जिज्ञासा राख्न सक्नुपर्छ, ’ नन्दनाले शास्त्रको सहारा लिनुभयो, ‘अथातो ब्रह्म जिज्ञासा । हामी कर्मको जिज्ञासा लिएर अघि बढिरहेका छौं । ब्रम्ह कुन चराको नाम हो आजसम्म कसैलाई थाहा छैन । ब्रम्ह ज्ञान भन्छन्, ब्रम्ह प्राप्ति भन्छन् सबै तर सबैमा अनभिज्ञता छ । यसको लागि संस्कार लिएर आएको हुनुपर्छ ।’

अहिले हामीले जेजति भोगिरहेका छौं त्यो सबै पूर्वजन्ममा कमाएर आएको नन्दनाको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘हामी पूर्वजन्मको कमाई वर्तमानमा खाइरहेका छौं । यो जन्ममा गरेको पाप र पुण्य लिएर हामी अर्को जन्मममा जान्छौं । म पनि पुर्वजन्मको कमाइ खाँदैछु । यो जन्ममा त पहिले कमाएको चिज खाने हो भोग्ने हो । हामीले धनसम्पत्ति लिएर जाने त होइन ! कसैले भन्छ त धनसम्पत्ति लिएर जाने ? गरेको पुण्य खेर जाँदैन ।’

नन्दना गीताको छैठौं अध्याय पढ्न सुझाउनुहुन्छ । ‘कुन कुन योनीबाट आएको व्यक्तिले कस्तो कस्तो कर्म गर्छ ? गीताको त्यो अध्ययाले प्रष्ट हुन्छ । एकपटकको पढाइले एउटा ज्ञान खुल्छ भने अर्को पटकको त्यही शब्द वा वाक्यका पढाइले अर्को ज्ञान खुल्छ, ’ छैठौं अध्यायमा जोड दिदैं उहाँ सुनाउनुहुन्छ, ‘हामीमा वैराग्य छ तर ज्ञान छैन भने हामी ज्ञानवानको कुलमा जन्मिन्छौं । ज्ञान छ तर वैराग्य (परमात्माप्रति श्रद्धा भक्ति) छैन भने हामी श्रद्धाभक्ति भएको कुलमा जन्मिन्छौं ।’ 

त्यो बसाइमा विज्ञान र प्रकृतिको कुरा पनि नन्दनाले उठाउनुभयो । ‘प्रकृतिको कार्यसम्म विज्ञानले काम गर्छ । विज्ञानसहितको ज्ञानमा हामी जानुपर्छ, ’उहाँ सुनाउनुहुन्छ, ‘ज्ञानको मुल स्रोत के हो ? मुल स्रोत हो, प्रकृति र परमात्मा । प्रकृतिले हामीलाई खुल्लमखुल्ला ज्ञान बाँडिरहेको छ । त्यो अथाह ज्ञानलाई हामीले लिन सक्यौं त ? प्रकृतिभित्रै हामी छौं । कण कणमा अणु अणुमा परमाणु परमाणुमा व्याप्त छ । त्यो अनुभव गर्न सक्नुपर्छ ।’

जीवन सार्थक कसरी बन्छ ? मैले जिज्ञासा गरेँ ।  उहाँले तृष्णा मेटाउने प्रयास गर्नुभयो, ‘त्यसको लागि रोडम्याप चाहिन्छ । जीवन सार्थक बनाउन रोडम्याप चाहिन्छ । बिना रोडम्याप अघि बढ्न सकिदैंन । वेद सर्वमान्य छ । पुराण सर्वमान्य छैन । वेद पढ्ने हाम्रो औकात छैन । वेदमा जे छ महाभारतमा त्यही छ । महाभारतमा जे छ वेदमा त्यही छ ।’ 

नन्दनासँगको बसाइको अर्को विषय बन्यो–शब्दको शक्ति । ‘मेरो एक शब्दले तपाईहरुको कल्याण हुन्छ भने किन प्रयोग नगर्ने ?’ उहाँले भन्नुभयो, ‘शब्दनै ब्रम्ह भनेको छ । शब्दनै परमात्मा भनेको छ । ऊँ एकाक्षर मिदं ब्रम्ह भनेर गीतामै भनिएको छ । पहिला हामीले श्रुतमय प्रज्ञा (सुनेको ज्ञान) जगाउनुपर्छ । वा स्वाध्याय जगाउनुपर्छ । त्यसपछि चिन्तनमय प्रज्ञा ।’ 

आफ्नो योग्यता र क्षमता अनुसार साधनको लागि समय दिनुपर्ने उहाँ बताउनुहुन्छ । र, आफू पनि त्यसै गर्ने बताउनुहुन्छ । ‘हो, उठ्दा, बस्दा, हिड्दा, सधै साधनामा हुन्छु , स्थित प्रज्ञाको प्राप्ति, ’साधनाको शक्तिले शरिरमा स्पष्ट देखिने आभाका साथ उहाँ सुनाउनुहुन्छ, ‘आफ्नो स्वरुपमा स्थित हुने । स्वस्वरुपमा अनुसन्धान गर्ने । जसरी वैज्ञानिकले प्रयोगशालामा अनुसन्धान गर्दछन् त्यसैगरी म को हुँ, म किन आएको, मेरो कर्तव्य के हो ? कर्म के हो ? धर्म के हो ? यो मानव देहको उद्देश्य के हो ? लक्ष्य के हो ? भन्ने जान्नुपर्यो । लक्ष्य साँध्नुपर्यो । लक्ष्यप्रति अर्जुनदृष्टि हुनुपर्यो ।’

मुक्ति प्राप्त गर्ने मार्ग मनुष्य जन्म नै भएको उहाँको दाबी छ । मनुष्य जन्मको महिमा र महत्व बुझेर हामी कुन कर्मका लागि आएका हौं त्यो कर्ममा लीन भएर जीवनलाई सार्थक बनाउनुपर्ने नन्दना बताउनुहुन्छ । नन्दना धाराप्रवाह अघि बढ्नुहुन्छ, ‘जब तपाईं हामीमा विवेकको उदय हुन्छ तब मात्र हाम्रो कल्याण हुन्छ । परब्रम्ह के हो भनेर बुझ्नका लागि विवेक चाहिन्छ । देखेको सत्य हो त ? सत्य के हो ? सत्य कहाँ छ ? शास्त्रले भन्छ सत्यम् परमः धिमही । सत्य छ, त्यो विराट छ, त्यो तपाईं हामीमै छ । सत्यनै सबैभन्दा ठूलो चीज हो । तर, त्यो कहाँ छ, कसरी छ त्यो थाहा पाउनुपर्छ ।’ उहाँले अझै प्रष्ट पार्नुभयो, ‘बुझ्नेलाई बुझाउनै पर्दैन, नबुझ्नेले बुझ्दै बुझ्दैन किनकि उ त्यो योग्य नै छैन । चार वेद अठार पुराण वेत्ता रावण कहाँ अज्ञानी हो र ? तर, बुझ्नै नखोजेपछि के लाग्छ र ? अज्ञानको पर्दा हटाउन मात्र नसकेको । हर चिज परमात्मा प्रकृतिले हामीलाई र्याप गरेर दिएको हुन्छ । शास्त्रले भन्छ आत्मालाई जान्नु । गुरुलाई चिन्नु, ईश्वरलाई मान्नु, ब्रम्हलाई बुझ्नु । मैले सशरीर गुरु चाहिन्छ कि चाहिदैन भनी कसैलाई सोधेको थिएँ ।’ उहाँले चित्तबुझ्दो उत्तर पाउनुभएछ, ‘सशरीर गुरु नै चाहिन्छ ।’

अन्त्यमा उहाँले रहस्योद्घाटन गर्नुभयो, ‘स्वाध्याय र सत्संग नै तपाई हाम्रो मुल रोडम्याप हो । ईश्वर कृपाले हामीले मानव देह पायौं । त्यसपछि शास्त्रको कृपा हुनुपर्यो । अनि, गुरु कृपा । अध्यात्ममा प्रवेश गर्न, परमार्थ सिद्ध गर्न, परमात्मालाई प्राप्ति गर्न गुरु नभै हुँदैन । त्यसै कारण मैले पनि गुरु मानेकी छु । अहिले मेरो गुरु धर्मपाल गुरु बशिष्ठ हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार