पुल्चोक, ललितपुर । साझा प्रकाशन र यसको पर्याय बनेको ‘गरिमा मासिक’ दुबैको गरिमा दुबै जोगाउने काम स्रष्टाहरुको भएको भन्दै यसका लागि सबैको सक्रियता आवश्यक रहेको धारणा साहित्यकारहरुले ब्यक्त गर्नुभएको छ ।
गरिमा प्रकाशन, पुस्तक छपाई तथा बिक्रीसँगै साझाको सक्रियता र व्यावासायिकतासँग जोडिएका समग्र विषयमा गहिरो चासो र चिन्ता व्यक्त गर्दैै यसलाई पुनर्जिवन दिने काम स्वयं स्रष्टाहरुको भएकोमा उहाँहरुले जोड दिनुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मोत्सवका अवसरमा ललितपुरस्थित आफ्नै प्राङ्गणमा निर्माण सम्पन्न भएको नयाँ भवनको लघु हलमा आज आयोजित 'विशेष कार्यक्रम' को ओजपूर्ण जमघटले प्रकाशनको विगतको छविलाई ‘रिभाइभ’ गर्न सबै स्रष्टाहरुको ऐक्यबद्धता आवश्यक भएको निष्कर्ष निकालेको थियो ।
साझाको गरिमा जोगाउन सरकार र सरोकारवालाहरुलाई घच्घच्याउने कामदेखि राम्रा रचनाहरु प्रदान गर्ने काममा पनि स्रष्टाहरुको अहम् भूमिका हुने भन्दै वक्ताहरुले त्यस कार्यमा हातेमालोका लागि आग्रह गर्नुभएको थियो ।
संस्कृतिविद् एवम् कवि हरिराम जोशी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा साझा प्रकाशन सञ्चालक समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति शेखर गिरिले भन्नुभयो, ‘भेन्टिलेटरमा गइसकेको साझा प्रकाशनलाई आइसीयू हुँदै क्याबिनमा ल्याइपुर्याएका छौं ।’
उहाँले भेन्टिलेटरमा गइसकेको साझालाई आइसीयू फर्काउने काम अघिल्लो सञ्चालक समितिले गरेको उल्लेख गर्दै नयाँ सञ्चालक समिति आएपछि साझा ‘क्याबिन’ मा सरेको बताउनुभयो । अध्यक्ष गिरिले भन्नुभयो, ‘अब साझालाई हामीले क्याबिनमा फर्काएका छौं । अब साझा दोहोरो सम्वाद गर्न सक्ने भएको छ ।’ अब छिट्टै साझालाई अस्पतालबाट घर फर्काउने अभियानमा वर्तमान सञ्चालक समिति जुटेको गिरिले बताउनुभयो ।
इतिहास बोकेको गरिमा मासिकको प्रकाशन सुचारु भएसँगै अन्य व्यवसायिक क्रियाकलापहरुमा समेत साझाका गतिविधिहरु अघि बढेको जानकारी उहाँले गराउनुभयो । ‘साझा प्रकाशनका ख्वामितहरु भनेको लेखक साहित्यकारहरु हुनुहुन्छ, अध्यक्ष गिरिले भन्नुभयो, ‘यसलाई सक्रिय बनाउन सबैको साथ सहयोग रहने विश्वास हामीले लिएका छौं ।’
साझा प्रकाशनका पूर्व अध्यक्ष विष्णुविभू घिमिरेले भन्नुभयो, राणाहरुले जन्माएको र पञ्चायलते हुर्काएको साझालाई गणतन्त्रले मास्ने काम गर्यो । राजनीतिको मारमा साझा परेको उहाँले बताउनुभयो ।
गरिमाका संस्थापक कार्यकारी सम्पादक हुँदै साझा प्रकाशनको अध्यक्ष तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहिसक्नुभएका घिमिरेले भन्नुभयो, ‘म त भन्छु साझामा धेरै राजनीतिक हस्पक्षेप भयो ।’
कृष्णचन्द्रसिंह प्रधान, क्षेत्रप्रताप अधिकारी लगायतले साझाको गरिमा बढाउन हिजो योगदान गरेको स्मरण गर्दै घिमिरेले भन्नुभयो, हिजो गरिमाका लागि रचना पुर्याउन सिद्धिचरण श्रेष्ठ आफैं यहाँ आउनुहुन्थ्यो ।’ यस्तो गरिमा बोेकेको संस्था धराशायी भएको सुन्दा निक्कै दुःख लाग्ने बताउनुभयो । तर, पछिल्लो समय साझाको अवस्था सुधार हुँदै गएकोमा उहाँले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो, ‘साझाले भानु जन्मोत्सवको अवसर पारेर यो किसिमको भव्य जमघट पहिलो पटक गरेको होला । शेखरजी आएपछि अहिले यस्तो कवि गोष्ठी भयो । बिस्तारै यसका तन्तुहरु चलायमान हुँदैछन् । अब यसको सक्रियता बढ्दै जाने विश्वास लिएको छु । कृष्णचन्द्र सिंह र क्षेत्रप्रतापजीको समयको जस्तो गौरब यसले फर्काउनेछ ।’
यस्तै, मधुपर्कका निमित्त सम्पादक त्रिभुवन चन्द्र वाग्लेले प्रस्ताव राख्नुभयो, ‘होटलहरुमा अनेक रमिताका साथ गरिने अनावश्यक पुस्तक विमोचन खर्च गरिमा प्रकाशन बचाउन सहयोग गरौं । गरिमा बाँचे हामी स्रष्टा बाँच्छौं ।’
यस्तै, साझाका पूर्व अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा.तुलसी भट्राइले पनि साझाको पछिल्लो सक्रियताको प्रसंशा गर्नुभयो । कविता वाचन, गरिमा मासिकको पुनः प्रकाशनको पाठक अर्पण र मन्तव्यसमेत समेटिएको ३ घन्टा बढी लामो कार्यक्रममा धैर्यतापूर्वक सहभागी साहित्यकारहरुले अब पुनः साझा लयमा फर्कन लागेको भन्दै खुसी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जोशीले साहित्यकारहरु कहिल्यै नमर्ने भन्दै भानु जयन्ती नभई भानु वार्षिकोत्सव भनिनुपर्ने सुझाव राख्नुभयो नेपाली साहित्यमा विशेषतः लक्ष्मीप्रसाद देवकोटा र भानुभक्त आचार्यको योगदान विशेष रहेको उहाँले चर्चा गर्नुभयो ।
यस्तै, साझा प्रकाशन सञ्चालक समितिका सदस्य प्रा. डा. रमेशप्रसाद भट्टराईले साझा केवल एउटा संस्था मात्र नभएर अभियान भएको जिकिर गर्नुभयो ।
कार्यक्रममा साझाका अध्यक्ष गिरीले डा.रमेश भण्डारी लगायत अन्य सञ्चालकहरुको सक्रियतामा शहरी विकास मन्त्रालयको अनुदानमा साझा प्रकाशनको नयाँ भवन निर्माण समेत सम्पन्न भएको जानकारी गराउनुभयो । झण्डै १२ वर्षदेखि अलपत्र रहेको ४ तल्ले भवनलाई भव्यता प्रदान गर्न शहरी विकास मन्त्रालय तथा अर्थ मन्त्रालयको साथले सम्भव भएको उहाँले बताउनुभयो ।
यस्तै, ललितपुर नगरपालिकाले गत आर्थिक वर्षमा ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको भन्दै आगामी वर्षको बजेटमा नगरको गौरवको आयोजनमा समावेश गराइ थप बजेट विनियोजन गरेको भन्दै उहाँले स्थानीय सरकारप्रति कृतज्ञता व्यक्त गर्नुभयो । महानगरकै सक्रियता र सहयोगमा भुइँचालोले क्षतविक्षत भई भग्नावशेष बन्न लागेको साझा प्रकाशनको मुल भवन भत्काई नयाँ निर्माण गर्न नगरपालिकाले डिपीआर तयार गरी संघीय मामिला मन्त्रालयमार्फत अर्थ मन्त्रालयबाट सिफारिश पश्चात भारत सरकारको हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट इन नेपाल अन्तर्गत २० करोड रुपैयाँ अनुदान मागका लागि कार्य प्रारम्भ भएको पनि अध्यक्ष गिरिले बताउनुभयो ।
नयाँ सञ्चालक समिति आएको ४ महिना २० दिन मात्र भएको बताउँदै अध्यक्ष गिरिले यसबीचमा साझाको गरिमाका रुपमा रहेको ‘गरिमा मासिक’ पनि पुनः प्रकाशन गर्न सफल भएको सुनाउनुभयो । त्यस्तै, नयाँ र पुराना गरी दुई दर्जन पुस्तक समेत प्रकाशन भएको र लेखकहरुलाई रोयल्टी उपलब्ध गराउने काम भएको उहाँले जानकारी गराउनुभयो । निकट भविष्यमा अन्य थुप्रै पुस्तक प्रकाशनको पाइपलाइनमा रहेको भन्दै त्यसका लागि सरकारबाट ऋण सुविधा प्राप्त भएको अध्यक्ष गिरिले बताउनुभयो । साहित्यकारहरुको साझा सम्पदा साझा प्रकाशनलाई सबै मिलेर ‘भाइब्रेट’ बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो । साझा प्रकाशनको निभ्न आँटेको प्रकाशलाई तेलबाती थपी जोगाउने काममा कर्मचारीहरुको भूमिकाको पनि अध्यक्षले प्रशंसा गर्नुभयो ।
गरिमा मासिकको दिगोपनाका लागि अक्षय कोष स्थापना गर्ने योजना समेत साझा प्रकाशनका अध्यक्ष गिरिले सुनाउनुभयो । साहित्यलाई माया गर्ने मनहरु, दानवीरहरु अझैं रहेको भन्दै उहाँले सत्यकार्यको लागि कहिल्यै पनि रकम अभाव नहुने विश्वास पनि व्यक्त गर्नुभयो ।साथै उहाँले साझा प्रकाशनको व्यावसायिकता अभिवृद्धिका लागि सातै प्रदेशमा साझा पुस्तक प्रदर्शनी आयोजना गर्ने नयाँ आर्थिक वर्षको योजना सुनाउनुभयो ।
गरिमा मासिकका कार्यकारी सम्पादक मनोज न्यौपानेले यसको प्रकाशन सुचारु गर्ने अभिभारा पूरा गर्दाको सुखसँगै यो सम्भव तुल्याउन सहयोगी भूमिका निर्वाह गर्ने साझा प्रकाशनको वर्तमान सञ्चालक समितिदेखि कर्मचारीहरुप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यसमा भएका कमीकमजोरीहरुलाई आगामी अंकमा सुधार गर्दै लाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा अग्रजदेखि अनुज कविहरुले कविता वाचन गर्नुभएको थियो । केही कविहरुले भानुभक्तका रचनाहरु समेत सुनाउनुभएको थियो । कवि एवम् गीतकार पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, प्रल्हाद पोखरेल, विप्लप ढकाल विधान आचार्य, अनिल पौडेल, प्रभा भट्टराई, धीरेन्द्र प्रेमर्षि, शंकर थपलिया, श्रीबाबु कार्की उदास, रत्नमणि नेपाल लगायतले कविता वाचन गर्नुभएको थियो ।
करिब साढे २ वर्ष बन्द भई पुनः प्रकाशनमा आएको गरिमा मासिकको ४०१औं अंक आजै पाठकअर्पण गरिएको थियो । २०३९ साल पुस महिनामा प्रकाशन सुरु भएको गरिमा २०७९ कार्तिकमा ४०० औं अंक प्रकाशन पछि अवरुद्ध भएको थियो । कार्यक्रममा वक्ताहरुले बेलाबेला बन्द हुँदै प्रकाशन हुँदै आएको गरिमाको प्रकाशन निरन्तताको पनि शुभकामना व्यक्त गर्नुभएको थियो । यसको प्रधान सम्पादक भेषराज घिमिरे रहनुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com