Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

भारत र अमेरिकाबीच व्यापार युद्धमा सम्झौता

भारत र अमेरिकाबीच व्यापार युद्धमा सम्झौता

काठमाडौं । भारत र अमेरिकाबीच लामो समयदेखिको व्यापार युद्धमा सम्झौता भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार सम्झौताको घोषणा गर्दै भारतमाथि लगाइँदै आएको ‘रेसिप्रोकल ट्यारिफ’ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झार्ने निर्णय गरेको जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको थियो। त्यसपछि राति करिब १०:३० बजे ट्रम्पले ‘ट्रुथ सोशल’मार्फत सम्झौताको औपचारिक घोषणा गरेका हुन्। ट्रम्पले प्रधानमन्त्री मोदी रूसबाट तेल खरिद रोक्न र अमेरिकाबाट थप तेल खरिद गर्न सहमत भएको दाबी पनि गरेका छन्।

ट्रम्पका अनुसार आवश्यकता परेमा भारतले भेनेजुएलाबाट पनि तेल खरिद गर्ने छ। साथै ‘बाइ अमेरिकन’ नीतिअन्तर्गत भारतले अमेरिकाबाट ५०० अर्ब अमेरिकी डलर (करिब ४६ लाख करोड रुपैयाँ)भन्दा बढीको सामग्री खरिद गर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेको छ। ट्रम्पको घोषणापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा भारतका १.४ अर्ब जनताको तर्फबाट राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन्।

यसअघि ट्रम्पले अप्रिल २५ मा भारतमाथि २५ प्रतिशत रेसिप्रोकल ट्यारिफ लगाउने घोषणा गरेका थिए। त्यसपछि रूसबाट तेल खरिद गरेको कारण देखाउँदै अगस्टमा थप २५ प्रतिशत जरिवाना ट्यारिफको घोषणा गरिएको थियो। तर ह्वाइट हाउसका एक अधिकारीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार अब भारतमाथि जम्मा १८ प्रतिशत ट्यारिफ मात्र लाग्ने छ। रूसबाट तेल खरिदका कारण लगाइएको २५ प्रतिशत अतिरिक्त ट्यारिफ अमेरिकाले हटाउने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार