पूजनीय बुबा,
सादर नमस्कार एवम् सप्रेम सेवा !
आज यो पत्र लेखिरहँदा मेरो कलमका अक्षरहरू आँसुले भिजिरहेका छन् र मेरा औँलाहरू एउटा अदृश्य अपराधबोधले काँपिरहेका छन्। माघ १६, मेरो क्यालेन्डरको सबैभन्दा पवित्र र उज्यालो मिति । जसले मेरो अस्तित्वको 'शिल्पी' लाई यो धर्तीमा ल्याएको थियो। तर अफसोस ! समयको यो निर्मम र यान्त्रिक दौडमा म यसरी हराएछु कि मैले आफ्नै 'आकाश' लाई निहाल्न बिर्सिएँ। बुबा, हजुरको जन्मोत्सवलाई एउटा सामान्य दिनझैँ गुजारिदिनु मेरो स्मृतिको कमजोरी मात्र होइन, यो मेरो कृतघ्नताको एउटा यस्तो ऐना हो, जसमा म आज आफ्नै अनुहार हेर्न लज्जित भइरहेकी छु। ६ जना सन्तानको खुसीका लागि आफ्नो जीवनको रगत र पसिनालाई मसी बनाएर हाम्रो भविष्यको चित्र कोर्ने मेरो 'सुपरहिरो' को जन्मदिन भुल्नु, मेरो लागि एउटा ठूलो आत्मग्लानि बनेको छ।
''यो टुहुरो केटोले के गर्न सक्छ र यसको को छ र, यसलाई जे गरे पनि हुन्छ, जे काम लगाए पनि गर्नुपर्छ यसले ?'' भन्दै धनाड्य केटाकेटीले दिएका दुस्ख र हेपाइका गहिरा खत कति होलान् मनभित्र ? कहिलेकाहीँ आफन्तसँग हजुरले कुरा गरेको सुन्थेँ तर बुझ्दिनँथे । आज बाल्यकालमा बुबा गुमाएका एक्ला सन्तानका मनोविज्ञान देखिरहन्छु झलझली हजुरका बाल्यकालीन भोगाइभित्र । प्रश्न गर्नेहरूको भिडमा हजुरले मौनता र अथक परिश्रममार्फत एउटा अजेय साम्राज्य खडा गर्नुभयो, किनकि हजुरका काँधमा हामी छ जना सन्तानको भविष्यको एउटा गरुँगो भारी र भरोसा थियो।
आज म फ्ल्यासब्याकमा हजुरको त्यो बाल्यकालसम्म पुग्छु, जहाँ एउटा बालकले अभिभावकको न्यानो काख र मार्गदर्शन पाउने उमेरमै 'टुहुरो' हुनुको कठोर पीडा भोग्नुपरेको थियो। शिरमा छत र मनमा आड दिने पिताको अभावमा पनि हजुर कसरी एउटा विशाल वरको रुख झैँ ठिङ्ग उभिनुभयो ? यो सोच्दा मात्रै पनि मेरो शिर श्रद्धाले निहुरिन्छ। त्यसबेला सहारा दिने हातहरूभन्दा खुट्टा तान्ने दाउपेचहरू धेरै थिए। शत्रुहरूले हजुरको सफलतामा आँखा गाढे, अनेक लाञ्छना र मिथ्या आरोपका विषवृक्षहरू रोपे, तर हजुरले ती सबै प्रहारलाई आफ्नो धैर्य र मिहेनतले निस्तेज पारिदिनुभयो।
''यो टुहुरो केटोले के गर्न सक्छ र यसको को छ र, यसलाई जे गरे पनि हुन्छ, जे काम लगाए पनि गर्नुपर्छ यसले ?'' भन्दै धनाड्य केटाकेटीले दिएका दुस्ख र हेपाइका गहिरा खत कति होलान् मनभित्र ? कहिलेकाहीँ आफन्तसँग हजुरले कुरा गरेको सुन्थेँ तर बुझ्दिनँथे । आज बाल्यकालमा बुबा गुमाएका एक्ला सन्तानका मनोविज्ञान देखिरहन्छु झलझली हजुरका बाल्यकालीन भोगाइभित्र । प्रश्न गर्नेहरूको भिडमा हजुरले मौनता र अथक परिश्रममार्फत एउटा अजेय साम्राज्य खडा गर्नुभयो, किनकि हजुरका काँधमा हामी छ जना सन्तानको भविष्यको एउटा गरुँगो भारी र भरोसा थियो।
हाम्रो ओठमा मुस्कान सजाउन हजुरले परिवारको न्यानो साथ त्यागेर पहाडका ती दुर्गम कन्दराहरूमा आफ्नो जवानी खर्चिनुभयो। जहाँ सडकको नामोनिसान थिएन, जहाँ सुविधाका नाममा केवल चिसो सिरेटो र उकाली(ओरालीहरू थिए। ऋणमा डुबेर भए पनि हजुरले हाम्रो घरमा कहिल्यै ुअभावको छायाु पर्न दिनुभएन। बाहिर जागिरको तनाव, ऋणको बोझ र समाजको वचन सहेर पनि घरभित्र छिर्दा हजुरको अनुहारमा सधैं एउटा दैवी शान्ति झल्किन्थ्यो, ताकि हामीलाई लागेका साना चोटहरूमा पनि हजुरको त्यो मुस्कानले मल्हमको काम गरोस्।
हजुरले कहिल्यै आफ्ना लागि नयाँ लुगा फेर्ने विलासी सोच राख्नुभएन। त्यही खैरो रङको पाइन्ट, सेतो गलबन्दी र रातो ज्याकेट लगाउने नै मेरा 'बा' हुन् भन्ने बाल्यकालको त्यो छाया आज पनि मेरो मानसपटलमा गहिरिएर बसेको छ। अहिले पनि तिनै कपडामा मेरो मनका आदर्श बुबा उभिनुहुन्छ। हजुरले एउटै लुगाले कतिवटा हिउँद र बर्खाहरू काट्नुभयो, त्यसको हिसाब केवल हजुरको शरीरको थकान र फाटेका जुत्ताहरूलाई मात्र थाहा होला। हाम्रा लागि भने हजुरले सधैं नयाँ लुगा र रङ्गीन सपनाहरू सजाउनुभयो, आफ्ना सबै रहरहरूलाई जिउँदै चिहानमा पुर्नुभयो ताकि हाम्रा सपनाहरूले खुला आकाश छुन सकून्।
बुबा, म एउटा कठोर र तितो सत्यको कठघरामा उभिएर आज आफैँलाई प्रश्न गरिरहेकी छु। यदि कुनै वर्ष झुक्किएर हजुरले मेरो जन्मदिन बिर्सनुभएको भए सायद म कति ठूलो विद्रोह गर्थें होला, कति धेरै मन दुखाउँथे होला र हजुरमाथि 'निर्दयी' वा 'लापरवाह' भएको कति धेरै लाञ्छनाहरू लगाउँथे होला। हामी सन्तानहरू कति स्वार्थी र कति निर्दयी हुँदा रहेछौँ, जो आमाबुबाले दशकौँसम्म हाम्रो लागि गरेको जीवनमरणको सङ्घर्ष र अपरम्पार त्यागलाई एउटा सामान्य 'मिति' सँग तुलना गरेर क्षणभरमै चित्त दुखाउँछौँ। हामीलाई लाग्छ, हाम्रो खुसीको ठेक्का केवल हजुरहरूको मात्र हो तर हजुरका साना रहरहरूको हिस्सेदार बन्न हामी सधैँ चुक्दा रहेछौँ।
म आज ती दिनहरू सम्झिन्छु, जब म स्नातकोत्तर पढ्दै थिएँ र समाजले ''छोरीलाई यति धेरै किन पढाउनु पर्यो, अब त बिहे गरिदिए हुन्छ'' भनेर दबाब दिन्थ्यो। तर हजुरले कसैको कुरा सुन्नुभएन। ''पहिले मेरो सन्तानले ज्ञानको पूर्णता पाउनुपर्छ, आर्थिक चिन्ता गर्न म छँदैछु नि'' भन्ने हजुरको त्यो भरोसाले नै मलाई आज यो स्थानसम्म पुर्याएको हो। छ जना छोराछोरीलाई उच्च शिक्षा, असल संस्कार र बिहेदान जस्ता सबै सामाजिक दायित्वहरू पूरा गरिसक्दा हजुर कति पटक भित्रभित्रै रित्तिनुभयो होलारु पैसाले नपुगेर पुर्ख्यौली जमिन बेचेको पनि स्मरण छ ।
अनि हजुरले एउटा एउटा गरा गर्दै जमिन जोडेको पनि स्मरण छ । आफ्नै जमिनको उत्पादनले परिवारमा खानलाउन पुगेको खुसी साटेको पनि याद छ । सानै भएर पनि धेरै बुझकी छ छोरी भनी मलाई व्यवहारका कुरा सुनाएर सल्लाह लिनुहुन्थ्यो । बबुरो मेरो दिमाग र भोगाइले के मार्गनिर्देशन गर्न सक्थ्यो होला र ? अनि हजुरको खल्ती त कहिल्यै रित्तिन्न कि भन्ने भ्रम थियो केटाकेटीमा । तर त्यो खल्ती कतिपटक रित्तिए होलान्, त्यो हजुरलाई नै थाहा होला । मनमा एउटै प्रश्न आउँछ, किन खल्ती रित्तो हुँदा पनि हजुरले आफ्नो मन र हाम्रो मनोबल कहिल्यै रित्तो हुन दिनुभएन ?
जागिरबाट अवकाश पाएपछि मान्छेहरू विश्रामको खोजी गर्छन्, तर ७० वर्षको यो बुढ्यौलीमा पनि हजुरको कर्मठता देख्दा म अवाक हुन्छु। जागिरको समयमा समेत बिदामा घर आउँदा आराम गर्नुको सट्टा हजुर खेतीपातीमा जोतिनुहुन्थ्यो। रातदिन नभनी खेतका गराहरूमा पसिना बगाउँदा हातमा परेका ती ठेलाहरूलाई हजुरले कहिल्यै दुःख मान्नुभएन। आज पनि हजुर हाम्रै हितका लागि त्यसरी नै खटिरहनुभएको छ। कस्तो अचम्मको दैवी धातुले बनेको छ हजुरको मुटु, जो केवल दिन मात्र जान्दछ, बदलामा केही लिन कहिल्यै सिकेन।
बुबा, मेरो यो पश्चात्ताप केवल शब्दको खेती मात्र होइन, यो मेरो हृदयको गहिरो घाउ हो। हजुरले त मलाई सधैँ ''म छु नि, चिन्ता नगर'' भनेर भरोसा दिनुभयो, तर म हजुरको एउटा विशेष दिनमा ''हामी छौँ नि बुबा'' भनेर त्यो रित्तोपन भर्न पूर्ण रूपमा असफल भएँ। हजुरको महानताको अगाडि मेरो यो माफी धेरै सानो छ, तर विश्वास गर्नुस् बुबा, मेरो भुलक्कड स्वभावले हजुरप्रतिको मेरो भक्ति र श्रद्धालाई कहिल्यै कम गर्न सक्दैन। जीवनमा आज म सबैभन्दा बढी दोषी महसुस गरिरहेकी छु र हजुरको न्यानो अँगालोमा टाउको राखेर यो अपराधबोधको भारी बिसाउन चाहन्छु।
बुबा, हजुरको यो सङ्घर्षपूर्ण जीवनको महाकाव्यमा आमाको त्यो मौन तपस्यालाई म कसरी बिर्सन सक्छु र ? यदि हजुर यो घरको बलियो जग हुनुहुन्छ भने आमा त्यो जगलाई थामी राख्ने शक्ति हुनुहुन्छ। हजुर बाहिरी दुनियाँका अनेकौँ आँधीबेहरी, शत्रुको प्रहार र आर्थिक सङ्कटसँग जुधिरहँदा आमाले घरभित्रको संसारलाई आफ्नो धैर्य र प्रेमले सम्हाल्नुभयो। आमाको त्यो असीम सहनशीलता र मितव्ययिता नहुँदो हो त हजुरको अथक मिहेनतले मात्र सफलताको यो शिखर चुम्न सायदै सम्भव हुन्थ्यो होला। हजुरले बाहिरबाट ल्याएको पसिनाको थोपालाई आमाले मोती जस्तै जतन गरेर राख्नुभयो र हामी छ जना सन्तानको भविष्यलाई सुन्दर आकार दिनुभयो।
थोरैमा धेरै चलाउने र अभावको चरम सीमामा पनि घरभित्र उत्सवको आभा दिने आमाको त्यो जादुमयी कला साँच्चै नै कुनै चमत्कारभन्दा कम थिएन। म सम्झिन्छु ती दिनहरू, जब घरमा हातमुख जोर्न पनि कठिन हुन्थ्यो, तर आमाले आफ्नो भान्सामा कहिल्यै 'हुँदैन' वा 'छैन' भन्ने शब्द उच्चारण गर्नुभएन। थोरै दाल र चामललाई पनि आफ्नो ममताको स्पर्शले यसरी पकाउनुहुन्थ्यो कि हामीले कहिल्यै भोकको अनुभव नै गर्न पाएनौँ। अभावलाई पनि उत्सवमा बदल्ने र सङ्कटको बेला पनि अनुहारमा शान्ति कायम राख्ने उहाँको त्यो क्षमता नै हाम्रो परिवारको सबैभन्दा ठूलो ढाल बन्यो।
आमाले पनि त हजुरलाई नै आफ्नो सर्वस्व र आफ्नो सम्पूर्ण संसार मानेर यो जीवनका उकाली-ओरालीहरू काट्नुभयो। हजुरको एउटा सानो सफलतामा संसारकै ठूलो खुसी देख्ने र हजुरको सानो दुखमा भित्रभित्रै पग्लिने आमाको त्यो हृदय कति विशाल छ होला ! हजुर दुर्गममा जागिर खाँदा महिनाौँसम्मको पर्खाइ, घरको एक्लो जिम्मेवारी र सन्तानको स्याहारसुसारमा आमाले कहिल्यै थकान महसुस गर्नुभएन। हजुरको अनुपस्थितिमा पनि हजुरको आदर्शलाई घरको दैलोभित्र जीवन्त राख्ने काम केवल आमाले नै गर्नुभयो। उहाँका लागि हजुरको मुस्कान नै जीवनको सबैभन्दा ठूलो पुरस्कार रह्यो।
यदि आमाको त्यो मितव्ययी स्वभाव र सुझबुझपूर्ण व्यवहार नहुँदो हो त सायद आज हाम्रो घर यो गौरवमय अवस्थामा हुने थिएन। हजुरले बाहिरबाट कमाउनुभएको धनभन्दा आमाले घरभित्र बचाउनुभएको 'सन्तोष र संस्कार' को मूल्य धेरै ठूलो छ। ६-६ जना सन्तानलाई उच्च शिक्षा दिलाउने र सबैलाई एउटै सूत्रमा बाँधिराख्ने त्यो जादुमयी शक्ति आमाकै त्यागको उपज पनि हो। उहाँले आफ्ना साना रहर र गहनाको कहिल्यै चाहना गर्नुभएन, बरु हजुरको सङ्घर्षमा एउटा बलियो सारथि बनेर हरदम साथ दिइरहनुभयो। हजुर दुईजनाको त्यो अनुपम तालमेल नै हाम्रो जीवनको वास्तविक मार्गदर्शक बन्यो ।
बुबा, म एउटा कठोर र तितो सत्यको कठघरामा उभिएर आज आफैँलाई प्रश्न गरिरहेकी छु। यदि कुनै वर्ष झुक्किएर हजुरले मेरो जन्मदिन बिर्सनुभएको भए सायद म कति ठूलो विद्रोह गर्थें होला, कति धेरै मन दुखाउँथे होला र हजुरमाथि 'निर्दयी' वा 'लापरवाह' भएको कति धेरै लाञ्छनाहरू लगाउँथे होला। हामी सन्तानहरू कति स्वार्थी र कति निर्दयी हुँदा रहेछौँ, जो आमाबुबाले दशकौँसम्म हाम्रो लागि गरेको जीवनमरणको सङ्घर्ष र अपरम्पार त्यागलाई एउटा सामान्य 'मिति' सँग तुलना गरेर क्षणभरमै चित्त दुखाउँछौँ। हामीलाई लाग्छ, हाम्रो खुसीको ठेक्का केवल हजुरहरूको मात्र हो तर हजुरका साना रहरहरूको हिस्सेदार बन्न हामी सधैँ चुक्दा रहेछौँ।
मैले त आज यो गल्ती गरेँ, तर हजुरको विशालता हेर्नुस् त बुबा, हजुरले कुनै गुनासोको शब्दसम्म उच्चारण गर्नुभएन। हिजो फोनमा कुरा हुँदा हजुरको आवाजमा त्यही पुरानै स्नेह थियो, त्यही पुरानै अभिभावकत्व थियो।
हजुरले सोच्नुभयो होला, छोरी आफैँ व्यस्त छे किन उसलाई थप मानसिक तनाव दिनु ? हजुरको यो अपार धैर्य र मौनता नै मेरो लागि संसारको सबैभन्दा ठूलो सजाय बनेको छ। यो हजुरको महानता हो कि मेरो हार ? मलाई त लाग्छ, हजुरको यो निःशब्द प्रेमको अगाडि मेरो सारा पौरख र मेरो अस्तित्व नै नराम्ररी पराजित भएको छ।
मनमा अहिले पनि एउटा नमिठो शून्यता खेलिरहेको छ। छ-छ जना सन्तानको यो कोलाहलपूर्ण भिडमा पनि जब एउटा विशेष दिनमा कसैको पनि शुभकामनाको सन्देश आएन, तब बुबाले आफूलाई कति रित्तो र कति एक्लो महसुस गर्नुभयो होला ? सधैँ अरूका लागि बाँच्ने मान्छेले वर्षको एक दिन त आफ्नै लागि पनि केही अपेक्षा राख्छ नै। तर जब त्यो अपेक्षा निराशामा परिणत भयो, तब हजुरले आफ्ना आँखाका डिलमा आएका गुनासाहरूलाई कसरी पिउनुभयो होला ? ६ वटा ताराले घेरिएको चन्द्रमा जस्तो देखिने हजुरको त्यो अनुहारमा त्यो रात कति धेरै अँध्यारो छायो होला, यो कल्पना गर्दा मात्रै पनि मेरो छाती चर्किएर दुखिरहेछ।
हामी त हजुरको आँगनमा फुलेका फूलहरू हौँ, तर हामीले यो बिर्सियौँ कि ती फूलहरूलाई फुलाउन हजुरले आफ्नो जरा सुकाउनुभएको थियो। एउटा टुहुरो बालकदेखि यो विशाल परिवारको जग बन्दासम्म हजुरले कति आँसु गुपचुप पिउनुभयो, त्यसको कुनै हिसाब छैन।
आज जब म आफ्नो व्यस्तताको बहाना बनाउँछु, तब मलाई आफ्नै हुर्काइ र शिक्षाप्रति शङ्का लाग्छ। स्नातकोत्तरसम्मको शिक्षाले मलाई संसार त चिन्न सिकायो, तर आफ्नै घरको देवताको जन्मदिन बिर्सने नसक्ने कस्तो निर्दयी र भुलक्कड बनायो रु हजुरको त्यो मौनताभित्र लुकेको चोटले मलाई बारम्बार गिज्याइरहेको छ र मेरो चेतनालाई प्रहार गरिरहेको छ।
बुबा, मेरो यो पश्चात्ताप केवल शब्दको खेती मात्र होइन, यो मेरो हृदयको गहिरो घाउ हो। हजुरले त मलाई सधैँ ''म छु नि, चिन्ता नगर'' भनेर भरोसा दिनुभयो, तर म हजुरको एउटा विशेष दिनमा ''हामी छौँ नि बुबा'' भनेर त्यो रित्तोपन भर्न पूर्ण रूपमा असफल भएँ। हजुरको महानताको अगाडि मेरो यो माफी धेरै सानो छ, तर विश्वास गर्नुस् बुबा, मेरो भुलक्कड स्वभावले हजुरप्रतिको मेरो भक्ति र श्रद्धालाई कहिल्यै कम गर्न सक्दैन। जीवनमा आज म सबैभन्दा बढी दोषी महसुस गरिरहेकी छु र हजुरको न्यानो अँगालोमा टाउको राखेर यो अपराधबोधको भारी बिसाउन चाहन्छु।
बुबा, हजुर मेरो लागि केवल एक पिता मात्र हुनुहुन्न, हजुर त मेरो 'आदर्श', मेरो 'ईश्वर' र मेरो 'अस्तित्व' हो। हजुरले हामीलाई यो स्थानसम्म उभ्याउन जुन मूल्य चुकाउनुभयो, त्यसको ऋण म सात जुनीसम्म पनि तिर्न सक्दिनँ। हजुरलाई ढिलै भए पनि जन्मदिनको लाखौँलाख शुभकामना ! भगवानसँग मेरो एउटै पुकारा छ: हजुरको शरीरमा कहिल्यै थकान र रोगले डेरा नजमाओस्, हजुरको अनुहारको त्यो कान्ति र ऊर्जा सधैं हिमाल जस्तै अटल रहोस्, र हजुरको बाँकी जीवन सुस्वास्थ्य, दीर्घायु एवं गहिरो मानसिक शान्तिमा बितोस्। म आफू यस धर्तीमा रहेसम्म र मेरो अन्तिम सास चलुञ्जेल यसरी नै हजुरको दीर्घायुको कामना गरिरहन पाउँ। मलाई माफ गरिदिनुस् है बुबा ! हजुरको विशाल त्यागको अगाडि मेरो यो माफीको शब्द धेरै सानो छ, तर हजुरप्रतिको मेरो आदर र माया यो आकाशभन्दा पनि उच्च र फराकिलो छ।
हजुरकी छोरी,
(जसले गल्ती त गरी, तर हजुरलाई माया गर्न कहिल्यै भुल्ने छैन)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com