स्थापनाको ३७ वर्षपछि आफ्नै भवनमार्फत सदस्य सेवा प्रवाह गर्न नेफ्स्कून सफल भएको छ । २०४५ सालमा स्थापना भएको मुलुकको सहकारी अभियानको जेठो संघ नेफ्स्कूनले काठमाडौंको मुटु मिनभवनमा अत्याधुनिक घर निर्माण सम्पन्न गरेको छ । नेफ्स्कून जीवनमा उक्त कार्यसिद्धिले ल्याएको खुसी २०८२ चैत २० गते ६९औं राष्ट्रिय सहकारी दिवसको दिन सार्वजनिक वृत्तमा छचल्कियो । त्यो शुक्रबार उसले भवनको औपचारिक उद्घाटन गर्यो । नेफ्स्कूनको हर्षमा प्रमुख अतिथिका रुपमा नेपाल राष्ट्र बैंकका गर्भनर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलदेखि सहकारी अभियानका अग्रज अधिकारीहरु साक्षी बसे ।
स्थायित्व, दिगोपना र प्रगतिको परिचायक घर, भरोसा पनि हो । जब बाह्रय दायित्व बिना हेर्न लायक घर बन्छ, त्यसले भन्नलायक भरोसा पनि दिन्छ । मुलुकको सहकारी अभियानका विद्यमान चुनौतीहरुको सामना गर्दै यसलाई साँच्चिकै अर्थतन्त्रको बलियो स्तम्भका रुपमा जनजनमा स्थापित गर्ने महाभियानमा नेफ्स्कून त्यो ‘भरोसा’ गर्न लायक सहयात्री हो भन्ने प्रत्याभूति सरोकारवालाहरुले खोजेको स्पष्ट अनुभूति चैत २० गतेको कार्यक्रमबाट भएको छ ।
गभर्नरको गज्जबको कुरा
नेफ्स्कूनको भवन उद्घाटन गर्ने प्रधानमन्त्री, सहकारी मन्त्री, सचिव वा अरु कोही नभएर नेपाल राष्ट्र बैंकका गभर्नर पौडेल हुनुभयो । केन्द्रीय बैंक र सहकारी अभियानबीच ‘लभ हेट रिलेशनसीप’ चलिरहेको समयमा गभर्नर मिनभवन पुग्नुभयो । र, त्यो दिन उहाँले ठूला आदर्श, सिद्धान्त र वादको विषय होइन सहकारी के हो र के होइन ? सहकारीले के गर्ने र के नगर्ने भन्ने सम्बन्धमा व्यावहारिक, धरातलीय र यर्थाथपरक कुराहरु गर्नुभयो । मनमा बस्ने मन्तव्य थियो । खासमा उहाँ मन्तव्य नराखी केवल उद्घाटनमा सहभागी मात्र हुने पूर्वनिर्धारित सहमति रहेछ । तर, पछि उहाँलाई के लाग्यो र बोल्नुभयो । नेफ्स्कून महासचिव घनश्याम अधिकारीले कार्यक्रमपछि भन्नुभयो, ‘गर्भनरले आज क्या गज्जब कुरा गर्नुभयो ।’ हो, त्यही गज्जब कुराभित्र उहाँले सहकारीहरुलाई साँच्चिकै सहकारी बनाउन नेफ्स्कूनको भूमिकाको भरोसा खोज्नुभएको भान हुन्थ्यो ।
गभर्नर पौडेलले मुल गेटमै अध्यक्ष चन्द्रप्रसाद ढकालबाट बुकेसहितको स्वागतपान पछि टाउको सोझ्याउँदै ५ तले घरलाई माथिदेखि तलसम्म हेरिसकेर सोध्नुभयो, 'सबै आफ्नै हो ?’ अध्यक्ष ढकालले मुस्कुराउँदै भन्नुभयो, ‘सबै आफ्नै हो ।’ हुन पनि हो । काठमाडौंको मुटु मिनभवनमा एउटा सानो र अर्को ठूलो हल समेत गरी ४० बढी कोठा भएको ५ तले आधुनिक घर भव्य नै देखिन्छ । त्यो पनि सहकारीहरु भनेको सानो हुनुपर्छ भन्ने उहाँले पछि मन्तव्यमा व्यक्त गरेको आशयको पूर्वानुमान उहाँको त्यो प्रश्नबाट बुझ्न सकिन्थ्यो । जसप्रति अग्रज सहकारी अभियन्ता केशव वडालले कटाक्षनै गर्नुभयो ।
जेहोस्, जति ठूलो घर, त्यति अग्लो प्रतिष्ठा कायम गर्नुपर्ने चुनौती नेफ्स्कूनसँग छ । हिजोको गरिमा जोगाउँदै अब थप उचाइ हासिल गर्नुपर्नेछ । त्यसमा गर्भनरले नेफ्स्कूनसँगै समग्र सहकारी अभियानको ‘भरोसा’ खोजेको भान हुन्थ्यो । सहकारीहरुप्रति विश्वासको संकट पैदा भैरहेको, सहकारीकै कारण राजनीति तंरगित भएको र थुप्रै सदस्यहरु सहकारीबाटै बिचल्लीमा परेका समाचारहरु बग्रेल्ती आइरहेको अवस्थामा वित्तीय कारोबार गर्ने सहकारीहरुकै फेडेरेशनको अत्याधुनिक भवन निर्माण भई गृह प्रवेशको अवस्थामा गभर्नरका सुझावहरु अस्वाभाविक मान्न सकिदैन । नेफ्स्कूनकै कार्यालय रहेको ठाउँमा सम्भवत केन्द्रीय बैंकको गभर्नर पहिलो पटक पुग्नुभएको हो । पौडेलले इतिहास यो अर्थमा पनि बनाउनुभएको छ कि उहाँ नेफ्स्कूनको भवन उद्घाटन गर्ने अधिकारी हुनुभएको छ । र, नेफ्स्कून भवनबाट गभर्नरको सन्देश– मुलुकको सहकारी अभियानलाई साँच्चिकै अर्थतन्त्रको स्तम्भका रुपमा स्थापित गर्न नेफ्स्कूनको भरोसा गर्न सकियोस् । यद्यपि, केशव बडालले भनेझैं ‘सहकारीहरुको साना हुन्छन्, सहकारीहरु ठूला हुन्छन् र सहकारीहरु निक्कै ठूला पनि हुन्छन्’ भन्ने कुरा भने गर्भनरलाई बुझाउनुपर्ने खाँचो देखियो ।
गभर्नर पौडेलले सहकारीहरूलाई मूल उद्देश्यबाट विचलित नहुन आग्रह गर्दै ‘सामन्ती प्रवृत्ति' तर्फ नजान सचेत गराउनुभयो । सहकारीको काम बचतकर्ताको पैसा संकलन गरी शहरमा जग्गा कारोबारमा केन्द्रित हुनु नभई साना बचतकर्ता र निम्न आय वर्गको आर्थिक सशक्तिकरणमा केन्द्रित हुनुपर्ने भन्दै नेफ्स्कूनको अगुवाईमा त्यो काम अब हुन्छ भन्नेमा भरोसा खोज्नुभयो ।
उहाँले नेफ्स्कूनमार्फत सदस्य संस्थाहरुले साना ऋणमार्फत ग्रामीण जनताको जीवनस्तर उकास्न भूमिका खेल्नुपर्नेमा अझै धेरै भर खोज्नुभयो । सहकारीहरूले सीमित व्यक्तिलाइ अर्बौं ऋण प्रवाह गर्ने भन्दापनि उत्पादनमुखी तथा आय आर्जनका क्षेत्र ऋण प्रवाह गरी दीगो आर्थिक रूपान्तरणमा केन्द्रित हुनुपर्ने कुरामा केन्द्रीय संघको भूमिकाको भर खोज्नुभयो । जसको कोही छैन त्यसको सहारा सहकारी हुनुपर्ने मान्यता सफलीभूत तुल्याइन्छ भन्नेमा नेफ्स्कूनको भर खोज्नुभयो । आय आर्जन वृद्धिका लागि संघका सदस्यहरुमार्फत व्यक्तिगत सदस्यहरुलाई २–४ लाख रुपैया लगानी गरी उनीहरुको जीवनस्तर माथि उकास्ने काममा अझै प्रभावकारी देखियोस् भनेर गभर्नर नेफ्स्कूनको भर पर्नुभयो ।
सरोकारवालाहरुको चासो
कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार शशिकुमार लम्सालले नेफ्स्कूनको भवनमार्फत सदस्यहरुको हितमा अधिकतम काम हुनेछ भन्दै सम्पूर्ण साकोसका सदस्यहरुले गौरव महसुश गर्नेछन् भन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज यो भवन बन्दै गर्दा भोलि साकोसका हरेक सदस्यहरुको घरमा ईंटा थपियोस् भन्ने मेरो अपेक्षा छ । सहकारी भनेकै लक्षित वर्गको लागि हो, देशको जग बसाल्ने काम हो । त्यो जग काठमाडौं र सिंहदरबार वरिपरि बसेर मात्र हुँदैन दुरदराजसम्म बस्नुपर्छ, वित्तीय पहुँच पुग्नुपर्छ, हरेक व्यक्ति उद्यमशील हुनुपर्छ र त्यसको सहज माध्यम सहकारी रहेछ । ऐन, कानून बनेपनि व्यवहारमा सबै संस्था राम्रा हुन सकेनन्, हामी सबैबाट कमीकमजोरी भयो । अब हामीले सदस्यको बचत नडुब्ने गरी र यो वर्षको थिम अनुसार उद्यमशीलता र पारदर्शितामा जोड दिएर आगामी दिनहरुमा सदस्यहरुको अधिकतम हित हुने गरी काम गर्न सकियोस् । कुनै पनि सदस्यलाई समस्या पर्ने गरी होइन, समाधान हुने गरी सहकारी क्षेत्रको विकास होस् ।’
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले मुलुकका लागि कस्ता र कति सहकारी संघसंस्था चाहिएको हो, सो विषयमा छलफल गरी यो क्षेत्रलाई थप व्यवस्थित बनाएर लैजान आवश्यक रहेको भन्दै यसमा नेफ्स्कूनको सहयोगको भर खोज्नुभयो । सहकारीलाई गलत ढंगले प्रयोग गर्न चाहने र संस्थाको पैसालाई पैत्रिक सम्पति सम्झने मानसिकताका कारण ठूला सहकारीमा वित्तीय संकट आएको भन्दै समस्या समाधानमा नेफ्स्कूनको भर पर्ने स्थितिको सुनिश्चितता खोज्नुभयो । उहाँले आफ्नो भवन निर्माण गरेर सम्पत्ति मात्र जोड्ने नभइ संघलाई स्थायी र दीर्घजीवी बनाउने काम नेफ्स्कूनले गरेको भन्दै प्रशंसा गर्नुभयो ।
अग्रज अभियन्ता केशव प्रसाद बडालले त आफ्नै भवन बनाउन सकेकोमा नेफ्स्कूनलाई बधाई दिदैं सहकारीप्रतिका विद्यमान गलत भाष्यहरु चिर्नु जरुरी रहेको बताउनुभयो । उहाँले सरकामा बस्ने अधिकारीहरुको नै सहकारीप्रति सकारात्मक धारणा हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेफ्स्कून भन्छ ‘भरोसा’ गर्दा हुन्छ
सरोकारवालाहरुका चासोका विषयका धिप्री डटकमसँग छुट्टै कुरा गर्दै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले भरोसा गर्न सक्ने गरी काम गर्न संघ प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संघको भवन लामो प्रतीक्षाको विषय थियो भन्दै पूर्वदेखि पश्चिमसम्मका थुप्रै बचत तथा ऋण सहकारीहरुले आफ्नो भवनबाट सदस्य सेवा गर्दै आएको परिप्रेक्ष्यमा त्यस्ता संस्थाहरुको आस्थाको केन्द्र संघले भवन बनाउदा भरोसा बढ्ने बताउनुभयो । उहाँले अग्रजहरुले सोच र संरचना तयार गरेको बताउँदै त्यसको निरन्तरतास्वरुप भवन निर्माण सम्पन्न भएको उल्लेख गर्नुभयो । अझ उहाँले त सबै सदस्यहरुलाई पूर्ण रुपमा भर पर्न आग्रह गर्दै भन्नुभयो, ‘यो साकोस भवन सम्पूर्ण प्रारम्भिक संस्थाहरुलाई हस्तान्तरण गरेको सन्देश आज हामीले प्रवाह गरेका छौं ।’
संघका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा. शिवजी सापकोटाले नेफ्स्कून संघमा आबद्ध संघ संस्थाहरुको आस्था र भरोसाको केन्द्र भएको बताउनुभयो । नेपालका बचत तथा ऋण सहकारीहरुलाई आवश्यक नीति निर्माण, प्राविधिक सहजीकरण, प्रविधि हस्तान्तरण, नियामकीय अनुकूलन, तालिम शिक्षा, नेतृत्व विकास, अन्तर्राष्ट्रिय अभ्यास आन्तरिकीकरण आदि विषयमा काम गर्दै आएको नेफ्स्कूनले अब भने परिवर्तित कानूनी अवस्थामा नियामकीय अनुकूलन कसरी कायम गर्ने भन्ने विषयमा सदस्यहरुलाई ‘भरोसापूर्ण तरिकाले सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उद्यमशीलतामा पनि जोड दिइएको उहाँले बताउनुभयो ।
‘साकोस घर': सबैको भर
नेफ्स्कूनले उक्त भवनलाई साकोस घर भनेको अध्यक्ष ढकालले बताउनुभयो । उपाध्यक्ष शान्ति अधिकारीले प्रारम्भिक संस्थाहरु राम्रोसँग सञ्चालनको केही वर्षभित्रै आफ्नै घर बनाउन सफल भएपनि केन्द्रीय संघका लागि ३७ वर्ष लाग्यो भन्दै २०८२ चैत्र २० ले गर्वानुभूति भएको प्रतिक्रिया व्यक्त गर्नुभयो । साँच्चै दुःखले बनाएको घरको महत्व नै बेग्लै हुन्छ । खाइनखाइ सुका मोहोर गरेर बनाएको महलले दिने आनन्द अलग्गै हुन्छ । शान्ति अधिकारीको त्यो भनाइले त्यही आसय बोकेको थियो ।
प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले संघको स्थायित्व, दिगोपना, सेवा प्रवाहमा गुणस्तरीयताको सन्देश भवनले प्रवाह गर्ने दाबी गर्नुभयो । यस्तै, संघका सहायक कार्यकारी अधिकृत गणेशप्रसाद तिमल्सिनाले भन्नुभयो, ‘यो साझा भवन हो, सदस्यहरुको भवन हो, प्रत्येक सदस्यको हक लाग्छ ।’
त्यसो त, नेफ्स्कून गृह प्रवेश गरिरहँदा उसका सबै सदस्य संघ संस्थाहरुलाई हामी पनि राम्रो काम गरेर, सदस्यको मन र मत जितेर आफ्नै भवन बनाउँन सक्छौं भन्ने आत्मनिवश्वास र प्रेरणा मिल्नुपर्छ । त्यो भरोसा उनीहरुलाई प्राप्त हुनुपर्छ ।
यसरी बन्यो घर, यस्तो बन्यो घर
२०७२ सालमा हाल भवन रहेको ठाउँमा नेफ्स्कूनले घरजग्गा खरिद गरेको थियो । ‘सदस्य संघ संस्थाहरुको पृष्ठपोषण र सहयोगसहित केही वर्ष अघि नै घरजग्गा कोष स्थापना गरेर हामीले निक्कै खोजी पछि २०७२ सालमा ऋषिराज घिमिरे अध्यक्ष हुँदा १ रोपनी १ आना १ पैसा २ दाम क्षेत्रफल रहेको भवनसहितको जग्गा खरिद गर्यौं, ’सिईओ सापकोटाले भन्नुभयो, ‘यसबीच, संघको कारोबार, जनशक्ति आदि बढ्दै गएकोले घर अपुग भएसँगै पुरानो घर भत्काएर नयाँ भवन बनाउने गरी २०७७ सालमा (संघको ३३औं स्थापना दिवसको अवसर पारेर) शिलान्यास गरियो ।’ त्यसबेला अध्यक्ष परितोष पौड्याल हुनुहुन्थ्यो भने तत्कालीन सहकारी मन्त्री पद्मा अर्यालबाट शिलान्यास भएको थियो ।
उहाँले थप्नुभयो, ‘२०७९ सालमा भवन निर्माणको सम्झौता भएको थियो भने २०८० भदौं १ गते म दोस्रो पटक संघको प्रमुख कार्यकारी अधिकृत भएर आएपछि व्यवस्थापकीय अग्रसरताका साथ काम अघि बढेसँगै नतिजा चैत २० मा देखिएको हो ।’
पार्किङका लागि २ तल्ला बेसमेन्ट बाहेक ५ तले सुविधासम्पन्न नयाँ भवनमा दुई वटा सभा हल छन् । एउटा सानो र तालिमको प्रयोजनका लागि ४० जना र अरु कार्यक्रम गर्दा करिब १ सय जना अटाउने अर्को गरी दुई प्रविधियुक्त आधुनिक हल नवनिर्मित भवनमा छ जसको कुल लागत करिब २३ करोड ७८ लाख रुपैयाँ रहेको संघका सहायक कार्यकारी अधिकृत तिमल्सिनाले जानकारी गराउनुभयो ।
सुखद संयोगहरु
एउटा सुखद संयोग पनि जुरेको छ । चैत २० गतेको भवन उद्घाटन सम्पन्न गरेको नेफ्स्कूनले आफूलाई केवल बचत तथा ऋण सहकारी मात्रै होइन, समग्र सहकारी अभियानकै अपनत्व लिएको सन्देश दिएको छ । २०८२ चैत २० भनेको २०८३ वैशाख १ को सन्निकट पनि हो । नयाँ वर्षले नयाँ सन्देश प्रवाह गर्छ । मुलुकमा नयाँ तर स्थायी सरकार गठन भएको छ । सरकार परिवर्तन मात्रै होइन, रुपान्तरकै कुरा गरिरहेको छ, गतिलाई तीव्र बनाइरहेको छ, वाचाहरु तोड्नका लागि होइनन्, कार्यान्वयन गर्नका लागि हुन भनेर कसिकसाउ गरिरहेको छ, यो बेलामा नेफ्स्कून गृह प्रवेशको सन्देश पनि सरकारको स्पिड र स्पिरिटसँग एकाकार हुने भन्ने बुझ्न सकिन्छ । नेफ्स्कून अध्यक्ष ढकालले पनि धिप्री डटकमसँग यो कुरा स्वीकार्नुभयो । साथै उहाँले प्रमुख अतिथिका रुपमा गर्भनरको उपस्थिति र अभिव्यक्तिको आशयले निक्कै महत्व राख्ने संकेत गर्नुभयो ।
खासगरी सत्तारुढ दलको चुनावी वाचापत्रमा सहकारीमा कडा नियमनका लागि राष्ट्र बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण आवश्यक रहने भन्दै त्यसका लागि ५० करोड रुपैयाँ भन्दा बढीको कारोबार गर्ने लघुवित्त तथा सहकारीहरुलाई केन्द्रीय बैंकको प्रत्यक्ष र शक्तिशाली सुपरिवेक्षण प्रणालीभित्र ल्याउने वाचा गरेको छ । यसै परिप्रेक्ष्यमा गर्भनरले नेफ्स्कूनको भवन उद्घाटन गर्नुलाई अर्थपूर्ण रुपमा हेर्नुपर्ने संकेत अध्यक्ष ढकालको थियो ।
भरोसाहरुको भर
भरोसाहरु बढाउन गल्ती कमजोरीहरु सुधार गर्नुपर्छ । सुधार माथिबाट गर्नुपर्छ । अवसर र अधिकार पाएकाहरुबाट । आशा गरौं, नेफ्स्कूनले मुलुककै सहकारी अभियानको छवि सुधारको थालनी आफ्नै नीति, विधि, गतिविधि र शैलीबाट गर्नेछ । त्यो केवल बोलीमा होइन ‘भरोसा’ गर्न सकिने तवरले । अभियानको अग्र मोर्चामा रहेको नेफ्स्कून सबै हिसाबले उदाहरणीय बन्नेछ भनेर भरोसाको सञ्चार भवनमार्फत हुनुपर्छ । सुदूरका संस्थाहरुलाई सकारात्मक विभेद गर्दै उक्सिन यसले भरथेग गर्नेछ भन्ने भरोसा अपेक्षित छ । सुशासनमा शून्य सहनशीलताको नीति व्यवहारमै लागू गर्नेछ भनेर भरोसा गर्न सकियोस् । तालिम र शिक्षाका कार्यक्रमहरु सहज, पहुँचयोग्य र शुलभ अनि समसामयिक छन् भन्ने सदस्य संघ संस्थाहरुले भरोसा गर्न सकून । वित्तीय सूचकहरुले सदस्य, समुदाय र सरोकारवालाहरु समक्ष स्थायित्वको आधार प्रस्तुत गरोस् ।
उद्यमशीलता र पारदर्शिता केवल ६९औं राष्ट्रिय सहकारी दिवसको मात्रै नारा होइन नेफ्स्कूनले अवलम्बन गर्नुपर्ने रणनीति र यात्रा गर्ने मार्गचित्र बन्नेछ भनेर भरोसा गर्न सकियोस् । त्यसका लागि व्यवसाय विकास सेवाको बिस्तारीकरण, सदस्य संस्थाहरुसँगको सहकार्यमा व्यक्तिगत सदस्यहरुलाई उद्यमी बनाउने काममा फेसबुकमा सम्झौता र फोटाहरुको कोलाज मात्रै होइन वास्तवमै ती उद्यमीहरुको अटाइनअटाइ सफलताका कथाहरु पढ्न पाइनेछ भन्ने भरोसा गर्न सकियोस् । सहकारी र वित्तीय शिक्षामार्फत सदस्यहरुको सहयोग र सक्रियतामा सहकारीप्रतिको नकारात्मकता चिर्न सफल हुनेछ भनेर भरोसा गर्न सकियोस् । आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त बनाई पारदर्शितामा हामी न ‘ओपेक’ न ‘ट्रान्स्लुसेन्ट’ बरु ‘ट्रान्सपरेन्ट’ छौं भन्नेमा भरोसा गर्न सकियोस् । सबै सदस्यहरुले युनिफाइड डिरेक्टिभ्सको अक्षरशः पालना गर्नेछन् भन्नेमा भरोसा गर्न सकियोस् । सदस्यहरु एकातिर, संघहरु अर्कोतिर अनि नेफ्स्कून अर्कैतिर हुने परिस्थिति आउँदैन भन्नेमा भरोसा गर्न सकियोस् । छुट्टै क्रेडिट युनियन एक्ट अब जारी हुन्छ भन्नेमा भरोसा गर्न सकियोस् । यी सबै कामहरु गरेर सहकारीको लय फर्काउन र विश्वास पुनर्जागृत गराउन सक्छ भनेर भरोसा गर्न सकियोस् । नेफ्स्कूनका गतिविधिहरुले सहकारी चाहिन्छ, सहकारी सच्चिन्छ र सहकारीले सर्पाछ भन्ने आम जनमानसमा विश्वास सञ्चार हुन्छ भन्ने भरोसा गर्न सकियोस् ।
मूलीहरु आदर्श र उदाहरणीय पात्र बन्दा घरको संरक्षण मात्रै होइन छरछिमेककाहरु पनि विश्वस्त बन्छन् अनि समाज र समुदायपनि कृतज्ञ हुन्छ । यसो हुँदा घरसँग भर र भावना जोडिन्छ । मन जोडिन्छ, मुटुको धड्कन जोडिन्छ, र धमनीहरुले बेरोकटोक रक्तसञ्चार गर्छन् । अध्यक्ष ढकालले भनेझैं अब इतिहासका कथाहरु कहने भन्दा पनि वर्तमानका नतिजाहरु बोल्ने अवस्था सिर्जना होस् । ती नतिजाहरुमा सदस्य संघ संस्था, नियामक र सरोकारवालाहरु भरोसा गर्न सक्ने अवस्था होस् । समग्रमा नेफ्स्कूनको नवनिर्मित ‘घर’ले सहकारी अभियानलाई नै भर दिन्छ भन्ने भर गर्न सकियोस् ।
नमागिएको सुझाव (अनसोलिसिटेड अड्भाइस)
बिटमार्दै गर्दा, एउटा अनसोलिसिटेड अड्भाइस । जसरी क्रिकेटका स्टेडियमहरुसँगै चारै दिशामा रहने स्टयाण्डहरुको नाम पनि विभिन्न खेलाडीको नामबाट राख्ने गरिन्छ, नेफ्स्कूनले भवनका तल्लाहरुलाई यसका अग्रजहरुको नाम दिन सके अझ सुगन्ध हुने देखिन्छ । अनि, सहकारीकै कुरा गर्ने हो भने जर्मनीमा राइफाईसन हाउस, राईफाइसन रोड भनिन्छ, बेलायतमा होल्याक हाउस भनिन्छ, अनि आयरल्याण्डमा प्लङ्केट म्युजियम भनिन्छ, त्यस्ता असल अन्तर्राष्ट्रिय अभ्यासलाई आन्तरिकीकरण गर्दा इतिहासको थप कदर पनि हुन्थ्यो कि ! आजलाई अस्तु !
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com