Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

लगातार तेस्रो पटक आईसीए अध्यक्ष बन्दै एरियल !

लगातार तेस्रो पटक आईसीए अध्यक्ष बन्दै एरियल !

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को नयाँ सञ्चालक समिति कस्तो बन्ला भन्ने चर्चा शुरु भएको छ । एरियल ग्वार्कोको अध्यक्षताको वर्तमान सञ्चालक समितिको पदावधि सकिन मात्र एक महिना बढी बाँकी भएसँगै नयाँ समितिका सम्भावित अनुहारहरुबारे बहस शुरु भएको हो । आउँदो सेप्टेम्बर १५ मा पनामाको पनामा शहरमा आयोजना हुने आईसीएको वार्षिक साधारण सभाले सहकारी अभियानको विश्व मञ्चको नयाँ नेतृत्व चयन गर्नेछ । 

आईसीएको ग्लोबल बोर्ड ३० सदस्यीय रहेको छ । जसमा सदस्यहरुबाट प्रत्यक्ष निर्वाचित हुने अध्यक्ष, तत्तत् क्षेत्रबाट निर्वाचित हुने चार उपाध्यक्ष (एशिया, अफ्रिका, युरोप र अमेरिका), आठ क्षेत्रीय संगठनबाट निर्वाचित हुने ८ सञ्चालक, युवा समिति अध्यक्ष, लैङ्गिक समानता समिति अध्यक्ष र १५ जना बोर्ड सञ्चालक । आईसीएले निर्वाचन कार्यतालिका प्रकाशित गरी उम्मेदवारहरुको नाम र संक्षिप्त विवरण समेत केही दिनअघि सार्वजनिक गरेको छ ।

आईसीए बोर्डको अघिल्लो निर्वाचन स्पेनको सेभिलामा सन् २०२२ मा सम्पन्न भएको थियो । र, सबैभन्दा उल्लेख्य विषय भनेको यो पटक पनि आईसीए बोर्डको अध्यक्षमा वर्तमान अध्यक्ष एरियल ग्वार्को नै निर्वाचित हुँदैछन् । किनकि, आईसीए नेतृत्वको दौडमा उनी एक्लो उम्मेदवार छन् । योसँगै ग्वार्को तेस्रो पटक आईसीए अध्यक्ष बन्नेछन् ।

नेपालको दृष्ट्रिकोणले अर्को महत्वपूर्ण भनेको आईसीए सञ्चालकमा भारतीय राष्ट्रिय सहकारी संघ (एनसीयूआई) का अध्यक्ष दिलीप सांघाई पनि उम्मेदवार छन् । यसैगरी, बेलायतबाट कोअपरेटिभ्स यूकेकी प्रमुख कार्यकारी अधिृकत रोज मार्ली पनि सञ्चालक पदमा उठ्दैछिन् । यस्तै, टर्कीबाट सहकारी अभियन्ता एवम् पत्रकार उनल अर्नेकले पनि दाबेदारी प्रस्तुत गरेका छन् ।

यो वर्ष आईसीएको १५ बोर्ड सदस्यका लागि २५ मुलुकका २४ सहकारीकर्मी चुनावी मैदानमा उत्रिएका छन् ।
आईसीए बोर्डले संगठनका लागि आवश्यक नीतिगत निर्णयहरु लिनुका अतिरिक्त वित्तीय स्थिरता कायम गर्ने र व्यवस्थापनका गतिविधिहरु विधिसम्मत् भए नभएको अनुगमन तथा मूल्यांकन गर्दछ ।

एरियल ग्वार्को
अर्जेन्टिनी सहकारी अभियन्ता ग्वार्को यो निर्वाचनसँगै आईसीएको तीन कार्यकाल अध्यक्ष निर्वाचित हुनेछन् । आईसीएको विनियम अनुसार कुनै पनि व्यक्ति पहिलो पटक अध्यक्ष निर्वाचित भएसँगै बाँकी २ पदावधिका लागि (अर्थात् लगातार तीन कार्यकाल) पुनः अध्यक्ष निर्वाचित हुन सक्नेछ । त्यस हिसाबले ग्वार्कोको अबको कार्यकाल अन्तिम हुनेछ ।

सन् २०१७ को नोभेम्बर १७ मा मलेशियाको राजधानी क्वालालम्पुरमा सम्पन्न आईसीएको वार्षिक साधारणसभाबाट उनी पहिलो पटक अध्यक्ष निर्वाचित भएका थिए । त्यही सम्मेलनमा नेपालको तर्फबाट पनि ओमदेवी मल्ल ग्लोबल बोर्ड सदस्य निर्वाचित भएकी थिइन् । ग्वार्को, दोस्रो पटक सन् २०२२ मा सेभिला साधारणसभाबाट अध्यक्ष बनेका थिए । ग्वार्कोलाई गत महिनामात्र रसियन युनिभर्सिटी अफ कोअपरेशनले मानार्थ विद्यावारिधिबाट सम्मानित गरेको थियो । उनले सहकारीसम्बन्धी पुस्तकहरु पनि लेखेका छन् । उनी पशु चिकित्सक पनि हुन् । सहकारी अभियानमा उनको तीन दशक बढीको अनुभव छ ।

के हो आईसीए ? यसले के गर्छ ?
आईसीए विश्वभरका सहकारीहरुको एक मात्र छाता संगठन हो । यसको स्थापना १९ अगस्ट १८९५ मा बेलायतको लन्डनमा भएको थियो ।  हाल यसको मुख्य कार्यालय बेल्जियमको राजधानी ब्रसेल्समा अवस्थित छ। आईसीएले विश्वभरका करिब ३० लाख सहकारीका करिब १ अर्ब सदस्यहरूको प्रतिनिधित्व गर्दछ । आईसीएमा हाल १०६ भन्दा बढी देशका ३२० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी संस्था आबद्ध छन्।

यसले सहकारीका मूल्य, मान्यता र ७ वटा विश्वव्यापी सिद्धान्तहरूको अधिनस्थ रही तिनको ब्याख्या, कार्यान्वयन र प्रवर्द्धन गर्नेकाम गर्दछ । यसले अन्तर्राष्ट्रिय मञ्चहरू, सरकारहरू र संयुक्त राष्ट्र संघसँगको परामर्शसहित विश्वव्यापी स्तरमा सहकारीहरूको हकहित र अधिकारको वकालत गर्दछ भने विभिन्न देशका राष्ट्रिय तथा क्षेत्रीय सहकारी संघहरूबीच समन्वय, अनुभव आदानप्रदान र आपसी सहकार्यको वातावरण सिर्जना गर्ने मुख्य कार्य गर्दछ । सँगै सदस्य संस्थाहरूलाई प्राविधिक सहयोग, शिक्षा, तालिम र बजार प्रवर्द्धनसम्बन्धी मार्गदर्शन प्रदान गर्ने, विश्वभरका सहकारीसम्बन्धी तथ्यांकहरू संकलन गर्ने, अनुसन्धान गर्ने र उत्कृष्ट अभ्यासहरूको प्रचारप्रसार गर्ने काम यसले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार