Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

परराष्ट्र मन्त्री र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

परराष्ट्र मन्त्री र जापानी विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच आज टोकियोमा द्विपक्षीय भेटवार्ता भएको छ । जापान भ्रमणमा रहेकी मन्त्री डा.राणा र जापानी विदेशमन्त्री ताकेसीबीच आज टोकियोस्थित विदेश मन्त्रालयमा भेटवार्ता भएको हो ।

त्यस अवसरमा नेपाल जापान द्विपक्षीय सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो । भेटका क्रममा मन्त्री डा.राणाले नेपालको आर्थिक, सामाजिकलगायतका क्षेत्रमा विगत लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपालका तर्फबाट जापान सरकार र जापानी नागरिकलाई धन्यवाद ज्ञापन गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैगरी डा. राणाले त्यस नेपाल सन २०२६ पछि अतिकम विकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रका रूपमा  स्तरोन्नति हुन लागेका जानकारी दिँदै निरन्तर रूपमा सहयोग गर्दै आएको मित्रराष्ट्र जापानबाट त्यसपछिको अवस्थामा पनि नेपाललाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उनीहरू बीचमा नेपाल–जापान सम्बन्धको ७० वर्षेको इतिहासका विविध पक्षमा पनि कुराकानी भयो । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको एसियाली मुलुक नेपाल र जापानले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाउँदै छन । सोही अवसरमा मन्त्री डा.राणाले आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर जापानी विदेशमन्त्री ताकेसीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो ।

नेपालमा लगानीका लागि जापानी उद्योगी, व्यवसायीलाई प्रोत्साहित गरिदिन विदेशमन्त्री ताकेसीसँग आग्रह गर्दै लगानी प्रतिफलका हिसाबले अत्यन्त सम्भावना रहेको नेपालमा वैदेशिक लगानीलाई सुरक्षा र सुनिश्चिता प्रदान गर्न सरकारको तर्फबाट आवश्यक व्यवस्था गरिएको मन्त्री डा राणाले जानकारी गराउनुभयो । 

परराष्ट्र मन्त्री डा राणाले नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्धभन्दा पनि सदियौँ पुरानो सम्बन्ध रही आएको प्रसङ्ग उल्लेख गर्दै भन्नुभयो, “दुई देशबीच भगवान् गौतम बद्धको शिक्षाबाट प्रेरित प्राचीन सामाजिक–सांस्कृतिक सम्बन्ध रही आएको छ । बुद्ध जन्मस्थल लुम्बिनी नेपाल र जापानी नागरिकबीचको एक सांस्कृतिक सेतु पनि हो ।”

लुम्बिनीलगायत नेपालको प्राकृतिक तथा सांस्कृतिक अलौकिक सम्पदाको अध्ययन एवं अवलोकनका लागि नेपालमा वर्षेनी हजारौँ जापानी पर्यटक आउने गरेका भन्दै मन्त्री डा.राणाले आगामी दिनमा पनि पर्यटनका क्षेत्रमा दुई देशले गर्न सक्ने सहकार्यका बारेमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार