एजेन्सी । घर नं ५६१ । भारतको कर्णाटक राज्यको मायसुरु शहरको रामचन्द्र आग्रहाको उक्त घरमा नेमप्लेट छैन । तरपनि, त्यो घर संसारभर प्रसिद्ध छ । यो त्यही घर हो जहाँ भारतको एक मात्र संस्कृत दैनिक 'सुधर्मा' को टाइङिपदेखि प्रकाशन (छाप्ने) सम्मको सबै काम फत्ते गरिन्छ । भर्खरै गएको जुलाई १५ मा उक्त पत्रिकाले स्थापनाको ५६औं वर्ष पूरा गरेको छ ।
संस्कृत भाषाको संरक्षणका अतिरिक्त सुधर्माको अर्को विशेषता भनेको यसले प्रेरणादायी एवम् सकारात्मक समाचार तथा समाचारजन्य विषयवस्तु मात्र प्रकाशन गर्दछ । नकारात्मक समाचार प्रकाशन गर्दैन । सुधर्मालाई विश्वकै यति लामोसमय सम्म प्रकाशन भएको संस्कृत दैनिक भएको दाबी गरिएको छ । सर्च इन्जिनहरुले पनि यही बताउँदछन् ।
इतिहास बोकेको यो पत्रिका प्रकाशनको नेतृत्वदायी भूमिका हाल जयालक्ष्मी सम्पथ कुमारले निर्वाह गर्दै आउनुभएको छ ।
आफ्ना ससूरा भारदाराजा आयन्गर तथा श्रीमानको निधनका बाबजूद उहाँले पत्रिकालाई निरन्तरता दिदैं आउनुभएको हो । उहाँले दैनिक १४ देखि १५ घन्टा काम गरी पत्रिकाको निरन्रता सुनिश्चित गर्नुभएको थियो । आम अपेक्षाका बाबजूद विभिन्न अवरोह छिचोल्दै सुधर्मा प्रकाशनलाई निरन्तरता दिन सफल हुनु जयालक्षीको कौशल भएको धेरैले बताएका छन् । ५९ वर्षीय जयालक्ष्मी सुधर्माको सम्पादन आफ्ना लागि केवल एउटा काम नभई पवित्र संकल्प भएको बताउनुहुन्छ । अहिले पनि उहाँ दैनिक करिब १५ घन्टा पत्रिकाका लागि समय छुट्याउनहुन्छ । लेखन तथा सम्पादनदेखि वितरण र बजार आदि कामका लागि ।
सन् १९७० देखि ससूरा तथा श्रीमानले सुधर्माको प्रकाशन एक दिन पनि नरोकियोस् भन्ने सुनिश्चित गरेको सम्झदै आफूले उहाँहरुको सपना, सत्कर्म र संकल्पलाई निरन्तरता दिएको जयालक्ष्मीले बताउनुभयो । गर्वमिश्रित भावमा जयालक्ष्मी भन्नुहुन्छ, ‘मैले उहाँहरुको सपनालाई निरन्तरता दिएको हुँ ।’
उहाँका ससूरा आयन्गर संस्कृतका कहलिएका विद्धान हुनुहुन्थ्यो । अनि उहाँ पुस्कत प्रकाशक समेत । अल इन्डिया रेडियोमा संस्कृत समाचार बुलेटिन प्रसारणमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले नै सन् १९७० जुलाई १५ मा सुधर्माको प्रकाशन आरम्भ गर्नुभएको थियो । संस्कृत मृत भाषा हो भन्ने कतिपयको कनथको चुनौतीको रुपमा जन्मिएको थियो सुधर्मा । शुरुमा यसको मूल्य दुई पैसा राखिएको थियो । बिस्तारै यसले संस्कृत भाषाको प्रजातान्त्रिकरणमा भूमिका खेल्यो, अर्थात् यसलाई जीवन्त बनाउने, बोलीचाली र पठन भाषाको रुपमा अघि सार्ने काम । इतिहासको कालखण्डमा विभिन्न आपतकालिन समायमा जब अन्य प्रकाशनहरु बन्द हुँदा समेत सुधर्माको प्रकाशन कुनै दिन रोकिएन । यसले पनि यसका प्रकाशक र पाठहरुको दृढ संकल्प प्रमाणित गर्दछ ।
जयलक्ष्मीको सुधर्मासँगको नाता त्यतिबेला जोडियो जब उहाँले आयन्गरका छोरा केभी सम्पथ कुमारसँग विवाह गर्नुभयो । जयालक्ष्मी आफै पनि संस्कृतको विद्धान हुनुहुन्थ्यो । त्यही भएर पनि उहाँलाई सुधर्माको प्रकाशनलाई निरन्तरता दिन केही हदसम्म सहज भयो । बिस्तारै उहाँले यसको लेखन, सम्पादन, पाठकहरुसँग सम्पर्क तथा बजार व्यवस्थापन आदि काम सिक्नुभयो । यद्यपि, यो लामो अवधि दौरान धेरै चुनौतीहरु सामना गरेको उहाँले बताउनुभयो । जब सन् २०२१ को जुन २० मा श्रीमान् सम्पथ कुमारको निधन भयो त्यस उप्रान्त जयालक्ष्मीले सम्पादको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको छ ।
‘हाम्रो पत्रिकाको मुख्य उद्देश्य भनेकै संस्कृतलाई सबैले पढ्ने, बुझ्ने र ग्रहण गर्ने बनाउनु हो, ’ उहाँ भन्नुहुन्छ, ‘हामी केवल रिपोर्टिङ मात्र गरिरहेका छैनौं, संस्कृतको शब्दभण्डारलाई बिस्तार गर्ने काम पनि गरिरहेका छौं ।’
र, आज सुधर्माको पहुँच मायसुरु भन्दा धेरै पर पुगिसकेको छ । सन् २००८ मा ईपेपर शुरु गरेसँगै बिस्तारले गति लिएको हो । अमेरिका, बेलायत, जापान लगायतका मुलुकहरुमा गरी ५ हजार बढी यसका अनलाइन पाठक (सब्सक्राइबर) छन् । र, भारतसँगै बाहिरी मुलुकमा बस्ने पाठकहरु यसको प्रतिक्षामा हुन्छन् । हाल प्रिन्ट र अनलाइन गरी बार्षिक ६ सय भारुमा यो पत्रिका पाठक (ग्राहक) हरुलाई उपलब्ध गराइएको छ ।
यसैगरी, सन् १९९५ देखि यो पत्रिकाले संस्कृत क्यालेन्डर समेत पाठकहरुलाई प्रकाशन गरी उपलब्ध गराउँदै आएको छ जसमा धार्मिक तथा सांस्कृतिक दिन, पर्व, कर्म आदिबारे आधिकारिक जानकारी प्रकाशन गरिन्छ । यसले भारतीय संस्कृति, धर्म र परम्परा संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पाठकहरु बताउँदछन् । पत्रिका (क्यालेन्डरसमेत) प्रकाशन मार्फत संस्कृत भाषा संरक्षण र सम्वद्र्धनम योगदान गरेबापत जयालक्ष्मी र उहाँका श्रीमानलाई भारत सरकारले पद्म श्री (सन् २०२०) बाट सम्मानित गरेको छ ।
नोटः भारतीय सञ्चारमाध्यमहरु (खासगरी टाइम्सअफइन्डियाको डिजिटल प्रकाशन)मा आधारित तथ्यहरुको सहयोगमा तयार पारिएको सामाग्री ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com