Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारीमा धेरै सिईओहरुले राजनीति झेल्छन् तर आफूलाई अफ्ठयारो पर्ला भनेर खुलेर विरोध गर्दैनन्

सहकारीमा धेरै सिईओहरुले राजनीति झेल्छन् तर आफूलाई अफ्ठयारो पर्ला भनेर खुलेर विरोध गर्दैनन्

भक्तपुरका स्थायी बासिन्दा ४४ वर्षीय कबिन्द्र धौबञ्जार सहकारी क्षेत्रमा एक दशकभन्दा बढी समयदेखि कार्यरत हुनुहुन्छ । उहाँको 'करियर ट्रयाजेक्ट्रिी' अध्ययन गर्दा ज्ञात हुन्छ, प्रारम्भिक अवस्था लगत्तै सहकारी व्यवस्थापनको उच्च पदमा रहेरनै भूमिका निर्वाह गर्नुभएको छ । व्यवस्थापक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै पुनः व्यवस्थापन प्रमुख बन्नुभएको छ ।

काठमाडौंको प्रतिष्ठित चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्थाको 'सेकेन्ड म्यान' नियुक्त भएलगत्तै सहकारी अभियानको आँकलन विपरित उहाँ धादिङ बचत बचत तथा ऋण सहकारी संघ लि.को प्रमुख व्यवस्थापक बन्न जानुभयो । धेरैसँग प्रश्नहरु भएपनि उत्तर आइनसकेको अवस्थामा धिप्री डटकमसँग उहाँले खुलेर वार्तालाप गर्नुभएको छ । प्रस्तुत छ उक्त वार्तालापको सम्पादित अंशः

तपाई सिईओबाट डिसियो बन्नुभयो, किन ? फेरि डिसिईयो चाँडै छोडेर सिईओ बन्नुभयो ? त्यसको अर्थ अब सिईओ वा फस्ट म्यान नै बन्ने हो भन्ने ठानेर हो ?
धरै सहकारीकर्मी साथीहरु र अग्रजहरुको आँकलन विपरित म सिईओबाट डिसिईयोमा गएँ । हाम्रा अग्रजहरुले भन्ने गर्नुहुन्छ, मान्छेले अन्तिम सास सम्म केही न केही कुरा सिकिरहेकै हुन्छ । मेरो मनमा पनि नयाँ कुरा सिक्ने हुटहुटी थियो । मैले पद-प्रतिष्ठा भन्दा पनि सिक्ने विषयलाई प्राथमिकतामा राखेँ । त्यही सिकाइलाई नै निरन्तरता दिन म सिईओबाट चन्द्रागिरिमा डिसिईयोमा गएँ र अहिले धादिङ बचत संघको प्रमुख व्यवस्थापकको जिम्मेवारीमा छु । यो मेरो सिकाइको अर्को चरण हो । केही बन्छु भन्दा पनि म पहिला केही सिक्छु र गर्छु भन्ने सोचले अगाडि बढ्नु पर्छ जस्तो मलाई लाग्छ ।

कर्पाोरेट कल्चरले मात्रै महत्व पाउने र सहकारीको मूल्य, मान्यता अनि सिद्धान्त फितलो हुँदै जाने समस्या नआओस् भन्ने बारेमा म सचेत थिएँ । चन्द्रगिरिमा मेरो फोकस यसै विषयमा रह्यो । सहकारी ऐन, नियमावली, मापदण्ड र समय समयमा नियामक निकायबाट जारी गरिने निर्देशनहरुको परिपालना सहकारीहरुको प्राथमिकतामा रहनु पर्छ । साँच्चिकै पालना गर्नु र पालना गरेको जस्तो मात्र देखाउनु दुई फरक कुरा हुन् । 

चन्द्रागिरिबाट के के सिक्नुभयो ? त्यहाँको अनुभव कस्तो रह्यो ? केही फरक कुरा वा नसोचेको कुरा ? 
मैले अघिनै भने म नयाँ कुरा सिक्न खोज्ने मान्छे, नयाँ कुरा सिक्न नयाँ जोखिम पनि लिनु पर्छ । संस्था व्यावसायिक तवरले अगाडि बढ्न 'कर्पाेरेट कल्चर' अवलम्बन गर्नुपर्छ । चन्द्रागिरिमा डिसिइओको रुपमा काम गर्दै गर्दा 'कर्पोरेट कल्चर' का केही नयाँ कुरा सिकेँ र केही आफूले सिकेका कुराहरु लागु गर्ने कोशिस गरेँ । यो क्रम लगभग दुई वर्षसम्म चलिरह्यो ।

सदस्यहको स्वास्थ्य उपचारमा राहत, सदस्यलाई प्रविधिसँग जोड्ने र आन्तरिक पर्यटन प्रबद्र्धन जस्ता चन्द्रागिरिको प्रयास अन्य सहकारी भन्दा फरक र राम्रो लाग्यो । सहकारी शिक्षा तथा सदस्य अन्तरक्रिया लगायतका कार्यक्रमहरुमा अन्य सहकारी संस्थाको तुलनामा चन्द्रागिरिमा सदस्यको सहभागिता अलि बढी छ ।

अन्य संस्थाहरुमा सदस्यताका लागि संस्थाले अनुरोध गर्नुपर्ने अवस्था छ भने चन्द्रागिरिमा सदस्य बन्न पाउँ भनी फारम भर्ने व्यक्तिहरुको चाप बढी छ । साथै चन्द्रागिरि उच्च शिक्षा छत्रबृत्तिकोष सञ्चालन गरेर कार्यक्षेत्र भित्रका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई संस्थाले सामुदायिक स्कुल तथा कलेजहरुमा अध्ययन गर्न जनही रु १० हजारका दरले प्रत्येक वर्ष १० जोड २ देखि स्नात्तकोत्तर सम्मको लागि छात्रबृत्ति दिने गरेको छ । वार्षिक ५०-६० जनाले अहिले यो सुविधा पाउने गरेका छन् । यो एउटा नयाँ प्रयास हो ।

सहकारी अभियानले अपेक्षा के गरेको थियो भने तपाई चन्द्रागिरीको डिसिइयो बन्दा अब त्यहीको सिईओ बन्नुहुनेछ । चन्द्रागिरी साकोसले उत्तराधिकार योजनासहित तपाईलाई भित्राएको भन्ने आम बुझाइ थियो ? किन चाँडै छोड्नुभयो ? 
म केही बन्छु भन्दा पनि म पहिला केही सिक्छु र गर्छु भन्ने सोचले अगाडि बढ्नु पर्छ । म चन्द्रागिरिमा यो वा त्यो बन्ने उद्देश्यले गएको होइन । मेरो उद्देश्य भनेको सहकारी ऐन र नियमावलीले कल्पना गरे अनुसारको सहकारी अभ्यास गर्नु हो । सामान्यतया डिसिइओमा कार्यरत व्यक्ति सिइओको जिम्मेवारीमा जान्छ, यो एउटा नियमित प्रकृया हो । मैले चन्द्रागिरिमा झन्डै ३० महिना काम गरेँ । चन्द्रागिरिमा नियुक्ति लिंदै गर्दा मेरो योजना भनेको मैले सामूहिकमा गरेको भन्दा उत्कृष्ट सहकारी अभ्यास गर्ने भन्ने थियो ।

सामूहिकमा व्यवस्थापन प्रमुख हुँदा योजना बनाउने र छिटै कार्यन्वयनमा लाने 'प्राक्टिस' थियो । चन्द्रागिरिमा 'सेकेन्ड म्यान' हुँदा, बनेका योजनाहरु सिइओको अनुमतिमा कार्यान्वयनमा लान पर्ने भएपछि धेरै योजनाहरु समयमै कार्यन्वयन हुन सकेनन् । कतिपय त कपीमा मात्र सिमित रहे । आफुले प्रस्ताव गरेका योजनाहरु गतिशील र परिणाममुखी रहे पनि तिनले स्थान नपाउँदा अरु नै विकल्प रोजेँ र चन्द्रागिरि छोडेँ ।

सहकारीको समस्या समाधान गर्न बनेको संसदीय समितिको प्रतिवेदनमा भनिए जस्तै अर्थतन्त्रको तीन खम्बाहरुमा नीजी क्षेत्र फलामको खम्बा, सार्वजनिक क्षेत्र काठको खम्बा र सहकारी क्षेत्र बाँसको खम्बाको रुपमा रहेको छ । तीनवट खम्बाले थेग्नु पर्ने भार सहकारी क्षेत्रको कमजोर बाँसको खम्बा कोल्टे पर्दा सबै भार खेप्नु पर्ने अत्यन्तैे पिडादायी अवस्था छ ।

भक्तपुरको स्थायी बासिन्दा तपाईं काठमाडौं बाहिर गएर सिईओ बन्नु भएको छ ? किन काठमाडौं छोड्ने निर्णय गर्नुभयो ?
म पहिला पनि काभ्रे जिल्लामा रही लघुवित्त संस्थामा २ वर्ष काम गरेको थिएँ ।  व्यवस्थापन प्रमुखको रुपमा त्यो काठमाडौं बाहिर पहिलो पटकको अवसर थियो । सहकारीकर्मी एउटा जिल्ला वा भेगको मात्र सहकारी अभ्यासको जानकारी राखेर पुग्दैन, पुरै नेपालनै सहकारी अभ्यासको थलो हो नी, होइन र ? नेफ्स्कूनले पनि हामीलाई यही नै सिकाएको हो । त्यही भएर यो पटक धादिङ आएँ ।

काठमाडौंको राम्रो र ठूलो सहकारीमा काम गर्नुभएको व्यक्ति किन यो बेला बचत संघमा ? 
सहकारीको मूल्य, मान्यता र सदस्य केन्द्रीत क्रियाकलाप सहकारी क्षेत्रको एउटा सुन्दर पक्ष हो । व्यावसायिक तवरले संस्थालाई अघि बढाउन 'कर्पोरेट कल्चर' अंगाल्नु पर्ने हुन्छ । कर्पोरेट कल्चर सहकारी संस्थाहरुले निजी क्षेत्रबाट सिक्नु पर्छ जस्तो लाग्छ । परम्परागत संस्था सञ्चालन पद्दति भन्दा यो गतिशील हुने भएकोले यो आजको अवश्यकता पनि हो । 'कर्पाोरेट कल्चर' ले मात्रै महत्व पाउने र सहकारीको मूल्य, मान्यता अनि सिद्धान्त फितलो हुँदै जाने समस्या नआओस् भन्ने बारेमा म सचेत थिएँ । चन्द्रगिरिमा मेरो फोकस यसै विषयमा रह्यो ।

सहकारी ऐन, नियमावली, मापदण्ड र समय समयमा नियामक निकायबाट जारी गरिने निर्देशनहरुको परिपालना सहकारीहरुको प्राथमिकतामा रहनु पर्छ । सांचिक्कै पालना गर्नु र पालना गरेको जस्तो मात्र देखाउनु दुई फरक कुरा हुन् । 

ऐनले परिभाषित गरे अनुसार साधारण सभाले गर्ने कार्यहरु, सञ्चालक समितिको काम, कर्तव्य अधिकार र कानुन दिएको हदसम्मको अधिकारको प्रत्यायोजन गरी कार्य गर्ने एउटा निश्चित ढाँचा हुन्छ । सोही ढाँचाको सीमारेखा भित्र रही सबै पक्षले आ–आफ्नो कार्य गर्नुपर्छ । तर सबै अधिकार प्रत्यायोजन गर्न मिल्दैन । प्रत्यायोजन गर्न नमिल्ने अधिकारहरु तोकिए भन्दा तल्लो निकायले प्रयोग गर्न पाउँदैनन् । अधिकार प्रत्यायोजन र प्रयोगको विषयमा मैले सामूहिकमा काम गर्ने बेला राम्ररी सिकेँ र पालना पनि गरेँ ।

यही मोडेल चन्द्रागिरिमा पनि लागु गर्नुपर्छ भन्ने दृष्टिकोणले सञ्चालक समिति, सिईओ र उच्च व्यवस्थापनका साथीहरुसँगको नियमित छलफलहरुमा कुरा उठाइ राखेको हुन्थेँ । मेरो बुझाइमा त्यो मोडेल ऐन र निमावलीले कल्पना गरेको सहकारीसँग एकदम नजिकको थियो । सहकारी ऐन र नियमावलीसँग मेलखाने सहकारी सञ्चालनको मोडेल लागू गर्न म निरन्तर अवसरको खोजीमा हुन्थेँ । त्यही अवसर खोजी गर्ने क्रममै चन्द्रागिरि छोडेर बचत संघमा आएको हुँ ।

बदलिंदो नियामकीय व्यवस्थाले छातासंघहरुलाई वित्तीय कारोबार भन्दा पनि विकास र प्रवर्धनका कार्यक्रम गर्न सुझाएको अवस्था छ । तर अभियानमा अगुवाहरु यो व्यवस्था परिवर्तन हुनु पर्छ भनेर आन्दोलित पनि भएका छन् । विषयगत केन्द्रीय संघ, प्रदेशसंघ र जिल्ला संघहरुले बचत तथा ऋण कारोबार गर्ने प्रारम्भिक संस्थाहरुको विकास, प्रवद्धर्न तथा क्षमता बृद्धिका क्रियाकलाप मात्र गर्ने र आफैले चाहिँ बचत तथा ऋण कारोबार गर्नै नपाउने भनेको छोराछारीलाई अंग्रेजी पढाउनु पर्छ तर आफैले चाहिँ अंग्रजी पढ्न र सिक्नु हुँदैन भनेको जस्तै भयो । यस्तो खालको कानूनी व्यवस्था परिवर्तन हुनु पर्छ ।

यति भन्दै गर्दा के पनि साँचो हो भने, बैंक तथा अन्य वित्तीय संस्थाहरुले वित्तीय कारोबार गर्दा अपनाउने पद्दति, सेवाको गुणस्तर, डकुमेन्ट भेरीफीकेशन लगायतका तरिकाहरु सहकारीका छातासंघहरुले अपनाउन वा कार्यन्वायन गर्न सकेको भने छैनन् । यसमा सुधार ल्याउन जरुरी छ । वित्तीय कारोबारमा सिमितता आएता पनि स्थानीय निकाय अन्तर्गत सहकारी प्रवर्धनका क्रियाकलाप गर्न वर्षेनी निश्चित बजेट व्यवस्था हुने भएकोले स्थानीय निकायको सहकार्यमा सहकारी प्रवर्धनका काम गर्दै अगाडि बढ्ने प्रशस्त सम्भावना देखेको छु । त्यहि भएर पनि बचत संघमा आएको हुँ ।

अन्य संस्थाहरुमा सदस्यताका लागि संस्थाले अनुरोध गर्नुपर्ने अवस्था छ भने चन्द्रागिरिमा सदस्य बन्न पाउँ भनी फारम भर्ने व्यक्तिहरुको चाप बढी छ । साथै चन्द्रागिरि उच्च शिक्षा छात्रबृत्तिकोष सञ्चालन गरेर कार्यक्षेत्र भित्रका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई संस्थाले सामुदायिक स्कुल तथा कलेजहरुमा अध्ययन गर्न जनही रु १० हजारका दरले प्रत्येक वर्ष १० जोड २ देखि स्नातकोत्तर सम्मको लागि छात्रबृत्ति दिने गरेको छ । वार्षिक ५०-६० जनाले अहिले यो सुविधा पाउने गरेका छन् । यो एउटा नयाँ प्रयास हो ।

सिईओको रुपमा आफूलाई 'अपडेट' र 'अपग्रेड' कसरी गरिरहनुहुन्छ ?
सहकारीकर्मीको दैनिक कार्य पनि एउटा सिकाइ नै हो । हुन त यो सबै क्षेत्रमा लागु हुने कुरा हो । आफूलाइ 'अपडेट' राख्न मौका मिले सम्म सहकारी सम्बन्धी अध्ययन गर्छु । सहकारीका अग्रजहरु र सहकर्मी साथीभाइहरुसँग राय सुरझाव लिन्छु । यसरी आफूले भ्याएँ र भेटेसम्मका सामाग्री अध्ययन, छलफल र देखेसुनेको अन्य सहकारीका असल अभ्यासहरु समेतको आधारमा निरन्तर नयाँ प्रायेगहरु गर्दै गए पछि आफै 'अपग्रेड' भइन्छ जस्तो लाग्छ ।

537478691_1309401180824635_2155721086900742409_n.jpg
नियुक्ति पत्र बुझ्दै धौबञ्जार

सहकारी अभियानकै अन्य सिईओको तुलनामा आफूले सिक्नुपर्ने कुराहरु के हुन् जस्तो लाग्छ ? के गर्न पाए हुन्थ्यो भन्ने लाग्छ ?
अघि भने जस्तै, मान्छले सास रहे सम्म नयाँ कुरा सिकिनै राखेको हुन्छ । सहकारी अभियानमा सुपर सिईओ, उत्कृष्ट सिईओको उपाधि प्राप्त गरेका सफल सिईओहरु पनि छन । सबैले अवलम्बन गर्ने विधि भनेको अध्ययन, अनुसन्धान र नयाँ प्रयोगकै विधि हो जस्तो लाग्छ । मैले गर्नु पर्ने पनि त्यहि नै हो ।

तर नेपालको परिवेशमा इमान्दारी साथ काम गरेर मात्र पुग्दैन । अलिअलि राजनितिक प्रभाव पनि पर्दो रहेछ । देश अनुसार भेष भने जस्तै अब नेपालको हरेक क्षेत्रमा राजनितिक रंग घुसी सकेको छ । सहकारीमा धेरै सिईओहरुले राजनीति झेल्छन् तर भोलि आफूलाई अफ्ठयारो पर्ला भनेर खुलेर विरोध गर्दैनन् । रचनात्मक तवरले राजनीतिक प्रभावको विरोध गर्ने कला मैले सिक्नु पर्ने मुख्य विषय हो । सफल सिईओहरुले यो कुरा बुझी त्यही अनुसार अगाडि बढ्छन् । मेरो चाहना चाहिं राजनितिक रंग रहित विशुद्ध सहकारीकर्मी सिईओ बन्न पाए हुन्थ्यो भन्ने हो ।

सहकारी क्षेत्रका व्यवस्थापकहरुको सीप तिर्खान के गर्नुपर्छ ?
असल सहकारी अभ्यास नै व्यवस्थापकहरुको सीप तिखार्ने औजार हो जस्तो लाग्छ । अघि भने जस्तै अध्ययन र नयाँ प्रायोगहरु जसले व्यवस्थापक आफैलाई र आफ्नो टिमलाई अगाडि बढाउँछ । त्यस्ता नयाँ प्रयोग गर्ने जोखिम लिएर व्यवस्थापकहरुको सीप तिखार्न सकिन्छ ।

व्यवस्थापन प्रमुखलाई २४ घन्टे कर्मचारी भन्ने गरिन्छ । कुनै पनि सहकारीको व्यवस्थापन प्रमुखको जिम्मा पाएको व्यक्तिले २४ घन्टा नै सहकारीको बारेमा चिन्तन मनन गरेको हुन पर्छ । व्यवस्थापन प्रमुखका काम भनेका १०-५ को मात्र काम होइन । व्यवस्थापन प्रमुखको रुपमा सहकारी अभियानमा लागि सकेपछि १०-५ को रुटिन फलो गरेर बिहान बेलुका गैर सहकारी काम गर्ने गरेको खण्डमा उसको पूर्ण क्षमता सहकारी अभियानले प्रयोग गर्न पाउँदैन । त्यसैले सहकारी क्षेत्रका व्यवस्थापकहरुको सीप तिखार्ने पहिलो र अन्तिम औजार भनेको उनीहरुमा गरिने लगानी हो जस्तो लाग्छ । बाँकी अरु त तपशिलका कुरा हुन, क्रमशः मिल्दै जान्छन् ।

धादिङ बचत संघमै जानुको केही विशेष कारण ?
धादिङ बचत संघलाई अहिले एकजना समर्पित र योग्य व्यवस्थापन आवश्यकता परेको थियो , त्यही भएर म यता आएँ । अनि काठमाडौंबाट नजिकै पनि भएकोले हो । 

धादिङ बचत संघको अवस्था के छ र तपाईको नेतृत्वमा अब के गर्ने र कहाँ पुर्याउने योजना छ ?
संघको अवस्था सामान्य छ, बचत ऋणको कारोबारमा सीमा तोकेपछि पनि संस्थाहरुले बचत संघमा निरन्तर बचत गर्दै आउनु भा छ । यो राम्रो पक्ष हो । संघहरुलाई कारोबारको आकार बढाउन प्रारम्भिक संस्थालाई भन्दा अलि सजिलो र छिटो हुने रहेछ । किन भने थोकमा बचत जम्मा हुने भयो । हालको अवस्थामा संघहरुमा अत्यधिक बचत र न्युन ऋण लगानीको समस्या छ ।

संघमा आउनुको मेरो योजना भनेको बचत संकलन र ऋण परिचालनको असन्तुलन मिलाउनु हो । अनि धादिङ जिल्लामा २ वटा नगरपालिका र ११ वटा गाउँपालिका गरी १३ वटा स्थानीय निकायहरु रहेका छन्, ती सबैसँग सहकार्य गरी जिल्लामा रहेका बचत तथा ऋण सहकारीहरुको प्रवर्धन गर्दै जिल्ला बचत संघलाई प्रारम्भिक संस्थाहरुको अभिभावकको रुपमा स्थापित गर्ने योजना रहेको छ ।

अबको ५ वर्षपछि कबिन्द धौबन्जारलाई हामी कहाँ पाउँछौं ?
अबको ५ वर्षमा नेपालको सहकारी क्षेत्रमा आकाशै पल्टिने खालको परिवर्तन त नहोला । किनभने, सहकारी क्षेत्र सुध्रिन अभियन्ता, सहकारीकर्मी र सबै भन्दा महत्वपूर्ण बचतकर्ता सदस्यहरु सुध्रिनु पर्छ । सदस्यहरुले बढी व्याजको लोभमा नपरी गलत सहकारी अभ्यास गर्नेहरुलाई सामाजिक तवरबाटै बहिस्कार गर्नु पर्छ । सहकारी क्षेत्रमै लागेर आफूले मनग्य कमाए पछि सहकारी सुध्रेन अब सुध्रिनु पर्छ भन्ने जमातको अगुवाइमा सहकारी अभियान अगाडि बढ्छ भन्ने भ्रममा हामी छौं । त्यही भएर अबको ५ वर्ष पछि पनि कवीन्द्र नेपालकै कुनै प्रारम्भिक सहकारी वा संघमै बसेर अभियानलाई शुद्धिकरण गर्ने कार्यमै लागि राखेको पाउनु हुनेछ ।

मुलुकको सहकारी क्षेत्रको व्यवस्थापनका मुख्य समस्याहरु, मुख्य कमजोरीहरु के हुन् र तिनको समाधान के कसरी सम्भव छ ?
मैले अघिनै भने, नक्कली अभियन्ता, राजनीतिक प्रभाव, स्वार्थी बचतकर्ता सदस्यहरु र यी सबै थाहा पाइ पाइ पनि यसको खुलेर विरोध गर्न र समाधान तिर लान नचाहने सहकारीकर्मी सबै सहकारी क्षेत्रका समस्या र कमजोरीहरु हुन । त्यसको समाधन गर्न सबै इमान्दार भइ लाग्नु पर्छ । यति भएमा हामीले दिनरात भन्ने गरेका सयौ समस्याहरु क्रमशः समाधन हुँदै जान्छ ।

तपाईको विचारमा एउटा राम्रो दिगो र व्यावसायिक सहकारी भनेको के हो ? वा माथि भनिएको जस्तो सहकारी बन्न के के कुरा आवश्यक छ ?
सहकारी भनेको अन्य व्यवसाय भन्दा फरक हो । यसमा व्यावसायिकता, सेवा, सहयोग, वित्तीय, गैर वित्तीय, कानुनी, व्यावहारिक सबै फ्लेवर पाइन्छ । यसले मासु चाहिनेलाई मासु र झोल चाहिनेलाई झोल दिन सक्नु पर्छ । कडा कानुन मात्र भएर पनि हुँदैन, कानुनै भएन भने त झनै बिग्रिने भयो । तर भनिन्छ नि नियतलाई नीतिले बाँध्न सक्दैन । राम्रो र दिगो व्यावसायिक सहकारी बनाउन व्यवस्थापनका सिद्दान्त र सहकारीका सिद्दान्त थाहा भएर मात्र पुग्दैन ।

अहिलेको सहकारीको समस्या भनेकै आफु अनुकुल हुँदा नियम मान्ने र प्रतिकुल हुँदा कानुनको छिद्रहरु प्रयोग गर्दै स्वार्थ पुरा गर्ने प्रबृति हो । यो दोधारे चरित्रले नै अहिले सहकारीहरुलाई असफल बनाइ राखेको छ । यसमा आबद्ध सबै पक्षहरु इमान्दार हुनुको विकल्पनै छैन । सदस्य, सञ्चालक, कर्मचारी र नियामक निकाय सबै इमान्दार हुनु पर्छ ।

सहकारीका सदस्यहरुको बुझाइ पनि परिवर्तन गर्न जरुरी छ । सहकारी स्वभावैले व्यबहारमुखी हुन्छ जसको गलत फाइदा पनि यदाकदा कसैकसैले लिने गरेको छ । मेरो सहकारी भन्दै बचत फिर्ता गर्दा होस वा ऋण लगानी गर्दा होस आजको आजै पुर्यानु पर्ने प्रकृया र कागजात भोली गर्छु/दिन्छु भन्दै सजिलो तवरबाट सेवा लिन खोज्छौं ।

सदस्यलाई सजिलो बनाउने नाउँमा भोलि प्रकृया नपुगी कारोबार सम्पन्न भइ कानुनी जोखिम बढ्यो भने त्यसको जिम्मेवारी काम गर्ने कर्मचारी आफैको हुन्छ । यसरी सदस्यले मेरो सहकारी भन्दै प्रकृया पुरा नगरीकनै सेवा लिई संस्थालाई कानुनी रुपमा कमजोर बनाउने परिपाटी हटाउनु पर्छ, यसमा सदस्य र व्यवस्थापन दुबै सचेत हुनुपर्छ । अनि त्यस पछि मात्र व्यावसायिक रुपमा दिगो र सफल सहकारीको कल्पना गर्न सकिन्छ ।

तर नेपालको परिवेशमा इमान्दारी साथ काम गरेर मात्र पुग्दैन । अलिअलि राजनितिक प्रभाव पनि पर्दो रहेछ । देश अनुसार भेष भने जस्तै अब नेपालको हरेक क्षेत्रमा राजनितिक रंग घुसी सकेको छ । सहकारीमा धेरै सिईओहरुले राजनीति झेल्छन् तर भोलि आफूलाई अफ्ठयारो पर्ला भनेर खुलेर विरोध गर्दैनन् । रचनात्मक तवरले राजनीतिक प्रभावको विरोध गर्ने कला मैले सिक्नु पर्ने मुख्य विषय हो । सफल सिईओहरुले यो कुरा बुझी त्यही अनुसार अगाडि बढ्छन् । मेरो चाहना चाहिं राजनितिक रंग रहित विशुद्ध सहकारीकर्मी सिईओ बन्न पाए हुन्थ्यो भन्ने हो ।

सहकारी क्षेत्रमा तपाईंको प्रवेश कुन मितिमा कुन संस्था र कुन भूमिकाबाट कसरी भएको थियो ?
मिति त ठ्याक्कै याद भएन, तर २०६६ साल तिर मेरै टोलको निरपुर गणेस बचत तथा ऋण सहकारी संस्थामा लेखापालको भूमिकाबाट शुरु गरेको थिएँ । संस्था स्थापनाकालबाटै त्यहाँ सेवा प्रवेश गरेको थिएँ र पछि व्यवस्थापकको भुमिका पनि निभाएँ ।

त्यसपछि कुन कुन संस्थामा कुन कुन भूमिकामा कति समय काम गर्नुभयो ?
शुरुको संस्थामा झन्डै ४ वर्ष जति काम गरेँ, त्यस पछि म केही वर्ष वैदेशिक रोजगारीमा बिताएँ । म बिदेशमा रहँदा २०७२ सालमा नेपालमा भुकम्प गयो । भुकम्पबाट मेरो पनि घर भत्कियो । बिदा लिएर घर आएँ । त्यही बेला नयाँ घर बनाउने तरखर गर्दागर्दै बिदा पनि सकियो र पछि जाँदै गइनँ , नेपालमै बसेँ ।

२०७२ सालमा कालीमाटीको तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थामा पनि व्यवस्थापकको रुपमा दुई–तीन हप्ता काम गरेको थिएँ । त्यहाँ काम गर्दैगर्दा लघुवित्त संस्थामा काम गर्ने अवसर आयो  र काभ्रेमा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्त वित्तीय संस्थामा २ वर्ष उप-कार्यक्रम संयोजकको रुपमा काम गरेँ ।

२०७५ साल भाद्र देखि आफ्नै जिल्ला भक्तपुरमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्थामा व्यवस्थापकको रुपमा करिब ५ वर्ष काम गरेँ । पछि २०७९ साल देखि चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थामा नायव प्रमुख कार्यकारीमा २०८२ असार सम्म काम गरेँ । त्यसपछि भर्खरै २०८२ भाद्र ४ गत देखि धादिङ बचत तथा ऋण सहकारी संघमा प्रमुख व्यवस्थापकको रुपमा कार्यरत छु ।

तपाईंले लिएका मुख्य तालिमहरु के के छन् ?
सहकारीमा काम गर्दै गर्दा धेरै तालिमहरु लिइयो । मुख्य मुख्य तालिमहरुको बारेमा भन्नु पर्दा २ पटक सियुडिसीसी, SACCOS SUMMIT, CEO SUMMIT जस्ता कार्यक्रममा सहभागिता, गरिबी विरुद्ध वित्तीय साक्षरता प्रशिक्षक प्रशिक्षण तालिम, सहकारीको प्रडक्ट डिजाइन, 3P (Policy, Planning and PEARLS), Transformational Technologies of Life and Performance Training, NFRS सम्बन्धी तालिम, सहकारी व्यवस्थापन तालिम, लेखा व्यवस्थापन तालिम लगायत लिएको छु ।

सहकारी सम्बन्धी अन्तर्राष्ट्रिय सिकाइ वा तालिमका केही अवसर प्राप्त भए कि ? कतै तालिम वा सिकाइमा विदेशतिर जानुभयो कि ?
अँह, विदेश जाने अवसर अहिले सम्म प्राप्त भएको छैन ।

अन्त्यमा केही भन्नुछ कि ?
म भक्तपुर जिल्लाबासी, यहाँका स्थानीयहरुले सञ्चालन गरेको सहकारीहरुको सदस्य मैत्री क्रियाकलापहरुसँग अभ्यस्त थिएँ, अहिले पनि छु । मैले पहिला काम गरेको सामूहिक साकोस पनि ती नै समुदायबाट सञ्चालित भएको एउटा प्रतिष्ठित संस्था हो । तर सबै संस्थाहरु सहकारीको मर्म अनुसार सञ्चालन हुँदैनन् । विगत ३–४ वर्षको अन्तरालमा सहकारीहरुमा समस्य देखिन थाले । ठुला कारोबार गर्ने सहकारी संस्थाहरु एक पछि अर्को गर्दै समस्यामा परेको त सबैलाई थाहै छ । 

अर्थतन्त्रको तीन खम्बा मध्येको एक खम्बा सहकारी । सहकारीको समस्या सामधान गर्न बनेको संसदीय समितिको प्रतिवेदनमा भनिए जस्तै अर्थतन्त्रको तीन खम्बाहरुमा नीजी क्षेत्र फलामको खम्बा, सार्वजनिक क्षेत्र काठको खम्बा र सहकारी क्षेत्र बाँसको खम्बाको रुपमा रहेको छ । तीनवट खम्बाले थेग्नु पर्ने भार सहकारी क्षेत्रको कमजोर बाँसको खम्बा कोल्टे पर्दा सबै भार खेप्नु पर्ने अत्यन्तैे पिडादायी अवस्था छ ।

सहकारी क्षेत्रको समस्या समाधान गर्न इमान्दार भएर नलागे सम्म केही सुधार हुनेवाला छैन । नियामक निकाय देखि सहकारी अभियान्ता र बचतकर्ता सदस्यहरु सबैमा इमान्दारी कायम रहोस् र छिटै सहकारी क्षेत्रले पनि नीजी क्षेत्रको जस्तै फलामको खम्बाको रुपमा अर्थतन्त्रको जिम्मा लिन सकोस भनि शुभकामना दिन चाहन्छु । 

535674738_1309401177491302_274350974136642501_n.jpg
बचत संघका पूर्व व्यबस्थापकबाट बधाई शुभकामना लिदैं धौबञ्जार

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार