Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

'अर्को वर्षसम्ममा एक हजार सहकारीलाई सेवा दिनेछौं'

'अर्को वर्षसम्ममा एक हजार सहकारीलाई सेवा दिनेछौं'

स्थापनाको तेस्रो वर्षमै करिब पाँच सय सहकारीका २ लाखभन्दा बढी सदस्यहरु देवन सफ्ट प्रा.लि. ले विकास गरेको  ‘आईस्मार्ट’ मोबाईल बैंकिङ एपसँग जोडिएका छन् । डिजिटल सहकारीको आफ्नो परिकल्पना साकार पार्ने दिशामा देवन सफ्ट प्रा.लि. ले यसलाई आफ्नो एउटा कोशेढुङ्गा मानेको छ । विशुद्ध सहकारीहरुका लागि लक्षित गरी विकास गरिएको ‘आईस्मार्ट एप’ आईओएस र एन्ड्रोईड दुबै भर्सनमा उपलब्ध छ । जुनसुकै कोर बैंकिङ सिस्टम प्रयोग गर्ने सहकारीहरुले यसको सेवा लिन सक्छन । हाल ४० वटा कोर बैंकिङ सफ्टवेयर प्रयोग गर्ने सहकारीले आईओएस ९००१ र २७००१ प्रमाणित यो कम्पनीको सेवा लिइरहेका छन् । 

बैंकहरुबाट रकम ट्रान्सफर मात्रै नभई बैंकहरुको खाताबाट पनि सिधै सहकारीको खातामा बिना झन्झट सिधै र सजिलै रकम ट्रान्सफर गर्न सकिन्छ । हाल कृषि विकास बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक, लक्ष्मि सनराईज बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक र मन्जुश्री फाइनान्सबाट सिधै सहकारीको खातामा रकम ट्रान्सफर गर्न मिल्छ । सहकारीका सदस्यहरुले विभिन्न सरकारी भुक्तानी, विजुली, खानेपानी, हवाई तथा बसको टिकट, मोबाईल टपअप, टिभी तथा इन्टरनेटको रकम भुक्तानी गर्न सक्दछन् । साथै ब्रोकर पेमेन्ट, बीमाको रकम भुक्तनी, कनेक्ट आईपीएस, वालेट लोड समेत सरल, सहज र सुरक्षित तवरले गर्न सक्छन् ।

यसका साथै एसएमएस बैंकिङ, एटीएम, मिस्डकल बैंकिङ, ट्याबलेट बैंकिङ, रेमिटेन्स र इन्टरनेट बैंकिङ सेवा पनि उपलब्ध छ ।  यसैबीच, धिप्री डटकमले कम्पनी र सहकारी क्षेत्रको सम्बन्ध, व्यवसाय, रणनीति आदि विविध विषयमा देवन सफ्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनसँग कुराकानी गरेको छ । प्रस्तुत छ उक्त अन्तर्वार्ताको सम्पादित अंश:

तपाईहरुको पछिल्लो अवस्था कस्तो छ ?
सबैभन्दा पहिले प्रष्ट पारौं, आईस्मार्ट एउटा डिजिटल प्ल्याटफर्म हो । यस भित्र एसएमएस, मोबाईल बैंकिङ, कलेक्टर एप, एटिएम कार्ड, इन्टरनेट बैंकिङ सेवा पर्दछन् । हाम्रो अहिलको अवस्था भन्नुपर्दा, तीन वर्षअघि १ करोड लगानीबाट शुरु गरेको कम्पनीको वार्षिक कारोबार अहिले १० करोड हाराहारी छ । २५ जना कर्मचारी छन् । ६३ जिल्ला हाम्रो कभरेज छ । ४०८ सहकारीमा सेवा सुरु भैसकेको छ भने सम्झौता ५ सय सहकारीसँग भएको छ । र, अर्को भनेको नेपालका ब्राण्डेड सहकारीहरुले पनि हाम्रो सेवा लिएका छन् । भक्तपुर बचत तथा ऋण सहकारी, किसान कल्याण, अजम्बरी, सदस्य सेवा लगायत काठमाडौं, चितवन, पोखराका धेरै सहकारी हामीसँग जोडिएका छन् ।

सहकारी क्षेत्रलाई नै किन रोज्नुभयो सेवाका लागि ? 
मैले २००७ मा आईटीमा स्नातक सकेँ । त्यसपछि लगभग आठ वर्ष सनराईज, प्राईम बैंक, निर्धन उत्थान लघुवित्त लगायतमा काम गरेँ । । निर्धन उत्थानको आईटी टिम, डिजिटल बैंकिङको लिड गर्ने जिम्मेवारीमा थिएँ । बैंकिङमा डिजिटल बैंकिङ थियो तर सहकारीमा थिएन । बैंक तथा वित्तीय संस्था र सहकारीमा ग्याप देखेँ । अहिले पनि धेरै सहकारीले डिजिटल बैंकिङ सुरु गरेका छैनन् । त्यतिबेला केही सहकारीले मात्रै डिजिटल बैंकिङ सुरु गरेका थिए  । तर, उनीहरु भेण्डरसँग भर पर्दथे । छुट्टै सर्भर, स्टाफ, धेरै लगानी गर्नुपर्ने अवस्था थियो । लगानी धेरै गर्नसक्ने अवस्थामा सहकारीहरु थिएनन् ।

बैंक छाडेर अर्थ मोबाईल बैकिङ कम्पनीमा काम पनि गरेँ । त्यो भारतीय कम्पनी थियो । उनीहरु नेपाल आएर १ सय १० जति सहकारीमा मोबाईल बैंकिङ सेवा दिइरहेका थिए । उनीहरुले पनि त्यति राम्रो सर्भिस दिन सकेनन् । त्यसपछि हामी आफै किन नगर्ने भन्ने सोच आयो । सहकारीहरुलाई नै सेवा दिनेगरी एक जना पार्टनरसँग मिलेर एउटा कम्पनी खोल्यौं । त्यो कम्पनीमा आठ वर्ष काम गरेँ र अहिले छाडेको तीन वर्ष भयो । त्यसपछि आईस्मार्ट खोल्यौं ।

DSC07474_11zon.jpg
देवन सफ्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जन

सहकारीको बजार कस्तो छ ?
बजार निकै राम्रो छ । ३० हजार बढी सहकारी छन् । बैंक तथा वित्तीय संस्था केही सयको संख्यामा छन् । तर सहकारी हजारौं छन् । अधिकांशले बचत तथा ऋणको कारोबार गर्दछन् । सहकारी क्षेत्र यति ठुलो छ की एक सय भेण्डर आए पनि पर्याप्त विजनेश पुग्छ । हामीले ५० वटा सीबीएससँग सहकार्य गरेर डिजिटल बैंकिङ सेवा प्रवाह गरिरहेका छौं । म एउटाले मात्रै सबै गर्छु भनेर सम्भव हुँदैन । सबैजना मिलेर नै काम गर्ने हो । जति धेरै कम्पनी बढ्यो त्यति नै राम्रो प्रडक्ट र सर्भिस पाउँछन् । 

बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ र आईस्मार्ट बीच तुलना गर्दा आईस्मार्टलाई कहाँ पाउँछौं ?
बैंकमा भएको सम्पूर्ण सर्भिस आईस्मार्टमा छ । एउटा भर्चुअल कार्ड भने हामी इस्यु गरेका छैनौं । त्यो बाहेक सम्पूर्ण सर्भिस आईस्मार्टमा छ । अहिले सहकारीको मोबाइल बैंकिङ बैंकहरुसँग नै प्रतिस्पर्धा हुने हो । बैंकको भन्दा २, ४ वटा फिचर सहकारीको बढी नै हुन्छ । सहकारीको एपमा रकम लोड गर्न मिल्छ, बैंकमा ट्रान्सफर नै गर्नु पर्ने हुन्छ । बैंकहरुको क्यूआर आउन निकै समय लाग्छ तर सहकारीको दुई दिनमै आउँछ । 

डिजिटल प्ल्याटफर्ममा सहकारी जोडिन कति खर्च गर्नुपर्छ?
प्रविधिको कस्ट छैन । यो प्रविधि २ रुपैयाँमा पनि बेच्न सक्नुहुन्छ २ करोडमा पनि । प्रविधिको मूल्य निर्धारण स्वंयम सहकारीले गर्ने हो । सदस्यलाई मोबाईल बैंकिङ एक सयमा दिने की एक हजारमा दिने त्यो निर्धारण आफैले गर्ने हो । बैंकले लाखौं खर्च गर्ने प्रविधि सहकारीले एक सयमा पाएको छ । बैंकहरुले त्यहि प्रविधि डाटा सेन्टर बनाएर वार्षिक करोडौं खर्च गर्छन् । तर सहकारीले त्यसो गर्न सक्दैन । हामीले मुख्य कुरा भनेको नम्बर आफ युजर बढाउनु पर्छ । एउटा सहकारीमा कमसेकम २ सय युजर हुन्छन् । त्यो भनेको वर्षको २० हजार हो । 

सहकारीका सदस्यहरु प्रविधिमैत्री छैनन् भन्छन् नी ?
अहिले त्यस्तो छैन । धेरै सदस्यहरु प्रविधिमा अभ्यस्त नै छन् । सहकारीहरु पनि प्रविधिमा नजानुको कुनै विकल्प छैन । सहकारीहरु आफै खोजी खोजी आइरहेका छन् । सहकारीका सञ्चालकहरु र व्यवस्थापनलाई पनि सदस्यको दबाव छ । गाउँ गाउँका सहकारीहरुका सदस्यमा केही समस्या पक्कै छ तर शहरमा त्यस्तो छैन । विस्तारै सहकारीले कलेक्टर हटाउँदै जानुपर्छ । सदस्यहरुको पसल पसलमा क्यूआर पुर्याउन जरुरी छ । सदस्यबाट दैनिक एक हजार आउने पैसा क्यूआरबाट सयौं गुणा बढी कलेक्सन हुन्छ । 

सहकारीका सदस्यहरुलाई प्रविधिमैत्री बनाउन यहाँहरुको भूमिका के हुन्छ?
सहकारीका सदस्यलाई डिजिटल साक्षरता जरुरी छ । जबसम्म साक्षर हुँदैन तबसम्म हाम्रो व्यवसाय नै चल्दैन । मोबाईल बैंकिङ कसरी चलाउने, यसको फाइदा र बेफाइदाका बारेमा सिकाउनै पर्छ । हाम्रो अधिकांश समय यसैमा ट्रेनिङ मै जान्छ । सहकारीका कर्मचारी, सञ्चालक, सदस्यहरु सबैलाई ट्रेनिङ प्रदान गर्दै आएका छौं । सहकारी स्वंयमले पनि ट्रेनिङ गर्दै आएको छ ।

सहकारीहरुलाई प्रविधिमा ल्याउन निजी क्षेत्रकै महत्वपूर्ण भूमिका छ । सहकारी अभियानका उच्च निकायहरुबाट कत्तिको साथ, सहयोग पाउनु भएको छ?
उहाँहरुबाट साथ, सर्पोट पाएको पनि छैन, आशा पनि गरेका छैनौं । उहाँहरुले हामी जस्ता कम्पनीलाई सशक्त बनाउनुपर्ने हो तर प्रतिस्पर्धी बन्नुहुन्छ ।

DSC07476_11zon.jpg
देवन सफ्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जन

अबको चुनौती के देख्नुभएको छ ?
मुख्य चुनौती भनेको कर्मचारी हो । प्रविधिलाई निरन्तरता दिन कर्मचारी चाहिन्छ । कर्मचारीलाई टिकाई राख्नु मुख्य चुनौती हो । विदेश जाने ट्रेन्ड जस्तो चलेको छ । विदेश गएर भाडा माझ्न तयार हुने तर नेपालमा काम गर्न मानिसहरु तयार छैनन् । कम्पनीहरुको पनि कमजोरी छ । म एउटा आईटी इन्जिनियर र उद्यमी गाडी चढेर हिँड्छु । मैले मेरो कर्मचारीहरुलाई पनि त्यो लेबलमा पुर्याउनु सक्नुपर्छ । हामी तेस्रो वर्षमा छौं । त्यो लेबलमा पुर्याउने हाम्रो सोंच छ । त्यो दिन नसकेपछि नेपालमा मान्छे किन बस्छ त । बर्षौसम्म काम गर्ने अनि मेरो लेबलमा पुगेन भने तर छोड्छ त । मैले पनि हिजोका दिनमा बैंक छाडेको हुँ । 

सहकारीको नजरबाट हेर्दाको चुनौती के देख्नुहुन्छ ?
सहकारीको साईडबाट पनि कर्मचारी नै हो । सहकारीमा पनि ३, ४ महिनामा कर्मचारी चेन्ज भईरहन्छन् । हामीले तालिम दिइरहनुपर्ने हुन्छ । राम्रा कर्मचारी बैंक, अन्य राम्रा सहकारीमा जान्छन् । मुख्य कुरा भनेको ट्रेनिङ हो । प्रविधि कसरी चलाउने भनेर महिना महिनामा र आवश्यक पर्दा जुनसुकै समयमा पनि ट्रेनिङ दिइरहेका हुन्छौं । 

आईस्मार्टको अबको रणनीति के हो ?
हामी सहकारीमा मात्रै केन्द्रीत छौं । हाम्रो स्लोगन ‘अबको सहकारी, डिजिटल सहकारी’ हो । अर्को वर्षसम्म हामी १ हजार सहकारीलाई सेवा दिनेछौं । एउटा कम्पनी दिगो र व्यावसायिक उन्मुख हुन कम्तिमा एक सय सहकारी संस्था चाहिन्छ । हामी कस्टमा तलमाथि गर्दैनौं । अबको पाँच वर्षमा पनि रेट उही नै हुन्छ । अझ भन्ने हो भने, टेक्नोलोजी त सस्तिदै जान्छ । 

प्रविधि सेवा प्रदायक कम्पनीहरु बीच अस्वस्थ प्रतिस्पर्धा छ भन्छन् नि ?
हामीले ग्राहकलाई रोकेर रोक्न सक्दैनौं । हामीले सर्भिस दिने हो । जसले राम्रो सर्भिस दिन्छ, ग्राहक उसैकोमा जान्छ, त्यो स्वाभाविक हो । एउटाबाट अर्कोमा जाँदा केही न केही कस्ट आउँछ । ग्राहकले केही नदेखिकन अर्कोमा सिफ्ट हुँदैन । हामीले ग्राहक तान्नेभन्दा पनि आउने हो । हिजोका दिनमा विकल्प कम थिए ग्राहक सिफ्ट हुँदैन थिए, आज विकल्प धेरै छन् ग्राहकहरु सिफ्ट भैहाल्छन् । यसलाई अस्वस्थ प्रतिस्पर्धा भन्न मिल्दैन । 

अन्त्यमा, कम्पनीको नाम चाहिँ कसरी जुर्यो ?
मैले जति पनि कम्पनीमा काम गरेँ । तिनले आईफोनमा एप दिएका थिएनन् । अहिले पनि कतिपय कम्पनीहरुले आईफोनमा एप दिएका छैनन् । मलाई, त्यही कमजोरीलाई आफ्नो स्ट्रेन्थ बनाउनु थियो । पहिलो सेवा चाहिँ आईफोनबाटै दिन्छु भन्ने लाग्यो । नयाँ कम्पनी सुरु गरेँ । आईफोनबाट सेवा सुरु गरेपनि एन्ड्रोइड एप पनि निमार्ण गरेर सेवा सुरु गर्यौं । आईफोनको ‘आई’ लियौं र प्रविधि भनेकै स्मार्ट बनाउन भएकाले यो शब्द पनि जोडेर ‘आई स्मार्ट’ नाम राख्यौं ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार