Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
स्वमूल्याङ्कनको कसीमा ऋषि

घिमिरेले फ्याट्टै भने, ‘त्यो भन्दा बढी अंक दिन मिल्दैन’

घिमिरेले फ्याट्टै भने, ‘त्यो भन्दा बढी अंक दिन मिल्दैन’

काठमाडौं । नेपालको सहकारी अभियानका ‘क्लिन, क्लियर र क्यारिस्मेटिक क्याम्पेनर’ मानिन्छन्-ऋषिराज घिमिरे । तीनवटै विशेषण उनका लागि आजपर्यन्त बोझ बनेका छैनन् । कमैले मात्र घिमिरे ‘कस्मेटिक’ अनुभूत गर्छन् ।

सुशासन (मूलतः वित्तीय पारदर्शिता र पदीय आचरण) का दृष्टिले अहिलेसम्म सार्वजनिक रुपमा खोट नलगाइएकोले उनी स्निग्ध छन् । 

मनमा लागेका कूरा स्पष्ट राख्न सक्छन्, राख्छन् र धेरै हदसम्म उनका कुराहरु श्रुतिमधुर हुन्छन् पनि । त्यसैले उनी स्पष्ट छन् । 

र, ‘क्यारिस्मेटिक’ यसर्थमा कि उनको चामत्कारिक लीडरशीप व्यक्तित्व र ‘औरा’ कसैबाट छिपेका छैन । 

सायदै यीनै विशेषणहरुको बलमा हुनुपर्छ, नेफ्स्कूनको एक कार्यकाल अध्यक्ष भइ योगदान दिएका घिमिरे एशियाली ऋण महासंघ (अकू) को पनि अध्यक्ष बने । र, यो सौभाग्य प्राप्त गर्ने उनी नेपालका हालसम्मका एकमात्र बचत तथा ऋण सहकारी अभियन्ता हुन् । 

लामो समय नेपालको सहकारी अभियानमा समय, शक्ति र सामर्थ्य खर्चेर तुलनात्मक रुपमा स्वच्छ छवि आर्जन गरेका घिमिरेले आफ्नो प्रारम्भिक संस्था बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.मा समेत १० वर्ष अध्यक्षको रुपमा नेतृत्व गरे । पछिल्लो ४ वर्षे कार्यकाल पूरा गरेर नयाँ सञ्चालक समितिलाई जिम्मेवारी हस्तान्तरण गरी उनी स्वयंसेवी भूमिकाबाट समेत निवृत्त भएका छन् । 

बाबियाखर्क साकोसको सञ्चालक समितिबाट २०८२ कार्तिक २९ गतेबाट घिमिरेले बिदाइ लिएका हुन् । दुई पटक (एक पटक लगातार दुई कार्यकाल र पछिल्लो एक कार्यकाल) गरी १० वर्ष साकोसको अध्यक्ष बनेका उनले संस्थाको २९ औ वार्षिक साधारणसभाबाट भने सञ्चालकीय जिम्मेवारीबाट अन्तिम पटक ‘गुडबाइ’ भनेको बताए । 

‘यो मेरो अन्तिम बिदाइ हो, ’ हिजो मध्यान्ह धिप्री डटकमसँगको बसाइमा उनले स्पष्टसँग भने, ‘बाबियाखर्कमा मात्र होइन, सहकारी अभियानमै पनि अब कुनै लामो पदीय जिम्मेवारीमा बस्दिनँ । अफर आएपनि जान्न ।’

‘अब, कुनै नियुक्ति ?’ मेरो प्रश्न मुखबाट झर्न नपाइ उनले भने , ‘अब कही जान्न । ७२ पूरा भएर ७३ वर्ष लागेँ । अब बुढेसकालको जीवन जीउने । थप सक्रियता देखाउन हुँदैन । अहिलेसम्म भगवानको कृपाले राम्रै छ । बेदाग छु । त्यसैले अफर आएपनि जान्न ।’ यद्यपि, अल्प अवधिको कुनै विशेष भूमिका आवश्यक भएमा सोच्न सकिने उनले जनाए ।

बाबियाखर्कबाट बिदा हुँदै गर्दा खुसी लागेको उनले प्रतिक्रिया दिए । जानेबुझेर मनखत हुने कुनै काम नगरेको भन्दै संस्थालाई सही र सबलांग हिसाबमै नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गर्न सके भन्ने उनको मनमा शान्ति छ । राती आनन्दले निन्द्रा लाग्ने गरी भूमिका बिसर्जन गरे भन्ने उनले ठानेका छन् । ‘संस्था विधिमा चलेको छ, बचाइएको छ, वृद्धितर्फनै छ तर, झ्यालबाट बाहिर हेर्दा डर लाग्छ ।’

उनले स्पष्ट पारे, ‘बाबियाखर्कको कार्यालय भित्र त ठीकै छ तर यसको झ्यालबाट बाहिर हेर्यो भने सहकारी अभियानको अवस्था देखेर डर लाग्छ ।’ सहकारी पीडितदेखि, समस्याग्रस्त सहकारीको सुन्निदै गइरहेको संख्या, राजनीतिक अस्थिरता, तरल अर्थतन्त्र, सहकारी क्षेत्रमा सुशासन, इमानदारी र विश्वसनीयताको संकट आदि कुरालाई इंगित गर्दै घिमिरले अत्याउदो अवस्थाको चित्रण गरेका हुन् । उनको आशय सहकारीका बारेमा अनावश्यक भय सिर्जना गराउने भन्दा पनि बारम्बार सोच्न बाध्य बनाउने रहेको बुझिन्थ्यो ।

खासमा नेपालको बचत तथा ऋण सहकारी अभियानको अग्रज मानिएका घिमिरेको धरातल बाबियाखर्क साकोसको पछिल्लो कार्यकालको समीक्षा गर्ने दृष्टिकोणले धिप्री डटकमले उनीसँग भेट गरेको थियो । त्यसैले ध्यान त्यसैमा केन्द्रीत गरियो ।

स्वमूल्याङ्कनको कसीमा ऋषि
बाबियाखर्कको कार्यकालको स्वमूल्याङ्कन गर्नुपर्दा कति नम्बर दिनुहुन्छ ? मैले प्रश्न सोधेँ । उनले फ्याट्टै उत्तर दिए, ‘६० ।  त्यो भन्दा माथि दिन मिल्दैन । यदि ब्याज मजाले उठेको भए, ऋण लगानी राम्रोसँग भएको भए ८० भन्दा माथि नै दिन्थेँ ।’

समस्याको पोको उनले फुकाएँ, ‘मुख्य समस्या मार्केट । आन्तरिक रुपमा अर्थात् बाबियाखर्कको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमितिहरुबीचको सम्बन्ध र माहोलको विषयमा वा त्यस सम्बन्धी सूचकका आधारमा सोध्नुहुन्छ भने करिब ९० नम्बर नै दिन्छु ।’ 

सुशासनमा उनले ८० अंक दिए । अनि बेलीबिस्तार लाए, ‘सञ्चालकहरुले ऋण दुरुपयोग गरेका छैनन् । एकपटकमा ४९ प्रतिशत ऋण सुविधा उपभोग गर्न पाउने नीति छ, लगेका पनि छन् तर दुरुपयोग भएको छैन, भाखा नघाएका छैनन् । कमसल धितो छैन, डकुमेन्ट फेक छैन, ऋण तिर्न सक्ने क्षमता विश्लेषण र मूल्याङ्कन गरिएको छ । सबै विधिप्रक्रिया सम्मत् हिसाबले लगेका र तिरेका छन् । व्याजदरमा फरक गरिएको छैन ।’

मैले प्रतिप्रश्न गरेँ, ‘नीतिगत भ्रष्टाचार (पोलिसी करप्सन्) नि ?’ घिमिरेले स्पष्ट पारे, ‘त्यो विशेषतः ऋण नीतिमा हुन्छ । त्यस्तो छैन । सञ्चालक वा समिति उपसमितिकाहरुलाई छुट वा विशेष सुविधा केही छैन । त्यसो गर्न कम्तिमा हामी जत्तिको सहकारी अभियान बुझेको र यही क्षेत्रमा केही योगदान गरौं भन्नेहरुले सोच्न पनि सक्दैनौं ।’

घिमिरले सुनाउँदै गए, ‘व्यवस्थापनलाई काममा हस्तक्षेप भएको छैन । कर्मचारीको वृत्ति विकासका लागि यथेष्ट प्रबन्ध थियो ।  सिनियर स्टाफहरुले आवश्यक तालिमहरु नलिएको भनेको छैन । नेफ्स्कून वा जोकोहीले सञ्चालन गरेका तालिमहरुमा पठायौं ।  अरु स्टाफहरुको पनि तालिममा सहभागिता रह्यो । सञ्चालक समितिको तालिमहरु पनि भए । वृत्ति विकासको मार्गचित्र तय गरिएको छ । यसमा कुनै कमी हुन दिएका छैनौं ।’

मैले जिज्ञासा थपेँ, ‘वित्तीय सूचकहरुका आधारमा अझै केलाउनुस त ? घिमिरेले कुरा नचपाइ भने, ‘ब्यालेन्स सीट स्ट्याटिक नै छ । अझ गत वर्षको भन्दा केही घटेको छ । सदस्य शुद्धीकरण गर्यौं । सक्रिय सदस्य मात्र राख्ने र अझै करिब ५ सय घटाउने कुरा भएको छ । नयाँ सञ्चालक समिति पनि आश्वस्त छ २५ सय सक्रिय सदस्य मात्र राख्ने कुरामा ।’ शुद्धीकरणको अभियानलाई नयाँ सञ्चालक समितिले एउटा टुङ्गोमा पुर्याउने विश्वास लिएको उनले बताए ।

कोभिड कहरले साकोसको अवस्थामा अप्रत्याशित असर गरेको घिमिरले बताए भलै त्यस बेला उनी अध्यक्ष थिएनन् । कोभिड अघि लगानी भएका व्यावसायिक ऋणहरु महामारी पछि तिरिएनन् । सटर गर्नेहरु सबै थातथलोतिर लागे । ‘बजार सुनसान भयो, हाम्रो सन्दर्भमा करिब ४१ वटा त्यस्ता केश भए,’ उनले सुनाए, ‘करिब पौने दुई करोड लगानी जोखिममा पर्यो । तर, पछि हामी आइसकेपछि त्यसलाई राम्रो व्यवस्थापन गर्यौं । कानूनी सल्लाहकारको सहयोगमा सञ्चालक समितिको नीतिगत सहजता र व्यवस्थापनको सक्रियताले धेरै केश सेटल भएको छ । केहीले तिरे, केहीले तिर्दैछन्, केही अदालती प्रक्रियामा छन्, एनबीए एउटा मात्र छ । सम्पर्कमा छन् । अरु समस्या छैन ।’

पछिल्लो समय नयाँ ऋण लगानीलाई भन्दा बक्यौता उठाउनमा बल गरेको उनले सुनाए । र, नयाँ लगानी पनि फाट्टफुट्ट गर्यौ अहिले पनि कायमै छ, अब पनि हुने आशा गर्न सकिन्छ । ४४ करोड बढीको ब्यालेन्स सीटमा करिब १३ करोड तरलता छ । अहिले सहकारीहरुको आम समस्याभित्र हामी पनि छौं, यही कारणले स्वमूल्याङ्कनमा नम्बर कम दिएको हुँ ।’

त्यसपछि कुरा उठ्यो, साकोसहरुको ब्राण्डिङ कार्यक्रमको । एक हिसाबले भन्ने हो भने स्तरीकरण कार्यक्रमको घिमिरे ब्राण्ड एम्बेसडर भन्दा अत्युक्ति हुँदैन । त्यसमा पनि अकूले सञ्चालन गरेको अन्तर्राष्ट्रिय ब्राण्डिङ कार्यक्रम एक्सेसको । घिमिरे अकूको अध्यक्ष भएकै बर्ष हो नेपालका सबैभन्दा बढी २४ वटा बचत तथा ऋण सहकारीहरुले एक्सेस ब्राण्ड पाएको र त्यो ब्राण्ड पुरस्कार प्रदान गर्ने उनी नै थिए । त्यसैले उनी ब्राण्ड प्रवर्तक नै हुन् । तर, उनैको प्रारम्भिक संस्थाले अहिलेसम्म कुनै ब्राण्ड प्राप्त गर्न सकेको छैन ।

हुनत् नेफ्स्कूनले विगतमा पहिला कर्ब्स, त्यसपछि प्रोवेशन र अनि मात्र एक्सेस भनेर साकोसहरुलाई आवद्ध गराउँदथ्यो तर त्यो क्रम टुटेसँगै बाबियाखर्क सिधै एक्सेसमा जोडियो । एक त ऋषिराज घिमिरेको संस्था भन्ने मानक अर्को भनेको सारै नराम्रो पनि थिएन । फेरि नेफ्स्कूनलाई घिमिरेको संस्था एक्सेसमा जोडिदा संख्या र गुणात्मकता दुबै हिसाबले फाइदा नै थियो । 

‘हो, त्यो घिटघिटौ नै रह्यो, ’ उनले स्वीकारे अनि भने, ‘गर्न सकिएन । त्यो रियलाइजेशन छ ।’ बाबियाखर्कले एक्सेस एग्रिमेन्ट गरेको नै करिब ८ वर्ष बढी भैसक्यो । अनि, एक्सेस सम्झौता गर्दा पनि घिमिरेनै अध्यक्ष थिए ।

एक्सेस इन्डिकेटरकै कुरा गर्दा, समस्या नै भाखा नाघेको ऋण भएको उनले स्वीकारे । ‘भाखा नाघेको ऋण ५ प्रतिशत भन्दा कम नभएरै हो, ’ घिमिरेले स्पष्ट पारे, ‘शुद्ध जगेडा कोष समस्या होइन, करिब ६ प्रतिशत छ । यो वर्ष प्रोभिजन पुगेन । त्यसैले लाभांश पनि बाँढिएन् । करिब पौने ३ करोड नाफाको पैसा प्रोभिजन गरियो । तर, अब मिल्दैछ । यो वर्ष भाखा नाघेको ऋण ५ प्रतिशत तल झार्यो भने ब्राण्ड आउँछ । सुशासनका अरु अफ्ठेराहरु केही छैन । भएका केही पनि पूरा गर्न कठिन थिएन यदि डेलिक्वेन्ट लोन मात्रै ठीक भएको भए । अबको डेढ वर्षमा एक्सेस ब्राण्ड पाउँछ बाबियाखर्कले । डेढ वर्ष अरु लाग्छ  । एक वर्षमै त भन्दिनँ तर डेढ वर्षमा भने त्यो सम्भव छ ।’

भन्न र गर्न गाह्रो हुने घिमिरेले स्वीकारे पनि । सहकारी र ब्राण्डको विषयमा प्रशिक्षण दिदैं हिड्ने घिमिरे भन्छन्, ‘हामीले नभनेर हुँदैन । जुन सत्य हो, त्यो लिडरले बोल्नै पर्छ । मेरोमा छैन वा मैले पाइन भनेर नभन्ने लिडर हुँदैन । अरुलाई उत्प्रेरित गर्न पनि हामीले सही कुरा भन्नैपर्छ । र, आफ्नो कमजोरी पनि स्वीकार्नै पर्छ ।’

काठमाडौं जिल्लाभर कार्यक्षेत्र रहेको बाबियाखर्कको ‘मेम्बर पेनिट्रेशन’ को अवस्था पनि दयनीय छ । त्यो सही भएको बताउँदै निवर्तमान बनेका घिमिरेले सुनाए, ‘एकपटक हामीले बोर्डमा कार्यक्षेत्र बढाउन पो समस्या हो त, घटाउन त नहोला नि भनेर समेत छलफल गरेका थियौं ।’

मुखमा खाजाको बुजो हाल्दै घिमिरले भने, ‘५ वटा वडा मात्र भयो भने पनि हामीलाई पुग्छ ।’ शुरुमा दर्ता गर्दा जानेर बुझेर काठमाडौं जिल्लाभर कार्यक्षेत्र नराखिएको बताउँदै उनले बीचमा थप्ने बढाउने काम नभएको स्पष्ट पारे । सदस्य बढाउने वा कार्यक्षेत्र ठूलो बनाउने भन्दा भएको कार्यक्षेत्रमा सबैलाई समेटेर गुणस्तरीय सेवा प्रवाहमा साकोसले जोड दिनुपर्ने सुझाव पनि नयाँ समितिलाई उनले राखेका छन् ।

२०५३ माघ ३ गते तत्कालीन जिल्ला सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको बाबियाखर्क साकोसमा हाल २८८४ कुल सदस्य छन् । ४४ करोड ११ लाख ८२ हजार ६ सय ९ रुपैयाँ कुल सम्पत्ति रहेको साकोसको जोरपाटीमा एउटा सेवा केन्द्र छ ।

सेवा केन्द्रले सोचे अनुरुप आउटपुट दिन नसकेको पनि घिमिरेले स्वीकारे । ‘सेवा केन्द्र खोल्नु गलत डिसिजन थियो ?’ मेरो प्रश्नमा घिमिरेले अन्कन्याउँदै भने, ‘अहिले हेर्दा हो गलत डिसिजन थियो भन्ने लाग्यो । गर्न नुहने काम भएछ । सबैले सेवा केन्द्र खोले भनेर हामीले पनि खोलियो तरपछि समय परिस्थिति प्रतिकूल हुँदै गयो । तर, अब यो वर्ष सार्छन् ।’

उनले विगत कोट्याए, ‘नयाँ बस्तीमा करिब ४ सय सदस्य भए, सम्बन्धबाट सदस्य थपिदै गए, त्यहाँका सदस्यहरु पनि उत्साहित भए र सेवा केन्द्र चाहियो भने हामी पनि त्यसैमा लाग्यौं । प्रदेशबाट स्वीकृत लियौं र राख्यौं । कष्टको हिसाबले बेनिफिसियल भएन । हिजोमात्रै पनि छलफल भएको छ, यही वर्ष त्यहाँबाट फिर्ता ल्याउँछन् ।’

मेरो अर्को जिज्ञासा थियो, ‘बाबियाखर्कलाई समुदायको ब्राण्ड बनाउने काममा चाहिँ के ले बाधा उत्पन्न गरायो ?’ किनभने प्राविधिक रुपले स्तरीकृत हुनु र आमसमुदायको सकारात्मक चर्चा वा सहकारी समुदायमा चर्चा पाउनु अलग विषय हुन् ।  बाबियाखर्कको त्यो स्तर कायम हुन किन नसकेको भन्ने प्रश्नमा घिमिरेले संस्थाको नाम आफैमा केही हदसम्म संशुचनको कारक भएको स्वीकारे ।

‘नाम परिवर्तन गर्नुपर्छ भनेर हामी एकीकरणतिर लागेका थियौं र अहिले पनि छ यो विषय, 'उनले जानकारी गराए, 'अहिले पनि साधारणसभाको सहमति छ एकीकरणका विषयमा । नजिकको एउटा साकोसँग कुरा अघि पनि बढिरहेको छ । त्यो भएको भए नाम परिवर्तन हुन्थ्यो ।' नामले केही हदसम्म समस्या भएको उनले स्वीकारे । नाममा परिवर्तन ल्यायो भने साकोसको स्वरुपमा ‘कम्प्लिट चेञ्ज’ आउने उनले बताए ।

त्यस्तै, घिमिरेबहुल साकोस भनेर बाबियाखर्कलाई लाग्ने आरोप केही हदसम्म समस्या भएपनि ‘बाहुनबहुल’ को अर्को आरोप सतप्रतिशत सत्य भएपनि समस्या भने नभएको दाबी घिमिरेले गरे । त्यसो त, बाबियार्खको पछिल्लो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति नै यसको उदाहरण हो जहाँका  पदाधिकारी सबै बाहुननै छन् । तर, समुदायमा आधारित रहने सहकारीको प्रवृत्ति नै भएकोले बाबियाखर्कलाई बाहुनहरुको सहकारी भन्दा असरै नपर्ने उनले तर्क गरे । गैर घिमिरेहरुको उपस्थिति भने बढ्दै गएको उनले स्पष्ट पारे । पछिल्लो सञ्चालक समिति तथा लेसूसमा गरी बाबियाखर्क साकोसमा ५ जना गैर घिमिरेको सहभागिता छ । बोर्डमा सहभागिताका हिसाबले पछिल्लो समितिमा ५० प्रतिशत स्थानीयहरु (स्थायी बसोबासरत) रहेको उनले जानकारी दिए ।

बाबियाखर्क साकोसको ९ सदस्यीय नयाँ सञ्चालक समितिको अध्यक्षमा ताराप्रसाद घिमिरे, कृष्णमुरारी घिमिरे उपाध्यक्ष, हरिप्रसाद घिमिरे सचिव, तारादेबी थपलिया (भेटवाल) कोषाध्यक्ष तथा सञ्चालकहरुमा श्रीभा नेपाल (न्यौपाने),नारायण प्रसाद घिमिरे, कल्पना खनाल, विकास घिमिरे, दीपक आचार्य र लेखा सुपरिवेक्षण समितिको संयोजकमा तीर्थराज घिमिरे र सदस्यहरुमा चेतनाथ घिमिरे र दीपिका पोखरेल (काफ्‌ले) निर्विरोध निर्वाचित भएका हुन् ।

583624033_4547748042163291_5080953195711404917_n.jpg
 बाबियाखर्क साकोसको २९ औ वार्षिक साधारणसभा

थर र जातको विषयमा साकोसमा बिस्तारै परिवर्तन आइरहको र समावेशीताको अभ्यास भइरहेपनि बाबियाखर्कलाई हेर्ने सहकारीवृत्तको संकुचित दृष्टिकोण परिवर्तन नआएको उनले आरोप लगाए । सामुदायिक ब्राण्डिङको संकुशनको स्टोरी घिमिरले सुनाए ।

अन्त्यमा अनौपचारिक कुरा गर्दै घिमिरले बसाइ बिट मारे, ‘ मिनट्स हस्तान्तरण भैसकेको छ । अब सञ्चालक समितिको बैठकमा म उपस्थित हुन्न भनेर भनेको छु । यदि कुनै बेला  सहभागी हुनै परे हाजिर गर्दिन र भत्ता लिन्न भनेको छु ।’

अब केही समयपछि घिमिरे दम्पती छोराहरु भेट्न अष्ट्रेलिया र अमेरिका जाने तरखरमा छन् । ‘धेरै बस्दैनौं । फर्केर आएपछि बाबियाखर्कमा सल्लाहकार (पूर्व अध्यक्षहरु सल्लाहकार रहने संस्थाको नीतिगत प्रबन्ध) को जिम्मेवारी सक्दो निर्वाह गर्छु, ‘

घिमिरेले भने, ‘सल्लाहकारको भूमिका छदैछ, अभियानले सम्झ्यो भने जाने हो । अनि बचेखुचेको समय आराम गर्ने ।’ 

584506216_4547747318830030_947371864336394443_n.jpg
सर्वसम्मत निर्वाचित ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार