Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार

यो पुरस्कारसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ : सहकारी अभियन्ता सुदिप ढकाल

यो पुरस्कारसँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ : सहकारी अभियन्ता सुदिप ढकाल

काठमाडौं । प्रखर सहकारी अभियन्ता सुदिप ढकाल ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’बाट सम्मानित हुनुभएको छ। २०८२ साल पुस २६ गते शनिबार सम्पन्न जिल्ला सहकारी संघ लिमिटेड, कास्कीको ५२औँ वार्षिक साधारण सभाको अवसरमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।

पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङको स्मृतिमा जिल्ला सहकारी संघमा अक्षय कोष स्थापना गरेको थियो। सोही अक्षय कोषबाट प्रत्येक वर्ष एक जना सहकारी अभियन्तालाई संघमार्फत उक्त पुरस्कार प्रदान गरिँदै आएको छ। उक्त पुरस्कारबाट सम्मानित हुने अभियन्ता ढकाल विशाल साकोसका संस्थापक सचिव एवम् हाल प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ ।

उहाँसँग सञ्चालक समिति र व्यवस्थापन दुबैको लामो अनुभव छ । सँगै उहाँले जिल्ला बचत संघको अध्यक्ष तथा जिल्ला सहकारी संघको लेखा सुपरिवेक्षण समिति संयोजक भई योगदान गरिसक्नुभएको छ भने नेफ्स्कून र राष्ट्रिय सहकारी बैंकको उपसमितिमा रहेर पनि काम गर्नुभएको छ ।

गण्डकी प्रदेशका चर्चित सहकारी अभियन्ता ढकालसँग पुरस्कार प्राप्त गरेपछिको प्रतिक्रियासँगै सहकारी अभियान, सदस्य सम्बन्ध, पोखरा रोयल साकोस, विशाल साकोस लगायतमा केन्द्रित रही धिप्री डटकमले संवाद गरेको छ । प्रस्तुत छ उक्त लिखित संवादको सम्पादित अंश

‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’ प्राप्त गर्नुभएको छ । कस्तो अनुभव भैरहेको छ ?

जुनसुकै सकारात्मक कर्म इमानदारीपूर्वक निरन्तर गरियो भने त्यसले पक्कै मिठो सन्तोष दिन्छ । यो पुरस्कार प्राप्त गरेपछि मलाई पनि ठीक त्यस्तै अनुभव भैरहेको छ । हामी जस्ता जीवनको अत्यन्तै महत्वपूर्ण समय पूर्ण रुपमा सहकारीमा बिताएकाहरुलाई पुरस्कारले मानसिक, भावनात्मक र थप सक्रियतापूर्वक सकारात्मक सोचका साथ कर्म गर्न प्रेरित गर्छ भन्ने लाग्छ ।

पुरस्कार केवल पदक र सम्मान होइन, यो साहस हो अनि उर्जा हो । जब मानिसले आफूले गरिरहेको कर्मको क्षेत्रका बारेमा नकारात्मक समाचारहरु आइरहन्छन्, सदस्यहरुको मनोभावना खस्किरहेको हुन्छ, त्यस बखत उक्त क्षेत्रमा लाग्ने कोही व्यक्तिलाई तिमीले गरेका कार्यहरु ठीक छन् भनेर पुरस्कृत गरिन्छ भने त्यस्तो पुरस्कारले केवल प्रापकको मात्र नभएर उ आवद्ध संस्था र समग्र क्षेत्रको नै मनोबल उच्च हुन्छ । मलाई यस्तै यस्तै अनुभव भैरहको छ ।

पोखरा रोयल साकोस आफैमा सहकारीको ब्राण्ड हो र यसका संस्थापक अध्यक्ष तुलसीप्रसाद गुरुङको स्मृतिमा स्थापित पुरस्कार पाउँदा अझ विशेष गौरव र जिम्मेवारीको अनुभूति पनि भएको होला नि, होइन र ? 

पक्कै पनि । गण्डकी प्रदेशकै अग्रणी वित्तीय सहकारीको रुपमा पोखरा रोयलले आफूलाई स्थापित गरिसकेको छ जसको सदस्य केन्द्रित असल अभ्यासहरुलाई अन्य वित्तीय सहकारीहरुले प्रयोगमा ल्याएका छन् र अझै पनि ल्याउनुपर्छ । यस्तो उदाहरणीय संस्थाको संस्थापक अध्यक्षको नाममा स्थापित पुरस्कारसँग मेरो भावनात्मक सम्बन्ध समेत जोडिएको छ । मेजर तुलसी प्रसाद गुरुङज्यूसँग विभिन्न फोरममा करिब २ दशक मैले सहकार्य गर्ने सुनौलो अवसर पाएको थिएँ । उहाँबाट धेरै कुराहरु सिक्ने मौका पाएँ । सहकारीका कुरासँगै जीवनमा व्यक्तिलाई आवश्यक गुणहरुबारे उहाँबाट प्रेरणा लिने मौका पाएँ ।  

सोही कारण उहाँको नामको पुरस्कारको गरिमा बेग्लै छ, यसले जिम्मेवारी पनि बढाएको छ । मेरा लागि यो पुरस्कार यहाँले भनेझैं विशेष नै छ । र, मैले अघि पनि भनेँ, सहकारी अभियानमा लागेको व्यक्तिका लागि पुरस्कार उर्जा हो र संयोगले त्यो उर्जा प्राप्त गन अवसर मैले प्राप्त गरेँ । सबैप्रति कृतज्ञ छु । यो सम्मानले सहकारी अभियानको हितमा काम गर्ने प्रेरणा थपेको महसूश गरेको छु ।

615198957_3762580697370897_4852604947493548581_n.jpg
जिल्ला सहकारी संघ लिमिटेड, कास्कीको ५२औँ वार्षिक साधारण सभा

विशाल साकोसँगको यहाँको सम्बन्धबारे थप बताइदिनुहुन्छ कि ?

म २०५७ साल भदौ ११ गते विशाल बचत तथा ऋण सहकारी संस्था लि. दर्ता गर्दा सचिव थिएँ । त्यसको तीन महिनापछि उक्त संस्थाको प्रबन्ध निर्देशक बनेँ । उक्त भूमिका मैले करिब २० वर्ष निर्वाह गरेँ । तत्पश्चात सहकारी ऐन २०७४ को नयाँ कानूनी प्रबन्धलाई ख्याल राखी प्रमुख कार्यकारी अधिकृत पदमा हासम्म कार्यरत छु । 

सहकारी अभियानमा संलग्न कहिले हुनुभयो ?

विशाल साकोस अघि मलाई सहकारीबारे खासै जानकारी थिएन । र, कुनै सहकारीमा आवद्ध पनि थिइन । निजी व्यवसायमा थिएँ । मैले सहकारीको कखगघ नै विशाल सहकारीमा आएर सिकेँ । यहाँका सञ्चालक समिति र सल्लाहकारहरुको साथ, सहयोग र मायाले विगत २५ वर्षदेखि सहकारी सिकिरहेको छु । यसबीच मैले कास्की बचत संघको अध्यक्ष, जिल्ला सहकारी संघ कास्कीको लेखा सुपरिवेक्षण समिति संयोजक, सहकारी बैंक तथा नेफ्स्कूनका विभिन्न उपसमितिमा रहेर पनि काम गर्ने अवसर प्राप्त गरेँ । 

सहकारी अभियानमा यहाँको लामो योगदान छ । सञ्चालन र व्यवस्थापन दुबै विषयका मर्मज्ञ हुनुहुन्छ । यहाँको विचारमा सहकारीप्रति सदस्यहरुको विश्वास कसरी बढाउने ?

सहकारी अभियानप्रति सदस्यहरुको विश्वास बढाउन केवल ५ वटा काम इमानदारीपूर्वक गरे पुग्छ:
१.प्रत्येक सहकारी संघ संस्थाका सञ्चालकहरुले सहकारीको वास्तविक पुँजी आफ्ना सदस्य हुन् जसलाई उनीहरुले सेवामार्फत संस्थाप्रति बफादार बनाइरहनुपर्छ ।
२. प्रत्येक सहकारीले आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक र भूगोलका हिसाबले सेवा र सुविधाहरु निर्धारण गरी सदस्य सन्तुष्टिको अधिकतम प्रयासहरु गरिरहनुपर्छ ।
३.सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा रहने अभियन्ताहरुले सुशासन दृश्यमा देखिने वस्तु होइन यो त सरोकारवालाहरुले महशूस गर्ने अत्यन्तै महत्वपूर्ण विषय हो भनेर वास्तवमै अन्तर्मनले बुझ्नुपर्दछ । अनि,  व्यहारमा लागू गर्नुपर्दछ । संस्थागत सुशासन अत्यन्त जरुरी छ ।
४.सहकारी संघ संस्थामा कार्यरत कर्मचारीहरु, समिति र सदस्य अनि नियामक निकाय बीचका सेतु हुन, धरोहर हुन् । यदि यी कमजोर भए भने
संस्था तथा अभियानमा ठूलो समस्या आउन सक्छ भन्ने विषयलाई सबैले अत्यन्तै गहन र जिम्मेवारीपूर्वक लिनुपर्छ । 
५. राजनीतिमा सहकारिता हुनुपर्छ–सहकारीमा राजनीति होइन । आज नेपालको सहकारी अभियानमा मडारिएका काला बादलका धब्बाहरु यिनै सहकारीभित्रका राजनीतिका बाछिटाहरु हुन् । तसर्थ यो बन्द हुनुपर्छ अनिमात्र सहकारी अभियानप्रति विश्वास बढ्छ ।

615404458_2066907197438057_1568982844353955954_n.jpg
 सहकारी अभियन्ता सुदिप ढकाललाई 'पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार'

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार