Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
११३औं वार्षिकोत्सव कार्यक्रम

इतिहासलाई सबल र संस्थागत गर्दै साझा प्रकाशन

इतिहासलाई सबल र संस्थागत गर्दै साझा प्रकाशन

काठमाडौं ।  गोरखा भाषा प्रकाशिनी समितिको उत्तराधिकारी संस्था साझा प्रकाशनले बीचमा टुटेको आफ्नो गौरवमय इतिहासलाई जोड्दै सबल र संस्थागत गर्ने कामको थालनी गरेको छ । सोही क्रममा साझा प्रकाशनले आज ११३औं वार्षिकोत्सव मनाएको छ । 

यसअघि २०८२ मंसिर १७ गते साझा प्रकाशनले ६२ औं स्थापना दिवस मनाएको थियो । तर, अब भने मंसिर १७ नभई गोरखा भाषा प्रकाशिनी समिति स्थापना भएको फागुन २ गतेलाई नै साझा प्रकाशनको स्थापना दिवसका रुपमा मनाउने निर्णय भएको आजको कार्यक्रममा जानकारी गराइएको थियो ।

DSC08027_11zon_11zon.jpg
undefined

सहभागिता र समयावधि दुबै दृष्टिकोणले आज संक्षिप्त रुपमा आयोजित वार्षिकोत्सव कार्यक्रममा साझा प्रकाशन सञ्चालक समितिले अब उप्रान्त स्थापना दिवस गोरखा भाषा प्रकाशिनी समितिको स्थापना दिवससँग जोडेर फागुन २ गते मनाउने औपचारिक निर्णय गरेको जानकारी गराइएको थियो । 

साहित्यकार माया ठकुरी प्रमुख अतिथि रहेको कार्यक्रमका साहित्यकार एवम् साझा प्रकाशनका शेयर सदस्यहरुको भनाइ थियो, ‘आज ११३औं वर्षगाँठ मनाएसँगै अब साझाको इतिहास झन् पुरानो र बलियो भएको छ ।’

DSC08013_11zon.jpg
undefined

नेपाली भाषा, साहित्य, कला, संस्कृति संवर्धन गर्ने उद्देश्यले २०२१ मंसिर १७ गते स्थापित साझा प्रकाशन १९७० साल फागुन २ गते स्थापित गोरखा भाषा प्रकाशिनी समिति हुँदै वि.स.१९९० मा नाम परिवर्तन गरी राखिएको नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीका रूपमा क्रियाशील संस्था हो। सोही इतिहासलाई कायम गर्दै अब साझा प्रकाशनले फागुन २ गते वार्षिकोत्सव मनाउने तय गरेको हो । 

नेपालका सर्जक साहित्यकारहरू सेयर सदस्य रहेको संस्था साझा प्रकाशन को यसअघि गत मंसिर १७ गते  आयोजित ६२औं स्थापना दिवस कार्यक्रममै अध्यक्ष साहित्यकार शेखर गिरिले भन्नुभएको थियो, ‘वास्तवमा भन्ने हो भने आज हामी ११३ वर्ष लाग्यौं ।’ आगामी वर्ष फागुन २ गते साझा प्रकाशनले भव्य रुपमा ११४औं स्थापना दिवस मनाउने अध्यक्ष गिरीले आज धिप्री डटकमलाई जानकारी गराउनुभयो । 

प्रमुख अतिथि साहित्यकार माया ठकुरीले विगतमा भताभुङ्ग भैसकेको साझा फेरि सम्हालिएको भन्दै यसबीच साझाका कर्मचारीहरुले डटेर निष्ठापूर्वक काम गरेकोमा प्रशंसा गर्नुभयो । आज साझाको अवस्था राम्रो हुँदै आएको भन्दै उहाँले भन्नुभयो, ‘साझा प्रकाशनले पाइला सार्दै अघि बढेको देख्दा हामीलाई गर्व लाग्छ । पुस्तकहरु पनि जेनतेन छापिकएका छन् । त्यसको लागि यसका अध्यक्ष शेखर गिरिजी र यहाँका सबै कर्मचारीलाई म धन्यवाद दिन चाहन्छु । साझा अघि बढ्दैछ, पाइला चाल्दैछ । आफ्नो गन्तव्यमा एक न एक दिन अवश्य पुग्नेछ । प्रयास जारी राख्नुस्, अलिकति परिवर्तन गर्नुस् ।’ ठकुरीले साझाका पुस्तकहरुको अक्षर सानो भएको गुनासो पोख्दै सुधारको अपेक्षा राख्नुभयो ।

DSC08017_11zon.jpg
undefined

साझा प्रकाशन प्राज्ञिक सल्लाहकार समितिका संयोजक डा. तुलसीप्रसाद भट्टराईले आजको कार्यक्रमले साझाको इतिहासलाई संस्थागत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले साझाको इतिहासलाई बोध गर्यौं । यसले साझाको इतिहासलाई गौरवमय बनाएको छ । हामी सबैले गौरवबोध गर्ने विषय हो । आजबाट साझा प्रकाशन ११३औं वर्ष लागेको हामी सबैले बोध गरेका छौं ।’

गौरवशाली इतिहास बोकेको देशकै नमुना प्राज्ञिक निकाय साझा विगत केही वर्षदेखि अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेकाले अब भने रणनीतिक योजनासहित दिगो र व्यावसायिक हिसाबले अघि बढ्नुपर्ने सुझाव वक्ताहरुको थियो ।

DSC08077_11zon (1).jpg
undefined

साझा प्रकाशनका सल्लाहकार साहित्यकार एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ११३ वर्षे इतिहास बोेकेको साझा प्रकाशनलाई कसरी जिवन्त बनाउने भनेर सबै इच्छुक स्रष्टाहरु बसेर छलफल गर्नुपर्ने सुझाव राख्नुभयो । साथै उहाँले साझाले अब रणनीतिक योजना बनाएर थप उर्जाबान बन्दै काम गर्नुपर्ने बताउनुभयो । उहाँले साझा प्रकाशन सुधारका लागि केही बुँदागत सुझाव पनि राख्नुभयो । साझा प्रकाशन नभएको भए अहिलेको ‘आफू’ नहुने बताउँदै यसकै प्रकाशनहरु पढेर हुर्के बढेको थपलियाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘साझा प्रकाशन नेपाली भाषा, साहित्य लगायतको स्पन्दन हो ।’

DSC08051_11zon (1).jpg
undefined

साझा प्रकाशनका अध्यक्ष शेखर गिरिले अभिलेखहरु खोजेर साझा प्रकाशनको इतिहासलाई बलियो बनाउने काम गरिएको बताउनुभयो । ६२ वर्षको इतिहास मानिरहेको साझा प्रकाशनलाई अब ११३ वर्षे इतिहास बोेकेको प्राज्ञिक संस्था बनाइएको जानकारी गराउनुभयो । अध्यक्ष गिरिले भन्नुभयो, ‘कुनै पनि मन्दिरको गजुर वा आकार हेरेर त्यहाँ कुन भगवान बास गर्नुहुन्छ थाहा हुँदैन । जब त्यसको गर्भगृहमा प्रवेश गरिन्छ अनि मात्र कुन देवीदेवताको बास छ थाहा हुन्छ । त्यसरी नै हामीले पनि साझा प्रकाशनको गर्भगृह पत्ता लगाउँदा गोरखा भाषा प्रकाशिनी समिति रहेको थाहा भयो ।’ उहाँले साझा सुधारका योजनाहरु समेत सुनाउँदै त्यसका लागि सरकारको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

DSC08058_11zon.jpg
undefined

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले खोजी गर्दै जाँदा गोरखा भाषा प्रकाशिनी समितिको स्थापनाको प्रमाण पाएको भन्दै त्यसलाई आधिकारिकता दिन आज सानो कार्यक्रम गरी शुरुवात गरेको जानकारी गराउनुभयो ।

नेपालको पुरानो प्रकाशन गृह साझा प्रकाशनमा नेपाल सरकारको ६० प्रतिशत र बाँकी साहित्यकार, पत्रकार, शिक्षासेवीसहित सर्वसाधारणको शेयर स्वामित्व छ ।

DSC08008_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार