काठमाडौं । विगत १९ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएकी शोभा पाण्डे सानैदेखि धर्मकर्ममा आस्थावान हुनुहुन्थ्यो । मातापिता राधा पाण्डे तथा ढकनाथ पाण्डेबाटै धार्मिक संस्कार प्राप्त गर्नुभएकी शोभा पाण्डेलाई पूजापाठ र धार्मिक कर्महरुमा सानैदेखि अभिरुचि थियो ।
अमेरिकामा बस्दा पनि धार्मिक आस्थालाई मर्न नदिइ उहाँले थप बिस्तार गर्नुभयो । शोभाले भन्नुभयो, ‘हाम्रो धर्म संस्कृति लोप हुँदै गयो कि भन्ने आशंका व्यक्त गरिन्छ तर म टेक्सासमा बस्छु र मेरो छिमेकमा र वरपर धार्मिक सांस्कृतिक गतिविधिहरु बाक्लो हुनेगर्दछन् । एकदमै भव्यरुपमा हामीले समुदायमा धार्मिक कर्महरु गर्छौं । त्यहाँ पनि हर एक नेपालीको घरमा पुजापाठ हुने, नित्य मन्दिर जाने व्रत बस्ने गर्छौं । एकादशी व्रतालुहरु र भजनप्रेमीहरुको हाम्रो समूह पनि छ त्यहाँ । मलाई त त्यस्तो लाग्दैन र हामीले विदेशमा बसेर भएपनि हाम्रो धर्म संस्कृति र परम्परा संरक्षणमा काम गर्दै आएका छौं ।’ नेपाल आउँदा पनि उहाँ धार्मिक क्रियाकलापहरुमा संलग्न हुँदै आउनुभयो ।
यो पटक आउँदा पनि त्यो अवसर गुमाउने कुरै भएन । यस्ता गतिविधिमा अभिरुचि भएको शोभाको परिवार (भिम पाण्डे, शोभा पाण्डे र छोरी समीक्षा पाण्डे) ले यो पटक नेपाल आएर यसपटक महापुराण लगाएको छ । खासमा यसपटक नेपाल आउनुको उहाँहरुको प्राथमिक कारण नै १८ महापूराण लगाउनु थियो । यो पटक पुराण लगाउने नै प्रमुख उद्देश्य लिएर आफू नेपाल आएको शोभाले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।
सच्चा मनले चिताएर सत्कर्म गर्दै गएपछि मनोकामना पूरा हुन्छ भन्ने शोभाको जीवनमा सिद्ध भएको छ । पशुपतिनाथ समीपमा रहेको उमाकुण्डमा आचार्य पण्डित राजकुमार खनाल नेतृत्वको टोलीले फागुन १० गते शुरु गरेको महापुराण भोलि शनिबार समापन हुँदैछ । शोभा खुसी र आनन्दले गदगद हुनुहुन्छ । आज मध्यान्हमा धिप्रीडटकमसँग खुसी साट्दै शोभाले भन्नुभयो, ‘एकदम भव्य रुपमा महापुराण कार्यक्रम भोलि समापन हुँदैछ । दिव्यानुभूति भएको छ हामीलाई ।’

र, उहाँको जीवनमा अर्को खुसी पनि आएको छ । डबल खुसी वा भनौं खुसीको बोनान्जा । शोभा केही दिन अघि मात्रै वैष्णव (निमार्गी) पनि बन्नुभयो । अर्थात् शरणागत हुनुभयो । शोभाले शीतलकृष्ण महाराज गुरुबाट शरणागति दिक्षा लिनुभयो । शोभाको खुसी यसैकारण दोब्बर भएको हो । किनकि उहाँलाई वैष्णव बन्ने रहर पनि त्यति नै थियो र उक्त तीब्र रहर यो पटक नै पूरा भएको छ । शोभा भन्नुहुन्छ, ‘यसैपटक महापुराण पनि लगाइयो अनि शरणागत पनि भइयो । शरणागति भएर पुराण लगाउँदा झनै राम्रो हुने ठानेर पनि भएँ । यसले मलाई झनै धेरै खुसी मिलेको छ । अब कोहीकसैप्रति पनि मनमा रिसराग, द्वेष, ईष्या भाव नआओस् भन्ने कामना छ ।’
पुराण वाचक पण्डित राजकुमारले दुई वर्षअघि सिफलमा श्रीमद्भागवत महापुराण हुँदा नै शोभा दिदीले १८ पुराण लगाउने चाहना राख्नुभएको भन्दै यो पटक त्यो मनोकामना पूरा भएको बताउनुभयो । ‘दिदीले त्यति बेला गरेको मानसिक संकल्प यो पटक भौतिक रुपमा पूरा हुँदैछ, उहाँले भन्नुभयो, ‘पुराण चक्र, अग्नि, रुद्री आदि सबै जुरेको समयमा आयोजना भएको छ । विनाकुनै अवरोध अत्यन्त दिव्य रुपमा सफल हुँदैछ ।’
पण्डित राजकुमारले थप्नुभयो,‘ शोभा दिदीको परिवारले कुनै निश्चित संकल्प भन्दा पनि जीवनमा भएगरेका गल्ती, कमीकमजोरीहरु, जानीनजानी भएका पापहरुको प्रायश्चित, कुलको रक्षा, पितृ उद्दार र आत्मालाई परमात्मासँग लीन गराउन महापुराण लगाउनुभएको हो ।’ यसबाट दिदीको परिवारमा शान्ति र समृद्धि छाउने विश्वास उहाँले व्यक्त गर्नुभयो । काठमाडौं कोटेश्वरकी शोभाले धार्मिक क्रियाकलापमा परिवारको पनि पूर्ण साथ पाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘परिवार सबै एकदम खुसी हुनुहुन्छ ।’ यसपटक दुई महत्वपूर्ण धार्मिक कृत्यहरु सकेर शोभा सपरिवार यही फागुन १८ गते अमेरिका फर्कने तयारीमा हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com