Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
३१ औं वार्षिकोत्सव: विश्व ज्योतिष महासंघ

कुण्डली बैंक स्थापना गर्दै विश्व ज्योतिष महासंघ

कुण्डली बैंक स्थापना गर्दै विश्व ज्योतिष महासंघ

काठमाडौं । विश्व ज्योतिष महासंघले कुण्डली बैंक स्थापना गर्ने भएको छ । त्यसका लागि करिब ८ सय व्यक्तिको जीवनी संकलन भैसकेको महासंघले जनाएको छ । कुण्डली बैंक स्थापनाको लागि महासंघले एउटा टिम नै बनाएर काम अघि बढाइरहेको बताएको छ । 

ज्योतिषीय क्षेत्रमा खोज अनुसन्धानमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याउँदै कुण्डली बैंक स्थापनाका दिशामा कामहरु अघि बढेको जानकारी महासंघका अध्यक्ष डा.लोकराज पौडेलले गराउनुभयो । महासंघको ३१ औं वार्षिकोत्सव मनाउने सिलसिलामा आज काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष पौडेलले भन्नुभयो, ‘विभिन्न व्यक्तिको जन्मकुण्डलीसहित जन्मसमय, जीवन घटना आदि समेटेर बैंक स्थापना गर्नुपर्ने आवश्यकता देखिएकोले हामीले त्यस दिशामा काम अघि बढाएका छौं । करिब सात आठ सय जनाको जीवन घटना संकलन भैसककेको छ ।’ वार्षिकोत्सवक कार्यक्रममा सहभागी ज्योतिषहरुलाई अध्यक्ष पौडेलले भन्नुभयो, ‘तपाईंहरुले आफूले फलादेश गर्ने क्रममा विश्व ज्योतिष महासंघको फारम राखेर सेवाग्राहीहरुको नाम गोप्य राखेर उहाँहरुको जीवन घटना उतारेर कुण्डली बैंकमा समावेश गर्न सहयोग गर्नुहोस् । यसो गर्न सकियो भने भोलि महासंघका तर्फबाट अनुसन्धान गरेर एउटा नयाँ तथ्य पत्ता लाउनका लागि पनि सहयोग पुग्नेछ । त्यसका लागि एउटा टिमले नै काम गरिरहेको छ ।’ 

यसैगरी, अध्यक्ष पौडेलले महासंघलाई कसैबाट सहयोग प्राप्त नभएपनि सबैको प्रयासमा निकट भविष्यमा आफ्नै भवन बनाउने दिशामा पनि अघि बढ्न भवन निर्माण कोष स्थापना गर्ने बताउनुभयो । कोषमा सहयोग गर्ने वचन भारतदेखि नेपालका ज्योतिषहरुबाट प्राप्त भएको समेत उहाँले बताउनुभयो । साथै हालैको पटना सम्मेलनबाट पनि दुबै मुलुकमा विश्व ज्योतिष महासंघको भवन निर्माण प्रक्रिया अघि बढाउने विषय घोषाणपत्रमा समेत उल्लेख भएको अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।

DSC02711_11zon.jpg
undefined

महासंघले राष्ट्रिय देखि अन्तर्राष्ट्रिय रुपमा संगठन विस्तार गर्ने कामलाई पनि अघि बढाउने उहाँले बताउनुभयो । अध्यक्ष पौडेलले भन्नुभयो, ‘पहिला हामीले आजीवन सदस्य मात्रै बनाउथ्यौं, अब मानार्थ सदस्यहरु पनि बनाएका छौं । यस्तै दुई मुलुक पनि हामीसँग जोडिदै छन् ।’ उहाँले सबै लाग्ने हो भने महासंघको आफ्नै भवन निर्माण देखि अन्य महत्वपूर्ण योजनाहरु सफल बनाउन त्यति कठिन नभएको बताउनुभयो ।

महासंघले निकट भविष्यमै वेबसाइट निर्माण गर्ने तथा मासिक पत्रिका प्रकाशन गर्ने गरी काम अघि बढाएको पनि अध्यक्ष पौडेलले वार्षिकोत्सवका अवसरमा जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै लाग्ने हो भने यो दुई तीन वर्षभित्र केही गहकिला कामहरु सम्पन्न गर्न सक्छौं ।’ यद्यपि, महासंघलाई हालसम्म कहीकतैबाट सहयोग वा अनुदान प्राप्त नभएको उहाँले बताउनुभयो । ‘हामीले जे जति गरेका छौं सबै सदस्यहरुकै बलबुताबाट हो,’ उहाँले भन्नुभयो, ‘अहिले हाम्रो वार्षिक खर्च १५ देखि १६ लाख रुपैयाँ छ ।’ महासंघमा हाल २३ मुलुकका ४ सय ६५ जना ज्योतिषहरु आबद्ध छन् भने २ वटा मुलुक थपिने क्रममा रहेको अध्यक्ष पौडेलले धिप्री डटकमलाई जानकारी गराउनुभयो ।

DSC02815_11zon.jpg
undefined

कार्यक्रममा अन्तर्राष्ट्रिय पञ्चाङ्ग  निर्णायक समितिका सभापति प्रा.डा. माधव भट्टराईले विक्रम सम्वत् नेपालीहरुको पर्व रहेको बताउँदै अन्य देशको भनेर प्रचार गर्नु गलत भएको बताउनुभयो । नेपालमा ईश्वी सम्वत् र ११ महिना लागु गर्न देशीविदेशी शक्तिहरुको प्रयासलाई आफुहरुले हालसम्म रोक्न सफल भएको बताउँदै विक्रम सम्वतले नै नेपालमा मौलिक परम्परा रितिरिवाज र चाडपर्वहरुको पहिचान हुने हुँदा यसको संरक्षण र प्रचारप्रसारमा सबैको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले महासंघको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीका पुर्व अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारी, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितीका कार्यकारी निर्देशक आचार्य लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का पुर्व अध्यक्ष माधवराज पाण्डे, कालाग्नी रुद्रपीठ लडकेश्वरधामका पीठाधीश मुकुन्द शर्मा हुमागाई,  नेपाल ज्योतिष परिषद्का कार्यकारी सभापति कमलप्रसाद काफ्ले, नेपाल महर्षी वैदिक फाउन्डेसनका सूचना निर्देशक भरतराज पौडेल लगायतले विश्व ज्योतिष महासंघले यसबीच आरोह अवरोह पार गर्दै आएको भन्दै आगामी दिनमा पनि ज्योतिषीय क्षेत्रको उन्नयनका लागि उल्लेख्य भूमिका निर्वाह गरोस् भनी शुभकामना व्यक्त गर्नुभयो ।

DSC02802_11zon.jpg
undefined

कार्यक्रममा विश्व ज्योतिष महासंघका उपाध्यक्ष ताराप्रसाद नेपाल, दक्षिण एसियाली ज्योतिष महसंघका उपाध्यक्ष डा.देवीप्रसाद खनाल, नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष लिलाराज शर्मा, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति खिलनाथ काफ्ले, विश्व ज्योतिष महासंघ राष्ट्रिय समिति नेपालका सभापति देवराज गौतम, लुम्बिनी प्रदेश सभापति जनार्दन न्यौपाने, नेपाल ज्योतिष परिषद्का केन्द्रीय सचिव शिवलाल पौडेल लगायतका व्यक्तिहरुको उपस्थिति  थियो । 

महासंघका अध्यक्ष डा.लोकराज पौडेलको अध्यक्षता रहेको कार्यक्रममा संघका कोषाध्यक्ष डा.सुबोध शुक्लाको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन महासचिव पञ्चाङ्गकर श्रीकेश कौशिकको रहेको थियो ।

विश्व ज्योतिष महासंघ २०५२ सालदेखि कार्यरत रहेपनि आधिकारिक रुपमा दर्ता भई सञ्चालनमा आएको भने २०७४ सालबाट मात्र भएको भन्दै यसले अझै धेरै काम गर्नुपर्ने धारणा आज शुभकामना व्यक्त गर्नुहुनेहरुको थियो ।

DSC02814_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार