Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

विवाह हुँदा उनी १२ वर्षकी थिइन् , म १३ वर्ष : प्रा. डा. ऋषिराम पोखरेल

विवाह हुँदा उनी १२ वर्षकी थिइन् , म १३ वर्ष : प्रा. डा. ऋषिराम पोखरेल

वैदिक वाङ्मयका अध्येता, अनुसन्धाता तथा संस्कृत भाषाका प्रकाण्ड विद्वान प्रा.डा. ऋषिराम पोखरेल यही साउन २४ गतेबाट ८४ वर्ष टेक्दै हुनुहुन्छ । उहाँकी पत्नी ओमकुमारी आचार्य उहाँ अर्को चैतबाट ८३ वर्ष लाग्नुहुनेछ । जम्माजम्मी १ वर्षको फरक रहेका पोखरेल दम्पतीले हालै एक अपरान्ह आफ्नो विवाह र त्यो समयका रोचक प्रसङ्गहरु धिप्री डटकमसँग साट्नुभएको थियो । प्रस्तुत छ ती प्रसङ्गको सार संक्षेपः 

"म तीनधारा संस्कृत पाठशाला (संस्कृत छात्रावास) मा बसेर पढ्थेँ । कक्षा ८ चल्दै थियो । घरमा विवाहको कुरा चल्यो । मलाई थाहा भएन । त्यसबेला थाहा हुने कुरा पनि भएन । मलाई मात्र होइन उनी अर्थात् ओमकुमारी आचार्यलाई पनि थाहा हुने कुरा भएन । 

हाम्रो विवाहको कुरा बेसीगाउँस्थित मेरा मामा स्व. शिव प्रसाद खनाल (पछि साढ दाजु) मार्फत चलेको थियो । मेरो बारेमा सबै जान्नुभएका र उनको बारेमा पनि सबै बुझ्नुभएका मामामार्फत कुरा आयो घरमा । त्यही सिलसिलामा उनका बा दयासागर आचार्य हाम्रो घर आउनुभयो एक दिन । 

खासमा विवाहको कुरा चलेपछि मलाई घरमा बोलाउनुभएको थियो बाले । बाले बोलाएपछि नआउने कुरै भएन । म घर आएको बेलाको त्यो दिन दुनामा दही, अक्षता, दुई रुपैयाँ दाम अनि जनै सुपारी लिएर उनको बा पनि आउनुभएको थियो । मलाई बाले बोलाउनुभयो । बाहिर आएँ । बुबाले ‘मामालाई एउटा चिठी लगिदे’ भन्नुभयो । बुबाले एउटा चिठी लेखिदिनुभएको थियो मामालाई । तर, त्यो खासमा कुनै विशेष चिठी भन्दा पनि मलाई केटी देखाउन लाने योजना रहेछ । आरुवारीस्थित मामाको घर पुगेँ । ‘मामा मामा’ भनेर बोलाएँ । भित्रबाट उनी निस्केर ‘भिनाजु बाहिर जानुभएको छ’  भनिन् । कहाँ जानुभयो भनी सोध्दा ‘खै कहाँ जानुभएको हो ?’ भनी उनले उत्तर दिइन् । बाले चिठी दिनुभन्नुभएको थियो त्यही भएर उनैलाई चिठी थमाएँ । त्यो बेला हामीबीच त्यति मात्र गफ भयो । त्यसपछि केही कुरै भएन । 

DSC09359_11zon.jpg
undefined

भोलिपल्ट मलाई बाले बोलाउनुभयो । घर आएँ । सँगै उनको बा पनि आउनुभएको रहेछ । पिढिंमा बस्ने चलन थियो । फलैचामा बसेँ । उनको बाले ‘मैले मेरी छोरी यहाँलाई दिएँ आफ्नो लगन ठीक पारेर लिन वरियात लिएर आउनु होला’ भन्नुभयो । मलाई के थाहा ? हामीलाई त्यसबेला विवाह के हो भन्ने ज्ञान पनि त्यति थिएन । अरु केही सोधखोज पनि भएन । उनलाई पनि विवाह हुन्छ भनेर भनियो, अरु धेरै कुरा गरिएन त्यसबेला समय पनि त्यस्तै थियो र प्रचलन पनि ।

त्यसपछि, विवाहको सबै प्रबन्ध बुबाले मिलाउनुभयो । २०१३ साल बैशाख २० गते राजा महेन्द्रको राज्याभिषेक थियो, हाम्रो विवाह १७ गते भएको थियो । हिडेर जन्ती जानुपर्दथ्यो उबेला । म दौरा सुरुवाल अनि भोटोमा छड्के पटुका अनि जामा पगरी गुतेर उलिनकाठमा चढी बेहुली लिन गएको थिएँ फर्पिङ । काठमाडौं फर्पिङस्थित गोपालेश्वर उहाँको माइती हो । साँझ ६ बज्ने बेलामा पुगियो । उबेला डोले भरिया सबै बोकेर जानुपर्ने । त्यसबेला रात राख्ने चलन थियो विवाहमा । विवाहमा करिब डेढ सय जना जति जन्ती गएका थिए । बारीका पाटामा दाल भात तरकारी अचार दही तयार पार्ने चलन थियो । वरिपरि लहरै बसेर खाने गरिन्थ्यो विवाहमा ।  सुन्दरीजलस्थित वीपी सङ्ग्रहालय नजिकको पुरानो घरमा उनलाई भित्राएको हो ।

DSC09406_11zon.jpg
undefined

उनले पढेकी थिइनन् । उबेला छोरीहरुलाई पढाउने चलन थिएन । बरु यता विवाह भएर आएपछि मैले अक्षर चिनाएँ । त्यसपछि उनी रामायण महाभारतका श्लोक भन्न सक्ने भइन् । हाम्रो पहिलो सन्तानको रुपमा २०१८ सालमा छोरा जन्मियो । त्यसपछि ४ छोरी भए । 

जुन साल विवाह भयो, त्यही साल कक्षा आठ पनि उत्तिर्ण गरेँ । उबेला केटाकेटी खेलेको जस्तो थियो विवाह । अहिले समय कहाँ पुगिसक्यो । सानो उमेरमा विवाह गर्नुहुँदैन, धेरै सन्तान जन्माउनु हुँदैन भन्ने ज्ञान सर्वत्र पुगेको छ । उबेला त्यस्तै थियो समय । हामी विवाह भैसकेपछि सँगै गट्टा खेल्थ्यौं । पिढींमा बसेर गट्टा खेल्थ्यौं । विवाह भएपनि मैले पढाइलाई निरन्तरता दिएँ ।" 
(कुराकानीमा आधारित)

जानकारी
प्रा. डा पोखरेलले मृगस्थली ब्रहमचर्याश्रम, रानीपोखरी संस्कृत प्रधान पाठशाला, नेपाल राजकीय संस्कृत महाविद्यालय र त्रिभुवन विश्वविद्यालय समेतमा अध्ययन गरी प्रथम श्रेणीमा वेदाचार्य गर्नुभयो । शुक्ल यजुर्वेदमा विद्यावारिधि उपाधि गर्नुभयो । २०२५ साल वैशाखदेखि उपप्राध्यापकको रुपमा सेवा प्रवेश गरी प्राध्यापकसमेत भई २०६१ सालमा स्वेच्छिक अवकाश लिनुभएका उहाँले संस्कृत तथा वैदिक वाङ्मयको सेवामा महत्वपूर्ण योगदान गर्नुभएको छ । उहाँका थुप्रै कृति प्रकाशित छन् भने थुप्रै कृतिको सम्पादन पनि उहाँले गर्नुभएको छ । यसैगरी, थुप्रै मानसम्मान तथा पुरस्कार पनि उहाँले प्राप्त गर्नुभएको छ ।

२०४२ सालदेखि २०४६ सालसम्म उहाँ वाल्मिकी विद्यापीठको सहायक डीन (क्याम्पस प्रमुख) रहनुभयो जसलाई त्यसबेला सहायक डीन भन्ने प्रचलन थियो । वेदमा विधावारीधि गर्नुभएका पोखरेल त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयको वेद विषयको पहिलो प्राध्यापक रहनुभएको थियो । उहाँले तीन दशकसम्म नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठमा शुक्ल यजुर्वेदको प्राध्यापन गर्नुभएको थियो ।

DSC09394_11zon.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार